काठमाडौँ– २०६३ सालको शहीद स्मारक ‘ए’ डिभिजन लिगको २६औँ खेलमा साविक विजेता थ्री स्टार र महेन्द्र पुलिस क्लब प्रतिद्वन्दी थिए। लिग उपाधि होडमा यी दुई क्लबसँगै मनाङ मर्स्याङ्दी पनि थियो।
लिगका दुई खेल बाँकी रहँदा मनाङ ६२ अंकसहित शीर्ष स्थानमा थियो। उसलाई ५९ अंकसहित थ्री स्टारले पछ्याइरहेको थियो। त्यसैले उपाधि रक्षा गर्न थ्री स्टारलाई पुलिस र मनाङविरुद्धको खेल जित्नै पर्ने दबाब थियो। यस्तो स्थितिमा थ्री स्टारका प्रशिक्षक मृगेन्द्र मिश्रले पुलिसविरुद्ध स्पष्ट ३ अंक निकाल्ने रणनीति बनाएका थिए।
पुलिसबाट हरि खड्का, अनन्तराज थापा, भोलानाथ सिलवाल, जुमानु राईजस्ता स्टार खेलाडी थिए। यी खेलाडीलाई गोल गर्नबाट रोक्न थ्री स्टारका प्रशिक्षक मिश्रले ‘सेन्ट्रल डिफेन्डर’को भूमिका प्रलय राजभण्डारीलाई दिए। खेल सकिन केही मिनेट बाँकी हुँदा पुलिसका डिफेन्डर सुमन सुवेदीले काउन्टर अट्याकमा अगाडि बढाएको बललाई ‘क्लिअर’ गर्ने क्रममा प्रलय घाइते भए।
उनको चोट सामान्य थिएन। यही चोटले उनलाई सन्यासको बाटो देखाइदिएको थियो।
प्रलयको बायाँ खुट्टाको एन्टेरियर क्रुसेट लिगामेन्ट (एसीएल)मा चोट लागेको थियो। उक्त खेल १-१ गोलको बराबरीमा सकियो। तर फुटबलमा उनको भविष्यको बत्ती धिपधिपाइसकेको थियो। “चोट लागेपछि उपचार गर्दिन्छन् होला भन्ने ठूलो आशा थियो। म त राष्ट्रिय टोलीबाट खेलिरहेको खेलाडी पो थिएँ,” उनी भन्छन्, “तर कसैले चासो दिएनन्। अझ थ्रीस्टारले त सुई रोपेर फुटबल खेल्न भन्यो। एउटा खेलमा ट्राई पनि गरेँ। तर मैदान छिरेको ५ मिनेटपछि नै चोट बल्झिएपछि खेल्न छाडेँ।”
फुटबलबाट सन्यास लिइहाल्ने सोच थिएन। तर उनको जीवनमा एउटा संयोग आयो। जति बेला उनी घाइते भएका थिए, उनकी प्रेमिका अमेरिका पुगेको ६ महिना भएको थियो। उनलाई पनि उतै जाने विचार आयो। “डिप लभ भएर पनि होला, मलाई यता बस्न मनै लागेन। उसको तीनपटकमा भिसा लागेको थियो, मेरो एकपटकमै लाग्यो,” उनी भन्छन्।
राजविराजबाट काठमाडौँको यात्रा
सप्तरीको राजविराजमा जन्मिएका प्रयलका बुबा जनकपुर चुरोट कारखानाबाट फुटबल खेल्थे। प्रलयलाई भने फुटबल नभई क्रिकेट खेल्ने सोख थियो। त्यस बेलाका क्रिकेटर मेहबुब आलम, पवन दास र दीपेन्द्र चौधरीजस्ता खेलाडीको पदचाप पछ्याउँदै उनी अलराउन्डर बने। 'मिडियम पेसर' उनी फुर्सदमा खेल्दाखेल्दै स्कुलका प्रतियोगितामा पनि भाग लिन थाले। उनको एउटै योजना थियो, भारतको रणजी ट्रफी खेल्ने। ११ वर्षको उमेरमा उनी १० कक्षा पढ्ने दाइहरूको कप्तान भएका थिए। उनको निक नेम थियो, सचिन तेन्दुकर।
“क्रिकेट त बबाल नै खेल्थेँ। मेहबुब दाइसँग पनि खेलेँ। सप्तरीमा कुनै प्रतियोगिता भइहाले मलाई नै बोलाउँथे,” उनी भन्छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टोली बलियो बनाउन २०५४ सालमा एकेडेमी स्थापना गर्ने योजना ल्यायो। यसका लागि देशभरबाट खेलाडी छान्न एक जना जापानिज प्रशिक्षकसहित पूर्वखेलाडी राजुकाजी शाक्य, उमेश प्रधान र स्व. भीम थापा (टेक्निकल डाइरेक्टर) विभिन्न स्थान पुगिरहेका थिए। उक्त टोली राजविराज पनि पुग्यो। कुनै बेला राष्ट्रिय टोलीमा राजुकाजी शाक्यसँगै खेल्ने सपना बुनेका बुबाले उनलाई एकपटक छनोटमा भाग लिन आग्रह गरे।
प्रलयमा क्रिकेटको किरा पसिसकेको थियो। फुटबलतिर मोडिन मन नै थिएन। तर ‘छनोट भए काठमाडौँ जान पाइन्छ’ भनेर बुबाले सुनाएपछि उनी उत्साहित भए। उनले काठमाडौँ देखेकै थिएनन्। काठमाडौँ आउने 'नाइट बस'को रोमाञ्चक यात्रा गर्ने रहर पूरा हुने आशा गर्न थाले।
त्यसअघि उनले फुटबल छोएकै थिएनन्। उनीसँग बल, ब्याट र हेलमेट मात्र थिए। फुटबलको बुट पनि थिएन। “छनोट खेल्नुभन्दा केही दिनअघि मात्रै बुवाले एक जोर बुट किन्दिनु भयो। पहिलोपटक बुट लगाएर पूरा समय खेल्नै सकिनँ। पहिलो हाफपछि खुट्टा खाएको जस्तो भयो, अनि खाली खुट्टाले नै खेलेर छनोट भएँ। सायद जिनमा नै फुटबल रहेछ,” उनी भन्छन्।
छनोट खेलको शुरूको ४० मिनेट उनले अवसर नै पाएनन्। ५/७ मिनेटका लागि उनलाई मैदान छिराइयो। त्यही बेला एक साथीले 'राइट साइड'बाट 'एअर बल' दिए। उनले गरेको हेडिङ गोलमा परिणत भयो। गोल गरेलगत्तै उनलाई बाहिर निकालियो।
प्रलय दौडमा पनि उत्तिकै राम्रा थिए। स्कुलमा हुने प्रतियोगितामा दौडिरहन्थे। उनको तीव्र गतिको दौडले जापनिज प्रशिक्षक लोभिइसकेका थिए। उत्कृष्ट गोल पनि गरेपछि उनी छनोटमा परे। उनीसँगै सप्तरीबाट चार जना दोस्रो चरणको छनोटका लागि काठमाडौँ आउने भए।
उनलाई लाग्यो, काठमाडौँ आउनु नै सबैभन्दा ठूलो उपलब्धि हो। राजविराजमा एक तले घरमा बसेको मान्छे, काठमाडौँमा अग्ला घर र गाडीको लावालस्कर देखे। उनी यसै दंग परे।
अन्तिम छनोट काठमाडौँमा भयो। अन्तिम छनोटमा ४० जना छानिँदा सप्तरीबाट आएका प्रलय मात्र परे, अरू तीन जना बाहिरिए। “छनोट क्याम्प सकियो। भोलिपल्ट पत्रिकामा बुबाले म छनोट भएको देख्नुभयो। भाग्यमा यही लेखेको रहेछ,” उनी भन्छन्।
काठमाडौँमा ओर्लिएका प्रलयको फुटबल प्रशिक्षण त्यति सहज भने भएन। ४० जनामध्ये सात जनालाई उज्वेकिस्तानी प्रशिक्षकले फुटबल नै खेल्न नआउने बताइदिए। सातमध्ये एक जना प्रलय थिए। तर एन्फाका तत्कालीन अध्यक्ष गणेश थापा उनको कुरामा सहमति जनाएनन्। उनले तत्कालै जवाफ दिए, "अहिलेको जिरो पछि हिरो हुनसक्छ, अहिलेको हिरो पछि जिरो हुनसक्छ।"
“गणेश सरको कुरा सुनेपछि काठमाडौँ जानु मात्रै ठूलो कुरा होइन रहेछ भन्ने लाग्यो। मिहिनेत गर्नुपर्दो रहेछ भन्ने लाग्यो,” उनी भन्छन्।
प्रलयलाई ती विदेशी प्रशिक्षकको कुराले चित्त भने दुखेको थिएन। अन्य खेलाडी फुटबल नै खेलेर आएका थिए, शायद। उनी मात्रै क्रिकेट खेलेर फुटबल सिक्न थालेका थिए।
खुकुरी कपको संयोग
झण्डै एक वर्षको प्रशिक्षणपछि सन् १९९८ मा भारतको दिल्लीमा आयोजना भएको सुब्रोत मुखर्जी कप खेल्न जाने टोली घोषणा भयो। टोलीमा एन्फा एकेडेमीका ४० जना नै थिए। पछि टोलीलाई दुई वटा बनाइयो। उनी दोस्रो टोलीमा परे। प्रतियोगितामा पहिलो टोली खेलाइयो। प्रलयसहित अर्को टोलीले भने उक्त खेल बेन्चमा नै बसेर हेरे।
सँगैका साथीहरूले खेल्दा उनलाई दुखी बनायो। अनि ७/८ महिना आफैँ अतिरिक्त अभ्यास गर्न थाले। “मैदानमा बिहान ७ बजे ट्रेनिङ हुन्थ्यो। म ५ बजे नै पुग्थेँ। मेरो काम कुद्ने, वालमा सुटिङ हान्ने, कन्ट्रोल गर्ने हुन्थ्यो,” उनी भन्छन्।
उनी विदेशी प्रशिक्षकका प्यारो खेलाडी भएका थिए। नेपाली प्रशिक्षक चाहिँ राजुकाजी, ध्रुव केसी र कृष्णा थापा थिए। “विदेशी प्रशिक्षक हुँदा टोलीमा नाम परिहाल्छ भन्ने ढुक्क भइन्थ्यो। तर नेपाली प्रशिक्षक भए म नामसमेत हेर्न जाँदिन थिएँ,” उनी भन्छन्, “४० जनाको तीन टिम हुन्थ्यो। त्यो टोलीमा पनि पर्दिन थिएँ।”
पोखरामा भएको खुकुरी गोल्डकप खेल्नुअघि उनको टोलीका 'डिफेन्डर' सुनिल लामा बिरामी भए। प्रशिक्षक राजुकाजीले प्रलयलाई मौका दिए। तर स्ट्राइकरको भूमिकाबाट डिफेन्डरमा झरे। पहिलो रोजाइमै मैदान उत्रिँदा उनले संकल्प गरे, 'आज मर्ने गरी फुटबल खेल्छु।' उनी 'म्यान अफ द म्याच’ नै भए।
खुकुरी कपको फाइनल खेल खेल्न टोली काठमाडौँ फर्कियो। तर फाइनलमा एन्फा एकेडेमीको टोली ‘गोल्डेन गोल’मा मनाङ मर्स्याङ्दीसँग पराजित भयो। वसन्त गौचनको पासमा वसन्त थापाले गोल गर्दा एन्फा १-० गोलले पराजित भएको थियो। त्यस प्रतियोगितादेखि सुनिलको स्थान प्रलयले खोसे।
सन् २०६० मा पहिलो ‘ब्याज’ एन्फाले रिलिज गर्यो। प्रलयलाई आफ्नो भविष्य के होला भन्ने चिन्ता थियो। त्यहीबेला बिग्रेड ब्वाइज क्लब र फ्रेन्ड्सले एन्फाका उत्पादकलाई लिने भए। प्रलयसँगै लोकबन्धु गुरुङ, विजय गुरुङ, विकास मल्ललगायत १० खेलाडी फ्रेन्ड्समा आबद्द भए। अधिकांश युवा खेलाडी लिएर मैदान उत्रिएको फ्रेन्ड्सले उत्कृष्ट प्रदर्शन गर्दै चौथो स्थानमा रहेर ‘ए’ डिभिजन लिग सक्कायो।
अर्को सिजन उनलाई राजुकाजी शाक्यले न्यूरोड टिम (एनआरटी)मा बोलाए। एनआरटी काठमाडौँलाई आधार बनाएर फुटबल खेलिरहेको थियो। मोफसलमा हुने बुढासुब्बा र आहा गोल्डकपमा एनआरटी नजाने भएपछि ललितकृष्ण श्रेष्ठले उनलाई थ्रीस्टार क्लबमा बोलाए। उनले नै एनआरटीबाट ती दुई प्रतियोगिताका लागि रिलिज लेटर बनाइदिए। ती प्रतियोगिता थ्रीस्टारले नै जित्यो। त्यसपछि अर्को सिजन उनले थ्रीस्टारबाटै खेले। थ्रीस्टार २०६१ मा तेस्रोपटक लिग च्याम्पियन भयो।
थ्रीस्टारबाट खेल्दा प्रलय आफू घरेलु फुटबलमा परिचित भएको मान्छन्। उनी भन्छन्, “मैले सोचेकै थिइनँ कसैलाई अटोग्राफ दिन्छु भनेर। काठमाडौँमा कसैलाई मतलब हुँदैन थियो। इटहरी, धरान, पोखरा जाँदा उभिनै पाइँदैन थियो। लाइफमा फस्ट अटोग्राफ मैले इटहरीमा दिएको हो। कुर्चीमा बसिरहेको बेला दाइ अटोग्राफ भन्यो। मलाई त के लेख्ने भन्नेबारे नै थाहा थिएन।”
राष्ट्रिय टोलीमा प्रवेश, एक वर्षमै विश्राम
सन् २००५ मा पाकिस्तानमा भएको साफ गोल्डकपमा नेपालले सहभागिता जनाउँदा हरि खड्का, बालगोपाल महर्जन, उप्रेन्द्रमान श्रेष्ठ, राकेश तुलाधर, वसन्त गौचनलगायत खेलाडी करिअरको अन्त्यमा थिए। त्यही बेला उनीसहित विकास, प्रदीप, अन्जन केसीसहित पाँच खेलाडीलाई टोलीमा बोलाइयो।
टोलीमा बोलाएपछि उनलाई छटपटी हुन थाल्यो। राष्ट्रिय टोलीबाट खेल्न उत्साही पनि थिए। साफका लागि राष्ट्रिय टोली पाकिस्तान उड्यो।
श्रीलंकासँग खेल्दाखेल्दै जनकसिंह थारूको टाउकोमा चोट लाग्यो। उनको स्थानमा प्रलय मैदान छिरे। त्यो उनको डेब्यू खेल बन्यो। उक्त खेलमा नेपालले श्रीलंकासँग बराबरी खेल्यो। बराबरी भएपछि टसमा नेपाल हार्यो र प्रतियोगिताबाटै बाहिरियो।
उक्त प्रतियोगिता खेलेपछि उनलाई ठमेलका क्बलदेखि ट्याक्सी चालकले समेत चिन्न थाले। तर राष्ट्रिय टोलीबाट उनको यात्रा लामो हुन सकेन। अर्को वर्ष २०६३ सालमा थ्री स्टारबाट शहीद स्मारक 'ए' डिभिजन लिग खेल्दा पुलिसविरुद्धको खेलमा उनी घाइते भए।
त्यसपछि एन्फाले चार वर्ष लिग नै गरेन। उनलाई पनि लाग्यो 'अमेरिका भास्सिएर राम्रै गरेँछु।' उनले उतै खुट्टाको उपचार गराए। नेपाली फुटबललाई भने उनले चटक्कै छाड्न सकेका थिएनन्। त्यसैले भिसा सकिनुभन्दा पाँच महिनाअगाडि फुटबल खेल्न नेपाल फर्किए।
२०६७ सालमा मेघराज केसीको प्रशिक्षणमा रहेको थ्री स्टारबाट उनले आहा रारा गोल्डकप खेले। करिब १५ मिनेट मात्रै खेल्न पाएका उनी फाइनल नखेली अमेरिका फर्किए। २०७१ सालमा अर्को खुट्टामा पनि चोट लाग्यो। त्यसपछि उनी प्रशिक्षणतर्फ हाम फाले।
प्रलय २०७३ सालमा एनआरएनएको टोली लिएर आहा रारा गोल्डकप खेल्न आएका थिए। तर उनको टोली झापा-११ सँग पहिलो खेलमै ३-१ गोलले पराजित भएर बाहिरियो। २०७७ सालमा पनि उनी भुटनिज टोली लिएर नेपाल आएका थिए। त्यति बेला पनि उनको टोलीलाई सफलता मिलेन।
पछिल्लोपटक उनी सन् २०७८ सालमा प्रदीप हुमागाईँसँग मिलेर भुटनिज टोली लिएर आए। त्यतिखेर टोलीले चार वटा स्थानीय प्रतियोगिता खेलेर फर्किएको थियो। उनमा अझै पनि फुटबलप्रति उत्तिकै मोह छ। आफूलाई यो स्थानमा पुर्याउने नेपाली फुटबलको स्तर निकै खस्किएकोमा उनलाई दु:ख लागेको छ।
नेपाली फुटबल अहिले ग्रासरुटदेखि नै बिग्रिएको उनको भनाइ छ। एन्फाले पनि कुनै योजना बनाउन नसक्दा फुटबलको चाम नै हराएको उनी बताउँछन्। “हाम्रो पालामा मिडिया र मार्केट यस्तो थिएन। तर फुटबलमा निकै चाम थियो, खेलाडीको इज्जत थियो। तर अहिले न लिगको चाम छ न त खेलाडीको इज्जत नै,” उनी भन्छन्, “खेलाडीबाटै एन्फाले यत्रो कमाइरहेको छ। तर खेलाडीले खै कमाउन पाएको? अहिले पेट पाल्न पलायन हुन परेको छ। यसले दुखी बनाउँछ।”