Saturday, May 04, 2024

-->

बारबेनहाइमर : दुई सिनेमाबीच हुनगइरहेको टकरावको तरंग

अहिले तपाईं जुनसुकै सामाजिक सञ्जालमा हेर्नुस्, बार्बी र ओप्पेन्हाइमरको विषयमा बनाइएका मिम ‘इन्टरनेट कल्चर’को केन्द्रमा छन्, यसरी बार्बेनहाइमर  ‘इन्टरनेट्भर्स’को बहुप्रतिक्षित इभेन्ट हुन पुगेकोछ।

बारबेनहाइमर  दुई सिनेमाबीच हुनगइरहेको टकरावको तरंग

हरेक ‘सिनेफाइल’को सपना, तर निर्माण स्टुडियोको टाउको दुखाइको विषय हो- दुई ‘ठूला’ फिल्मबीचको टकराव। यही सन्दर्भमा, क्रिस्टोफर नोलनको ओप्पनहाइमर र ग्रेटा गर्विगको बार्बी एकैदिन प्रदर्शन हुने खबर पहिलोपल्ट देख्दा मलाई लाग्यो– द स्टार्स ह्याभ फाइनल्ली अलाइन्ड!  

आजसम्म हरेक पुस्ताको हिस्सामा केही त्यस्ता सिनेमा परेका छन्, जसले उनीहरू हुर्किंदै गरेको समयलाई परिभाषित गरेको हुन्थ्यो– मेरो बुवाआमाको पालामा टुवेल्भ ऐङ्ग्री मेन र रकी त्यस्ता सिनेमा थिए भने, मेरो दाई-दिदी स्टार वार्स हेर्दै हुर्किएका थिए। स्कोर्सेसे, स्पिलबर्ग र कोपोलाले केही दशकअगाडि नै एकाध ‘कल्ट क्लासिक’ बनाइसकेका थिए। तर अहिलेको ‘जेन-जी’ पुस्ता मार्भलडीसी जस्ता ‘बिग-स्टुडियोज’ का 'मिम-कल्चर' जन्माउन केन्द्रित फिल्म हेर्नमा सीमित भयो– हाम्रो चेतनालाई सम्बोधन गर्ने फिल्म नै आएनन्।

हरेक उमेर समूहका लागि व्यक्तिगत मात्र होइन, उनीहरूको पुस्ताकै व्यक्तित्व परिभाषित गर्ने चलचित्र हुनु अरू सामाजिक-सांस्कृतक घटना जत्तिकै महत्वपूर्ण हुन्छ। हाम्रा बुवाआमाले रक्की जस्तै कठिन समय पनि देखे, ग्रिजका चरित्रजस्तै ‘फ्री-स्पिरिटेड’ पनि भए। त्यसैगरी मेरा दाइ-दिदी स्टार वार्सको चुबाका जस्तै बुझिनसक्नुको 'जन्तु' हुन्, उनीहरू चुबाका जति नै जटिल छन्। 

त्यही हिसाबमा हामी, अर्थात् जेन-जी को हौँ? हामीलाई परिभाषित गर्ने सिनेमा कुन-कुन हुन्? भोलि आउने पुस्ताले हाम्रो सोचाइ, हाम्रो बेलाको रचनात्मक दृष्‍टिकोण बुझ्न परे के हेर्लान्? यस्ता प्रश्नको सिधा उत्तर हुन्छ- अहिलेसम्म कुनै पनि हैन!   

हलिउडको ‘गोल्डेन एज’मा बनेका चलचित्रको लेखन उत्कृष्ट हुन्थे, ‘डिलिभरी कम्प्लेक्स' तर 'कम्प्यासनेट' (करुणावान) हुन्थे। अफसोस, आज बन्ने सिनेमाहरूमा त्यस्तो गहिराइ छैन, ताजगी छैन। निर्माताहरू नयाँ हिसाबले 'रिप्याकेजिङ’ गरेको बासी सूत्र नै बेचिरहेका छन्। केही नयाँँ छ भने, केवल फिल्म निर्माणको प्राविधिक पक्ष।

कुनै समय द गडफादर जस्ता गहन र तत्कालीन समय परिभाषित गर्ने सिनेमा बनेका थिए। हाम्रो भागमा क्याप्टेन मार्भल जस्ता सतही, फोस्रा र औसत फिल्म परे। मसँग भोलि सन्ततिलाई ‘हाम्रो बेलामा यो सिनेमाले यसरी मान्छेहरूको चाल-चलनलाई प्रभाव पारेको थियो, यसरी त्यो बेलाको समयलाई क्यामेरामा रचनात्मक तवरले प्रस्तुत गरेको थियो’ भन्ने सटिक उदाहरण नै छैनन्। यस्तो अभावबीच बार्बेनहाइमर भनिएको बार्बीओप्पेन्हाइमरको प्रदर्शन र जुधाइले धेरै उत्सुकता जगाएको छ। 

यी दुवै सिनेमा पर्खिरेहका दर्शकमा देखिएको उत्साह र प्रभावले युवाको मनोभावलाई देखाउँछ। यद्यपि, यी दुई चलचित्र मात्रै हाम्रो समयको प्रतिबिम्‍ब हुन् भनेर दाबी गरिएको होइन। किनभने, प्रदर्शन हुनुअगाडिको प्रभावलाई प्रदर्शनपछि दर्शक र विश्लेषकले कसरी लिन्छन् भन्न सकिँदैन। परिणाम जे होस्, अहिले हलिउडको मूलधार अपवादबाहेक ‘रक-बटम’तिर लागेको अवस्था छ, जहाँबाट तल जाने ठाउँ छैन, माथि उठ्ने बाटो मात्रै छ। 

जेन-जीका सिनेफाइलले अपनत्व महसूस गर्ने सिनेमा एकदम थोरै बनेका छन्। यस्तो ‘बिलोङगिङ ग्याप’का बीच जुलाई २३ मा माथि भनिएका दुई ठूला सिनेमाको टकरावले महत्त्व राख्छ नै।

एकातिर ओप्पेन्हाइमर एउटा विवादित वैज्ञानीकको जीवनमाथि बनाइेको ‘डार्क थ्रिलर’ हो जसले नोलनको अरू सिनेमामा देखिने अस्तित्ववादको सारलाई शायद कायम राख्नेछ। अर्कोतर्फ बार्बी एउटा ‘ह्याप्पी-गो-लक्की ब्लन्ड’को कथा हो जसमा गर्विगको ‘मम्बल्कोर’ शैली देखिने अपेक्षा गरिएको छ। यी दुई सिनेमा बीच सतहमा सम्बन्ध नदेखिए पनि उनिहरूको टाइटानिक र उक्त पानीजहाज ठोक्किएको आइसबर्ग जत्तिकै जोडिएका छन्।  

जुलाई २१ मा  हुन गइरहेको 'डबल फिचर' यही विधागत ‘फरक तर समान’ आयामका कारण नै सम्‍भव भएको हो।

श्वेत पुरुषहरूको आधिपत्य भएको हलिउडमा ग्रेटा गर्विगले महिलाका भोगाइ र अनुभवबारे बनाएका चलचित्रको माध्यमबाट आफ्नो छुट्टै स्थान बनाएकी छन्। लिटल वुमेन, लेडी बर्ड जस्ता सिनेमा बनाएकी उनले बालिकाहरू माझ सम्भवत: विश्वकै सबभन्दा चर्चित पुतली बार्बीमा आधारित चलचित्र बनाउने घोषणा गरेदेखि नै यस विषय वरपर जिज्ञासा रहिआएको छ। अर्कोतर्फ, अपरम्परागत र ‘कन्सेप्चुअल’ कथालाई ‘एस्थेटिक भिजुअल’को माध्यमबाट प्रस्तुत गर्ने कला भएका नोलनको ‘मेल कोडेड’ले आफ्नै किसिमिको दर्शकलाई आकर्षित गरिरहेको छ। यो दोस्रो विश्वयुद्धको विषयमा बनाइएको सिनेमा हो। यता, ओप्पेन्हाइमरबार्बी एकअर्का भन्दा ठ्याक्कै विपरीत छन्।

ओप्पेन्हाइमर अरू कारणका साथै नोलनको पूरै चलचित्र आइम्याक्स ७० एमएममा चित्रण गर्ने ‘क्रान्तिकारी’ घोषणाले गर्दा पनि हेडलाइन बनाउन सफल रह्यो। सामान्य रूपमा चलचित्रहरू ३५ एमएम लेन्समा खिचिन्छन्। चलचित्रलाई यथार्थपरक बनाउनको लागि पछिल्लो सिनेमा टेनेटमा बोइङ ७४७ क्र्यास गराएजस्तै नोलनले ओप्पेन्हाइमरमा उस्तै वास्तविकता देखाउन ‘मिनी परमाणु बम’ पड्काउने सुझाव दिएका थिए। छायांकनका क्रममा उनले वास्तविक आणविक बम नै देखाए तर पड्काएनन्। यसबाट दर्शकमा वास्तविक विष्फोटको प्रभाव परेको थियो। यस्ता कार्य उनले कुनै साहित्यिक वा कवितात्मक अभिव्यक्तिका लागि गरेका भने हैनन्- उनलाई ‘भिजुअल र सोनिक थियाट्रिक्स’ मनपर्छ, तथ्य यही हो।

त्यसैगरी, बार्बी निर्माण हुने समाचार प्रकाशित भएसँगै यसको चर्चा शुरु भएको थियो। निर्माताले ट्रेलर सार्वजनिक गरेपछि यस सम्बन्धित मिमको बाढी आएको थियो- जुन निरन्तर चलिरहेको छ। गर्विगले ‘बिम्बो’ भनेर मात्र चित्रण गरिने बार्बीलाई यस सिनेमामार्फत मानवीयकरण गर्न खोजेकी छन्। आफ्नो रंगीचंगी समस्यारहित दुनियाँबाट एक्कासि मानव संसारमा केनसँगको यात्रा र उनीहरू दुईको ‘एड्भेन्चर’लाई सिनेमामा देखाइएको छ। 

महिलावादी विषयवस्तुमा सिनेमा बनाउने गर्विगको यो पछिल्लो प्रयास विवादरहित भने छैन। केही आलोचकहरूले बार्बी कि अवास्तविक आइडल मात्र हुनसक्ने, कि महिलावादी आइकनमात्र हुनसक्ने, दुवै हुन नसक्ने भनेर गर्विगको प्रयासमाथि प्रश्न उठाएका छन्। भियतनामले ‘साउथ चाइना सी’ जस्तो विवादित भूभाग देखाएको भनेर यो सिनेमामाथि प्रतिबन्ध लगाएको छ।

विवाद जे भए पनि अहिलेको वास्तविकता के हो त? बार्बेनहाइमरको समयसँग बढ्दै गएको ‘हाइप’!

अहिले तपाईं जुनसुकै सामाजिक सञ्जालमा हेर्नुस्, बार्बी र ओप्पेन्हाइमरको विषयमा बनाइएका मिम ‘इन्टरनेट कल्चर’को केन्द्रमा छन्, यसरी बार्बेनहाइमर  ‘इन्टरनेट्भर्स’को बहुप्रतिक्षित इभेन्ट हुन पुगेकोछ।

यसका साथै, समय कटाउन फिल्म हेर्नेदेखि ‘हार्डकोर मुभी एन्थुसिआस्ट’ समक्ष अहिले एउटै प्रश्न छ– जुलाई २१ मा बार्बी हेर्ने कि ओप्पेन्हाइमर हेर्ने? अथवा कुन पहिले हेर्ने? म आफैँ यस विषमा धेरै समय सोचिसकेपछि एउटा निष्कर्षमा पुगेको छु– बिहान ओप्पेन्हाइमर, बेलुकी बार्बी।

अर्कोतर्फ, यो इभेन्ट जति महत्त्वपूर्ण छ, यसले इन्टरनेट प्रयोगकर्ताको सामूहिक ‘हाइभ-माइन्ड’लाई उत्तिकै उजागर गरेको छ। बार्बेनहाइमर हाइभमा रहेका अधिकांशलाई थाहा छैन कि उनीहरू किन यो चलचित्र हेर्न चाहन्छन् वा चाहदैनन्। तैपनि, तिनीहरूले कि यी दुवै, कि एउटा मात्र फिल्मको टिकट एड्भान्समा किनेका छन्। टम क्रुसलगायत सेलेब्रिटीहरू पनि यो ‘डबल फिचर’को दौडमा फाल हानिरहेका छन्।

कोभिड महामारीपछि चलचित्रका दर्शकको कुनै चलचित्र (यहाँ दुइटा)का लागि यति धेरै चासो भएको शायद पहिलोपटक हो, र विश्लेषकका अनुसार यो अवधारणाले खस्किरहेको हलिउडलाई पुनर्जीवन दिने विश्वास गर्ने धेरै आधार छन्। नोलनको ८० वर्षअघिको घटना चित्रण गरिएको सिनेमा र गर्विगको सुनौलो केश भएकी ‘फ्री-स्पिरिटेड’ पुतली र उसको साथी केनको कथाको तरंग छँदैछ।

अन्त्यमा, यो सबै प्रसंग चलिरहँदा व्यक्तिगत रूपमा मेरो एउटा मात्रै चिन्ता छ- अहिले मेरो दुविधाको विषय मैले यी दुईमध्ये कुन सिनेमा हेर्ने होइन, बरू मेरो बुवाआमालाई मैले एकैदिनमा दुई फरक सिनेमा हेरेर उहाँहरूको पैसा खर्च गरेँ भनेर कसरी बुझाउने भन्ने हो।


सम्बन्धित सामग्री