Wednesday, May 08, 2024

-->

भोटमै भेदभाव गर्छ राज्य : कतै नतिजा आइसक्यो, कतै मतपेटिका नै आइपुगेनन्

मुस्ताङ र मनाङका मतपेटिका ढुवानीपछि गणना भएर नतिजा आइसक्दा हुम्लाको विकट क्षेत्रका कर्मचारी २४ घन्टादेखि हेलिकप्टरको पर्खाइमा छन्।

भोटमै भेदभाव गर्छ राज्य  कतै नतिजा आइसक्यो कतै मतपेटिका नै आइपुगेनन्
गोरखा सदरमुकाम ल्याइएको मतपेटिका। तस्वीर: रासस

काठमाडौँ– जाजरकोट सदरमुकाम ल्याइएका कतिपय मतपेटिका फुटिसकेका छन्। कतिपय मतपेटिकाको सिल नै टुटेको छ।

तर, कुनै झडप भएर वा नियतबस मतपेटिका फुटाइएको होइन, न सिल नै तोडिएको हो। सडकको दूरवस्थाका कारण अन्य सवारी साधन चल्न नसक्ने भएपछि ट्याक्टरमा मतपेटिका ओसार्दा क्षति पुगेको हो।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवीनकुमार कठायतका अनुसार जुनिचाँदे गाउँपालिकाको मतपेटिका अझै आइनपुगेकाले मतगणना कतिबेला शुरू हुन्छ भन्ने स्पष्ट छैन। “सडक राम्रो नहुँदा अन्य सवारी साधन चल्दैनन्। कतिपय स्थानबाट ट्याक्टरमा मतपेटिका ल्याउँदा केही फुटेका छन्। सिल तोडिएको अवस्थामा पनि आइपुगेका छन्”, उनले भने, जुनिचाँदेबाट मतपेटिका आइपुगेको छैन। आज मतगणना सम्भव छैन।” 

हेलिकप्टरको व्यवस्था नहुँदा कतिपय दुर्गम जिल्लामा मतपेटिका संकलनमा समस्या भएको छ। हेलिकप्टर आउने निश्चित नहुँदा पैदल बोकाएरै मतपेटिका सदरमुकाम ल्याउन थालिएको जिल्ला निर्वाचन कार्यालय मुगुका प्रमुख विष्णुप्रसाद न्यौपानले जानकारी दिए। हेलिकप्टर उपलब्ध नगराएर आफूहरूलाई नेपाली सेनाले धोका दिएको उनको भनाइ छ। 

“हामीले निर्वाचन आयोगको केन्द्रीय कार्यालय र जिल्लास्थित नेपाली सेनालाई मतपेटिका संकलनका लागि हेलिकप्टर आवश्यकता पर्ने भनेका थियौँ। दुवै निकायबाट हेलिकप्टर आउने सूचना पाएका पनि थियौँ। तर मतपेटिका ढुवानी गर्ने बेला आएन। आउने संभावना पनि भएन”, न्यौपानले भने। 

मतपेटिका सदरमुकाम ल्याएर गणना शुरू गर्न कम्तिमा अझै दुई दिन लाग्ने उनको भनाइ छ। मुगुमा छायाँनाथ रारा नगरपालिका छ भने खत्याड, मुगुमकार्मारोंग र सोरू गरी तीन गाउँपालिका छन्। यहाँ प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनबाट कांग्रेसका ऐनबहादुर शाही ठकुरी र एमालेका राजबहादुर कार्की प्रतिश्पर्धामा छन्।

अन्य विकट जिल्लामा मतपेटिका ओसार्न समस्या भइरहँदा हिमाली जिल्ला मुस्ताङमा भने परिणाम नै आइसकेको छ। त्यहाँ आइतबार मतदान सम्पन्न हुनासाथ हेलिकप्टरबाट मतपेटिका संकलन गरिएको थियो। त्यसपछि मतगणना शुरू भइहाल्यो। सोमबार बिहानसम्म प्रतिनिधिसभातर्फ विजेता नै घोषणा भइसकेका थिए। साँझसम्म प्रदेशतर्फको पनि मतगणना सकियो। 

मुस्ताङकै छिमेकी तथा विटक हिमाली जिल्ला मनाङमा पनि हेलिकप्टरबाट मतपेटिका सदरमुकाम ल्याएर मतगणना थालिएको छ। त्यहाँ प्रदेश (क) तर्फको मतगणना सकिइसकेको छ। 

तर, अन्य हिमाली जिल्लाको अवस्था फरक भयो। मतपेटिका संकलन गर्न नै समस्या हुँदा अन्य कतिपय हिमाली जिल्लाको  मतगणना शुरू हुनै अझै तीन दिनसम्म लाग्ने भएको छ। विकट हिमाली जिल्लाका प्रायः उत्तरी भेगसम्म सडक पुग्न सकेको छैन। बनाइएका सडक पनि पहिरोले अस्तव्यस्त छन्। 

यस्तो अवस्थामा मतेपटिका संकलनका लागि हेलिकप्टरकै भर पर्नुपर्ने बाध्यता छ। तर, हेलिकप्टर उपलब्ध नभएपछि खासगरी कर्णालीका जिल्लाहरूमा बोकेरै मतपेटिका सदरमुकाम ल्याउन थालिएको छ। 

डोल्पामा निर्वाचन सकिएलगत्तै सोमबार नै जिल्ला निर्वाचन कार्यालयका कर्मचारीले सेनाको हेलिकप्टरबाट मतपेटिका ढुवानी गर्न चाहेका थिए। तर, सेनाले एउटा मात्रै हेलिकप्टर पठाउने निर्णय गरेपछि मतपेटिका ढुवानी लम्बिने भएको निर्वाचन कार्यालयले जनाएको छ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख रामबहादुर कार्कीले दुई वटा हेलिकप्टर मागेकोमा एउटा मात्रै आएपछि बाँकी मतपेटिका सदरमुकाम ल्याइपुर्याउन कम्तिमा तीन दिन लाग्ने बताए। “सकेसम्म चाँडो मतपेटिका संकलन गरी गणना शुरू गर्ने हाम्रो चाहना थियो। तर, हेलिकप्टर अभाव भएको भन्दै सेनाले एउटा मात्रै दिने भएपछि सबै मतपेटिका ल्याउन तत्काल ढुवानी गर्न सकिएन”, कार्कीले भने। 

प्रतिनिधिसभातर्फ एउटै निर्वाचन क्षेत्र रहेको डोल्पामा ठूली भेरी र त्रुपुरासुन्दरी गरी दुई नगरपालिका छन्। त्यसैगरी जगदुल्ला, डोल्पोबुद्ध र मुड्केचुला गरी तीन गाउँपालिका छन्। डोल्पामा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का धनबहादुर बुढा र एमालेका गणेश शाहीलगायत उम्मेदवार छन्। 

हुम्लामा पनि मतपेटिका ढुवानीमा समस्या भएको छ। जिल्ला निर्वाचन कार्यालयका प्रमुख श्यामबहादुर रानाले अहिलेसम्म ३४ मतदानस्थलबाट मतपेटिका संकलन गरिएको बताए। तीमध्ये तीन वटा केन्द्रको मतपेटिका हेलिकप्टरले ल्याइदिएको थियो। बाँकी मतपेटिका संकलन गर्न सेनाले हेलिकप्टर पठाउने वा नपठाउने निश्चित नगरेको उनले बताए। 

“मतगणना सकेसम्म चाँडो गर्ने हाम्रो योजना हो। तर, हेलिकप्टर आएको छैन। विकट र टाढा भएकाले मतपेटिका बोकेर ल्याउन पनि सम्भव छैन”, उनले भने। हुम्लामा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका छिरिङ लामा र एमालेका दल रावल प्रतिश्पर्धामा छन्।

हुम्लामा पनि प्रतिनिधिसभातर्फ एउटै निर्वाचन क्षेत्र छ। यहाँ अदानचुली, खार्पुनाथ, चंखेली, ताजाकोट, नाम्खा, सर्केगाड र सिम्कोट गरी सात गाउँपालिका छन्। 

उता कर्णालीकै अर्को कालिकोट जिल्लामा पहिरोका कारण अधिकांश सडक जोखिमपूर्ण छन्। मतपेटिका ढुवानीका लागि हेलिकप्टर मागे पनि नपाएपछि बसबाट मतपेटिका आसार्न थालिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख श्यामकुमार रानाले बताए। सबैतिरबाट बसमा मतपेटिका ढुवानी गर्न कम्तिमा दुई दिन लाग्ने उनको भनाइ छ। 

कालिकोटमा गत असोजमा गएको पहिरोका कारण ठाउँठाउँमा सडक अवरूद्ध छन्। एउटै निर्वाचन क्षेत्र रहेको कालिकोटमा खाँडाचक्र, तिलागुफा र रास्कोट गरी तीन नगरपालिका छन्। त्यस्तै शुभकालिका, नरहरीनाथ, पचालझरना, पलाता, महावै र सान्नीत्रिवेणी गरी ६ वटा गाउँपालिका छन्। कालिकोटमा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनबाट माओवादी केन्द्रका महेन्द्रबहादुर शाही र एमालेका नागेन्द्रबहादुर शाही प्रतिश्पर्धामा छन्। 

रूकुम पश्चिममा पनि मतपेटिका ढुवानीमा समस्या रहेको बेला मतदानमै ‘धाँधली’को विवाद उठेको छ। एमालेले जिल्लाका सात वटा मतदान केन्द्रमा धाँधली भएको भन्दै पुनः मतदानको माग गरेको छ। सत्तागठबन्धनका तर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका जनार्दन शर्मा आफँै संलग्न भई एमाले प्रतिनिधिलाई धम्काएर फर्जी मत हालेको एमालेको आरोप छ। 

शर्माका प्रतिश्पर्धी एमालेका नन्दराम देवकोटाले सत्ता पक्षबाट मतदानमा जालझेल भएकाले यही अवस्थामा मतगणना शुरू गर्न नदिने बताए। “सबैस्थानमा मतदान निष्पक्ष ढंगबाट भएन। हाम्रो माग पूरा नभएसम्म मतगणना शुरू गर्न मिल्दैन भनेर हामीले निर्वाचन कार्यालयलाई जानकारी गराइसकेका छौँ”, उनले भने। एमालेको विरोधका कारण रूकुम पश्चिममा मतगणना हुन समय लाग्ने देखिएको छ। 

पूर्वी हिमाली जिल्ला ताप्लेजुङमा पनि मतपेटिका सदरमुकाम आइसकेका छैनन्। हेलिकप्टर नपाएकाले उत्तरी फक्ताङ्लुङ गाउँपालिकाका वडा नम्बर ६ र ७ मा पर्ने चार मतदान केन्द्रका पेटिका संकलन गर्न समस्या भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए। “दुर्गमबाट मतेपेटिका ओसार्न हेलिकप्टर पाइएन। पैदल नै सदरमुकाम झार्नुपर्ने भएको छ। कतिपय ठाउँमा हामी बसमा पनि हालेर ल्याउँदैछौँ”, पोखरेलले भने। 

गोरखामा मतेपटिका ढुवानी गर्न सेनाको हेलिकप्टर ढिलो गरी मात्र पुगेको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले जानकारी दिए। सेनाको हेलिकप्टरले चुमनुब्री गाउँपालिकाका २२ मतदान केन्द्रका ८८ मतपेटिका ल्याएको छ। गोरखाको यो गाउँपालिका चीनसँग जोडिएको छ। 

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया मतपेटिका समयमै मतगणनास्थल पुर्याउन हेलिकप्टरको व्यवस्थापन गरिरहेको बताउँछन्। “मतपेटिका ढुवानीमा हामीले सम्झौता गरेका छैनौँ। हेलिकोप्टरको माग धेरै ठाउँबाट भएको छ। सबैतिर पालैपालो मतपेटिका ओसार्दैछौँ”, उनले भने, “मागेका जतिलाई एकैपटक हेलिकप्टर दिन सेनाले पनि सक्दैन। सम्भव भएसम्म बसमा पनि ढुवानी गर्नुपर्छ भनेर निर्देशन दिएका छौँ”, थपलियाले भने। 

मुस्ताङ र मनाङमा भने थोरै मतपेटिका भएका कारण हेलिकप्टरले एकैपटकमा ओसार्न सकिएको उनको भनाइ छ। “मनाङ, मुस्ताङमा थोरै मतपेटिका थियो। ढुवानीको काम समयमै सकौँ भन्ने भयो। अरू कुनै पक्षपाती व्यवहार गरिएको छैन”, थपलियाले भने।


सम्बन्धित सामग्री