Monday, April 29, 2024

-->

हिमाली पदयात्रामा धावकको उपाधि पाउँदा

एक्लै गएर ठीकै गरेछु। मसँग जाने सल्लाह गरेका एक जनाबाहेकका साथी मजति पनि हिँड्न सक्दैनथे। त्यसले यात्रा थप दुई दिन लम्बिन्थ्यो। साथीबिनाको पदयात्राले मलाई देशका सबै ठाउँमा एक्लै घुम्ने आँट आएको छ।

हिमाली पदयात्रामा धावकको उपाधि पाउँदा 

असोज पहिलो हप्ता घुम्न निस्कने योजना तीन महिना अघिदेखि बनेको थियो। दुई–चार जना साथीभाइसँगको छलफलपछि दोलखा जिल्लामा पर्ने च्छो रोल्पा हिमताललाई हामीले गन्तव्य बनाउने निर्णय गरेका थियौँ। त्यसअनुरूप च्छो रोल्पा हिमतालसँग सम्बन्धित केही श्रव्यदृष्य सामग्री अध्ययन पनि गरेको थिएँ। 

भदौको अन्त्यतिर पुगेपछि पहिला जाने भनेका साथीहरूका कुरा फेरिन थाले। असोज पहिलो हप्ताबाट दोस्रो हप्ता (१५ असोज) को मिति सर्‍यो। बर्षा र झरी नरोकिएका कारण त्यो प्रस्ताव मलाई पनि ठीकै लाग्यो। असोज १५ आउन तीन दिन बाँकी रहँदा फेरि भाखा सार्ने कुरा गर्न थाले साथीहरू। अबचाँहि रोकिने पक्षमा थिइनँ म। 

एक्लै भए पनि कुनै उच्च हिमाली क्षेत्रमा पदयात्रामा जाने अठोट लिएँ। च्छो रोल्पाको साटो रसुवा जिल्लामा पर्ने लाङटाङ र क्यान्जिङ उपत्यका जाने निर्णय गरेँ। 

हिमाली क्षेत्रमा यात्रा गर्ने रहर हुनुको पछाडि दुई–तीनवटा कारण छन्। पहिलो, नयाँ ठाउँ, प्राकृतिक सुन्दरता र मनारोम दृश्य। फरक समाज, भूगोल र संस्कृतिसँगको अन्तरक्रिया गर्ने अवसर प्राप्त हुनु। दोस्रो, उच्च हिमाली क्षेत्रमा गरिने पदयात्रालाई मैले स्वास्थ्यसँग पनि जोडेर हेर्ने गरेको छु। शरीरका लागि यो एक प्रकारको ‘नेचुरल थेरापी’ पनि हो। गएको ठाउँमा राम्रोसँग हिँड्न सकियो भने शरीरका पाटपूर्जा ठीकठाक रहेछन् भन्ने बुझाइ हुन्छ मेरो। 

तेस्रो महत्वपूर्ण कुरा चाहिँ, पत्रकारको नाताले हिमाली जनजीवन र त्यहाँको रहनसहनसम्बन्धी रिर्पोटिङ गर्ने हुटहुटीले मलाई जहिले पनि तानिरहेको हुन्छ।  

क्यान्जिङसम्मको गन्तव्य ताकेर २०८० असोज १९ गते बिहान ७ बजे काठमाडौँ छोडेँ। रसुवा मेरा लागि नयाँ थियो। त्यस जिल्लामा पाइलोसम्म टेकेको भए पनि भूगोल थाहा थिएन। एक्लै भएपछि स्याफ्रुबेँसीसम्म बसमा जाने सोँच थियो। रसुवाकै पत्रकार मित्र रमेश न्यौपानेले चाहिँ आफ्नै गाडी लिएर जान सुझाए। उनकै सुझावअनुसार गाडी लगेर उनकै घरमा राखेँ। त्यहाँबाट करिब तीन घण्टा सार्वजनिक यातायातको यात्रापछि दिउँसो २ बजे स्याफ्रुबेँसी पुगेँ। अनि त्यहाँबाट शुरू भयो हिँडाइ। 

घुम्नु मेरो ‘प्यासन’ हो। पहिला–पहिला विदेश घुम्न मन हुन्थ्यो। तर संसारकै धनी र उत्कृष्ट भनिने दुई–चार देशको यात्रापछि भने विदेश होइन, पहिला देश नै चिन्नुपर्छ भन्ने लाग्न थाल्यो। त्यसयता बर्षमा पदयात्रामार्फत दुई वटा गन्तव्यमा पुग्ने लक्ष्य बनाएँ। क्यान्जिङ मेरो चौथो गन्तव्य थियो। अझ विदेशमा जाँदा भेटघाट हुने साथीहरूले सगरमाथा वेशक्याम्प लगायतका उच्च हिमाली ठाउँका पदमार्गबारे चासो दिएर सोधीखोजी गर्छन्। अनि त्यसबेला नाजवाफ बन्नुपर्दा चाहिँ नरमाइलो लाग्ने। 

२०७४ जेठमा पहिलो पटक जापान गएको थिएँ। फुकुओका विमानस्थलमा ओर्लेर यामागुची जाने क्रममा रेलको सिटमा एक जना जापानीसँगै परेँ। कुराकानीका क्रममा मैले नेपालबाट आएको भनेपछि उनले मोबाइल निकालेर नेपालका उच्च हिमाली क्षेत्रमा घुम्दा कैद गरेका तस्वीरहरू देखाउन थाले। उनी पुगेका ठाउँमा म पुग्नै सकेको थिइनँ। उनी पटक–पटक नेपाल आएका रहेछन्। 

अर्को पटक २०७६ मा चीनको संघाईस्थित् थोङ्ची विश्वविद्यालय र संयुक्त राष्ट्रसंघीय वातारणीय कार्यक्रम (यूनेप) को दिगो विकास र वातावरणसम्बन्धी कार्यक्रमका लागि छनोट भएको थिएँ। त्यहाँ पनि यस्तै प्रश्नहरूको सामना गर्नुपर्‍यो। फिलिपिन्सको एक विश्वविद्यालयमा अर्थशास्त्र विषयको प्राध्यापक रहेकी साथीले ‘सगरमाथा बेसक्याम्प गएका छौ’ भनेर मलाई सोधिन्। मैले बेसक्याम्प त के, सोलुखुम्बु जिल्ला पनि टेकेको थिइनँ। त्यसपछि नै हो, मनमा देश घुम्नुपर्छ भन्ने लागेको। 

तर चाहेर मात्र पनि सम्भव नहुने रहेछ। खर्च, समय र स्वास्थ्य सबै कुराले साथ दिनुपर्ने। कोभिड महामारी शुरू भएर घरमा बस्नुपर्ने बाध्यताका बीच मेरो धेरै समय यात्रा ब्लगहरू हेरेर बित्न थाल्यो। केही ब्लग हेरिसकेपछि भने जाने हुटहुटी जाग्यो। कोभिडकै बीचमा २०७७ असोजको पहिलो हप्ता सुदूरपश्चिमको खप्तडलाई पहिलो गन्तव्य बनाएर यात्रा शुरू गरेको थिएँ। त्यसयता क्यान्जिङ मेरो चौथो गन्तव्य हो। 

बाटाभरि झर्ना 
स्याफ्रुबेँशीबाट लाङटाङ खोलालाई पछ्याउँदै करिब एक घण्टा हिँडेपछि आउँछ लाङटाङ राष्ट्रिय निकुञ्जको जंगलक्षेत्र। अनि उकालो–ओरालो र घोँडेटो बाटो। यात्रामा एक्लै भएका कारण बीच बीचमा भेटिने झरना र खोलाहरूको तस्वीर कैद गर्नुबाहेक ढिलो गर्नुपर्ने बाध्यता मलाई थिएन। त्यसैले सकेसम्म अगाडि बढेँ। 

जंगलको बाटो शुरू भएपछि बाटोभन्दा तल बग्ने लाङटाङ खोलाको एकोहोरो आवाज नै मेरो एकमात्र साथी थियो। लाङटाङ खोलालाई बायाँ पारेर दायाँतर्फको पाखोमा अघि बढेको तीन घण्टापछि भने बासस्थान बम्बु पुगेँ। बम्बुको एउटा तिब्बती होटलमा एक हजार रुपैयाँमा साँझको खाना र बिहानको खाजासहित बासको टुंगो लाग्यो। पसिनाले निथ्रुक्कै भिजेर बर्खाको झरीमा रुझेभन्दा कम थिएन मेरो शरीर। 

म पुग्दा उक्त होटलको पहिलो पाहुना भएको थिएँ। तर एक घण्टाभित्रै लाङटाङबाट फर्कने र लाङटाङ जान मभन्दा पछि आएका मानिसले होटल भरिभराउ भयो। खोलाकै छेउमा भएकाले खोलाको एकनासको आवाजले राम्रोसँग निदाउन भने पाइएन। 

बिहानको ६ बजे खाजा खाएर अघि बढ्दा लाङटाङबाट फर्कने विदेशी र स्वदेशी पर्यटकहरूको लर्को बाटोभरि नै थियो। बाटोमा भेटिने प्रायसँग अगाडिको गन्तव्यको जानकारी लिँदै अघि लम्किरहेँ। बाटोमा एक घण्टाको फरकमा भेटिने चिया पसलमा सुस्ताइरहेका पदयात्रीको लावालस्कर देख्दा लाङटाङमा पर्यटक भरिभराउ भएको लख काट्न गाह्रो थिएन। 

करिब तीन हजार ५०० मिटरको उचाइमा पुगेपछि भेटिने हिमाली वनस्पति र ठिंग परेर उभिएका हिमालहरूको दृष्यावलोकनसँगै त्यसले आँखालाई दिने सौन्दर्य र मनको आनन्दको वर्णन गर्ने शब्द नै छैन। 

कर असुल्न मात्र निकुञ्ज  
लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जभित्र प्रवेश गर्ने विदेशी नागरिकबाट प्रतिव्यक्ति तीन हजार, सार्क देशका नागरिकबाट एक हजार ५०० र स्वदेशी नागरिकबाट १०० रुपैयाँ संकलन गर्छ। सिजनको बेला मासिक एक हजारभन्दा बढी विदेशी नागरिकले लाङटाङ भ्रमण गर्ने निकुञ्ज कार्यालयको अभिलेख छ। यस हिसाबले शुल्कवापत विदेशी नागरिकबाट मात्र मासिक ३० लाखभन्दा बढी राजस्व निकुञ्ज कार्यालयले संकलन गर्छ। 

यति धेरै राजस्व संकलन गर्ने निकुञ्ज कार्यालयले पदमार्गमा अति सामान्य काम पनि गरेको छैन। नभई नहुने संकेतसम्म बाटोमा राखेको पाइँदैन। त्यसकारण पहिलो पटक जाने पदयात्री धेरै ठाउँमा अलमलमा पर्छन्। कति उचाइमा आइपुगियो, अगाडिको गन्तव्यमा पुग्न कति समय लाग्छ भन्ने सामान्य जिज्ञासा मेट्ने सूचनाको दायित्व पनि निकुञ्ज कार्यालयले पूरा गरेको देखिएन। स्याफ्रुबेँसीबाट चार हजार ७०० मिटरको उचाइमा पर्ने क्यान्जिङ रिसम्मै यस विषयमा निकुञ्जको उपस्थिति देखिन्न। कतिपय स्थानमा संकेतकै अभावमा बाटो बिराउने समस्या मैले पनि बेहोर्नुपर्‍यो। 

धावकको उपाधिले दंग  
रसुवाको कालिका गाउँपालिकाका पूर्वउपाध्यक्ष भवानीप्रसाद न्यौपानेले म पुग्नुभन्दा पहिला नै क्यान्जिङका ग्याल्बु तामाङसँग सम्पर्क गराइदिएका थिए। संयोगबश म पुग्ने दिनमा ग्याल्बु दुई घण्टा वरको लाङटाङ आएका रहेछन्। दिउँसो दुई बजे लाङटाङमा उनीसँग भेट भयो। भेट्नेबित्तिकै उनले मलाई सोधे, “तपाईं धावक हो? हामी हिमालमा बस्ने मान्छेभन्दा पनि छिटो हिँड्नुभएछ नि।” 

म बिहान बम्बुबाट हिँडेर दिउँसो २ बजे नै लाङटाङ पुगेको देखेर उनी छक्क परेका रहेछन्। हुन पनि उच्च हिमाली क्षेत्रको उकालो बाटो भए पनि मलाई हिँडाइमा कुनै समस्या थिएन, फटाफट हिँडिरहेको थिएँ। मभन्दा तीन घण्टा अघिसम्म हिँडेर बास बसेकाहरूलाई पनि पछि पारेर अघि गएको थिएँ। म बास बसेको होटलको भाइले साँझ ४ बजेसम्म लाङटाङ पुग्ने समयतालिका दिएका थिए मलाई। तर उनले अनुमान गरेको समयभन्दा दुई घण्टाअघि नै तोकिएको गन्तव्यमा पुगेको थिएँ। 

मलाई हिँड्दै गएपछि साथी नभएर ठीक भएछ भन्ने लाग्यो। मसँग जाने सल्लाह गरेका एक जनाबाहेकका अरू मजति पनि हिँड्न सक्दैनथे। यसो हुँदा यात्रा थप दुई दिन लम्बिने निश्चित थियो। यसपटक साथीबिना गरेको पदयात्राले भने मलाई अब देशका सबै ठाउँमा एक्लै घुम्ने आँट आएको छ। 

लाङटाङदेखि अघिको गन्तव्यका साथी थिए ग्याल्बु दाइ। उनी स्थानीयसँग भेटघाट र पूजापाठमा सहभागी हुनुपर्ने। म पनि उनकै पछि लागेँ। धार्मिक पूजापाठ भएका घरमा पुग्दा स्थानीयले पस्केका हिमाली क्षेत्रका विभिन्न परिकारको साक्षी बन्न पाएँ। फापरको रोटी, चौँरीको दूधबाट बनेको दही, घिउ, यस्तै यस्तै खालका परिकार थिए। 

दुई घण्टा लाङटाङमा अलमल गरेपछि हामी क्यान्जिङतर्फ अघि बढ्यौँ। मौसम प्रतिकूल थियो। हिमाली क्षेत्रमा दिउँसो १२ बजेपछि मौसम परिवर्तन भइहाल्छ। तीव्र चिसो हावा र कुहिरोले छपक्कै छोप्यो। म भने ग्याल्बु दाइभन्दा अघि अघि लागेँ। बाटोमा भेटिएका स्थानीयसँग उनी मेरो हिँडाइका बारेमा कुरा गर्दै थिए। साँझ ६ बजे क्यान्जिङ पुगेपछि भने मेरो दोस्रो दिनको गन्तव्य पूरा भयो। 

अर्को दिन क्यान्जिङ रि, स्थानीयसँग भेटघाट र कुराकानी एवं रिर्पोटिङका विषयवस्तुसँग सम्बन्धित पक्षसँग अन्तरवार्तापछि मैले साँझको गन्तव्य लाङटाङलाई बनाएर रसुवा जिल्लाको सबैभन्दा उच्च स्थानमा रहेको साह्रै सुन्दर गाउँ क्यान्जिङ छोडेँ। चौथो दिन काठमाडौँ फर्किने सम्भावना हुँदाहुँदै पनि आफ्नै सवारी साधन लगेका कारण पाँचौ दिनको बिहान मात्र काठमाडौँ आइपुगेर यसपटकको एकल पदयात्रालाई विश्राम दिएँ।  


सम्बन्धित सामग्री