Monday, April 29, 2024

-->

‘बोधि–सत्त्वले आम मानिसको करुणा भावलाई दर्साउँछ’

‘विदेशका उपन्यास, कथा र नाटक रूपान्तरण हुनुभन्दा मौलिक कथामा आधारित नाटक बने र स्थान दिन सके कुनै दिन हाम्रा कथा, नाटक संसारले एडप्ट गर्लान्।’

‘बोधि–सत्त्वले आम मानिसको करुणा भावलाई दर्साउँछ’

बज्रकला कुञ्जले प्रत्येक वर्ष सांस्कृतिक परिवेशमा आधारित नाटक प्रस्तुति गर्दै आएको छ। सोही क्रममा यस वर्ष ‘बोधि–सत्त्व’ नामक सांस्कृतिक नाटक कौशी थिएटरमा मञ्चन हुँदैछ। नाटक मंसिर २० देखि पुस ४ गतेसम्म मञ्चन हुनेछ। सांस्कृतिक नाटक मञ्चन गर्दै आएको केन्द्रको सपना कुनै दिन नेपाली मौलिक कथामा नाटक मञ्चनबाटै विश्वमा उदाहरणीय बन्ने छ। बज्रकला कुञ्ज सांस्कृतिक नृत्यका लागि पनि परिचित छ। बोधि–सत्त्वमा अभिनय र चर्या नृत्यको सम्मिश्रण पस्किँदै छ कुञ्ज। यही सेरोफेरोमा रहेर नाटकका प्रबन्धक तथा प्रमुख पात्रको रूपमा रहेका सुदन मुनिकारसँग उकालोका लागि प्रबिता श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश:

‘बोधि–सत्त्व’को शाब्दिक अर्थ के हो?
बौद्ध धर्मअन्तर्गत ब्रजयानी, महायानीहरू जो व्यक्ति बुद्धत्व प्राप्त गर्ने क्रममा छ, बुद्ध बन्ने बाटोमा हिँड्दै छ र बुद्ध नबनी लोक कल्याणमा लागिरहेको छ त्यो चरणलाई ‘बोधि–सत्त्व’ भनिन्छ।

निर्वाण प्राप्तिसँगै कुनै पनि व्यक्तिले बुद्धत्व प्राप्त गर्छ, त्यो अन्तिम सिद्धि भयो। तर, बुद्धत्व प्राप्तिका लागि हिँडेको बाटोमा विभिन्न कर्म गर्दै बुद्धत्व प्राप्तिका लागि पार गर्नुपर्ने विभिन्न चरणलाई बोधि–सत्त्वकर्मको रूपमा बुझ्न सकिन्छ। हामीले पुज्ने, मान्ने, पद्मपाणी लोकेश्वर, आनन्दादि लोकेश्वर, आदिनाथ लोकेश्वर लगायतका मत्स्येन्द्रनाथहरू सबै बोधि–सत्त्व हुन्।

उदाहरणका लागि कुनै मार्गमा दुःख पर्दा हामीभित्र जाग्ने करुणा बोधि–सत्त्वको एक पाटोको रूपमा लिन सकिन्छ। सामान्य अर्थमा बोधि–सत्त्व भनेको लोकको कल्याण गर्दै बुद्धता प्राप्त गर्ने यात्रामा हिँडेको सत्त्व या प्राणी हो।

अर्को भाषामा भन्दा सबैलाई करुणा भाव राखेर सहयोग गर्ने गुणी व्यक्तिलाई नै  बोधि–सत्त्व भनिन्छ। नाटकको मर्म पनि व्यक्तिहरूमा हुनुपर्ने करुणामा केन्द्रित भएको हुँदा यसलाई ‘बोधि–सत्त्व’ नामकरण गरिएको हो। यद्यपि, नाटकमा धर्मको सिद्धान्तभन्दा पनि आम जीवनमा आइपर्ने र अपनाउनुपर्ने सिद्धान्तका कुरालाई जोड दिइएको छ।


बौद्ध धर्मको सिद्धान्तप्रेरित यस नाटकको कथावस्तुबारे थप प्रस्ट्याइदिनु न?
नाटकले ठ्याक्कै बौद्ध धर्मकै सिद्धान्त अंगालेको छैन। सिद्धान्तबाट थोरै प्रेरित भने पक्कै छ। यसलाई हामीले आम मानिसको जीवनशैलीको रूपमा चित्रण गर्ने प्रयास गरेका छौँ।

बुद्धको जीवन–कहानीका एक पात्र अंगुलीमालको सन्दर्भलाई कथाको रूपमा लिएका छौँ। बौद्ध धर्ममा सबैको औँला काट्दै, औँलाको माला लगाएर हिँड्ने पात्र हुन्, अंगुलीमाल। कथा अंगुलीमालकै सेरोफेरामा घुमे पनि पात्रलाई अंगुलीमाल नै भनेर स्थापित गरेका भने छैनौँ।

वास्तवमा उनको नाम पनि अंगुलीमाल हुँदैन। उनी अन्य केही हुन्। हामीले भने अहिम् नाम राखेको छौँ। आसुरी स्वभावका रूपमा चिनिएका अंगुलीमाल आखिरमा को हुन्? उनी किन त्यस्तो हिंस्रक बने भन्ने नाटकको कथासार हो। कोही पनि जन्मँदै नराम्रो हुने होइन, कोही किन नराम्रो हुन पुग्छ? के–के गर्छन्? अंगुलीमालको हकमा उनी को थिए? के हुन्छन्? कसरी हिंस्रक हुन्छन्? बुद्धलाई कहाँ, कुन बेला भेट्छन्? र त्यसपछि पनि के–के भयो यावत् विषय नै नाटकको केन्द्रमा छन्।

अहिम‍्बाहेक नाटकमा अन्य ३–४ प्रमुख पात्र छन् जसमध्ये जयारी भन्ने महिला पात्र जो माया र प्रेममा छिन्। अहिम‍्लाई अंगुलीमाल बन्नबाट बचाउन उनले के–के गर्छिन्? अहिम् अंगुलीमाल हुनुमा उनका गुरुको कस्तो भूमिका रहन्छ? जयारीको भूमिका अन्तसम्म कस्तो रहन्छ? लगायतका उपकथा पनि नाटकमा जोडिएका छन्।

नाटकमा तपाईं कस्तो भूमिकामा देखिँदै हुनुहुन्छ?
यसबारे खास बताइहाल्न मिल्ने त हैन। नाटकका ३–४ प्रमुख पात्र छन्, त्यसमध्ये एक मेरो पनि रहेको छ। यसबाहेक यो पटकको नाटकमा मैले व्यवस्थापकको भूमिका निर्वाह गरेको हुँदा केही गाह्रोसाह्रो भने भइरहेको छ। प्रमुख पात्र हुँदा धेरै दृश्यमा पनि हुनुपर्ने प्रेसर, बोलिने वाक्य अक्षरशः सम्झना गर्नुपर्नेजस्ता गाह्रासाह्रा भने छन्।


नाटकमा चर्या नृत्यको पनि चर्चा परिचर्चा सुनिएको छ, त्यसको औचित्य के होला?
बज्रकला कुञ्ज, सांस्कृतिक पक्षमध्ये सांस्कृतिक नृत्यका लागि परिचित छ जसमध्ये चर्या नृत्य मेरो पिता र मेरो आफ्नै विशेषज्ञता रहेको नृत्यक्षेत्र हो। सांस्कृतिक नृत्य आफैँमा निश्चित मुद्रादेखि प्रस्तुतको कथनीले युक्त हुने हुँदा नृत्य गर्ने कलाकारसमेत पनि वर्षौं एउटै अभ्यासमा रहन्छन्। यसले उक्त विषयमा दक्षता त ल्याउँछ तर सधैँ एउटै किसिमको नाच र नृत्य गरिरहँदा कलाकारमा वैराग्य पनि जाग्छ।

सोही कारण हामीले यस्ता सांस्कृतिक नृत्यलाई सिर्जनात्मक रूपमा कसरी नाटकमा प्रस्तुत गर्न सक्छौँ भनेर सोच्यौँ। त्यसैले नाटकमा चर्या नृत्यलाई समावेश गरेका छौँ। यसले नाटकलाई अझ सुन्दर र सशक्त बनाएको छ। दर्शकले पनि चर्या नृत्यबारे नयाँ जानकारी पाउन सक्नुहुनेछ। यसरी हामीले नाटकलाई नाटक र नृत्यको प्याकेजमा ढालेका छौँ, जुन १ घण्टा १५–२० मिनेटको हुनेछ। निर्देशक र कथा चन्द्रमान मुनिकारको रहेको छ भने नाट्य रूपान्तरण भने इंगि होप कोइचले गरेका छन्।

यसअघि नाम संगीता, कुमारी, पचली भैरवलगायतका सांस्कृतिक नाटक पनि मञ्चन गर्नुभएको थियो, दर्शकको सहभागिता कस्तो हुन्छ?
हामीले मञ्चन गर्ने प्रायः नाटक सांस्कृतिक हुने गर्छन्। मेरो रुचि पनि यस किसिमका नाटकमै छ। अन्य धार र विदेशीबाट एडप्ट गरिएका नाटकभन्दा मौलिक नाटकमा जोड दिनुपर्छ भन्ने मेरो मान्यता छ। यसो हुँदा नाटक र संस्कृतिलाई माया गर्ने दुवै किसिमको दर्शक आउँछन्। यो हाम्रा लागि लाभकै कुरा हो।

विदेशका उपन्यास, कथा र नाटक रूपान्तरण हुनुभन्दा हाम्रै मौलिक कथाका नाटक बने र स्थान दिन सके कुनै दिन हाम्रा कथा, नाटक संसारले एडप्ट गर्लान् कि! नेपाली मौलिक नाटक विश्वमा उदाहरणीय होस् भन्ने नै हाम्रो सपना हो।

दर्शकलाई केही भन्न चाहनु हुन्छ?
नाटक मञ्चनका लागि कलाकारहरूले निकै मिहिनेत गरेका छन्। नाटकमा संस्कृति र नृत्यको पाटो हुँदा यसलाई नछुटाउन अनुरोध गर्छु।


सम्बन्धित सामग्री