Saturday, May 04, 2024

-->

मधेशबाट फुटबलर जन्माइरहेका कल्याण: खेल्न मन भए धारापानी जानू

कल्याण खड्का संयोगले स्कुल पढाउन पुगे। पढाउन थालेपछि विद्यार्थीसँगै फुटबल खेल्थे। क्षमता भएका खेलाडीले पनि मौका नपाएको देखेपछि उनी आफैँ त्यस्ता खेलाडीलाई अवसर जुटाइदिन अघि सरेका थिए।

मधेशबाट फुटबलर जन्माइरहेका कल्याण खेल्न मन भए धारापानी जानू
तस्वीर: कृष्पा श्रेष्ठ/उकालो

काठमाडौँ– कल्याण खड्का २०५५/५६ सालतिर फुर्सद्‍मा थिए। त्यही बेला उनलाई धनुषाको धारापानीबाट श्रीमावि व्यावसायिक तथा प्राविधिक विद्यालयको शिक्षक बन्ने प्रस्ताव आयो। उनको लक्ष्य शिक्षक बन्ने थिएन। बरू बुढानीलकण्ठ स्कुल (२०४३ सालतिर एसएलसी दिनुभन्दा अघि) पढ्दा समाजसेवा गर्ने सोच आएको थियो।

एक वर्ष पढाएर छुटकारा पाउने सोचले पढाउन थाले। उनले सोचेको 'एक वर्ष' दुई दशकसम्म पनि पूरा भएन। हरेक वर्ष विद्यार्थीले उनैलाई खोज्न थाले। उनलाई पनि विद्यार्थीहरूमाथि दया लाग्थ्यो। प्राय: सबै अंग्रेजीमा कमजोर थिए। 

उनले करिब तीन वर्ष बिनापारिश्रमिक पढाए। “तराई क्षेत्रमा सबैतिर लापरबाही। ९/१० कक्षाका विद्यार्थी हेर्छु अंग्रेजीदेखि सबै विषयमा कमजोर। बच्चाको के दोष? यो सिस्टमको दोष हो झैँ लाग्यो। अनि आफैँ पढेको विद्यालयमा गुरुदक्षिणा पनि हुन्छ भनेर पढाइदिएँ। त्यसपछि त्यहीँ फसियो,” उनी भन्छन्। 

विद्यालयको मैदान फराकिलो थियो। फुर्सद्‍मा विद्यार्थीहरू फुटबल खेल्थे। कल्याणलाई पनि फुटबलमा सोख थियो, बुढानीलकण्ठ स्कुल पढ्दाताका फुटबल खेलेका थिए। फुटबलको भलिभाती ज्ञान भने थिएन। सोख नै भएको कारण कहिलेकाहीँ विद्यार्थीहरूसँग नजिक हुन उनले बललाई लात्ता हान्न थाले। विद्यार्थीसँग नजिकको सम्बन्ध बन्दै गयो। यसरी खेल्दै जाँदा फुटबलमै राम्रो सम्भावना बोकेका खेलाडी धेरै देखे। अनि कल्याणलाई उनीहरूको प्रशिक्षक बन्ने सोच आयो।

हुन त धनुषाको ढल्केबरबाट १० किलोमिटर पर रहेको धारापानीमा फुटबल र क्रिकेट खेलाउने क्लब नभएका होइनन् तर ती मौसमी थिए। दशैँ र तिहारको बीचमा मात्र सक्रिय हुन्थे। वडा कार्यालयसँग पैसा लिएर र चन्दा उठाएर प्रतियोगिता गरिन्थे। ती क्लबले त्यस्ता प्रतियोगिता खेलाउन धेरै खेलाडी जिल्लाबाहिरबाट ल्याउँथे। प्रतियोगिता सकिएपछि ती क्लब र खेलाडी दुवै हराउँथे।

उनीहरूको लक्ष्य व्यावसायिक रूपमा प्रशिक्षण गराउने र खेलाडी उत्पादन गर्ने हुँदैन थियो। जिल्लाका खेलाडीले कम मात्र अवसर पाउँथे। कल्याणले स्थानीय खेलाडीलाई समेट्न २०६० सालमा योग्यभूमी युवा समाज नामको क्लब बनाए।

त्यतिखेर धनुषामा 'ग्रासरुट' फुटबल थिएन। उनलाई ग्रासरुटदेखि नै फुटबलको संरचना बनाउने हुटहुटी जाग्यो। “यहाँ क्लब हुने तर खेलाडी नहुने अवस्था थियो। वर्षैभरि फिल्डमा अभ्यास गर्ने स्थानीय खेलाडी थिए। तर खेल्ने बेला बाहिरका आइपुग्थे। आफ्नै खेलाडीलाई प्रत्सोहान दिन क्लब बनाएँ,” उनी भन्छन्।  

क्लबले सानादेखि ठूला प्रतियोगिता खेल्दै स्थानीय तहमा चर्चा बटुल्न थाल्यो। त्यसपछि कल्याणको पनि चर्चा शुरू भयो। 

धनुषामा महिला टोली पनि थियो, खेलाडी भने तीनचार जना मात्र। फुटबलप्रति लगाब देखेर धनुषा जिल्ला फुटबल संघले महिला टोली सम्हाल्ने जिम्मेवारी उनैलाई सुम्पियो। उनीमाथि टिम बनाउने जिम्मेवारी थपियो। उनलाई लाग्यो, भनेजस्तो टोली बनाउन धनुषाभन्दा बाहिर पनि निस्कनुपर्छ। त्यही योजना बनाएर हिँड्दा फेला परे जय लामा र रोशन वाइबा।

उनलाई ढुंगा खोज्दा देउता मिलेझैँ भयो। तीन जनाको समूह पूर्वका कटारी, मरिन, गुराँसलगायत स्थान पुगेर खेलाडी खोज्न थाले। शनिबारको काम नै खेलाडी खोज्ने हुन्थ्यो। उनीहरूले केही महिनामा नै महिला टोली बनाए।

केटाहरूले पनि फुटबल खेल्न सहज नभएको अवस्थामा छोरीहरूलाई अभिभावकले घरबाहिर खेल्न पठाउनु कठिन थियो। शुरूमा छोरीहरूलाई उक्साएको र बिगारेको अपजस उनले पनि खेपे। 'फुटबल खेले पैसा कमाइन्छ, इज्जत कमाइन्छ, अनि नाम कमाइन्छ' भनेर बल्लतल बुझाए। 

शुरूमा १२ जना महिला खेलाडी जम्मा भए। तर ती खेलाडीलाई कहाँ राख्ने? धनुषामा अहिलेजस्तो सुविधासम्पन्न होटेल थिएनन्। भए पनि आफ्नै खर्चमा राख्ने सामर्थ्य कल्याणमा थिएन। बरु ती खेलाडीलाई आफ्नै घरमा बस्ने वातावरण मिलाए। दुई महिना टोलीलाई आफैँले पाले। खाना नास्ता, खर्चदेखि सबै बन्दोबस्त मिलाए।

टोलीले पनि लगानी गरेअनुसार नै प्रदर्शन गर्न थाल्यो। उनी भन्छन्, “त्यतिखेर धनुषाको महिला टोलीको प्रदर्शन राम्रो थियो। एन्फा जिल्ला लिग शायद सबैभन्दा धेरै जित्ने हाम्रै क्लब थियो। अहिले खै त त्यस्तो समर्पण?” 

उनीहरूलाई देखेर अन्य महिला पनि फुटबल खेल्न लोभिन थाले। दुईचार जना गर्दै महिला खेलाडी बढ्न थाले। जति ठूलो टिम हुँदै जान्थ्यो कल्याणलाई उति नै आर्थिक समस्याले घेर्न थाल्यो।

उनले ठेक्कापट्टा गरे। शिक्षण पेसाबाट कमाएको र अलिअलि जम्मा गरेको सम्पत्ति फुटबलमा लगाए। त्यसरी उत्पादन भएका खेलाडीहरू अहिले राष्ट्रिय टोली, विभागीय टोली र विभिन्न क्लबमा छन्। नेपाल आर्मी क्लबबाट खेलिरहेका दिनेश हेम्जन, एपीएफकी हिराकुमारी भुजेल, फ्रेन्ड्स क्लबsf श्यामबाबु मगरलगायत खेलाडी उनकै उत्पादन हुन्। 

दिनेशलाई सानै उमेरदेखि फुटबलमा अचाक्ली मोह थियो। बुबा गुमाएका उनलाई दिशानिर्देश गर्ने काम कल्याणले नै गरे। उनले फुटबल मात्रै सिकाएनन् आर्मीमा भर्ना हुने व्यवस्थासमेत मिलाइदिए। अहिले दिनेश राष्ट्रिय टोलीका भरपर्दा विंगर बनिसकेका छन्। आर्मीबाट मात्रै होइन, नेपाल सुपर लिगमा ललितपुर सिटी एफसीबाट समेत आफ्नो क्षमता प्रदर्शन गरिसकेका छन्।

“दिनेश फुटबल खेल्न मरिहत्ते गर्थ्यो। उसको खेल्ने उत्साह देखर ६/७ कक्षामा पढ्दै गर्दा टोलीमा ल्याएको हो,” उनी भन्छन्, “त्यतिखेर जनकपुरमा भएको यू-१४ एनसेल कपमा छनोट भयो। मध्यमाञ्चलबाट खेलेको उसले टोलीलाई जिताएन मात्रै टप स्कोरसमेत बन्यो।” 

अहिले कल्याणसँग महिला टोली छैन। २०६०/६१ सालमा बनाएको टोली उनले पाँच वर्ष मात्रै टिकाउन सके। टोलीमा रहेकी हिरा नै पहिलो ब्याजकी उत्पादन हुन्। उनी अहिले राष्ट्रिय टोलीमा छिन्। उनीबाहेक अन्य खेलाडी फुटबलमा टिकिरहन सकेनन्। कोही पारिवारिक कारण खेल्न छाडे, कोही विदेश पलायन भए। 

बागमती र कोशी प्रदेशतिर फुटबलको क्रेज निकै रहेको उनको बुझाइ छ। तर मधेश प्रदेशले भने फुटबल संस्कृतिको जग हाल्न नसकेकोमा उनको चित्त दुखाइ छ। त्यसमाथि जिल्ला केन्द्रित फुटबल प्रतियोगिता र महिला लिग लामो समयसम्म नभएपछि खेलाडी टिकाउन मुस्किल परेको उनी बताउँछन्। विभागीय टोलीबाहेक अन्य कुनै पनि क्लबले १२ महिना नै करारमा राख्ने र फुटबल सिकाउने टोली नभएको कारण अहिले उनीसँग फुटबल सिक्न आउने महिला खेलाडी घटेका छन्। 

खेलले बालबालिकालाई खराब संगतबाट जोगाउने र अनुशासनमा राख्ने कल्याणको भनाइ छ। त्यहीकारण उनी विभिन्न विद्यालयसँग सहकार्य गरिरहेका छन्। अहिले उनीसँग २०/२५ जना पुरुष र ४/५ जना महिला खेलाडी छन्। उनीहरूलाई पनि पुरुष खेलाडीसँगै शनिबार दुई सिफ्टमा प्रशिक्षण दिने व्यवस्था मिलाइदिएका छन्।

मधेशकै बागमती युवा क्लबले 'ए' डिभिजन क्लबले झैँ करारमा खेलाडी राखेको छ। बागमतीसँग मैदानमात्रै होइन, गाडीको प्रबन्ध पनि छ। बागमती नगरपालिकाले आर्थिक सहयोग पनि गरिरहेको छ। 

उता, सिरहाको सलेश युवा क्लबले पनि त्यही पदचाप पछ्याइरहेको छ। यसले गर्दा कल्याणलाई फुटबललाई थप व्यवस्थित गर्नुपर्ने जिम्मेवारी थपिएको छ। अहिले आफ्नो लक्ष्य भनेको खेलाडी उत्पादन गर्ने र खेल्न लायकको बनाइदिने मात्रै रहेको उनी बताउँछन्। 

“म एक्लैले गर्न सक्दिनँ। मैले क्लबमा राखेका साथीहरूले पनि आर्थिक सहयोग गर्न सक्ने क्षमता छैन। त्यसैले म ब्रिज बन्दिन मात्रै सक्छु। मैले उत्पादन गरेका खेलाडी ए डिभिजन र बी डिभिजन खेलेका छन्। यस्तै खेलाडी दिन मात्रै सक्छु,” उनी भन्छन्।

आफूसँग खेल्न आउने खेलाडी बुट र मोजा किन्न सक्ने हैसियतका पनि नरहेको कल्याण सुनाउँछन्। त्यही अभाव जुटाउन अमेरिकालगायत विदेशमा बस्ने साथीभाइहरूसँग आर्थिक सहयोग माग्न हिचहिचाउँदैनन्। उनी राजनीतिक दलका नेता भेट्यो भने पनि समाइहाल्छन्। आर्थिक सहयोग मागिहाल्छन्। 

कल्याण भन्छन्, “अभावको कारण कसैको क्षमता मर्न दिन हुँदैन। कसैले गर्न सक्छु भन्यो भने उसलाई मिल्न सक्ने साथसहयोग सबैले दिनुपर्छ।”


सम्बन्धित सामग्री