Monday, April 29, 2024

-->

पितृसत्ता अर्थात् पगला घोडाहरूको आधिपत्य

बुद्धकालीन समाज, पर्ल एस बकले भोगेको समाज, बादल सरकारले भोगेको समाज र हामीले भोग्दै गरेको समाजको संरचना उस्तै हो। नेतृत्व फेरिने तर पितृसत्ताको संरचना नफेरिने, सत्ताको, घरको र समाजको पनि।

पितृसत्ता अर्थात् पगला घोडाहरूको आधिपत्य

“ओलान, यो तिम्रो दोष हैन,” पटक पटक चिच्याएर भन्न मन लाग्यो, “पछुतो नमान ओलान, तिमी दोषी छैनौ।”

जिन्दगीभर श्रीमान‍्सँग कुनै गुनासो नगरी सुखदुःखमा साथ दिएकी ओलान बिमारले थला परेर अन्तिम अवस्थामा पुगेपछि सारा दोष आफ्नोे कुरुपतालाई दिइरहेकी छ। किनभने उसको श्रीमान‍्ले कामवासना मेटाउन सुन्दर युवती बिहे गरी घरमा ‘महारानी’को दर्जा दिएर राखेको छ।

फुर्सद भएर पनि होला मैले छिटो पढिसकेको पुस्तक हो ‘दि गुड अर्थ’को नेपाली अनुवाद कल्याणी धरती। योपटक दोहोर्‍याएर पढेको मान्दा हुन्छ। करिब बिस वर्षअघि यो पुस्तक कतै भेटेर पढेको थिएँ। शायद मैले चाख मानेर पढेको पहिलो पुस्तक पनि यही हो। पानी नपरेर गाउँमा भोकमरी फैलिएपछि मानिसले मानिसलाई खान थालेको ‘इमेज’हरू मतिष्कमा ताजै थिए अरू भुले पनि। संसारका धेरै समीक्षक अनि ठूला पुरस्कारबाट सम्मानित यो पुस्तकको महिमा म बबुरोले गाउन कठिन हुने पक्का छ। बरु, पुस्तक छिटो पढिसक्नुको कारणतिर पसौँ।

यो पुस्तक केही महिनाअघि किनेर ल्याएको थिएँ। एकएक पाना पल्टाउँदै पर सार्दै अरू दुई वटा पुस्तक पढिसकेँ। एक बिहान ल्यापटपमा केही लेख्दै थिएँ। छोरी कक्षा १ को गृहकार्य सक्दै थिइन्। छोरीलाई गृहकार्य सिकाउन छेउमै बसेकी श्रीमती रन्जनाले यो किताब समाइन्। बेलाबेला हामी दुवै जनाले छोरीलाई ‘गाइड’ गर्दै गयौँ। 

“यो किताब राम्रो छ। राम्र्रो किताब दुई चार पाना पढेपछि थाहा हुन्छ,” रन्जनाले यसो भन्दा करिब १५ पाना जति पढिसकेको प्रतीत भयो। त्यसपछि मबाट उनले यो किताबको सामान्य विवरण सुनिन् र आफ्नो भनाइमाथि ढुक्क भइन्। कृष्ण अबिरलको उपन्यास करियालाई त उनले मदन पुरस्कारको दाबेदार नै मानेकी हुन्। तर मेरो लेखन भने रन्जनाले कहिल्यै मन पराइनन्। त्यसपछि उनी काममा गइन्। फुर्सद भएको हुनाले मैले यो पुस्तक स्वाट्टै पढिसकेँ। 

यति भूमिका बाँधेर ओलानलाई यहाँ ल्याउनुको कारण मैले रन्जनालाई ओलानको दर्जामा भेटेँ। मेरो बानीलाई व्यंग्य गर्दै बिरामी भएको बेला एक पटक उनले भनेकी थिइन्, “म मरे पनि यो घरमा मलाई कस्ले वास्ता गर्छ र?”

जब ओलानलाई बिहे गरेर ल्यायो तब शुरू भएको हो उसको श्रीमान‍्को उन्नति। ओलानले मौनतामै सारा जीवन श्रीमान‍्को उतार चढावमा साथ दिई। तर श्रीमान‍्ले प्रगतिको जस आफूले मात्र लियो र ओलानलाई कमारीकै व्यवहार गर्‍यो। नचाहँदा नचाहँदै पनि केही कुरामा ठ्याक्कै म ओलानको श्रीमान‍्झैँ भइरहेको रहेछु। 

अब चुरो कुरो शुरू नगरे पाठकले दिक्क मान्ने छन्। आफ्नो नाटकबारे केही कुरा पढ्न तम्तयार साथीहरू उदास हुनेछन्। मनभित्र गढेकी ओलानको समर्पण अनि उसको श्रीमानको व्यवहारमाथि गहिरिएको बेला मन्डला थिएटरमा मञ्चन भएका दुई नाटक हेर्ने मौका मिल्यो। 

मन्डलाको सानो हलमा रामहरि ढकाल निर्देशित ‘गुलाब’ मञ्चन भइरहेको छ। यो नाटकमा संवाद छैन। दिया मास्के र सरिता शाह मञ्चमा छन्। सिद्धार्थले छोडेर गएपछि यशोधराको मन र शरीरको पौँठेजोरी अनेक ‘मुभमेन्ट’बाट देखाउन यी कलाकार करिब ४० मिनेट मञ्चमा संघर्ष गर्छन्। प्रयोगको दृष्टिकोणबाट यो नाटक नौलो छ। नर्वेमा नाटकसम्बन्धी अध्यन गरिरहेका रामहरि बेलाबेला नेपाली दर्शकलाई नौलो स्वाद चखाउन माहिर छन्। यो नाटकले धेरै दर्शकलाई आकर्षित गर्छ तर निर्देशकलाई थोरै दर्शक भए पुग्छ। दर्शकलाई अधीनमा राख्ने चाहना पो हो कि निर्देशकको!

मन्डलाको ठूलो हलमा नाटक ‘पगला घोडा’ मञ्चन भइरहेको छ। यो नाटकमा सपना, लक्ष्मी र मायाहरू मञ्चमा छट्पटिइरहन्छन्, प्रेममा सशरीर अनि आत्मा बनेर ज्यादा। नाटकको शुरूदेखि नै घाटमा जल्दै गरेकी केटीको आत्मा मञ्चमा देखिन्छ। आत्महत्या गरेर मरेकी केटीको शव जलाउन चार जना पुरुष घाटमा आएका छन्। कुरो यत्ति हो।

यो पक्कै पनि अनौठो संयोग हो। मन्डला थिएटरमा मञ्चन भइरहेका दुवै नाटकमा महिलाहरूको आत्मा छट्पटाइरहेको छ। ओलान वियोगको छट्पटीमा पुगेको हुँ नाटक हेर्न। संयोग पर्‍यो यस्तो, ६२४ बीसीदेखि अहिलेसम्म नै महिलाहरू ‘पगला घोडा’हरूको राजमा छट्पटाइरहेकै छन्। अनि एउटा पगला घोडा म आफैँ पनि हुँ। साँच्चिकै पगला घोडाको अवस्था नियाल्न नपाए पनि चर्चित भारतीय लेखक बादल सरकारले संकेत गर्न खोजेको कुरा भने स्पस्ट छ। 

सरकारले यो नाटकमार्फत ‘पुरुष’ र ‘पितृसत्ता’लाई नै पगला घोडासँग तुलना गरेका छन्। नाटककार सरकारले लेखेका नाटकहरूमध्ये पगला घोडा बहुचर्चित हो। अषेश मल्ल, सुनील पोखरेल, अनुप बराललगायतबाट बादल सरकारबारे सुन्दै आए पनि उनको नाटक हेर्ने अवसर पहिलो नै हो। बादल सरकार भारतमा सडक नाटकका प्रणेता मानिन्छन्। 

नाटक दोहोर्‍याएर बिरलै हेरिन्छ। खै किन हो थाहा छैन यो नाटक साथीहरूसहित दोहोर्‍याएर हेरेँ।

पृष्ठभूमिमा एउटी केटी जलिरहेकी छे। ऊ आत्महत्या गरेकी सपना हो। उसको मलामी आएका छन् चार जना पुरुष। विभिन्न पेसाका ती पुरुषहरू समय बिताउन तास खेल्न शुरू गर्छन्। त्यतिले मात्रै नभएर महँगो रक्सी पनि ल्याएका छन्। तीन जनाले रक्सी पिउन शुरू गर्छन्। एक जना शिक्षक हुन् रक्सी नपिउने। पालैपालो बेलाबेलामा जलिरहेको शवको अवस्था जाँच्न गइरहन्छन्। शव जलेर जब मध्य हुन्छ, उनीहरू रक्सीको नसामा मात्तिँदै जान्छन्। यस्तो लाग्छ, यिनीहरूको काम मलामी आउनु र घाटमा समय बिताउनुबाहेक अरू छैन।

समय बिताउने क्रममा भनौँ वा नसाले गर्दा, उनीहरू आआफ्नोे कथाभित्र पनि प्रवेश गर्छन्। उनीहरू प्रत्येकसँग पुगेर सपनाको आत्माले कथा सुनाउन बाध्य पार्छ। सपनाको आग्रह उनीहरूको लागि फोस्रो हो। सपनाले बोलेको उनीहरू सुन्दैनन् किनभने उनको शव जलिरहेको छ। आत्मा मात्रै हो मञ्चमा छट्पटाइरहेको। 

सपनाको आत्माले ती चार जनाको कुरा सुन्छ। उनीहरूलाई देख्छ। ‘फोर्थ वाल’ छेडेर दर्शकसँग कुरा पनि गर्छ। निर्देशकले लिएको पहिलो जोखिम मानेँ मैले यसलाई। केही मान्यताहरूलाई भत्काउँदै आत्मालाई उनले आफ्नै दृष्टिकोणबाट प्रस्तुत गरे। आत्माको पहिरन सधैँ सेतै हुनुपर्छ भन्ने छ र! आममानिस सरह अति यथार्थमा डुबेर बोलीचाली गर्न किन सक्दैन र आत्माले? सपनाको आत्मा नाटकको सूत्रधारको रूपमा आएको बुझ्नेलाई पनि निर्देशकले पक्कै पनि छुट दिने छन्। 

ती चार जना शिक्षक, ठेकेदार, कम्पाउन्डर र हुलाकी हुन्। जब रक्सीले मातिँदै जान्छन् तब उनीहरूबाट आफ्नो कथा निस्किन्छ, फुत्त फुत्त। पख्नुस् है, शिक्षकले पिएका छैनन् तर तीनै जना उनलाई पियाउन खोजिरहेका छन्। अनि आफ्नोे कथा शुरू भएपछि शिक्षकले पनि पियो पहिला पटक।

उनीहरूका कथामा प्रेम, महिला र वियोग पनि छन्। ती मत्त, बेगारी, जीवनमा केही लक्ष्य नभएका जस्ता लाग्ने पुरुषमार्फत दर्शक सपना, माया र लक्ष्मीको कथामा प्रवेश हुन्छ। उनीहरूको कथा लामो छैन तर अहिलेको पुरुषप्रधान समाजको रवैया बोल्न पर्याप्त छ। प्रेम, विवाह अनि पुरुष व्यवहारका कारण आत्महत्या ती महिलाका भोगाइ हुन्।

नचाहँदा नचाहँदै नसाको शुरूमा जब ती पुरुषहरू आफ्नोे कथामा पुग्छन्, पछुतो मान्छन्। यो पछुतो क्षणिक हो। पछुताएर वा माफी मागेर त पितृसत्ताको धङ्धङी जाँदैन। 

बुद्धकालीन समाज, पर्ल एस बकले भोगेको समाज, बादल सरकारले भोगेको समाज र हामीले भोग्दै गरेको समाजको संरचना उस्तै हो। नेतृत्व फेरिने तर पितृसत्ताको संरचना नफेरिने, सत्ताको पनि घरको पनि र समाजको पनि।

चारै महिलाको भुमिकामा एउटै कलाकारलाई कल्पना गरेर लेखेको नाटक मञ्चमा पनि उही रूपमा देख्न पाइन्छ। यो नौलो पनि हो। नाटकमा नयाँ कलाकार, त्यसमा पनि चार वटा फरक चरित्रमा देखिन्छिन् मलिका महत। निर्देशकले उठाएको दोस्रो जोखिम हो यो। 

लामो नाटक मञ्चमा पाँच जना मात्रै कलाकार! दृश्य परिवर्तन धेरै नभएको नाटक! नाटकको करिब ८० प्रतिशत भाग घाटको सत्तलमा। ‘कोरियोग्राफ’ र चरित्र निर्माणमा त्यति ध्यान दिइए जस्तो लाग्दैन। अनुभवी कलाकार मञ्चमा हुनाले त्यति अपेक्षा राख्नु स्वभाविक हो। दर्शक बाँधिराख्ने मुख्य तन्तु भनेको पाँच जना कलाकार र तिनको अभिनय हो। कोहीकोही दर्शक भने निर्देशकको यो जोखिमसँग सन्तुष्ट नहुन सक्छन्।

स्कुले शिक्षकको भुमिकामा बिम्ब अधिकारी ठिकै छन्। ठेकेदार प्रमोद अग्रहरीबाट दर्शकले अझ धेरै अपेक्षा राख्न सक्छन्। हुलाकी विजय ताम्राकार दर्शकका लागि नयाँ लाग्न सक्छन्। मञ्च नाटकका ‘किङ’ आशान्त शर्मा कम्पाउन्डरको भूमिकामा छन्। आशान्तको अभिनयमा दर्शक विश्वस्त हुन सक्छन्। किनभने यिनको अनुभवले नै हो मञ्चमा त्यो आत्मविश्वास देखाइदिएको। 

नाटकको सबैभन्दा आकर्षण हो निर्देशक स्वंयले गरेको नाटकको ‘सेट डिजाइन।’ नाटकको सेट अति यथार्थमा पुगेर परिकल्पना र निर्माण गरिएको छ। केही समय दर्शकहरू नाटकको सेटमै हराउँछन् पनि। तर नाटक लामो भएको हुनाले अन्तसम्म त्यही सेटले मात्रै तानिरहन सम्भव छैन। 

दृश्य परिवर्तनमा निर्देशकले असाध्यै सहज तरिका अपनाएका छन्। यसमा उनले गरेको मञ्च परिकल्पना असाध्यै सहयोगी भएको छ। सेटमा प्रयोग गरिएको सामग्री र रङले आँखालाई शितलता प्रदान गर्छ, कतै भड्किलो लाग्दैन। बादल सरकारको लेखनमा प्रयोग भए पनि प्रस्तुतिमा अति ‘रियालिस्टिक’ नाटक हो यो। अरू त अरू धारामा पानीसमेत जोडिदिएका छन्, भलै यथार्थ झल्काउनुबाहेक त्यो पानीको कुनै महत्त्वपूर्ण भुमिका छैन। त्यो धारामार्फत हाकिमप्रतिको ‘इम्प्रेसन’ भने सजिलै बुझिन्छ।

नाटकमा अभिनय नै प्रमुख भए पनि सँगै जोडिएर संगीत, प्रकाश, मञ्चमा हुने सरसामान, भेषभुषा आदि समेत आउँछन्। धेरै निर्देशकले संगीत र प्रकाशमा पनि ध्यान दिने गरेका छन् तर यो नाटकमा त्यति ध्यान दिएजस्तो लाग्दैन।  

थिएटर आकारले प्रस्तुत गरेको यो नाटकलाई शिव खाँड ठकुरीले हिन्दीबाट नेपालीमा अनुवाद गरेका हुन्। निर्देशक घनश्याम श्रेष्ठलाई कुनै हतार छैन। कुनै गुनासो छैन। कतै असन्तुष्टि देखिन्न। घनश्यामको काम गर्ने गति आफ्नै छ। तौरतरिका आफ्नै छ। तीन बहिनी, बेड नं. ९९, बिम्बका सपना घनश्यामले निर्देशक गरेका प्रमुख नाटक हुन्। उनले अरूका नाटक तथा चलचित्रमा सेट परिकल्पना तथा निर्माणको काम पनि गर्छन्। 

नाटक हेरुन्जेल मनमा गढेको कुरो, यशोधरा, ओलान, सपना, माया, लक्ष्मी, र रन्जनाहरूका आत्मा पितृसत्ता रहुन्जेल छट्पटाइरहने छन् अनि हामी पुरुष पगला घोडा जसरी हिनहिनाउँदै उनीहरूको अस्तित्वमाथि नग्न नृत्य गरिरहने छौँ।

मन्डलामा मञ्चन भइरहेका दुई नाटकमध्ये गुलाब पुस २२ सम्म र पगला घोडा माघ ६ सम्म मञ्चन हुनेछन्।


सम्बन्धित सामग्री