Sunday, April 28, 2024

-->

‘जंगबहादुरले तामाङलाई करार गरेको मासिन्या फरक स्वरूपमा कायम छ’

'राज्य विस्तारपछि गणतन्त्रसम्म आइपुग्दा थुप्रै सत्ता र शासकहरू बदलिँदै गए। तर तामाङ जातिमाथि बलजफ्ती थोपरिएको मासिन्याको धङ्धङी कायम रह्यो जस कारण तामाङ लोकजीवन चरम उत्पीडनको निशानामा परिरह्यो।'

‘जंगबहादुरले तामाङलाई करार गरेको मासिन्या फरक स्वरूपमा कायम छ’

तीन लेखक लक्ष्मी रुम्बा, राबत र राजु स्याङ्तानले लेखेको नाटक ‘मासिन्या’ काठमाडौँको मण्डला थिएटरमा मञ्चन भइरहेको छ। यो नाटक शुरूमा माघ ११ देखि २८ गतेसम्म मञ्चन गर्ने भनिएको थियो। तर दर्शकको मागका कारण फागुन २ देखि १२ गतेसम्म मञ्चन समय थप गरिएको छ। यो नाटकले ऐतिहासिक रूपमा उत्पीडनमा परेको तामाङ समुदायको कथा भन्छ। यस नाटकको विषयमा एक जना लेखक लक्ष्मी रुम्बासँग उकालोले गरेको कुराकानीः

‘मासिन्या’ नाटक लेखनको शुरूआत कसरी भयो? तीन जना लेखकले कसरी समन्वय गर्नुभयो?
वर्षौंदेखि निरंकुश राज्यव्यवस्थाबाट तामाङ जातिमाथि भएको शृंखलाबद्ध उत्पीडन र त्यसबाट निकास खोजिरहेका सीमान्त पात्रहरूको कथालाई जोड्ने क्रममा नाटक ‘मासिन्या’ जन्मिएको हो। चियागफमा राजुजी (राजु स्याङ्तान)ले सुनाउनुभएको एक घटना र तामाङ जीवनलाई त्यस्तै समान किसिमका थुप्रै पीडामय घटनाहरूले बारम्बार झस्काइरहेको तीतो यथार्थमाझ डेढ वर्षअघि नाटक लेख्न शुरू गरेका हौँ।

सामूहिक प्रणाली र सामुदायिक जीवनमा रम्नु तामाङ समुदायको परम्परागत अभ्यास हो। यो अभ्यास नै हाम्रो संयुक्त लेखनको कडी पनि हो। नाटकको कुनै पनि दृश्य हामीले एक्लाएक्लै लेखेनौँ। नाटकको पहिलोदेखि अन्तिम हरफसम्म तीनै जना एकै ठाउँ भेला भएर लेख्यौँ। यो नाटक हामी तीनै जनाको पहिलो प्रयास हो। हामीले पहिला अनुप सुवेदीसँग फिल्म स्क्रिप्ट लेखनको तालिम सँगै लिएका थियौँ। नाटक लेख्दै जाँदा झण्डै फिल्मलाई पुग्ने दृश्य लेखिभ्याएछौँ। पछि निर्देशकद्वय बुद्धि तामाङ र सोनाम लामासँगको छलफलपश्चात् हामीले फेरि त्यसलाई नाटक मञ्चन अनुरूपको बनायौँ। ताम्सालिङ संयुक्त संघर्ष समितिले निर्माण पक्षको जिम्मा लिएपछि नाटक मञ्चन हुन सफल भयो।

जंगबहादुरले मुलुकी ऐन बनाएर ‘मासिन्या’ करार गरेको ऐतिहासक सन्दर्भबाट नाटकको नाम राखिएको छ। तामाङलगायत जातिलाई मासिन्य करार गरिएको त्यो सन्दर्भ र अहिलेको सन्दर्भ उस्तै हो त?
जंगबहादुरले १९१० सालमा जारी गरेको मुलुकी ऐनले तामाङलगायत जातिलाई ‘मासिन्या मतुवाली’ करार गरेर मार्न वा सित्तैमा दासदासीको रूपमा राख्न मिल्ने कानून बनाएर दमनकारी सत्तालाई थप स्थापित गराए। तर यसअघि नै केन्द्रीकृत एकात्मक राज्यबाट राज्य विस्तारको अभीष्टसँगै जात व्यवस्थाको संकुचनमा तामाङ जातिलाई निमिट्यान्न पार्ने प्रयास हुँदै आएको थियो। १८५० सालमा नुवाकोटमा भएको हजार जना तामाङको हत्यालगायत घटनाबाट पनि यो कुरा पुष्टि हुन्छ।

राज्य विस्तारपछि राणाकाल, पञ्चायत, प्रजातन्त्र हुँदै गणतान्त्रिक मुलुकसम्म आइपुग्दा थुप्रै सत्ता र शासकहरू बदलिँदै गए। तर हिजो तामाङ जातिमाथि बलजफ्ती थोपरिएको मासिन्याको धङ्धङी आजसम्म विभिन्न स्वरूपमा कायम रह्यो जस कारण तामाङ लोकजीवन चरम उत्पीडनको निशानामा परिरह्यो। अझै राज्य संरचनाका विभिन्न अंगहरूमा समान प्रतिनिधित्व हुन किन सकिरहेको छैन? आज बोझेनीजस्ता तामाङ बस्तीहरू सबस्टेशन र विकासको दोहनमा किन दुखिरहनु परेको छ? तामाङलगायत सीमान्त समुदायका हजारौँ युवाशक्ति किन खाडी मुलुकतर्फ धकेलिनु परेको छ? हाम्रो सामुदायिक र प्रकृतिमैत्री जीवनलाई ध्वंस गर्ने संयन्त्र सधैँ कसरी बलियो हुँदै गइरहेको छ? राज्यसँग यी तमाम प्रश्नहरूको उत्तर होइन कारण जोडिएको छ। राज्यको सौन्दर्यदृष्टिबाट हामीमाथि निर्मित गलत भाष्यलाई चिर्दै हाम्रो स्वतन्त्रता, पहिचान र मुक्तिका बाधक तत्त्वहरूविरुद्ध प्रश्नको जगमा मासिन्या सन्दर्भ अहिले पृथक स्वरूपमा उभिएको छ। 

तामाङ जातिमाथिको शोषण देखाउने नाटकमा प्रेम प्रसंग किन जोड्नुभयो? त्यो आवश्यक थियो?
सारा अस्तित्व प्रेमको गर्भमा अडिएको हुन्छ। समाज परिवर्तनका मुद्दाहरू प्रेमसहित अघि बढ्छन् भने हामी कसरी यसबाट टाढा रहन सक्छौँ? चराजस्तै स्वतन्त्र लयमा बाँचिरहेका तामाङजस्ता उत्पीडित राष्ट्रका मान्छेहरू कसरी आफ्नै आदिभूमिबाट बेदखल हुनुपर्‍यो भन्ने प्रश्न एकातिर छ भने तामाङ समाजमा स्थापित फरक प्रेमदृष्टिलाई दर्शाउन पनि बहुआयामिक प्रेम प्रसंगलाई माध्यम बनाएर हामीले कथा अगाडि सारेका हौँ।

तामाङलगायत उत्पीडित जातिको मुक्तिका लागि यस्ता नाटक र साहित्यहरूले महत्त्व राख्छन्? तिनको सन्दर्भ राजनीतिसँग कसरी जोडिन्छ?
सबभन्दा पहिले त यो नाटक तामाङ जातिको आधारभूमिबाट उत्पीडित वर्ग–समुदायको मुक्तिका लागि एउटा सिर्जनात्मक हस्तक्षेप हो। त्यसैले यसलाई एउटा विशुद्ध नाटक या कला मात्र होइन भुईं मानिसहरूको सामूहिक आन्दोलनको रूपमा लिन सकिन्छ। यसो हुँदा नाटकले उठाएको सन्दर्भ राजनीतिसँग प्रत्यक्ष रूपमा ठोक्किन पुग्छ। जस्तो, विकासको नाममा, निकुञ्जको नाममा, जनावरको नाममा प्रभुत्वशाली शक्ति–संरचनाको भुंग्रोभित्र तामाङ जातिलाई जबर्जस्ती झोस्दै तामाङ बस्ती नै उजाड्न पुगेका निर्मम दृश्यहरू नाटकमा छन् जुन आफैँमा राजनीतिक हुन्। यसले एकात्मक राज्य संरचनाको धज्जी मात्र उडाउँदैन, अनेकन् प्रश्नहरूसमेत तेर्स्याउँछन्।

अहिले नाटकको दर्शक नै नभएको बताइँदै गर्दा, तपाईंहरूको नाटकमा हरेक दिन थिएटर भरियो। के कारण यस्तो भयो? तपाईंहरूको नाटक किन फरक भयो?
सदीयौँदेखि दुखाइको चरम सीमाबाट गुज्रिरहेका हामी जब आफ्नो कथा आफैँ भन्ने हिम्मत गर्छौं तब त्यहाँ आत्मीय संवेदनाको जीवन्त र स्वाभाविक सम्मिलन हुँदोरहेछ। यही कारण मासिन्याप्रति दर्शकहरूको प्रेमको आधार बन्न पुगेको हुनसक्छ। शासित वर्ग, समुदायको अन्तर्वस्तु चित्रण गर्ने प्रयासमा हामी लेखकहरूसहित निर्देशन/परिकल्पना, कलाकारिता र निर्माण पक्षको समीकरणबाट नै नाटकले अलि फरक परिचय बटुल्न सकेको हो जस्तो लाग्छ।   

नाटक हेरिसकेका दर्शकहरूको प्रतिक्रिया के छ? प्रतिक्रियाहरू फरकफरक छ कि उस्तै?
कुनै पनि सिर्जनालाई दर्शक/पाठकहरू आ–आफ्नै विचारधारा र दृष्टिकोणबाट कतै न कतै निर्देशित भएर ग्रहण गर्छन्। यसो हुँदा हामीले पनि दर्शकबाट मिश्रित प्रतिक्रियाहरू पाइरहेका छौँ। हामीले जंगबहादुरहरूलाई प्रतीकात्मक रूपमा ल्याएका छौँ। कति दर्शक भने मासिन्या शीर्षक देखेर जंगबहादुर नै पात्रको रूपमा उभ्याइएको अड्कल काटेर थिएटरसम्म आएको पनि पाइयो। तामाङ दर्शकहरू आफूले आफैँलाई खोज्न र माटोको कथा बुझ्न जोडिए भने कतिपय आफू बाँचिरहेको समाजको समानुभूति गर्न पनि आएको पाइयो।

कविता र गैरआख्यानमा चिनिनुभएको तपाईं अब नाटकमा पनि चिनिनुभयो। तपाईंको नाटक यात्रा अरू अगाडि बढ्ला? अब कस्ता विषय लेख्ने योजना छ?
मासिन्या नाटकले दिएको उर्जा नाट्य–लेखनमा मेरो लागि प्रेरणा बनिरहने छ। यो नाटक लेख्नुअघि नै म तामाङ लोकजीवनका ऐतिहासिक पात्रहरूबारे लेख्दै थिएँ। मानवशास्त्री डा. मुक्तसिं तामाङले आफ्नो अनुसन्धानमा ‘डिभाइन थिफ’ भनी उल्लेख गर्नुभएको काभ्रेका सुरा–मैता (शोषक सामन्तीको धनमाल कब्जा गर्दै अनकन्टार पहाडमा लुकाई दीनदुःखीलाई बाँड्ने पात्र) र पहाड फोरेर पानीको कुलो ल्याई तामाङ बस्तीलाई तृप्त बनाउने बेलीमाया तामाङ नै मेरा लेखनका पात्रहरू हुन्। मासिन्या नाटक लेखन र मञ्चनको क्रममा थाती रहेका यी जोधाहा पात्रमाथिको बाँकी लेखनलाई अब निरन्तरता दिनेछु।


सम्बन्धित सामग्री