Monday, April 29, 2024

-->

रंगमञ्च
मोन्टाजबाहिर, मोन्टाजभित्र

प्रेम, लिभिङ टुगेदर, विवाह तीन तत्त्वहरू नाटक मोन्टाजका प्रमुख अंग हुन्। तीन वटै कथामा महिलाको संवेदनामाथि पुरुषले खेल्न खोजेको अनुभूति हुन्छ र महिलालाई दोषी देखाउन खोज्दाखोज्दै महिला नै विजयी।

मोन्टाजबाहिर मोन्टाजभित्र

तिहारअघि एउटा नाटक लिएर श्रीलंकाको यात्रा गरेको थिएँ। त्यहाँको ‘स्टेट युथ थिएटर फेस्टिबल’मा सहभागी हुने र नाटक हेर्ने मौका मिल्यो। लगातार चार दिनसम्म विभिन्न नाट्य समूहका नाटक हेर्‍यौँ। आधा घन्टासम्मका नाटकलाई छोटा र ९० मिनेटसम्मका नाटकलाई लामा भनेर समयसीमा तोकिएको रहेछ। निर्णायकहरूले विभिन्न विधामा मूल्यांकन गर्ने रहेछन्। 

टिकट काटेर नाटक हेर्नु पर्थ्यो। हामीलाई भने पूर्ण अनुराधले पास उपलब्ध गराइदिएका थिए। उनी लिजा डाल्टनको कार्यशालामा सहभागी हुन नेपाल आएका थिए। उनको नाटक पनि स्टेट थिएटर फेस्टिभलमा मञ्चन हुँदै रहेछ। ७५० जना दर्शक अट्ने थिएटर प्रायः हरेक दिन भरिभराउ थियो। नाटकका दर्शक धेरैजसो ५० वर्ष उमेर काटेकाहरू हुन्थे। कोही सेतै कपाल फुलेका पनि थिए। 

“नेपालमा त यो उमेर समूहका मानिसहरू नाटक हेर्न आउँदैनन्। क्याम्पस पढ्ने विद्यार्थी र केटाकेटीहरू ज्यादा हुन्छन्,” मैले भनेँ। 

“हाम्रोमा यही उमेर समूहका मानिसहरू मुख्य दर्शक हुन्,” श्रीलंकाका नाट्य निर्देशक सचिथ्रा राहुबड्डाले जवाफ दिए। 

पुरानो घर थिएटरको नाटक मोन्टाज सकिएपछि निर्देशक सुलक्षण भारतीले मञ्चमा उभिएका कलाकारलाई देखाउँदै हामी दर्शकलाई सम्बोधन गरे, “हामीकहाँ धेरैजसो दर्शकभन्दा कलाकार बढी हुन्छौँ। नाटक मन पर्‍यो भने तपाईंले चलाउने सामाजिक सञ्जालमा शेयर गरिदिनु होला। हामी फोन गरीगरी दर्शक बोलाउँदैनौँ। हाम्रो विज्ञापनको माध्यम पनि यही हो।”


सुलक्षणको आग्रह सुनेपछि नाटकले दिएको न्यानोपनले फुत्तै छोडेर भाग्यो। नाटक सकिएपछि मञ्चमा उभिएका कलाकारहरूमा देखिनुपर्ने उर्जा छैन। कलाकारलाई उर्जा दिने पहिलो तत्त्व भनेकै नाटक अवलोकन गर्ने दर्शक हुन्। नाटकको रसास्वादन गरिसकेपछि  दर्शकको मुहारमा देखिने चमक हो। दर्शकले बाहिर निस्किएर कुरेरै कलाकारलाई दिने प्रतिक्रिया हो। त्यही प्रतिक्रियाले हो हरेक दिनको मञ्चनपछि कलाकारले आफूलाई निखार्दै जाने। तर नाटक हेर्ने दर्शक कहाँ गए? 

पुरानो घर थिएटरमा नाटक मोन्टाज मंसिर २२ गतेदेखि मञ्चन भइरहेको छ। पुस ४ गते बुधबारको शोमा पत्रकारहरू सुशीला तामाङ, रिना मोक्तान, अन्सु खानाल र मसँगै अरू चार जना दर्शक थिए। यी दर्शक पनि राम्रो मान्नु पर्ने अवस्था थिएटरमा आयो। किनभने, मोन्टाज नाटकको निर्देशक र कलाकार पनि रहेका सुलक्षण भारतीले नाटक सकिएपछि भने, “हिजो हामीले दुई जना दर्शकलाई नाटक देखायौँ।”

पुरानो घर थिएटरले दर्शकको अभाव प्राय: सबै नाटकमा झेल्ने गरेको निर्देशक सुलक्षण स्वीकार गर्छन्। तर कुरा पुरानो घरको मात्रै हैन। गुरुकुलले सञ्चालन गरेको कुन्ज थिएटरमा पनि दर्शकको अभाव छ। अघिल्लो साता 'काल' नाटक हेर्न जाँदा ६ जना मात्रै दर्शक थियौँ। गुरुकुलले मञ्चन गरेका अरू नाटकमा हेर्न पनि दर्शकको कमी हुन थालेको छ। 

सबै थिएटरमा दर्शक घटेका छन्। महँगीलगायत विभिन्न कारणले नाटकको खर्च भने बढिरहेको छ। दर्शक नभएपछि घाटा लाग्ने नै भयो। २५ लाख आय आर्जन गरेको नाटकले पनि लगानी डुबाएको अवस्था छ। 

अचेल जनजातिको विषयमा बनेका नाटकमा भने दर्शक छन्। अनि, 'स्टन्टबाजी' गर्नेहरूले लगानी सुरक्षित गरेका छन्। धेरै निर्देशक, कलाकारको यस्तो प्रतिक्रिया छ। समुदाय विशेषका विषय र स्टन्ट हेर्न आउने नाटकका नियमित दर्शक हुन्? दर्शकलाई नाटकघरसम्म तान्ने कसरी हो? फोन नगरी दर्शकलाई थिएटरसम्म तान्ने तत्वहरू के के हुन् ?

दर्शकलाई थिएटरमा ल्याउन नसक्नुको मुख्य कारण नाटकको गुणस्तर नै हो। यसको कारण हामी नै हौँ। नाटक लेख्ने लेखकहरू शून्य छन्। सबैले आफूलाई चाहिएको बखत लेख्छन्, अनुवाद गर्छन्, मञ्चन गराउँछन्। सकियो। मञ्चनअघि नाटक लेखिनु मेरुदण्ड हो। यसमा हामी सचेत छैनौँ। केही अनुवादित नाटक, उपन्यासमाथि बनेका नाटक, चलेका लेखकले लेखेको नाटकमा राम्रै दर्शक आएको उदाहरण छन्, भलै नाटकबाट घाटै भयो भनिए पनि। 


च्याउसरी उम्रिएका हामी निर्देशकहरू नै नाटकको गुणस्तर कम हुनुमा जिम्मेवार हुनुपर्छ। तीन महिने अभिनय कक्षाले धेरैलाई कलाकार बनाइदियो। नाटक उत्पादन गर्नै पर्ने भयो। आफ्ना मान्छे बोलाउँदा नाटक हेर्न पक्कै आउने नै भए। हेरुन्जेल हाँसे, रमाए, प्रतिक्रिया पनि राम्रै दिए। तर ती दर्शक 'ए यस्तै रहेछ नाटक भनेको!' भन्ने प्रभाव बोकेर फर्किए। 

अर्काे मुख्य कारण विषयवस्तु हो। विषयवस्तु छनोटमा निर्देशकका आफ्नै कुन्ठा धेरै भए। सकारात्मक उर्जा दिने विषयवस्तु भएनन्। देशमा निराशा छाएको छ, मानिसहरू निराश छन्। त्यही निराशालाई विषय बनाएर नाटक निर्देशकहरूले झन् निराशा थोपरिदिएपछि दर्शक पक्कै निराश हुन्छन्। विश्वास लाग्दैन भने, केही महिनादेखि मञ्चन भएका नाटकका विषयवस्तु हेरौँ न।

घिमिरे युवराज निर्देशित विमोक्ष, अनुप बराल निर्देशित एउटा सपनाको अवसान, सोमनाथ खनाल निर्देशित हिउँभन्दा चिसो, जेडी तमु निर्देशित ब्युँझिएको सिरानी, रामभजन कामत निर्देशित काल। यी नाटकका विषयवस्तुमा घोत्लिउँ त कतै भेट्नु हुन्छ विषयमा सकारात्मकपन? कुनैले दर्शकलाई पाठ पढाए त कुनैले संकटको 'क्यानभास' प्रदर्शन गरे। कतै हामीले चयन गर्ने विषयवस्तुले पनि दर्शक निराश भएका त हैनन्? सकारात्मक विषयवस्तुमा सिर्जनशीलता कुँदेर नाट्य निर्माण गर्न लागौँ न अब! यो आव्हान म आफैँलाई हो। मेरो आफ्‍नै समीक्षा हो यो। नत्र कलाकारलाई सम्झौता गराएर दुई साता रिहर्सल भइसकेको नाटक किन रोकिन्थ्यो!

फेरि अलमलमा परेँ। कुरा गर्नु थियो नाटक मोन्टाजबारे। यी माथिका कुराहरू मनमा खेलाउँदै पुरानो घर थिएटर झरेको थिएँ नाटक हेर्न। बाइकबाट ओर्लन नपाई कलाकार, निर्देशक कुन्दन थारूले भने, “दाइ, अहिले त हामीले पार्किङ पनि बनायौँ, एसी पनि हाल्यौँ।”

मनमा चसक्क भयो। केही महिनाअघि मैले लेखेको थिएटरका असुविधा समेटेको लेखप्रति लक्षित भएर उनले भनेका थिए।

“अनि दर्शक कति छन् त?” मैले सोधेँ।

“दर्शक नै छैनन्। शनिबार पनि २०-२५ जना मात्रै छन्। कि कोर्सको नाटक गर्नु पर्याे। कि जनजातिको नाटक गर्नु पर्याे,” मसँग यति बोलेर उनले मोबाइलमा कुराकानी थाले।

कुन्दन नाटक मोन्टाजमा घुस्याहा पुलिसको भुमिकामा छन्।

नाटक मोन्टाजमा सुलक्षणले जीवनका प्रेमिल दृश्यहरूलाई गज्जबसँग सम्पादन गरेका छन्। भर्खरै प्रेममा परेका प्रेमिल जोडीका लागि यो नाटकका केही दृश्य चटनीजस्ता छन्। अगाडि बसेर नाटक हेर्दा लाज लाग्न सक्छ तर अन्तिम सिटतिर बसेर निकै आनन्द लिन सक्छन्। समलिंगी चरित्रलाई नाटकमा समावेश गरेर निर्देशकले दर्शक निम्त्याउन बहुत चलाखी गरेका हुन्। सर्वोच्च अदालतले भर्खरै अस्थायी दर्ताको आदेश दिएको समलिंगी विवाहको प्रसंग नाटकमा ल्याएर निर्देशकले गज्जब गरेका छन्।


शुरूदेखि नै नाटकमा यथार्थपन झल्किन्छ। 'टेक्स्ट' र 'सबटेक्स्ट' मा कलाकारहरूले मिहिनेतसँग खेलेका छन्। आँखा आँखाले कुरा गर्छन्। कलाकारका अंगअंग बोल्छन्। मधेश प्रदेशको प्रमुख मुद्दा दाइजो प्रथा पनि नाटकमा अटाएको छ आधुनिक 'लिभिङ टुगेदर'मा रमाउने शहरिया र भर्खरै विवाहित मधेशी जोडीमार्फत। 

जब रेष्टुरेन्ट खुलेर फरक फरक जोडीहरू खान आउँछन् तब नाटकले एउटा गति लिन्छ। तर दर्शकलाई तताउने काम भने रेष्टुरेन्टका दुई वेटरले गर्छन्। समलिंगी प्रेम सम्बन्धमा छन्। नाटकको अन्त भने यिनीहरूको 'इन्गेजमेन्ट'बाट हुन्छ। 

पहिलो मोन्टाज 'फस्ट किस' हो। यो चिसोमा पनि ब्ल्यांकेट नओडी नै तपाईंको शरीर तताउँछ यो दृश्यले। केटीको आदेशअनुसार नै सुस्तरी सुस्तरी केटा केटीसँग नजिकिन्छ, टाढिन्छ। टाढिन्छ, फेरि नजिकिन्छ। कुत्‍कुती लगाउँछ दर्शकलाई। यो क्रम निकैबेर चल्छ र अन्तमा दर्शकले जे चाहान्छन् त्यही नै हुन्छ। कथानकको लक्ष्य त्यस्तो नदेखिए पनि शायद 'आशुरचना'ले गर्दा होला केटीलाई अलि बढी दोष दिएको भान पर्छ यसमा।

दोस्रो मोन्टाज 'धोती भर्सेज ब्रा' सबैभन्दा प्रभावशाली कथा हो। 'इन्गेजमेनट रिङ'ले भने तीनवटा जोडीलाई जोडेको छ। 'प्रेम', 'लिभिङ टुगेदर', 'विवाह' यी तीन तत्त्वहरू नाटक मोन्टाजका प्रमुख अंग हुन्। तीन वटै कथामा महिलाको संवेदनामाथि पुरुषले खेल्न खोजेको अनुभूति हुन्छ। महिलालाई दोषी देखाउन खोज्दाखोज्दै महिला नै विजयी भएको महसुस गर्न सकिन्छ अन्तमा।

एउटै नाटकमा दाइजो प्रथामार्फत महिलालाई अनपढ र दासीसरह व्यवहार गरिएको छ भने, अर्काेतिर समलिंगी विवाहजस्तो उत्तरआधुनिक सवाललाई प्रशस्त स्थान दिइएको छ। 'लिभिङ टुगेदर जेनेरेसन'सँग प्रशस्तै दाइजो लिएर भर्खरै विवाह गरेकी महिलाको भेट, मधेशी श्रीमानले नवविवाहित श्रीमतीसँग देखाएको व्यवहार, यो प्रस्तुति केही 'क्लिसे' लाग्छ। समलिंगी वेटर भएको रेष्टुरेन्टमा शिक्षित तर कफीको स्वाद नै थाहा नभएकी कफी पिउनै नजान्ने महिलालाई प्रस्तुत गर्नु कथानकमा अलमल जस्तो लाग्छ। जीवनका फरकफरक मोन्टाजको अनुभूति गराउन खोजे पनि नाटक मोन्टाज फेरि एउटै नाटक हो। एउटै नाटकमा फरक लक्ष्यका कथाहरूले अलमल पक्कै पार्छन्। कुनै न कुनै हिसाबले सबै कथा एकअर्कासँग 'कनेक्टेड' हुनु पर्थ्यो। 

प्रत्यक्ष दिइएको संगीत नाटकको महत्त्वपूर्ण र बलियो पक्ष हो। संगीतले अन्तसम्म लठ्याइराख्छ। मञ्चमा सुलक्षण भारती, रोश्नी कार्की, कुन्दन, निशा दाहाल, रितेश कार्की, सनम श्रेष्ठ, शिशिर गिरी, श्रवण यादव, पूजा तामाङ, अनमोल क्षेत्री अधिकारी, अरविन्दकुमार मौर्य, रौनक कार्की, सोनिया लामा, प्रेमसागर सेजुवाल, इनारा बानु र शिला निरौला छन्। नाटक मोन्टाजले वयस्कहरू थिएटरसम्म आउलान् भन्ने अपेक्षा गरेको प्रस्ट हुन्छ। प्रेमीले प्रेमिकालाई प्रेमिकाले प्रेमीलाई लिएर जानुस्, श्रीमतीले श्रीमानलाई तथा श्रीमानले श्रीमतीलाई लिएर जानुस्, यो ठिहिर्‍याउने चिसोमा प्रेमिल गफगाफ, छलछाम, नक्कलझक्कलले पक्कै न्यानो पार्नेछ। पक्कै पनि तपाईंको मुहारमा मुस्कान ल्याउने छ।


सम्बन्धित सामग्री