Saturday, April 27, 2024

-->

एमालेले ‘जित्ने सूची’मा राखेका महेश बस्नेत किन हारे?

अघिल्लो निर्वाचनमा पाएको भन्दा महेश बस्नेतले १३ हजार कम मत पाए, जबकि गएको स्थानीय तहको मतअनुसार यो क्षेत्रमा माओवादी केन्द्र र एकीकृत समाजवादीको मत करिब दुई हजार मात्र छ।

एमालेले ‘जित्ने सूची’मा राखेका महेश बस्नेत किन हारे
महेश बस्नेत र दुर्लभ थापा। तस्वीर: थापाको फेसबुकबाट

भक्तपुर– २०७४ सालको आमनिर्वाचनमा भक्तपुर–२ बाट एमालेका महेश बस्नेतले सहजै जित हासिल गरेका थिए। उनले ३६ हजार ४१२ मत पाउँदा कांग्रेसका दमननाथ ढुंगानाले १८ हजार ६७५ मत ल्याएका थिए।

तर, यसपटकको आमनिर्वाचनमा बस्नेत शुरूदेखि नै पछि परे। कांग्रेसका दुर्लभ थापाले प्रारम्भदेखि नै लिएको अग्रता बस्नेतले चिर्न सकेनन् र पराजित भए। भक्तपुर–२ मा खसेको ६५ हजार ७७५ मतमध्ये थापाले २४ हजार २३९ ल्याउँदा बस्नेतले २३ हजार २८२ मत मात्र पाए। थापा कांग्रेस भक्तपुर सभापति हुन्।

अघिल्लो निर्वाचनको तुलनामा बस्नेतले झन्डै १३ हजार मत गुमाए। यद्यपि, २०७४ सालको निर्वाचनमा वाम गठबन्धन हुँदा बस्नेतलाई माओवादी केन्द्रको साथ थियो। यसपटक माओवादीले कांग्रेसलाई साथ दिएको थियो भने एमाले टुक्रिएर बनेको एकीकृत समाजवादीको मत पनि थापालाई नै गयो। तर, बस्नेतले गुमाएको १३ हजार मत यो क्षेत्रमा माओवादी केन्द्र र एकीकृत समाजवादीसँग नभएको स्थानीय बताउँछन्।

गएको स्थानीय तह निर्वाचनमा सूर्यविनायक नगरपालिकामा एक्लै प्रतिस्पर्धा गरेको माओवादी केन्द्रका उम्मेदवारले प्रमुखतर्फ एक हजार मत पनि पुर्‍याउन सकेका थिएनन्। मध्यपुरथिमि नगरपालिकामा उपप्रमुखमा कांग्रेसको सहयोगमा विजयी भए पनि वडातर्फ उम्मेदवार नै उठाएको थिएन। एकीकृत समाजवादीले भने दुवै नगरपालिकामा वडाध्यक्षतर्फ एक हजारभन्दा केही बढी मत मात्र पाएको थियो।

त्यसो भए बस्नेतले २०७४ सालमा पाएको मत किन यसपटक गुमाए? जबकि, यो क्षेत्रलाई एमालेले नै ‘जित्न सक्ने’ सूचीमा राखेको थियो।

कांग्रेसमा पनि स्थानीय उम्मेदवार हुनुको प्रभाव
२०७४ सालमामा महेश बस्नेतको प्रतिद्वन्द्वी कांग्रेसका दमननाथ ढुंगाना थिए। काठमाडौँको बत्तिसपुतली घर भएका ढुंगाना २०४६ सालको प्रजातन्त्र पुनर्स्थापनापछिको पहिलो सभामुख हुन्। उनी त्यतिबेला काठमाडौँ-२ बाट विजयी भएका थिए।

२०५१ सालको मध्यावधि निर्वाचनमा ढुंगाना सोही क्षेत्रबाट पराजित भएपछि राजनीतिबाटै ओझेल परे। २३ वर्षपछि कांग्रेसले उनलाई निर्वाचनमा होम्दै भक्तपुर¬२ मा उम्मेदवार बनाएपछि स्थानीय कार्यकर्ता रुष्ट भएका थिए। 

दुर्लभ थापा। तस्वीर : अमित मचामसी/उकालो

त्यतिबेला ढुंगानामा स्थानीयहरूले आफ्नोपन नपाएको मध्यपुरथिमिका सुरज खड्का बताउँछन्। “२०७४ मा पार्टीको गलत निर्णयले दमननाथ ढुंगानालाई ल्याएर उम्मेदवार बनाइदियो। त्यैपनि उहाँलाई जिताउन राम्रै पहल गरेको हो”, खड्का भन्छन्, “तर स्थानीयले टुरिस्ट उम्मेदवार भनेर पत्याएनन्। भक्तपुरकै भएकाले धेरैले महेश बस्नेतलाई मत दिए।”

यसपटक कांग्रेसले भक्तपुर सूर्यविनायककै नेता थापालाई उम्मेदवार बनाएको थियो। लामो समय स्थानीय राजनीतिमा लागेका थापाको यो क्षेत्रमा राम्रै प्रभाव छ।

वाम गठबन्धन टुटेपछि गुमाएको शक्ति
२०७४ सालमा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका साझा उम्मेदवार थिए बस्नेत। एमाले पनि एक थियो। 

२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र एक भएर नेकपा बनेको थियो। तर, पार्टी एकता प्रक्रिया नटुङ्गिँदै २०७७ पुस १५ गते दुई पार्टी पूर्ववत् अवस्थामा पुगे। २०७८ भदौ ९ गते माधवकुमार नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी दर्ता भयो। 

कम्युनिष्ट पार्टीहरूमा आएको फुटको प्रभाव बस्नेतको मतमा समेत परेको मध्यपुरका स्थानीय प्रदीप श्रेष्ठ बताउँछन्। “२०७४ मा एमाले र माओवादीको एकता थियो। एमाले पनि फुटेको थिएन, अहिले त एमाले नै दुई टुक्रामा विभाजित भएको छ। पुरानो अवस्थामा रहेको भए महेश बस्नेतलाई गाह्रो हुँदैनथ्यो”, उनी भन्छन्, “अहिले अवस्था फेरियो। अहिले नेपाली कांग्रेसले नेकपा माओवादी र नेकपा एससँग गठबन्धन गरेर निर्वाचनमा आएको अवस्थामा बस्नेतलाई गाह्रो भएको हो।” 

कांग्रेस जिल्ला सभापति रहेका थापा सशक्त उम्मेदवार भएकाले पनि बस्नेतलाई टक्कर दिन सजिलो भएको उनले बताए। 

विकासमा पक्षपातको आरोप
भक्तपुर–२ मा दुईवटा नगरपालिका छन्, सूर्यविनायक र मध्यपुरथिमि। बस्नेत सूर्यविनायक नगरपालिकाका रैथाने हुन्। एमालेलाई मत दिँदै आएकी गुण्डुकी एक मतदाता बस्नेतले सांसद भएपछि गुण्डु क्षेत्रमा विकासका पूर्वाधारहरू बनाएर सुविधा दिएको बताउँछिन्। 

उनका अनुसार पाँच वर्ष अघिसम्म सूर्यविनायकदेखि गुण्डुसम्म जाने सडक राम्रो थिएन। कलेज जाँदाआउँदा वर्षाको समयमा हिँड्नुपर्ने अवस्था थियो। साँझ परेपछि बाटो हिँड्नसमेत डराउनुपर्ने अवस्था थियो। “म जुनसुकै बेलामा निर्धक्कसँग हिँड्न पाउँछु, सुनसान हुने ठाउँमा पनि फुटसल, बास्केटबल कोर्ट, कसरत गर्ने ठाउँ छन्। बाटा उज्यालो छन्”, उनी भन्छिन्, “त्यसैले अहिले केहीको डर मान्नुपर्ने अवस्था छैन, जसले गर्दा मेरो स्वतन्त्रताको रक्षा भएको छ।” 

उनका अनुसार गुण्डुको क्षेत्रमा खानेपानीको समस्यालाई पनि बस्नेतले समाधान गर्न भूमिका खेलेका छन्। सिपाडोल क्षेत्रमा पनि विकासका काम भएको छ। तर आफ्नो नजिकका मान्छेलाई काखा र अरूलाई पाखा गर्ने बस्नेतमाथि आरोप लाग्ने गरेको उनी बताउँछिन्। “एमालेको सरकार परिवर्तन भएपछि महेश बस्नेतको क्रेज घटेको हो, आफ्नोलाई काखा र अरूलाई पाखा गरेपछि झन् चिसोपन शुरू भयो”, उनी भन्छिन्।

आफ्नै क्षेत्रमा रहेको मध्यपुरथिमि नगरपालिकामा भने विकासमा पक्षपात गरेको स्थानीय प्रदीप श्रेष्ठ बताउँछन्। उनका अनुसार बस्नेतले सूर्यविनायक क्षेत्रमा मात्रै विकासका काम गराएका छन्। “भाषण गर्दा भक्तपुरमा ६० अर्बभन्दा बढी बजेट ल्याएर विकास गरेको सुनियो, तर त्यो पैसा कहाँ गयो थाहा छैन। मध्यपुरमा त कुनै काम उहाँले गर्नुभएको छैन”, उनी भन्छन्, “जनताको काम गर्न नसकेकोले मतदाता चिढिएका छन्।” 

विवादित काम र अभिव्यक्ति
बस्नेतले दिएका अभिव्यक्ति र भाषणहरू पाँच वर्षमा धेरैपटक विवादित बने। त्यस्तै, कोभिड–१९ महामारीका बेला सांसद अपहरण गरेको आरोपसमेत बस्नेतलाई लागेको थियो।

हनुमन्ते खोला सार्ने विषयमा विवादमा पनि बस्नेतले खोला सार्न नदिने बताएका थिए। पछि उनी आफैँ सरिक भएर खोला सारेको भन्ने आरोप लागेको थियो। 

त्यस्तै, सूर्यविनायकको जंगल मासेर काठमाडौं वर्ल्ड स्कुललाई जग्गा दिएको, बाटोको लागि डाँडा काट्दा निस्केको माटो बेचेको जस्ता आरोपसमेत उनलाई लागेको गुन्डुकी ती स्थानीय बताउँछिन्। विकास गरेकोमा प्रशंसा पाए पनि विवादित अभिव्यक्तिहरूले लोकप्रियतामा कमी आएको उनी बताउँछिन्। 

“एक त, उनको रवैयाको कारण पनि अलोकप्रिय भए। बौद्धिक वर्गमा उनको छवि राम्रो भएन। सांसद अपहरणकारीको ट्यागदेखि उनको छुद्र बोलीलाई धेरैले मन पराएनन्”, उनी भन्छिन्।

काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहको विरुद्धमा बोलेका कारण पनि बस्नेतको छवि बिग्रिएको उनी बताउँछिन्। त्यसैले युवाहरूले पनि उनलाई मत नदिएको उनको भनाइ छ।


सम्बन्धित सामग्री