Monday, April 29, 2024

-->

द रेलवे म्यान: भोपाल ग्यास काण्डका नायकहरू

फ्याक्ट्रीबाट चुहिएको ग्यासबाट बिरामी परेका यात्रु र गाउँलेहरूको ज्यान बचाउन सिद्दीकीसहितका 'रेलवे म्यान'हरूले गरेको संघर्षलाई पर्दामा उतारिएको छ, द रेलवे म्यान– द अनटोल्ड स्टोरी अफ भोपाल १९८४ नाममा।

द रेलवे म्यान भोपाल ग्यास काण्डका नायकहरू

सन् १९८४ डिसेम्बर २–३ को चिसो रात। भोपालको बाक्लो बस्तीमा अचानक भागदौड मच्चिन्छ। आँखा पोल्छ, सास फेर्न सक्दैनन्। एकएक गर्दै अस्पताल भरिन थाल्छ। कतिपयले अस्पताल प्रांगणमै ज्यान गुमाउँछन्। के भइरहेको छ? चिकित्सक पनि अनविज्ञ छन्। अचानक उत्पन्न परिस्थितिले स्थिति भयावह बन्छ।

यो परिस्थितिबाट भोपाल रेलवे स्टेसन अछुतो रहने कुरै भएन। रेलवेका कर्मचारीको स्वास्थ्य पनि प्रतिकूल बन्छ। रेलको प्रतीक्षामा रहेका यात्रुको अवस्था पनि उस्तै हुन्छ। स्टेसन सञ्चालन प्रभावकारी बनाउन नसक्दा दुर्घटना हुने अर्को त्रास छ। त्यो स्टेसनका इन्चार्ज हुन्छन्, इफ्तेकार सिद्दीकी। इमानदार र कर्ममा विश्वास गर्ने उनी प्रतिकूल परिस्थितिमा आफू र आफू मातहतका कर्मचारीको साथमा अस्वस्थ अवस्थामा रहेका यात्राहरूको ज्यान जोगाउन हरसम्भव प्रयास गर्छन्।

चार दशकअघि अहिलेजस्तो सञ्चारको सुविधा हुने कुरै भएन। भएका ल्यान्डलाइन पनि बिग्रिएको अवस्थामा छन्। त्यसैबेला स्टेसनमा गाउँलेहरूको भीड बढ्न थाल्छ। योबीचमा के थाहा हुन्छ भने– यो सबै हुनको कारण हो नजिकै रहेको युनियन कार्बाइड फ्याक्ट्री।

फ्याक्ट्रीबाट चुहिएको ग्यासका कारणले बिरामी परेका यात्रु, वरपरका गाउँलेहरूको ज्यान बचाउन सिद्दीकीसहितका 'रेलवे म्यान'हरूले संघर्षलाई पर्दामा उतारिएको छ, द रेलवे म्यान– द अनटोल्ड स्टोरी अफ भोपाल १९८४ नाममा।

हालै नेटप्लिक्सलमा प्रिमियर भएको चार शृंखलाको यो सिरिजलाई हेर्न करिब चार घण्टा खर्चिँदा दर्शक करिब ४० वर्षअघि भारतको भोपालमा औद्योगिक दुर्घटनाबाट उत्पन्न परिस्थितिसँगै बग्छन्। सिरिजको शुरूआत प्रश्नहरूबाट हुन्छ र उत्तर अन्त्यसम्म पनि भेटिँदैन।

सिरिज एक पत्रकारले आफ्नासामु देखेका घटना र उनका मनमा उब्जिएका अनुत्तरित प्रश्नहरूबाट अगाडि बढ्छ। सिरिजको शुरूआत चाहिँ युनियन कार्बाइडका प्रमुख, अमेरिकी नागरिक वारेन एन्डरसनलाई भारतबाट बचाएर भाग्न दिइएका दृश्यबाट हुन्छ। पत्रकारितासमेत गरेका फिल्म स्क्रिप्ट राइटर राजकुमार केसवारीले भोपाल घटनालाई नजिकबाट ‘कभर’ गरेका थिए। सिरिजमा पत्रकारको भूमिका सनी हिन्दुजाले निभाएका छन्। एन्डरसनले भारत छोडेपछि उनी भन्छन्, “यो एउटा यस्तो देश हो जहाँ न हत्यारालाई सजाय हुन्छ न बचाउनेहरूलाई स्याबासी।”

सिरिजले मुख्य गरी सन् १९८४ को भोपाल औद्योगिक विपद्‍बाट उत्पन्न परिस्थितिबीच रेलवेमा काम गर्ने कर्मचारीले देखाएको साहसमा केन्द्रमा राख्छ। यो सिरिजलाई उनीहरूले गरेको कामको स्याबासीका रूपमा प्रस्तुत गरिएको छ।

सिरिजमा रेलवेका तत्कालीन महाप्रबन्धक गौरी शंकर, भोपाल रेलवे स्टेसनका सहायक स्टेसन मास्टर गुलाम दस्तगीरको प्रयास। यसबाहेक त्यतिबेलाका पत्रकार राजकुमार केसवानी र कारखानाका सुपरभाइजर बरकतुल्लाह। सिरिज वास्तविक घटनाबाट प्रेरित भए पनि कथा काल्पनिक र यसका पात्रहरू काल्पनिक छन्।

सिरिजमा मध्य रेलवेका महाप्रबन्धकको भूमिकामा आर माधवन छन्। सिरिजको मुख्य भूमिकामा रहेका केके मेननले भोपाल रेलवे स्टेसनका सहायक स्टेसन मास्टर गुलाम दस्तगरीको भूमिकामा देखिएका छन्। यसबाहेक इरफान खानका छोरा बाबिल खान लोको पाइलटको भूमिकामा देखिएका छन्। उनी आफ्नो लुक, फेसन सेन्सबाट नभई राम्रो अभिनयका कारण आफूलाई स्थापित गर्न सक्षम छन्।

उनले लोको पाइलट इमाद रियाजको भूमिकालाई इमानदारीपूर्वक निभाएका छन्। अर्का कलाकार दिव्येन्दु, जो रेलवे स्टेसनमा जम्मा पैसा चोरी गर्ने उद्देश्यले प्रहरीको भेषमा स्टेसनमा पुगेका हुन्छन्, चोरेको रकम फर्काएर दर्शकलाई प्रभावित पार्छन्। उनीहरूबाहेकका कलाकारको भूमिका पनि उत्कृष्ट छ।

सेट निर्माण गरेर खिचेको भए पनि सिरिज हेर्दा वास्तविक रेलवे स्टेसनभन्दा फरक लाग्दैन। कलाकारको अभिनयसँगै फ्याक्ट्रीको ग्यास चुहावटपछि उत्पन्न तनावपूर्ण माहोलले दर्शकलाई बाँधेर राख्छ र चार एपिसोडको सिरिज पूरै नहेरेसम्म उठ्न दिँदैन। शिव रवैलको निर्देशन, आयुष गुप्ताको लेखन रहेको सिरिजको छायांकन रुबैस र सम्पादन यश जयदेव रामचन्दनीले गरेका हुन्। यसैबाट यस राज फिल्मले सिरिज निर्माणमा हात हालेको हो।

के हो भोपाल ग्यास काण्ड?
सन् १९८४ डिसेम्बर २–३ को रात युनियन कार्बाइड फ्याक्ट्रीमा विषाक्त ग्यास चुहावट हुन्छ। करिब चार दशक अघिको यो घटनाका पीडितले अहिलेसम्म न्यायको महसुस गर्न सकेका छैनन्। पीडितहरू न्यायका लागि आजपर्यन्त संघर्षरत छन्। यही घटनालाई लिएर बलिउड र हलिउडमा यसअघि पनि सिनेमा बनेका छन्।

भोपाल ग्यास काण्डका जिम्मेवार व्यक्तिलाई कानूनी रूपमा सजाय दिलाउन भनी दायर मुद्दा अहिले पनि अदालतको तारिखमा अल्झिएको छ।

भोपाल ग्यास काण्डलाई विश्वकै सबैभन्दा खराब औद्योगिक दुर्घटनाका रूपमा लिइन्छ। यस घटनामा कति मानिस मारिए कति अपांग भए यसको अहिलेसम्म यकिन तथ्यांक नभएको र भारतीय सञ्चारमाध्यम पनि फरकफरक तथ्यांकहरू प्रकाशन गर्ने गरेका छन्।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार सरकारी आँकडाबमोजिम यो घटनामा ३ हजार ७८७ मानिस मारिएका थिए भने ५.७४ लाखभन्दा बढी मानिस घाइते भएका थिए। तर अदालतमा पेस गरिएको तथ्यांकअनुसार दुर्घटनामा १५ हजार ७२४ जनाको ज्यान गएको थियो। यता, बीबीसी हिन्दीले उल्लेख गरेअनुसार यो घटनामा अहिलेसम्म २५ हजार जनाले ज्यान गुमाएका छन्।

यस घटनाका मुख्य आरोपी थिए वारेन एन्डरसन जो यो फ्याक्ट्रीका सीईओ पनि थिए। उनलाई घटनाको तेस्रो दिन १९८४ डिसेम्बर ६ मा पक्राउ गरियो। रोचक त के छ भने, उनलाई ७ डिसेम्बरमा सरकारी विमानमार्फत दिल्ली पठाइयो। र उनी त्यहाँबाटै अमेरिका फर्किए। उनलाई अदालतले फरार अभियुक्त घोषित गर्‍यो। उनको २०१४ सेप्टेम्बर २९ का दिन ९३ वर्षको उमेरमा अमेरिकामै मृत्यु भयो।

ग्यास लिक हुनुको मुख्य कारण ट्यांक नम्बर ६१० मा विषाक्त मिथाइल आइसोसाइनेट ग्यास पानीमा मिसिइनु थियो। यसबाट ट्यांकमा दबाब बन्छ र ट्यांक खुल्छ। यसबाट निस्किएको ग्यासले हजारौँ मानिसको ज्यान लिन्छ।

फ्याक्ट्री नजिकै कामको खोजीमा विभिन्न ठाउँबाट आएका मानिसहरू बसेको बस्ती सबैभन्दा धेरै प्रभावित हुन्छ। यस बस्तीमा बसोबास गर्दै आएका कतिपयको निद्राकै अवस्थामा मृत्यु हुन्छ। ग्यास बिस्तारै फैलिँदै गएपछि मानिसहरूमा भागाभागको स्थिति सिर्जना हुन्छ, कोही मानिस भाग्दा भाग्दै बाटोमै ज्यान गुमाउँछन्। यस्तो प्रकारको विपद्बाट जोगिनका लागि कुनै पूर्वतयारी पनि थिएन।

भोपालको युनियन कार्बाइड फ्याक्ट्रीमा काम गरेका कलीम बीबीसी हिन्दीका संवाददाता सलमान रावीसँगको कुराकानीमा ग्यास लिक घटनाको व्याख्या गरेका छन्। उमेरले सात दशक पार गरिसकेका कलीमका अनुसार युनियन कार्बाइड फ्याक्ट्रीमा सेवन नामको पाउडर पहिला अमेरिकाबाट ल्याइन्थ्यो पछि फ्याक्ट्रीमै उत्पादन गर्न थालियो। यो एक प्रकारको कीटानशक हो। त्यस दिन पनि रातिको पालोमा समयमै कारखानामा पुगेर अन्य सहयोगीहरूसँग काम थालेका थिए।

“त्यो चिसो रात थियो। डिसेम्बरमा पहिला अत्यन्तै चिसो हुने गर्थ्यो। म ड्युटीमा थिएँ। मसँगै साबिर भाइ, माता प्रसाद, गंगा राम प्रजापति र अनवर मियाँ काम गरिहेका थिए” उनी भन्छन्, “त्यतिबेलै साबिर भाइले पाइप तर्फ इसारा गरे। त्यहाँ पानी लिक भइरहेको थियो। लगत्तै साइरन बज्न थाल्यो। साइरनको आवाज मिथाइल आइसोसाइनेटको प्लान्टतर्फबाट आइरहेको थियो। ‘ड्रिल हुँदै’ कसैले भनेको सुनियो। त्यतिबेलै आवाज आयो– भाग... भाग... ज्यान बचाऊ।”

त्यसपछि सबै जना गेटतिर भागेको उनी सम्झन्छन्। उनका अनुसार आँखा जलन हुन थाल्छ। सास लिन समस्या हुन्छ। उनी भन्छन्, “ग्यास लिक भयो र हावमा मिथाइल आइसोसाइनेट फैलिइसक्यो भन्नेमा हामीहरू आश्वस्त भइसकेका थियौँ।”

लामो समयदेखि पीडितहरूको अधिकारीका लागि काम गर्दै आएको भोपाल ग्यास पीडित महिला स्टेशनरी कर्मचारी संघकी अध्यक्ष रशीदा बीका अनुसार आफ्ना परिवारका सदस्यहरू गुमाएका सहितका प्रभावितहरू लामो समयदेखि विभिन्न किसिमका रोगबाट जुधिरहेका छन्। कतिपय पीडितहरूका छोराछोरी तथा नातिनातिनाहरू शारीरिक रूपमा अशक्त जन्मिएका छन्। यो घटनामा न्यायका लागि लामो समयदेखि संघर्ष जारी रहेको छ।

पीडितका पक्षबाट न्यायको याचना गर्दै तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहलाई समेत पत्र पठाइएको थियो। यो घटनाका पीडितहरूले सरकारले मारिनेहरूको सही तथ्यांक जारी नगरेको र सर्वोच्च अदालतलाई पनि गुमराहमा राखिएको आरोप लगाउँदै आएका छन्। फ्याक्ट्री ग्यास लिक घटनाका जिम्मेवार व्यक्तिहरूलाई सजाय र न्यायका लागि चार दशकयता पीडितहरू प्रतीक्षामा छन्।


सम्बन्धित सामग्री