Wednesday, May 01, 2024

-->

जो काँधमा ‘कपडा पसल’ बोकेर २० वर्षदेखि गाउँ–गाउँ डुल्दैछन्

बजारमै २५० रुपैयाँ पर्ने कपडा गाउँ पुर्‍याएपछि पनि कसरी १५० रुपैयाँमा आउँछ भनेर सोध्दा उनले भने– ‘धेरै नाफा खाएर के गर्नु, ३०–४० रुपैयाँ फाइदा राखेर दिन्छु।’

जो काँधमा ‘कपडा पसल’ बोकेर २० वर्षदेखि गाउँ–गाउँ डुल्दैछन्
तस्वीरहरू: किसन पाण्डे/उकालो

काठमाडौँ– शनिबारको दिन थियो। बिहान सबेरै हामी काठमाडौँ उपत्यकादेखि करिब १२ किलोमिटर दक्षिण–पश्चिममा पर्ने फर्पिङ जलविद्युत आयोजना अवलोकन गर्न गएका थियौँ।

घुमघाम चल्दै थियो। दक्षिणकाली नगरपालिका–५ को एउटा झोलुंगे पुल र त्यहाँबाट अलि परको गोपालेश्वर महादेव मन्दिर अवलोकन गरेर फर्किंदै थियौँ। बाटोको घना जंगलमा चराचुरुंगीको चिरबिर आवाजले आनन्दित तुल्याउँदै थियो। 

त्यो अनकन्टार लाग्ने बाटोमा एक अनौठा व्यापारी भेटिए। उनले काँधभरि पसलमा बेच्न राखिएझैँ देखिने गरी जाडोका न्याना ट्राउजर, स्विटर र हाइनेकहरू भुण्ड्याएका थिए। दुवै हातमा टम्म कसिने गरी उनिएका ब्याग सजाएर कस्सिँदै हिँडिरहेका थिए उनी।

वास्तवमा उनी जाडो मौसममा खोजिने थरीथरी लत्ताकपडा बोकेर तिनका ग्राहक खोज्दै गाउँ–गाउँ डुलिरहेका ‘घरदैलो व्यापारी’ रहेछन्। हामीले परिचय माग्यौँ। उनको नाम कृष्ण पाण्डे र स्थायी बसोबास भोजपुर जिल्लाको पौवादुङमा गाँउपालिका–२ मा रहेछ। 

उनले काठमाडौँको लगनखेलमा बस्दै यसरी नै मौसमअनुसारका कपडाको ‘हिँड्ने पसल’बाट आफ्नो चार जनाको परिवारको गुजारा चलाउँदै आएको दुई दशक बितिसकेछ। 

बाटोमा भेटिएका हामीजस्ता जोसुकै मानिसलाई उनी भन्दै थिए, “लिनुस् हजुर कपडा आयो, झोला आयो, सस्तो–सस्तो।”

उनको गतिसँगै हामी पनि एकछिन सुस्तायौँ। हँसिलो अनुहारका कृष्णको गोडामा हेरेपछि उनको हिँडाइको दूरीबारे सोध्नै परेन। 

चप्पलका दुवै कुर्कुच्चामा प्वाल परेका थिए। बाटोले खाएका चप्पलसँगै खुट्टा खियाउँदै हिँडिरहेका उनको यात्रा निरन्तर थियो। 

हामीले सोध्याौँ, “कहाँदेखि आउनुयो?” उनले मुस्कुराउँदै जवाफ दिए, “लगनखेलबाट आएको हजुर।”

“हिँडेरै आउनुभयो?” 

“हो हजुर, घुम्दै आएँ।”

“दिनमा कति हिड्नुहुन्छ?”

“२५ देखि ३० किलोमिटर जति हिँड्छु होला।”

“आज चुङिखेल, चाल्नाखेल हुँदै पाँगा झर्ने विचार गरेको छु।” 

अनवरत हिँडिरहने कृष्णका खुट्टा/जिउ दुख्छ कि दुख्दैन थाहा छैन। तर हिँडेरै उनको दैनिकी चलिरहन्छ। हिउँद, बर्षा र चर्को घाममा पनि उनी हिँडिरहन्छन्। “समयले दियो, मनले चाह्यो भने हिँडिरहन्छु,” उनी भन्छन्।

उनीबारे अझै थप जान्ने इच्छा जागेर हामी उनको पछिपछि लाग्यौँ। 

सोखेलबाट अलि तल पोखरीतर्फ झर्दै गर्दा एउटा घरमा उनी रोकिए। छोरालाई ट्राउजर किन्न इच्छुक आमाले उनलाई रोकेकी थिइन्। २०–२१ बर्षका देखिने युवकलाई कृष्णले काँधमा बोकेकामध्ये सबैभन्दा लामो ट्राउजर लगाएर नाप्न दिए। तर ठीक भएन। बिहानदेखि हिँड्दा बल्ल–बल्ल बिक्न लागेको ट्राउजर फेरि काँधमै फर्कियो।  

त्यसपछि त्यहाँबाट अघि बढ्यौँ। उनी अघि–अघि हामी पछि–पछि। पोखरीमा पुगेपछि हामीले उनलाई चिया खाने प्रस्ताव गर्‍यौँ। तर अरूको सित्तैमा खानु हुँदैन भन्दै उनी तर्किए। कपडा या झोला केही पनि बिक्री नभएर होला उनी खिन्न देखिए। त्यसलाई चिर्न हामीले उनलाई भन्यौँ, “दाइ एकछिन बसौँ न। यहाँ अलमलिए बापत तपाईंका दुई वटा ट्राउजर हामी किनिदिन्छौँ।”

मेरो प्रस्तावमा सहमत हुँदै हामीतिर फर्किएर उनी मुसुक्क हाँसे। एकछिन पोखरीछेउमै बसेर रमाइला गफ गर्‍यौँ। अन्त्यमा हामीले दुई वटा ट्राउजर किन्नलाई सोध्यौँ। एउटाको १५० पर्ने उनले बताए। बजारमै २५० पर्ने कपडा बोकेर गाउँ पुर्‍याएपछि पनि कसरी १५० मा आउँछ भनेर सोध्दा उनले भने, “धेरै नाफा खाएर के गर्नु, ३०–४० रुपैयाँ फाइदा राखेर दिन्छु।”

मोटामोटी हिसाब निकाल्दा कपडाको बजार मूल्य, उनको मेहनत र समयको तुलनामा नाफा केही देखिएन। तर उनी त्यति कमाइमै सन्तुष्ट छन्। उनले भनेको मूल्यमा हामीले ५०/५० रुपैयाँ थपेर प्रतिगोटा २०० दिएर ट्राउजर लियौँ। 

साथीको संगतले थालेको व्यापार 
कृष्णको गाउँका अरू पनि तीन–जना साथीह उनले जस्तै  काम गर्दा रहेछन्। उनीहसँगै २०६० सालमा काठमाडौँ आएर घुमिफिरी कपडा बेच्न थालेका उनको दुई दशक यसैमा बितिसकेको छ। “पढाइलेखाइ केही भएन। कुनै सीप सिक्ने सोचाइ पनि दिमागमा आएन। अरू उपाय नदेखेपछि यही काममा लागेँ,” उनी भन्छन्।

काठमाडौँ उपत्यका आसपास मात्र नभई धुलिखेल, नौबिसे, पाँचखाल, बनेपा, पनौती, बाह्रबिसे लगायत पहाडका विभिन्न ठाउँका घरघरै उनी पुगेका छन्। यात्रामा जता पाइन्छ उतै खान र जहाँ पुगिन्छ त्यहीँ बस्न अभ्यस्त भइसकेका छन् कृष्ण। 

तर अब पहिलेजस्तो व्यापार हुन छाडेको छ। “पहिले व्यापार राम्रो थियो, दिनभरको कमाइले फाइदा राम्रै बस्थ्यो। यसैबाट परिवार पालिएको थियो। अहिले त गाह्रो छ,” उनले सुनाए। कृष्णका अनुसार पहिले दैनिक १२ सय देखि १५ सयसम्म कमाइ हुन्थ्यो। अहिले दिनभर डुल्दा ५–६ सय पनि पुग्न छाडेको छ। कुनै बेला मासिक ४५ देखि ५० हजारसम्म कमाएको अनुभव अब उनको सम्झनामै सीमित भएको छ। 

परिवारमा श्रीमतीसहित उनका एक छोरा र एक छोरी छन्। दुवै सन्तान बालिग भइसके। श्रीमती खेतीपातीको काम गर्छिन्।

“यो त महादुःख कष्टको व्यवसाय रैछ सर,” उनी निधार खुम्च्याउँदै भन्छन्, “यस्तै काम गरेर गुजारा चलाउनु पर्ने लेखान्त रहेछ, यही गरियो। हुन त काम गर्न के चाहिँ सजिलो छ र?” उनी प्रतिप्रश्न गर्छन्। 

२० बर्षसम्म गाउँगाउँ घुमेर व्यापार गरिरहँदा कसैले दुःख दिएको उनलाई याद छैन। वर्षदिन अघिको एउटा घटनाले भने उनलाई निकै तनाव दिएको थियो। लगनखेलबाट बालाजुतर्फ जाँदै गर्दा बसबाट किप्याडवाला मोबाइल कसैले चोरिदिएपछिको त्यो तनाव धेरै बेर भने रहेन। 

“जन्मिँदा भागमा जे पर्‍यो त्यही गर्नुपर्दो रहेछ,” उनी भन्छन्। कृष्णका लागि पाइला–पाइलामा भोगिरहेको जीवन दुःख हो भने हिँड्दाहिँड्दै थाकेर दिक्क भएको बेला थचक्क बस्न पाउनु आनन्द र सुख हो।

पहिले निश्चित ठाउँमा मात्र कपडा पसल थिए। अहिले जताततै सहजै पाउने भएपछि उनले गरिरहेको व्यवसाय धरापमा पर्दै गयो। “जति गर्नु यतिञ्जेल गरियो। अब त सकिँदैन, छाडेर खेतीपाती गर्दै घरमै बस्नुपर्ने भयो,” उनी भन्छन्।

छोराछोरीले पढेर सजिलै आम्दानी हुने काम गरून् भन्ने चाहन्छन् उनी। “छोराछोरीले दु:ख गर्नु नपरोस् भनेर नै उनीहरूलाई पढाउन अहिले म दुःख गरिराखेको छु,” कृष्णले भने।


सम्बन्धित सामग्री