Friday, May 03, 2024

-->

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै बाँकेका महिला

ज्यालामजदुरी गरेर गुजार चलाइरहेका बाँकेको बैजनाथका महिला तरकारी खेतीमा लागेका छन्। उनीहरू अर्ग्यानिक तरकारी बेच्न प्रत्येक बिहान नेपालगन्ज बजार जाने गर्छन्।

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै बाँकेका महिला 

जानकी– बाँके बैजनाथ गाउँपालिका–८ टिटीहिरियाकी शान्ति चौधरी दैनिक २३ किलोमिटर दूरी पार गर्दै तरकारी बेच्न नेपालगन्ज बजार पुग्छिन्।

प्रत्येक साँझ बारीमा फलेको तरकारी टिपेर घरको छानामाथि शीतमा राख्ने र भोलिपल्ट बिहान बोरामा बाँधेर बजारसम्म ल्याउनमै उनको दिन बित्ने गर्छ। शान्तिलाई आफूले कति किलो तरकारी लिएर बिक्री गर्ने गरेको भन्ने थाहा छैन तर बजारसम्म ल्याइएका तरकारी भने सबै बेचेर घर फर्किन्छिन्।

“अन्तबाट खरिद गरेर बेच्ने भए पो यति किलो खरिद गरेँ भन्ने हिसाब हुन्छ। यी त सबै आफ्नै बारीमा फलाइएका तरकारी हुन्,” उनले भनिन्, “टिप्यो बोरामा बाँध्यो अनि बजारमा ल्याएर बेच्यो।” नेपालगन्जको सडक छेउमा बसेर विगत पाँच वर्षदेखि हिउँदे, बर्खे र बाह्रमासे तरकारी बेच्दै आएको उनले बताइन्। 

तरकारीबाट शान्तिले दैनिक चारदेखि पाँच हजार रुपैयाँसम्म कमाउने गरेकी छन्। यसपटक बर्खे तरकारी बेचेर एक लाख ९५ हजार कमाई गरेको उनले सुनाइन्। “दैनिक आम्दानी थोरै भनेको तीन हजार हुन्छ, नत्र त प्रायः चारदेखि पाँच हजारसम्म भइरहन्छ,” उनले भनिन्, “तरकारीबाट कमाएको पैसाले छोरीको पढाइ र घरखर्च दुवै चलेको छ।”

शान्तिले झैँ आफ्नै बारीमा फलेको तरकारी बेचेर विगत चार वर्षदेखि घर चलाउँदै आएकी छन्, शोभारानी थारुले पनि। शोभारानीको आम्दानी दैनिक दुई हजार ५०० देखि तीन हजार ५०० सम्म हुने गर्छ। बर्खे बालीभन्दा हिउँदेबाट बढी आम्दानी गर्ने गरेको उनले बताइन्। “हिउँदे बालीबाट उत्पादन भएका चना, केराउ, मुसुरोको दानासँगै जाँतोमा पिसेको दाल र अन्य गेडागुडीबाट मैले दिनको पाँच हजार पाँच सयसम्मको आम्दानी गरेको छु,” उनले भनिन्। 

शोभारानी र शान्ति एउटै गाउँका भएको हुनाले उनीहरू बिहान ७ बजे नै गाउँबाट तरकारी बेच्नका लागि नेपालगन्जको धम्बौझीमा आइपुग्नुछन्। यो समयमा शोभारानीले कटहर, आलु, प्याज, बर्खे खुर्सानी, भान्टा, कर्मुलाको सागलगायत हरियो तरकारी बेच्दै आएकी छन्। साथीको देखेर आफूले पनि बारीमा फलेको तरकारीलाई नेपालगन्जको बजारसम्म ल्याएर बेच्न शुरू गरेको उनले सुनाइन्। “सडकको छेउमा तरकारीका थुप्रो लगाएर बेच्न मलाई पहिला त लाज लागेको थियो। तर अहिले त आफ्नै व्यापार हो भन्ने बुझेको छु,” उनले भनिन्, “अब त सकुन्जेल यही नै गर्ने हो।” उनले आठ कठ्ठा जग्गामा तरकारी लगाएकी छन्। 

३० वर्षीया सुबिनाकुमारी थारु पनि आफैँले बारीमा फलाएको तरकारीलाई बजारमा ल्याएर बेच्ने गरेकी छन्। उनले यसरी तरकारी बेच्न लागेको तीन वर्ष भएको छ। तरकारी बेच्नुभन्दा पहिला ज्याला मजदुरी गर्थिन्। आफूले दिनभरि काम गर्दा जम्मा ५०० पाउने र तरकारी बेचेर शोभारानी अनि शान्तिले दुई हजार ५०० देखि पाँच हजार ५०० रुपैयाँसम्म आम्दानी गरेको थाहा पाएपछि उनले पनि बारीमा फलेका तरकारी बजार लैजान थालेकी हुन्।  

“अर्काको काम गर्दा बिहानदेखि बेलुकासम्म नै खटिनुपर्थ्यो। सानै भए पनि यो त आफ्नै व्यापार हो। बिहानभरि तरकारी बेचेर दिउँसो घरको काम गर्न पनि पाइन्छ,” उनले भनिन्। तरकारी बेचेरै सुबिनाले पनि एक बिहान रु तीन हजार ५०० रुपैयाँ हाराहारीमा आम्दानी गरिरहेकी छन्। उनी भन्छिन्, “पहिला घरमै मात्र खानका लागि तरकारी लगाइन्थ्यो। अहिले गोडमेलका लागि दुईदेखि तीन जनासम्म मान्छे लगाएर व्यावसायिक रूपमा तरकारी लगाउने गर्छु।”

अरूको काम गरेर ज्याला मजदुरीका रूपमा चिनिनुभन्दा सानै भए पनि आफ्नै व्यापार गरेर आत्मसन्तुष्टि भएको सुबिना बताउँछिन्। “आफ्नै व्यापार गर्छु भन्नुमा छुट्टै मज्जा छ,” उनले भनिन्, “सडककै छेउमा बोरो ओछ्याएर तरकारी बेच्दा पनि यसले हामीलाई आत्मनिर्भर बन्न सिकाएको छ।” 

नेपलागन्जको धम्बोझी चोक नजिकै प्रत्येक बिहान सडकको छेउमा अर्ग्यानिक तरकारी किन्ने ग्राहकको भीड देख्न सकिन्छ। बिहान सडक सुनसान हुने १० बजेसम्म तरकारी बेच्ने वातावरण मिलाइदिएको नेपालगन्ज उपमहानगरका नगर प्रहरी प्रमुख सूर्य बोगटीले बताए। केही वर्षदेखि नेपालगन्जका सडक छेउमा गाउँघरका अर्ग्यानिक मौसमी तरकारीले बजार लिन थालेका छन्।


सम्बन्धित सामग्री