भक्तपुर– सिन्धुपाल्चोककी देवीलक्ष्मी तामाङ भक्तपुरमा गलैँचा बुनाइ व्यवसाय सञ्चालन गर्दै आएकी छन्। पहिले ढुंगामाटोसँग खेल्दै आएकी देवीलक्ष्मीको दिन हिजोआज धागो र तानसँग बित्छ। यो उनको रुचि हो।
सात वर्षअघि सिन्धुपाल्चोकको जुगल गाउँपालिका–९ बाट भक्तपुर आइपुगेकी देवी घर बनाउने काममा संलग्न थिइन्। उमेरले ४० कटेकी देवीले प्राथमिक शिक्षा पूरा गरेकी छन्। ढुंगामाटोसँग जीवन निर्वाह गरिरहेकी उनलाई २०७६ सालतिर बुनाइ व्यवसाय सिक्ने इच्छा जाग्यो।
२०७६ सालमा भक्तपुरको सूर्यविनायकस्थित वन्डरफुल ट्रेनिङ एन्ड कन्सल्टेन्सी प्रालिबाट तालिम लिइन्। यो तालिम देवीलाई शिक्षा मन्त्रालय अन्तर्गतको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि योजना (इभेन्ट) ले दिएको थियो। सीप सिकेपछि उनले अरूलाई समेत व्यवसायमा जोड्ने काम गरिरहेकी छन्।
भन्छिन्, “म बाट धेरै बहिनीले सिकेका छन्। तान बुन्छन्, अहिले १२/१५ हजार कमाउँछन्। तालिममा राम्ररी सीप सिकेपछि जीवन चलाउन सहज हुन्छ।”
भक्तपुरको चाँगुनारायण नगरपालिका–९, इठाचामा देवीले गलैँचा व्यवसाय सञ्चालन गरेकी छन्। व्यवसायले घर व्यवहार चलाउन सहज भएको उनले सुनाइन्, “धागो किन्न अलि समस्या हो। हामीलाई चाहिनेजति सबै सामान बाहिरबाट आउँछन्। हामीले प्रयोग गरेको धागो चाइनाबाट ल्याउने गरेका छौँ।”
अहिले सात जनालाई रोजगारी दिइरहेकी देवी छोराछोरीको शिक्षादीक्षाप्रति सचेत छिन्। “हामीले पढ्ने बेला स्कुल नहुँदा हाइस्कुल जानै पाइएन। अब छोराछोरीलाई चाहेजति पढाउनुपर्ला,” उनी भन्छिन्।
बुनाइ व्यवसायमा आउनुभन्दा पहिला उनी सिन्धुपाल्चोकमै थिइन्। पाँच वर्षअघि काठमाडौँको भृकुटीमण्डपमा आएर तीन महिनाको तालिम लिएपछि उनी आफ्नै व्यवसाय खोल्न सक्षम भइन्। सिक्ने क्रममै उनले तीन गलैंचा बुनेकी थिइन्। त्यसपछि दुई लाख रुपैयाँ लगानी गरेर आफ्नै व्यवसाय शुरू गरिन्।
अहिले अर्डरका काम मात्र गरिरहेको बताउने देवीलक्ष्मीको अनुभवमा गलैँचा बुनाइ व्यवसायमा जनशक्ति धेरै चाहिन्छ। नत्र व्यवसाय नै चल्दैन। पहिला आफूकहाँ २० जनाले काम गरेकोमा धेरै जना वैदेशिक रोजगारमा गएको उनले बताइन्।
उत्पादित गलैँचाको माग विश्व बजारमा भए पनि नेपालमा खपत नभएको उनको गुनासो छ। देवी भन्छिन्, “हामीले बुनेको गलैँचासँगै मिहिनेत पनि बाहिर जान्छ।”
देवीलक्ष्मीलाई व्यवसायमा जोड्न उनका श्रीमानले पनि सहयोग गरेका थिए। यो व्यवसायबाट उनले तीन सन्तानलाई निजी विद्यालयमा पढाइरहेकी छन्। देवी भन्छिन्, “हामी सिन्धुपाल्चोकमै खेतीपाती गरेर बसिरहेको भए कहाँ छोरा छोरीलाई पढाउन सकिन्थ्यो र?” बालबच्चाको शिक्षादीक्षा र हेरचाह गर्नु भविष्यका लागि लगानी भएको उनी बताउँछिन्।
यो व्यवसायबाट वर्षमा १२ लाखसम्म कमाइ गरेको देवीको अनुभव छ। उनका अनुसार उत्पादन गरेका गलैँचा बेच्ने मानिस अरू नै हुन्छन्। उनले प्रति गलैँचा आठदेखि १५ हजार रुपैयाँसम्म पाउँछिन्। अर्डरहरू धेरै आए पनि पुर्याउन नसकेको उनी बताउँछिन्।
तर विश्वभरि महामारीको रूपमा फैलिएको कोरोनाले आम्दानी घटेर अहिले वार्षिक छ–सात लाखमा सीमित भएको देवी बताउँछिन। महामारी चर्किएको वर्ष त मुस्किलले एक लाख मात्र आम्दानी भयो।
देवीसँग ७ वटा तान छन्। जनशक्ति भएको भए ठूला गलैँचाहरू पनि बुन्न सकिने उनले बताइन्।
बीचमा देवीले विदेशको कुरा ल्याइन्। भन्छिन्, “विदेश गएर पनि के हुन्छ र? यता बच्चाहरूलाई हेर्न मिल्दैन। यहाँ त बच्चाहरूलाई आफूसँगै राखेर हेर्न पाइन्छ। खाजा बनाउन पाइन्छ। यहाँ आफ्नै घरमा बसेर काम गर्न पाइन्छ। परिवारको माया पाइन्छ।”
देवीले छोरीलाई समेत तानमा जोडेकी छन्। उनकी छोरी सञ्जिता पनि आमालाई सहयोग गर्ने भइसकेकी छन्। उनी बिदाको दिन आमालाई सहयोग गर्छिन्। बुट्टा भर्न भने उनले सिक्न बाँकी छ।
देवीलक्ष्मीले बुनेका गलैँचा अहिले चीन, श्रीलंका, जापानलगायत देशहरूमा जाने गर्छन्। त्यसमा उनी गर्व गर्छिन्।