Saturday, April 27, 2024

-->

राजमार्गमा रंगमञ्च

नाटक भइरहेका वा नभएका कुनै पनि थिएटरले, आफ्नै आम्दानीबाट कलाकार र कर्मचारीको खर्च धान्न सकेका छैनन्। यस्ता अनेकौँ बाधाहरू पन्छाउँदै आ-आफ्नो सपनाको गोरेटो निर्माणमा थिएटर र रंगकर्मी तल्लीन छन्।‍

राजमार्गमा रंगमञ्च
तस्वीरः मण्डला थिएटरको फेसबुक पेज।

कुराकानीको पर्दा यसरी खुल्छ:

‘तपाईंको अरू के-के प्लान छ, अब मण्डलामा एउटा प्ले गर्नुपर्छ सँगै मिलेर!’ मण्डला थिएटरका एकजना साथीले प्रस्ताव राखे। खासमा अर्कै कामको सिलसिलामा कुराकानी गर्दा म्यासेन्जरमा आएको प्रस्ताव हो। जुन रूपमा आएको भए पनि प्रस्तावलाई हलुका रूपमा लिने बानी छैन ।

यो प्रस्तावले गौरवान्वित भएँ। शरीर बुरुक–बुरुक नउफ्रिए पनि मन भने उफ्रिन थालिहाल्यो। अरू के गर्नु! 

र, यो लेख लेख्नको लागि पर्दा खुल्यो। म औसत कोटीको रंगकर्मी मान्छु आफूलाई। रंगमञ्चमा लागेको करिब २२ वर्षपछि कुनै थिएटरले यस्तो अफर गर्ने समय आएछ! अनि खुशी नहुनु? खुशी हुनलाई धेरै के नै चाहिन्छ र!

स्वतन्त्ररूपमा काम गरिरहेका रंगकर्मीहरूले गुरुकुलको थिएटरमा नाटक मञ्चन गर्न नपाउने कलाचेत गुरुकुलले अपनाएको थियो। कृष्ण शाह यात्रीलगायत हामीहरू खुब निराश बनेका थियौँ त्यो बेला। त्यही निराशालाई चुलीमा पुग्न नदिन होला शायद स्कुल थिएटर फेस्टिबलको आयोजना गरेर हामीले गुरुकुलको मञ्चमा स्वागत पाएका हौँ। बिर्सन हुन्न।

एक दशकसम्म एकलौटी धावा बोलेर गुरुकुल बन्द भएपछि रंगमञ्चीय गतिविधि ठप्प हुन्छन् कि जस्तो लागेको थियो। ठाउँ अभाव देखाएर एकाएक बन्द हुनुले मिडिया, कलासाहित्य जगतका धेरैलाई निराश पारेकै हो। तर, निराशाले रंगकर्मीहरू चुप बसेनन्। अवस्था झन् स्वर्णिम बन्यो । रंगमञ्चले अवसरको नयाँनयाँ बाटो पहिल्याउन थाल्यो।

राजधानीभित्रका दशवटा थिएटर सन्चै छन्:

समूहहरू त अनेक छन्, व्यक्तिपिच्छे, विचारपिच्छे ! कहिले खुल्छन्, कहिले बन्द हुन्छन् थाहा छैन। नयाँ संस्था खुल्ने र बन्द हुने टुंगो नभएको एउटा मै हो। 

सर्वनाम थिएटर, मण्डला थिएटर, शिल्पी थिएटर, थिएटर मल, पुरानो घर थिएटर, कुञ्ज थिएटर, कौसी थिएटर, आस्था थिएटर, शैली थिएटर, स्टुडियो थिएटर गरी दशवटा थिएटर सानो ठूलो आफ्नै प्रेक्षालयसहित संघर्षरत छन्। निजी लगानीमा राजधानीमा मात्रै यति धेरै नाटक घर हुनु चानचुने कुरा हैन। कम्तीमा चालिस पचास लाखदेखि करोड लागतमा खुलेका यी नाटक घर कसरी धानिएका छन्? थिएटर सञ्चालकको हविगत के होला? कुन उत्साहले थिएटर खुलिरहेका छन्? यिनको भविष्य के हुन्छ? यस्ता प्रश्नको सहज उत्तर छैनन्।

स्टुडियो थिएटरबाहेक सबै नाटक घर कोभिड महामारी भन्दा अगाडि खुलेका हुन्। सबै थिएटरले उत्साहका साथ नाटक मञ्चन गरिरहेकै थिए त्यो बेला। केही थिएटरले कोभिडपछि नाटक मञ्चनको शृंखलालाई निरन्तरता दिन सकेका छैनन्। 

आफ्नै जग्गामा निजी लगानीमा निर्मित देशको पुरानो थिएटर हो सर्वनाम। सर्वनामबाहेक अरू केही थिएटर भाडा तिर्न नसकेर, जग्गाको बहाल म्याद सकिएर वा ऋणको मारले जुनसुकै बेला थिएटर भिलेजको जस्तै नियति नभोग्लान् भन्न सकिन्न। शैली थिएटर, स्टुडियो थिएटर, पुरानो घर र कौसी थिएटर आफ्नै जमिनमा उभिन पाएका छन्। उभिएपछि भने आ-आफ्ना संघर्ष र दुःखका च्याप्टर बेलाबेला समाचार बनेकै हुन्। थिएटर मलले स्कुलको प्रेक्षालयलाई नाटक घरको ढाँचामा उपयोग गरिरहेछ। भक्तपुरको आस्था थिएटरले सटर भाडाबाट उठेको रकमले जग्गाको भाडा तिर्न गुजारा गरिरहेको छ। 

मण्डला थिएटरले हालसालै ठूलो लगानीमा नाटक घर बनायो । सानाठूला दुईवटा प्रेक्षालय, क्याफे, विद्यार्थीको लागि होस्टल, कार्यालयसहित निर्माण गरिएको यो नाटक घर निजी प्रयासमा शायद देशमै सबैभन्दा ठूलो लगानीमा निर्माण भएको नाटक घर हुनुपर्छ।

केही नाटक घरले कोभिडपछि झन् उत्साहका साथ काम गर्न थालेका छन्। फरक शैलीका काम गरेका छन्। स्वतन्त्र रूपमा काम गरिरहेका रंगकर्मीले भाडामा लिएर भए पनि केही थिएटरमा नियमित नाटक मञ्चन भइरहेका छन्। 

नाटक भइरहेका वा नभएका कुनै पनि थिएटरले, थिएटरकै आम्दानीबाट कलाकार र कर्मचारीको खर्च धान्न सकेका छैनन्। यस्ता बाधाहरू सजिलै पन्छाउँदै आ-आफ्नो सपनाको गोरेटो निर्माणमा थिएटर र रंगकर्मी तल्लीन छन्।

बन्द प्रेक्षालय, ओपन स्पेस वा ब्ल्याक बक्स थिएटर के छ तपाईंको विद्यालयमा?
करिब चौध वर्षअगाडि मैले विद्यालयमा नाटक पढाउन शुरू गर्दा किशोर अनुराग, कृष्ण शाह यात्री, जेबी रुवाली, रामबाबु रेग्मीलगायत केही साथीले विद्यालयमा नाटक निर्माण गर्थे। विद्यालयमा नाटक निर्माणको काम प्रचण्ड मल्ल, अशेष मल्ल, वीरेन्द्र हमालले पनि गरेका हुन्। यहाँनेर विद्यालयहरूमा नियमित नाटक पठनपाठनको प्रसंग उठान गर्नु सान्दर्भिक हुन्छ। 

अहिलेको अवस्थासम्म आइपुग्दा दृश्य उस्तै छैन, जस्तो थियो मात्रै चौध वर्षअगाडि। मन्टेश्वरीदेखि लिएर ठूला स्कुल कलेजले समेत नाट्य कलालाई पाठ्यक्रममा (सीसीए)को रूपमा समावेश गरेर ठूलो गुण लगाइदिएका छन्। काठमाडौँमा मात्रै करिब तीस जना भन्दा बढी रंगर्मीहरूले विद्यालयहरूमा नियमित नाटक पठनपाठन गराइरहेका भेटिन्छन्। कोहीकोहीले त चारपाँचवटा विद्यालयसम्म पढाउने गरेका छन्। म आफैँ पनि बिहान साँढे आठदेखि दिउँसो साँढे चार बजेसम्मै पढाउँछु । विद्यालयहरूमा वर्षमा चालीसवटा भन्दा बढी प्रोडक्सन गर्छु। विद्यालयमा काम गरिसकेपछि विद्यालय, विद्यार्थी र अभिभावकको इच्छाअनुसार अघि बढ्नु पर्छ नै।आर्थिक रूपमा सन्तुलित रहन अरू रंगकर्मीहरू पनि यस्तै गरिरहेका छन्।

‘दाइ , यसपालि एउटा स्कुल थप्न पाएँ भने मलाई ठिक्क हुन्छ।’ कसैले भन्छन्।

‘सर, उसलाई पनि एउटा स्कुल चाहिएको छ है।’ थिएटर पुग्दा यस्तो अपेक्षा राख्ने साथीहरू भेट्छु। थिएटर-थिएटरमा कुरा हुन्छ, फलानो विद्यालयमा कसले पढाउँछ, कुन नाटक गर्दैछ।

‘टंक, लौ यी केटाहरूलाई पनि तिमीले जस्तै स्कुल खोजिदिनु पर्‍यो।’ सरहरूले पनि बेलाबेला यस्तो प्रस्ताव राख्छन्।

‘सर, यसपालिदेखि हाम्रो स्कुलमा जसरी पनि हजुर आइस्यो है ।’ विद्यालयहरू यसरी प्रस्ताव गर्छन् ।

एउटा विद्यालयले तीन जनासम्म रंगकर्मीलाई रोजगारी दिएका छन्। पढाउन इच्छा र खुबी हुनेलाई विद्यालय एउटा राम्रो स्थान मात्रै नभएर अवसर पनि हो। अचेल धेरै साथीहरूले विद्यालयमा पढाउने इच्छा व्यक्त गरिरहेका छन्। पढाउनु परेपछि आफ्नो खुबीअनुसारको पाठ्यक्रम तयार पार्ने नै भए। कलाका अरू विधा भन्दा नाट्य कलाबाट विद्यालयले पनि हुने फाइदा देखे। रंगकर्मीहरूलाई पनि बेफाइदा भएन। 

अहिलेका केही निजी विद्यालयले प्राथमिकताका साथ प्रेक्षालय निर्माण गरेका छन्। केही विद्यालयमा सुविधासम्पन्न प्रेक्षालय छन्। कुनै-कुनैमा ब्ल्याक बक्स थिएटर नै छन्। बन्द हल नै नभएपनि खुल्ला स्थानमा मञ्च निर्माण गरी कार्यक्रम गर्ने विद्यालय पनि नभएका हैनन्। शैक्षिक क्षेत्रमा वा शैक्षिक विषयमारंगमञ्चको फड्कोबारे विस्तृतरूपमा पढ्न अर्को लेख पर्खिनु न्यायपूर्ण होला ।

स्कुल थिएटर नेपालले लालावालाअन्तर्गत बालबालिकाका लागि ६ महिनाको नियमित नाटक कक्षा सञ्चालन गर्ने गरेको छ। यसमा अभिभावकको उत्साहप्रद सहभागिता हुन्छ।

शिक्षाकर्मी, विद्यार्थी, अभिभावकको सहयोगमा नयाँ आउने रंगकर्मीहरूको पहिलो रोजाइमा पर्ने शैक्षिक रंगमञ्चले आफ्नो गोरेटो फराकिलो पार्दैछ।

पाएसम्म फिल्म, नपाए नाटक:
गुरुकुल बन्द हुनु अगाडिदेखि नै रंगर्मीहरूले फिल्ममा राम्रो पकड बनाएका थिए। यसको श्रेय पनि गुरुकुललाई जान्छ। रंगकर्मीहरूले अभिनय गरेका फिल्मले राम्रो बजार पाए। धेरै दर्शकहरूले रुचाए । 

थिएटरमा मात्रै सन्तुष्ट भएर रमाइरहेका रंगकर्मीले फिल्ममा काम गरेर ठूलो पर्दामा मज्जाले छाए। ठूलो पर्दा, धेरै दर्शक, रातारात सेलिब्रेटी बन्न समय नै लागेन। जताततै धेरै युवाको उत्साह देखेर थिएटरहरूले तीन महिने कोर्स चलाए। तीन महिने कोर्स पढ्न विद्यार्थी लाइन लाग्न थाले। नाटकको तीन महिने कोर्स, कोर्सपछि नाटकमा अभिनय, अनि बाटो खुल्यो फिल्ममा लाग्न। पाए फिल्म, नपाए सर्ट फिल्म, म्युजिक भिडियो, डकुमेन्ट्री, त्यही पनि नपाए टेलीसिरियल, युट्युब सिरिज!

नाटक खेल्ने धेरै कलाकार फिल्ममा लागेका छन्। फिल्ममा लागेका ती सबैले वर्षभरि नै फिल्म पाइरहे भने नाटक खेल्ने कलाकार कोही पनि हुँदैनन्। धन्न उनीहरूले फाट्टफुट्ट फिल्म पाउँछन् र नाटकबारे सोच्न थाल्छन्। पहिलो प्राथमिकता फिल्म र बचेको समय मात्रै नाटकलाई दिने हुन्। यो चलन विश्वव्यापी नै रहेछ। तीनपटक ओस्कार अर्वाड जित्न सफल हलिउड अभिनेत्री ‘मेरोल्ह ईस्ट्रीप’पनि अभिनयमा लाग्दाका शुरूआती दिनमा सांगीतिक नाटकमा अभिनय गर्थिन्।

गुरुकुल बन्द भएपछि सबै कलाकारले फिल्ममा काम गर्न थाले। कोहीले थिएटर समूह बनाइसकेका रहेछन्!

रंगकर्मीले फिल्ममा अभिनय मात्रै गरेनन्, निर्देशकहरूलाई अभिनयमा विकल्प दिएर सजिलो बनाइदिए। सहज अभिनय देखेर शायद धेरैभन्दा धेरै दर्शकले रुचाए। 

यद्यपि, रंगकर्मीहरूले फिल्ममा ओभर एक्टिङ गरे भनेर आरोप लागेकै छ। जे होस्, फिल्ममा धेरै रंगकर्मीले राम्रो छाप बनाएका छन्। यही छापको असर हो भन्न सकिन्छ, मण्डला थिएटरको नयाँ अवतार!अहिले मण्डला थिएटर ‘सेलिब्रेटी’को जमघटस्थल पनि हो । 

धेरै रंगकर्मीलाई फिल्म पछि फिल्म, भ्याइनभ्याइ छ। केही गरी फिल्म कम भयो भने नाटक जिन्दाबाद!

मोफसल ओ मोफसल!
अहिलेको सबैभन्दा लोभलाग्दो पाटो भनेको मोफसलमा फस्टाइरहेका रंगमञ्चीय गतिविधिहरू हुन्। दशवटा थिएटर भएको राजधानीलाई नै चुनौती दिनेगरी केही जिल्लामा काम हुन थाले। पहुँच हुनेले स्थानीय सरकारलाई आफ्नो रंगमञ्चीय गतिविधिमा सामेल गराउन सफल भएका छन् ।

कोभिडको बेला केही रंगकर्मी राजधानी छोडेर आफ्नै जिल्ला फर्किए। जिल्लामै बसेर रंगकर्मबारे सोच्न थाले। यसरी सोच्न थाल्दाको परिणाम हो, अहिलेको मोफसलमा फस्टाइरहेको रंगमञ्चीय गतिविधि । 

चुलाचुली रंगमञ्च, चेतना नाट्य समूह, परिवर्तन थिएटर, पोखरा थिएटर, कर्मी समूह, झोराहट नाटक घर, कलालय, कदम थिएटर, मोफसलमा रंगकर्म फैलाइरहेका दाबेदार रंग संस्थाहरू हुन्।

अहिलेको अवस्थामा पोखरा अलि बढी सक्रिय देखियो। पोखरा थिएटरले आफ्नै प्रेक्षालय निर्माण गरेर धमाधम नाट्य गतिविधि बढाउन थालेको छ। नाट्य महोत्सव आयोजना गर्‍यो। राजधानीका नाटकहरू बोलाएर मञ्चनमा सहयोगी भूमिका निर्वाह गरिरहेको छ। पोखरामा इन्द्रेणी थिएटर, रेनेसा थिएटर पनि नाटक मञ्चनमा बेलाबेलामा देखा परे। उता लमजुङमा मञ्जरी थिएटर लागी पर्दैछ। 

मोफसलमा थिएटर निर्माणमा पोखरा थिएटर पहिलो भने हैन। विराटनगर रहेको गुरुकुलले लोभलाग्दो प्रेक्षालय भएर पनि नियमित काम गर्न सकेको छैन। झोराहट थिएटर पनि खुल्यो। बेलाबेलामा नाटक मञ्चन गरिरहन्छ। मोरङ र विराटनगरमा नाट्य गतिविधिहरू भइरहेका छन्।

बन्द रंगमञ्चलाई बाहिर ल्याउन हालसालै शिल्पी थिएटरले सुन्दर हरैँचामा मुक्त रंगमञ्च घोषणा गर्‍यो।

कर्णालीमा थिएटर खोल्ने योजनामा छन् कोही। काँकडभिट्टामा परिवर्तन थिएटर सक्रिय छ। दमकमा कदम थिएटरले आफ्नै प्रेक्षालय बनाउँदै छ। इटहरीमा कलालय छ, बेलाबेला स्कुल नाटक महोत्सव गर्ने। नारायणघाटमा कर्मीहरू सलबलाउन थाले। बुटवलमा पनि रंगमञ्चीय गतिविधि कम छैनन्।

यसरी मोफसलमा ठाउँठाउँमा थिएटर खुलेर आक्रामक थिएटर गतिविधि हुन थालेका छन्। उनीहरूले राजधानीमा मात्रै सीमित थिएटर गतिविधि नियालेर बस्नुपर्ने अवस्था रहेन। राजधानीमा मञ्चन हुनेबित्तिकै नाटक आफ्नो जिल्लामा ल्याएर मञ्चन गराउन पछि परेनन्। छोटो समयका कार्यशालाहरू चलाउन थाले। नाटक सिक्न राजधानी नै आउनुपर्ने बाध्यता पनि रहेन। 

राजधानीमा जसरी विद्यालयले नाट्य कलालाई स्थान दिए। त्यसैगरी मोफसलमा पनि स्थान पाउन थाल्यो। मोफसलका धेरै रंगकर्मी विद्यालयमा नाटक पढाउँछन्। यो काममा पनि पोखरा अलि अगाडि देखिन्छ। पाल्पा, गुल्मी, नारायणघाटका केही विद्यालयमा म आफैँ पुगेर पनि नाटक कार्यशाला चलाएँ। नाटक निर्माण गरेँ। मोरङ, विराटनगर, इटहरी, झापा, उदयपुरमा पनि विद्यालयले नाटकलाई स्थान दिइरहेका छन्।

राजधानीको आँखाले हेर्दा मोफसलको उपस्थिति लोभलाग्दो छ। धेरै साथीहरूले स्थानीय सरकारको सहयोगमा नाट्य गतिविधिको काम गर्न थालेका छन्।

जिल्ला-जिल्लाका धेरैजसो विद्यालय नाटक गराउनुपर्‍यो भनेर सम्पर्क आउँछन् तर, रंगकर्मीको अभाव टड्कारो देखिन्छ।

महोत्सवको इन्द्रेणी चमक
अन्तर्राष्ट्रिय नाटक महोत्सव गुरुकुलकै निरन्तरता हो। अहिले मण्डला थिएटरले यसलाई निरन्तरता दिँदैछ। स्कुल थिएटर नेपालले बालबालिकाहरूको अन्तर्राष्ट्रिय नाटक महोत्सव आयोजना गर्ने गरेको छ ।

राष्ट्रिय नाटक महोत्सव, राष्ट्रिय बालनाटक महोत्सव, स्कुल थिएटर फेस्टिवल, एकल बालनाटक महोत्सव, जस्ता रंगमञ्चीय गतिविधिहरूले झन् उत्साहित बनाइरहेका छन्। पोखरा थिएटरले विद्यालयस्तरीय नाटक महोत्सव गर्‍यो। चुलाचुली रंगमञ्चले जंगलमा लगेर नाटक महोत्सव आयोजना गरेर सबैलाई छक्क पारिदियो। इटहरी कलालयले स्कुल थिएटर फेस्टिवलको आयोजना गर्छ। 

स्कुल थिएटरले आयोजना गर्दै गरेको महोत्सवहरूमा विद्यालयहरूले सहयोगी भूमिका निर्वाह गर्दछन्। काठमाडौँमा आयोजना भएको राष्ट्रिय बाल नाटक महोत्सवमा मोफसलका विद्यालयहरूले पुरस्कार जिते।

आस्था थिएटरले हालसालै हृदयचन्द्र सिंह प्रधान नाटक महोत्सव आयोजना गर्‍यो।

यस्ता महोत्सवले धेरै भन्दा धेरै दर्शकहरू माझ रंगमञ्चीय गतिविधि पुग्न सफल भयो ।

वर्ग संघर्ष
नियमित मञ्चन होस् वा महोत्सव लक्षित मञ्चन होस् अथवा सडक नाटक, अचेल धेरैजसो नाटकले वर्गीय मुद्दालाई जोड दिने थाले। काल्पनिक विषयवस्तु भन्दा जातजातिका मुद्दा, वर्गीय मुद्दा, अझ भनौँ विभिन्न सामाजिक मुद्दाहरू समेटिएका नाटक सफल देखिए। मञ्चन भएका नाटकअनुसार दर्शकको पनि वर्ग विभाजन देखियो। एउटा वर्गको नाटक हेर्ने दर्शक कहिल्यै अर्को वर्गको नाटक हेर्न आएनन्। 

एउटा बाहुनले निर्माण निर्देशन गरेको माधवी, योगमाया नाटकका नियमित दर्शक बाहेकका विशेष दर्शकले अरूका नाटक हेरेनन्। वर्ग विशेषका दर्शक बने। लाटो पहाड नाटक हेरेका विशेष दर्शकले विरलै अरू नाटक हेरे।

थिएटर अनुसारका दर्शक बने। एउटा थिएटरका कलाकारले अर्को थिएटरको नाटक नहेरिदिने पनि भयो ।

आफूलाई प्रगतिशील काम गर्ने समूह भन्न रुचाउने आस्था थिएटरको आफ्नै दर्शक बने। आफ्नै वर्ग छ। 

नाटकका विषयवस्तुमा मात्रै नभएर कलाकारहरूको पनि वर्ग छुटिन थाल्यो। डलरमा काम गर्ने वर्ग र विभिन्न पक्षसँग सहयोग मागेर काम गर्ने वर्ग। हिजो अभावमा रंगमञ्च गर्नेहरू आज भव्य साजसज्जामा पुगेका छन्। वर्ग विभाजन नाट्य प्रस्तुतिसँगै थिएटर र रंगकर्मीसम्म पुग्यो।

हरेक प्रसंगमा राम्रा/नराम्रा कुरा केलाउनु पर्दछ। तर, जे होस्, लेखन र प्रस्तुतिमा प्रयोग, कलाशिल्प, थिएटर निर्माण, रंगकर्मीहरूको सक्रियतामा फराकिलो रूपमा काम भइरहेको रंगमञ्चको लागि उर्वर रहेको दशक हो यो।

उपसंहार
ठाउँको खोजीमा रहेका गुरुकुल र थिएटर भिलेजले भविष्यमा कुनै ठाउँमा थिएटर निर्माण शुरू गर्न सक्छन्। सम्बन्धित निकायमा प्रपोजल पुगेकै छ।

राजधानीमा धेरैवटा रंगमञ्च हुनुको राम्रो पक्ष हो, यो लेखको विषय प्रवेशमा शुरूआती संवाद। अरू थिएटरले पनि यस्तो अफर गर्दै गरेनन् भन्न मिल्दैन। भविष्यमा यी भइरहेका रंगमञ्चका गतिविधिले निरन्तरता पाउँछन् नै भन्न सकिन्न। तर, अहिलेको यो समय रंगमञ्चको लागि स्वर्णिम समय हो।

जसले जस्तोसुकै रूपमा जसरी काम गरेपनि रंगमञ्च आफैँले निर्माण गरेको राजमार्ग फराकिलो पार्दैछ। गति बढाउँदै पनि छ।


सम्बन्धित सामग्री