Saturday, May 04, 2024

-->

'बोइकट बलिउड'को उल्झनपछि मार्केट रिलोडेड!

सन् २०१२ मा अक्षय कुमार र परेश रावलको ‘ओ माई गड’ रिलिज भएपछि 'बोइकट बलिउड'को झिल्को सल्केको थियो। त्यसपछि धार्मिक र राष्ट्रियताको मुद्दा उठाएर खास फिल्मको विरोधमा बहिष्कारको अभियान छेड्ने गरिएको छ।

बोइकट बलिउडको उल्झनपछि मार्केट रिलोडेड

काठमाडौँ– “शाहरूख खान को इस बात को याद रखाने चाहिए कि अगर इस देशका बहुसंख्यक समाज उनकी फिल्मों का बहिष्कार कर देगा तो एक आम मुसलमान कि तरह उनको भि सडको पे भटकना पडेगा।”

सात वर्षअगाडि भारतीय जनता पार्टी (भाजपा)का नेता (हाल उत्तरप्रदेश मुख्यमन्त्री)योगी आदित्यनाथले बलिउड अभिनेता शाहरूख खानलाई 'चेतावनी' दिँदै यस्तो अभिव्यक्ति दिएका थिए। त्यतिखेर योगीले खानलाई 'हफिज सइद'को संज्ञा पनि दिएका थिए। सइद मुम्बईस्थित ताज होटलमा २००८ नोभेम्बर २६ मा भएको हमलाका योजनाकार थिए।

योगीसँगै थुप्रै बीजेपी नेताहरूले ‘टाइम एन्ड अगेन’ बलिउडका कतिपय फिल्महरूलाई बहिष्कार गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए। विश्व हिन्दू परिषद्‍की नेतृ साध्वी प्राची, भाजपा वरिष्ठ प्रवक्ता सुधांशु त्रिवेदीलगायत केहीले शाहरूखलाई 'पाकिस्तानी एजेन्ट'को संज्ञा दिए भने, केहीले हिन्दू समुदायको संस्कृतिमाथि भद्दा मजाक गरेको भन्दै देशद्रोहको आरोपसम्म लगाए। यी घटनाले सन् २०१५ पछि शाहरूखका फिल्ममा असर पर्ने अनुमान गरिएको थियो। यस्ता वक्तव्यबाजीको सिलसिलाको थोरबहुत असर देखियो पनि। तर सन् २०१५ देखि २०१८ को अन्त्यसम्म उनका ६ वटा फिल्म रिलिज भए। जसमध्ये तीन वटा फ्लप भए भने, बाँकीले सम्मानजनक व्यापार गरे। 

त्यही बेला 'बोइकट बलिउड' नारा सामाजिक सञ्जालमा फ्याट्टफुट्ट देखिन थाले। यही सन्दर्भमा एक अन्तर्वातामा पत्रकारले शाहरूखलाई सोधेका थिए, “यो बोइकट बलिउडले तपाईंको फिल्मलाई कतिको असर परिरहेको छ?”

जवाफमा उनले भनेका थिए, “यस्ता हावाले म थोडी न हल्लिनेवाला छु! हावाले त झाडी हल्लिन्छ।”

सन् २०१९ को कोरोना महामारीपछि भारतमा पुन: बोइकट बलिउडको नारा जोडतोडले घन्कियो। खासगरी ट्विटर फेसबुकजस्ता सामाजिक सञ्जालमा ‘ह्यासट्याग’सहित बोइकट बलिउड अभियान चलाइयो। यसपटक भने एजेन्डा अलिक फरक थियो। हिन्दू समुदायलाई लक्षित गरेर, उनीहरूको आस्थामाथि प्रहार गर्दै, मानमर्दन गर्दै बलिउडले फिल्म बनाइरहेको भन्दै राष्ट्रिय स्वयंसेवक संघद्वार सन्चालित 'आइटीसेल' र अझै धेरै हिन्दुत्वको पक्षमा भड्काउ भाषण दिने नेताहरू बहिष्कारको माग गरिरहेका थिए नै, पछि यसमा ‘नेपोटिज्म' विवाद पनि जोडियो।

बोइकट बलिउडको वितन्डा
सन् २०१७/१८ तिर तुलनात्मक रूपमा बोइकट बलिउडको आवाज कम हुन थालेको थियो, तर प्रभाव कायमै थियो। २०२० जुन १४ को दिन जब बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको खबर आयो, तब फेरि बोइकट बलिउडको नारा शुरू भयो। त्यसअघि, बलिउडलाई धार्मिक र साम्प्रदायिक तवरबाट मात्रै बहिष्कार गर्नुपर्ने आवाज उठिरहेको थियो। अझै त्यसमा तीन खानहरू– शाहरूख खान, सलमान र आमिरलाई मुख्य रूपमा टार्गेट गरिएको थियो।

राजपुत–मृत्यु प्रकरणको बेला समग्र विश्व कोरोना महामारीसँग जुधिरहेको थियो। फिल्म इन्डस्ट्री मात्रै होइन, सारा व्यवसाय चौपट थिए। तर जब सुशान्तको मृत्युको समाचार बाहिरियो, उनका प्रशंसक र अनुयायीहरूको सारा ध्यान त्यतै केन्द्रित भयो। उनी मुम्बईस्थित आफ्नै ‘फ्ल्याट’मा मृत भेटिएका थिए। भारतको सीबीआईले अनुसन्धान शुरू गर्यो। अनुसन्धानबाट उनले आत्महत्या गरेको खुलेसँगै उनी बलिउडभित्रै नेपोटिज्मको सिकार भएको पनि खुल्दै गयो।

त्यसपछि उजागर हुँदै गयो बलिउडको झन् धेरै ‘डार्क' र 'डर्टी साइड’। इन्डस्ट्रीभित्रको ड्रग्स–डिलिङ, बालबच्चा बेचबिखन, नग्नता, अश्लीलता, महिलाहरूमाथि हुने आपत्तिजनक व्यवहार, ग्लामर र परिष्कृतको नाममा अनैतिक हर्कतका साथै अन्य व्यापक गैरकानूनी अभ्यासहरूको पोल खुल्दै गयो। यी सारा 'डार्क साइड'हरूलाई बिस्तारै बेवास्ता गरिए पनि नेपोटिज्मलाई धेरैले गम्भीररूपमा लिए। बलिउडमाथि नै कैयन प्रश्नहरू उठे।

बोइकट अभियान चलाउनेहरू घरी धर्मको नाममा फिल्म बहिष्कार हुनुपर्छ भन्थे, घरी इन्डस्ट्री परिवारवादमा चलेको भनेर। त्यही बेला इन्डस्ट्रीबाहिर र भित्र हिन्दी सिनेमामा 'कन्टेन्ट' नभएको, रचनात्मकता, मौलिकता सक्किएको चर्चा शुरू भयो। कतिपयले बलिउड अत्यधिक ‘कमर्सियल’ हुँदै गएको आरोपसमेत लगाए। 

यता दक्षिण भारतमा बन्ने, खासगरी तेलुगु भाषाका सिनेमाले भने प्रशस्त कमाइ गरिरहेका थिए। भारतमा सन् २०१७ मा सबैभन्दा धेरै कमाइ तेलुगु सिनेमा ‘बाहुबलि–२’ ले गर्‍यो। सन् २०१८ मा तमिल फिल्म ‘रोबट २’ ले र २०१९ मा हलिउडको ‘एभेन्जर’ले भारतमा धेरै कमाइ गरे। कोरोना महामारीका कारण सन् २०२० मा भारतमा कुनै चलचित्र प्रदर्शन भएन। सन् २०२१ मा दक्षिण भारत कै ‘पुष्पा’ (तेलुगु) र २०२२ मा आर राजामौली निर्देशित ‘आरआरआर’ (तेलुगु) ले सिने जगतको अर्थतन्त्रलाई 'लिड' गरे। बलिउडको कुनै फिल्मले त्यस क्रममा न दर्शकको मन जित्न सक्यो, न राम्रो कमाइ नै गर्न सक्यो।  

एन्टी–हिन्दू ट्याग
सन् २०२२ मै बलिउडका आधा दर्जन फिल्म बहिस्कृत हुँदा अपेक्षाकृत व्यापार गर्न सकेनन्। आमिर खानको ‘लाल सिंह चड्डा’, अक्षय कुमारको ‘रक्षा बन्धन’, विजय देब्रेकोण्डाको ‘लाइगर', रणवीर कपुरको ‘ब्रह्मास्त्र’ अनि 'शम्शेरा' र अभिनेत्री तापसी पन्नुको 'दोबारा'लाई सामूहिक रूपमै बोइकट गरियो।

यस अभियानको मुख्य प्रयोजन नै हिन्दू संस्कृतिमाथि भएको भनिएको अपमान र हिन्दू–मुस्लिम विवाद थियो। त्यतिखेर प्रदर्शनीमा आएका अन्य बलिउड सिनेमाहरू पनि यस्तो सामूहिक बहिष्कारको सिकार भए। हिन्दू संस्कृतिसँग जोडिएका सिनेमाहरू ‘डिजास्टर’नै भए भने, बाँकी अन्य सिनेमाले अपेक्षाकृत कमाइ गर्न नसकेको बलिउड बक्स अफिसको रेकर्डमा देख्न सकिन्छ।

सन् २०१२ मा जब अक्षय कुमार र परेश रावलको ‘ओ माई गड’ रिलिज भयो, त्यतिखेर त्यो फिल्मलाई एण्टी–हिन्दूको संज्ञा दिइएको थियो। फिल्ममा हिन्दू समुदायको धार्मिक तथा सांस्कृतिक उपहास भएको भारतका बहुसंख्यक हिन्दू समुदायको आरोप थियो। फिल्मले हिन्दूहरूको आस्था र भावनामाथि खेलबाड गरेको उनीहरूको भनाइ थियो। अर्कोतर्फ, धर्मका नाममा भइरहेको नाटकलाई फिल्ममार्फत उजागर गरेकोमा धेरैले मन पनि पराएका थिए। यही फिल्मबाट बोइकट बलिउडको झिल्को सल्केको थियो।

त्यसकै दुईवर्षपछि सन् २०१४ मा आमिर खानको फिल्म ‘पीके’ रिलिज भयो। पीकेको ट्रेलर आएदेखि नै फिल्म विवादमा तानियो। त्यतिखेर सामाजिक सञ्जालमा 'बोइकट पीके’ ह्यासट्याग ट्रेन्ड भइरहेको थियो। धार्मिक भावनामा चोट पुर्‍याएको भन्दै भारतका हिन्दू संगठन बजरंग दल र विश्व हिन्दू परिषदले फिल्म बन्द गर्नुपर्छ भन्दै विरोध गरेका थिए। फिल्म सञ्चालित थिएटरहरूमा तोडफोड गर्नुका साथै थप शोहरू बन्द गर्न आह्वान गरिएको थियो। 

यसको जवाफमा आमिर खानले एउटा पत्रकार सम्मेलनमा स्पष्टीकरणको रूपमा, 'म हिन्दू धर्मको सम्मान गर्छु' भनेका थिए। केही कार्यक्रममा आमिरले ‘इन्टोलेरेन्स’लाई लिएर सार्वजनिक रूपमै भनेका थिए– “हामीले सारा जिन्दगी भारतमा बितायौँ। तर अब म र किरण (आमिरकी श्रीमती) भारतबाट अन्यत्र बसाइँ सर्नेबारे सोचिरहेका छौँ।”

त्यस्तै, जनवरीमा रिलिज भएको शाहरूख खानको फिल्म पठानको ‘बेशरम रंग’ नामक गीतमा अभिनेत्री दीपिका पादुकोणले गेरू रङको वस्त्र प्रयोग गरेको भन्दै हिन्दू संगठनहरूले हंगामा गरेका थिए। गेरू वस्त्रलाई फिल्ममा 'बेशरम' भनिएको उनीहरूको दाबी थियो। अझै गेरू रङ हिन्दूहरूको लागि पुज्य भएको भन्दै अश्लील तरिकाबाट देखाएकोमा उनीहरूले आपत्ति जनाएका थिए। तर 'बोइकट पठान' नाराले उग्ररूप लिइरहँदा कथाले नयाँ मोड लिने तयारीमा थियो।  

‘टर्निङपोइन्ट’ पठान
सन् २०२२ मा बोइकट बलिउडको चर्को हावा चलिरहँदा शाहरूख खानको पठान पनि बहिष्कार गरिने फिल्मको सूचीमा थियो। पठान सार्वजनिक हुनुअगावै बोइकट पठानको नारा गुञ्जिरहेको थियो। अहमदाबादमा बजरंग दलका कार्यकर्ताहरूले पठानको पोस्टर जलाइदिए, कतिपय हलवालाहरूलाई फिल्म नचलाउन सामूहिक धम्की नै दिइएको थियो। धेरैले पठान बोइकट बलिउडको चपेटामा पर्ने आकलन गरेका थिए, तर प्रदर्शन हुनुभन्दा अगाडि नै 'एड्भान्स बुकिङ'ले सबैलाई चौकाइदिने परिणाम दिन थाल्यो। उक्त फिल्मले पहिलो दिनबाटै ताबड्तोड् ओपनिङ गर्‍यो र ‘अल–टाइम–बल्कबस्टर’मा नाम चढ्यो।

यसअघि रणवीर कपुरको ब्रह्मास्त्रले राम्रै कमाइ गरेको थियो। यसलाई 'बोइकट कल्चर'ले असर नपारेको भए पनि ठूलो बजेटमा बनेको हुँदा 'क्लिन हिट' हुन सकेन। पठानको बक्स अफिस कलेक्सनले बलिउडलाई धेरै राहत दियो। पहिलो दिन नै ५७ करोडको व्यापार गर्दै उक्त फिल्मले रेकर्डमाथि रेकर्ड बनाउने सिलसिला शुरू गर्‍यो। समग्रमा ५४३ करोडको व्यापार गर्दै पठानले बाहुबलिको रेकर्ड ब्रेक गर्न सफल भयो। त्यसअघि हिन्दी भाषामा रिलिज भएको सबैभन्दा धेरै (५११ करोड) कमाइ गर्ने चलचित्र बाहुबलि–२ थियो। 

गएको महिना सन्नी देवलको 'गदर–२' को 'रेकर्ड ब्रेकिङ' व्यापारले बलिउडलाई थप राहत दिएको छ भने बलिउड सम्बन्धित अभिनेता, ट्रेड विश्लेषक, निर्माता, समीक्षकलगायतले बलिउड इन्डस्ट्री पुरानै लयमा फर्किन लागेको भन्दै खुशी व्यक्त गर्न थालेका छन्।

जवानले उकास्न खोजेको आत्मविश्वास
गएको साता रिलिज भएको शाहरूख खानको फिल्म ‘जवान’ ले दुई दिनमै २४० करोड (भारतीय रुपैँया)को व्यापार गर्‍यो। यो आँकडा बलिउडको इतिहासमा अहिलेसम्मकै ठूलो हो। यसअघि दुई दिनमा त्यति कमाइ गर्ने सिनेमा बनेको त थिएन नै, बहिष्कार अभियान उत्कर्षमा पुगेको केही महिनाभित्रै कुनै हिन्दी भाषी सिनेमाले 'बोइकट बलिउड'को अलिकति बाँकी रहेको अवशेषलाई पनि निमिट्यान्न पारीदिन्छ भनेर कसैले शायद सोचेको पनि थिएन।

गत साता तीनवटा भाषामा एकैपटक रिलिज भएको जवानले पहिलो दिनमै ७४.५ करोडको व्यापार गर्‍यो, जसमध्ये ६५.५ करोड हिन्दी भाषाको भाग थियो। तमिलबाट ५.३ र तेलुगुबाट ३.७ करोड कमाइ भएको थियो। पठान र गदर–२ ले पहिलो दिन क्रमश: ५७ करोड र ४० करोडको व्यापार गरेका थिए। पछिल्लो एक सातामा जवानले विश्वव्यापी रूपमा ६०० करोडभन्दा बढीको व्यापार गरेर गदर–२ को रेकर्ड पनि ब्रेक गरिसकेको छ। यो सिनेमाले आफ्नो दौड पूरा गर्दासम्म हालसम्मकै सर्वाधिक कमाइ गर्ने हिन्दी सिनेमाको ताज पहिरिएको पठानलाई विस्थापन गर्ने निश्चितप्राय: छ। 

जवानको यस्तो धमाकेदार इन्ट्रीपछि बलिउड तरंगित बनेको छ। कुनै समय एकअर्काका कडा प्रतिस्पर्धी मानिएका बलिउडका स्टारहरू शाहरूखलाई बधाई दिइरहेका छन्। जवानले ५०० करोड कमाइ गरेपछि अभिनेता अक्षय कुमारले शाहरूखलाई बधाई दिँदै ट्वीटरमा खुशी व्यक्त गरे, “जवानले प्राप्त गरेको ठूलो सफलताका लागि बधाई, अब हाम्रा फिल्महरू लयमा फर्किन थाले।”

दर्जनौँ बलिउड अभिनेताहरूले पनि बलिउडलाई पुरानै अवस्थामा फर्काएकोमा शाहरूखलाई धन्यवाद भनेका छन्।

सिनेमा जगतमा बलिउडलाई हलिउडपछिको दोस्रो ठूलो मार्केटमा गन्ती गरिन्छ। यति ठूलो बजार भए पनि विश्वव्यापी रूपमा हिन्दी चलचित्रका स्टारमध्ये सबैभन्दा चर्चित सम्भवत: शाहरूख खान नै हुन्। लेखक तथा कवि जावेद अख्तरले एक अन्तर्वार्ताका क्रममा भनेका थिए, “हलिउड सिनेमापछि दोस्रो ठूलो बजार बलिउडको छ। बलिउड भारतमा मात्रै होइन सबैतिर परिचित छ। तपाईंले जर्मनीमा गएर 'शाहरूख खान को हो?' भनेर सोध्नुभयो भने, उनीहरूले सहजै भन्दिन्छन्– उनी बलिउडका हिरो हुन्।”


सम्बन्धित सामग्री