Monday, April 29, 2024

-->

नाटक देखाएर खर्च उठाउनै मुस्किल, कसरी जोगाउने रंगमञ्च?

माधवी नाटक हेर्न केही विशेष दर्शक आए, ती फेरि थिएटर फर्किएनन्। सोही हलमा योगमाया र ययाति मञ्चन गर्दासमेत ती दर्शक आएनन्। लाटो पहाड, चोरको स्वर, खुवालुङ हेर्ने विशेष दर्शकलाई अरू नाटकको चासो छैन।

नाटक देखाएर खर्च उठाउनै मुस्किल कसरी जोगाउने रंगमञ्च

माफ गर्नुस्, तपाईंहरूलाई यो घानमा हाल्न खोजेको हैन। करिब पाँच वर्षदेखि नयाँ नाटक मञ्चन गर्न असफल रहेको निराश ‘न्यारेटर’को निरस ‘न्यारेसन’ हो यो।   

दुई वर्ष लामो नाटक कार्यशाला हापेर युरोपबाट भागेर आउँदा भटाभट नाटक गर्नुपर्छ भन्ने मनसाय बोकेको थिएँ। यो अपेक्षा साथीहरूले पनि गरेका रहेछन्, र्‍याखर्‍याक्ती पार्न थालिहाले। योगमाया मञ्चनपछि लामो ‘ग्याप’ भइसकेको थियो। यो ग्याप गराउने समय हो, सबैलाई थाहा छ। ग्यापले धेरै विषयहरूलाई विचलित पारिदिएको छ। 

आफूबाहिर रहँदा यता धेरै नाटक मञ्चन भए। मञ्चन भइसकेपछिका प्रतिक्रिया दिन थाले साथीहरूले। ती मेरा लागि बासी प्रतिक्रिया थिए। एक–दुई वटाबाहेक कुनै नाटकले खर्च उठाएनन्। केही–केही नाटकले त ‘पानी’ पनि भन्न पाएनन्, चुनावमा उठेको उम्मेदवारले आवश्यक भोट नपाएपछि जमानत जफत भएजस्तो भयो। सानो थिएटर सर्कलमा कुरा फैलिन समय लाग्दैन। एउटा थिएटरको खबर सबैले पाउँछन् नै।

कुन नाटक गर्ने, कहाँ गर्ने, कसरी गर्ने दुबिधा हुन थाल्यो। साथीहरू नयाँ नाटक कहिले गर्ने भनेर घचघच्याउन थाले। कोभिडअगाडि योजना बनाएका दुइटा नाटकमा ध्यान गयो। एउटा अनुवाद थियो ‘खोल खोल लौ चकलेटको खोल’ र अर्को थियो ‘रुदाने’। रुदाने किताब आइसकेपछि त्यसमा आधारित भएर मञ्चन गर्ने रहर पालेको थिएँ।

शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ट्रान्जिटको दृश्य।

'चार्ली एन्ड द चकलेट' फ्याक्ट्रीमा आधारित नाटक ‘खोल खोल लौ चकलेटको खोल’को तयारी थालेँ। यो नाटकलाई हाम्रो परिवेशअनुसार बनाउन आफ्नो बुद्धिले भ्याएसम्म, साथीहरूको सुझाव पाएसम्म काम गर्न थालेँ। यही बेला मन्डला थिएटरले मलाई नाटक निर्देशक मानेरै होला मौका दिने सोच बनाएछ! खुशीको सीमा नै रहेन। ढोल नै पो पिटेछु सबैतिर! ‘खोल खोल लौ चकलेटको खोल’को स्क्रिप्ट पठाएँ। योजना सुनिसकेपछि मन्डला तयार भयो। चलिरहेको ‘माइकल चेकव टेक्निक’ कार्यशालाबाट पनि इच्छुकलाई नाटक खेलाउनु थियो। 

अर्कोतिर नाटकले खर्च नउठाएको समाचार छापिन छोडेनन्। दुई नाटक ‘चोरको स्वर’ र ‘खुवालुङ’ले कमाएको ‘बक्स अफिस रेकर्ड तोड’ कमाइको पनि चर्चा रंगकर्मीहरूबीच भएकै थियो। सामान्य खर्चमा बनेका यी दुई नाटकले उत्कृष्ट कमाइ गरे भन्ने सुनियो। यो कुरा निर्माण पक्षलाई नै बढी थाहा हुन्छ। 

मन्डलाको ‘अफर’अघि हल खोज्न थाल्दा थाहा भयो, कोभिडपछि थिएटरले भाडा बढाएका छन्। टिकट दर बढाएका छन्। विद्यार्थी सहुलियत टिकट सीमित मात्रै छ। हल भाडा बढाउनु विभिन्न बाध्यता छन्। हल भाडामा लिएर नाटक गर्नेका लागि ‘प्रोडक्सन कस्ट’ बढाउने मुख्य खर्च भाडा नै हो। कुनै–कुनै शो त दुई–चार जना दर्शकमै देखाउनु पर्ने हुन्छ, देखाएकै छन्। हल भाडा पर्छ कम्तीमा १५ हजार रुपैयाँ।

सस्तो हलबारे बुझ्न थालेँ। सस्तो सानो हलका अप्ठ्याराहरू फेरि आफ्नै किसिमका छन्। धेरैलाई त्यहाँ थिएटर छ भन्ने नै थाहा छैन। सुविधा छैन। हलभित्र एसी, बाहिर पार्किङ, बत्ती जाँदा जेनरेटर छैनन्। कुनै नाटकले आफ्नै हलमा मञ्चन गरेर पनि खर्च उठाएनन्। नाटक निर्माता, निर्देशक आफैँ हुनाले मनमा छटपटी हुन थाल्यो।

अरूले मेरो नाटक उत्पादन गरे पनि नाटकको सफलता र असफलताको जस मैले नै लिनुपर्छ। मञ्चन भएका नाटकको सफलता र असफलता मापनका सामान्य दुई विधि छन्। ती हुन्, नाटकको समीक्षा र कमाइ। राम्रो समीक्षा आए पनि नाटकले खर्च उठाएन, लगानीकर्ता घाटामा गयो भने त्यसको के अर्थ भयो र? समीक्षाले नाटकको ‘सेट’ बनाउँदा लागेको ऋण तिर्दैन। समीक्षाले कलाकारको पारिश्रमिक, हल भाडा केहीमा सहयोग गर्दैन। समीक्षाले गर्ने भनेको नाटक हेर्ने दर्शक थपिने हुन्।

यति कुरा गरिरहँदा राम्रो समीक्षा पाएको नाटक ‘एउटा सपनाको अवसान’ छुट्दैन। यो नाटकले पनि घाटा गराएको समाचार बन्यो। हरेक दिन ‘हाउसफुल’जस्तै भएको नाटकले कसरी घाटा लगायो? नाटक हेर्न पुगेका दर्शकहरूले यो प्रश्न गर्छन्। कुनै दिन त दर्शकहरू टिकट नपाएर फर्किएका पनि छन्। 

कुरा जता लगे पनि फेरि आफ्नै नाटकमा जोडिने भयो। वर्कसप सकियो। नाटक उत्पादन गर्नुपर्ने बाध्यता छँदै थियो। प्रशिक्षार्थीहरूलाई मन्डलाले दिएको मितिमा ल्याउनेबारे सोच्न थालेँ। धेरैजसो नयाँ थिए। नाटक गर्नु रहर थियो। करिब दुई महिना काम गराउँदा कलाकारलाई पारिश्रमिक नै भन्न नमिल्ने रकम दिएर सहमति गराउँदा पनि नाटकको ‘प्रोडक्सन कस्ट’ धेरै भयो।

नाटकको रिहर्सल शुरू भइसकेको थियो। के कुराले नाटकको खर्च बढाएको हो भन्ने कुराले म चिन्तित थिएँ। बालबालिकालक्षित नाटक भएको हुनाले १५ शो कम्तीमा स्कुल, कलेजबाट बुकिङ ल्याउने हामी कलाकार समूहको तयारी थियो। तर खर्च उठाउन नसक्ने अनुमानमा पुग्यौँ। नाटक रोकियो। नाटक रोकिएपछिका निराशा, छटपटी आउने नै भयो। यो निरस ‘न्यारेसन’लाई स्वयं त्यसैको ‘परकम्प’का रूपमा बुझ्दा ठीक होला।

गहिरो असरपछि निस्केको ‘परकम्प’ विसर्जन खोजिरहेको छु यतिबेला। कलाकार साथीहरूमा नराम्रो प्रभाव पर्‍यो, नाटक केही सीमित रंगकर्मीको रहरले वा आँटले मात्रै चलेका रहेछन्। रहर सधैँ रहँदैन। नत्र नाटक मञ्चन नहुने रहेछन्। त्यसो त, धेरैजसो थिएटरहरूले खै नियमित नाटक मञ्चन गराइरहेका? नियमित नाटक मञ्चन गर्ने भनेर खुलेका थिएटरहरूलाई उचित मौसम पर्खिनुपर्ने भएको छ। नाटक मञ्चन मौसमी भएको छ।

केही दिग्गज निर्देशक पनि नयाँ नाटक शुरू गर्नुअघि ‘यो नाटकको लागि फलानो कम्पनीले हल भाडा मात्रै स्पोन्सर गरिदिए ढुक्क हुन्छ’ भन्नेमा पुगेका छन्। नाटक उत्पादन गर्ने साथीहरूको निसानामा विद्यालयहरू परेका छन्। बालबालिकाका लागि नबनेका नाटक भए पनि दुई–चार शो बुक गराउनु पर्छ भन्नेमा उनीहरू ढुक्क छन्। नाटकमा केही ‘स्टन्ट’ चाहिन्छ दर्शक तान्न भन्ने सोच छ। ‘क्राउड फन्डिङ’ गरेर शुरूमै उत्पादन खर्च सुरक्षित गर्न खोज्ने थिएटर पनि छन्।

मनमा सबैभन्दा चिन्ताको विषय थियो, नाटकको खर्च कसरी उठाउने? नाटकका मेरुदण्ड नै कलाकार हुन्। उनीहरूले नै उचित पारिश्रमिक नपाए कसका लागि नाटक गर्नु? किन नाटक गर्नु? करिब तीन वर्षदेखि योजना बनाएर एउटा नाटक मञ्चन गराउन नसक्नु आफैँप्रति ग्लानि भरिएर आयो। असाध्यै कमजोर महसुस गरेँ। त्यही छटपटीमा छु अहिले। न दुःखी मन लिएर हिँड्न सक्छु, न खुशीयाली मनाउन सक्छु।

‘तपाईंको नाटक कहिले हो?’ साथीहरू प्रश्न गर्छन्। जवाफ छैन। 

‘तपाईंको नाटक कहाँ हुन्छ?’ साथीहरू प्रश्न गर्छन्। जवाफ छैन।  

‘नाटकको रिहिर्सल किन रोकेको?’ साथीहरू प्रश्न गर्छन्। जवाफ छैन। छ त, छटपटी, पीडा, निराशा। 

नाटकले किन खर्च उठाउँदैनन्? नाटक उत्पादन खर्च किन बढिरहेको छ? के नाटक हेर्ने दर्शक घटेका हुन? प्रश्न आफ्नै मनमा छ। उत्तर पनि मनले नै दिन्छ। मनसँगै कुरा गरेर निराशामा मलहम लगाउनु अहिलेको मुख्य उपाय बनेको छ। 

केही नियमित दर्शकका कुरा छोडौँ। साहित्यानुरागीका कुरा छोडौँ। ‘वेल विसर’का कुरा छोडौँ। समीक्षकका पनि कुरा छोडौँ। माधवी नाटक हेर्न केही विशेष दर्शक आए, ती फेरि थिएटर फर्किएनन्। सोही हलमा योगमाया र ययाति मञ्चन गर्दासमेत ती दर्शक आएनन्। लाटो पहाड, चोरको स्वर, खुवालुङ हेर्ने विशेष दर्शकलाई अरू नाटकको चासो छैन। विशेष दर्शक मतलब नाटकका अनियमित, निम्तालु, विषयवस्तुको गुणवत्ताले निम्त्याइएका दर्शक!

के नाटक हेर्ने दर्शक समुदाय विशेषका मात्रै हुन्? यसको मतलब नाटकका नियमित दर्शक घटे? कि थिएटरहरू धेरै भएर कुन थिएटरमा नाटक हेर्न जाने भन्ने अलमलमा परेका हुन् दर्शक! नाटक मञ्चन भइरहेका थिएटरमा पुग्दा नाटकमा मोहित दर्शक थोरै मात्र भेट्न सकिन्छ। दर्शकलाई मोह जगाउन हामीले किन नसकेको? कुन उमेरका दर्शकलाई नाटकमा मोह जगाउनु जरुरी छ? 

एकपटक थिएटरमा पसिसकेका दर्शकलाई नाटक हेरौँ हेरौँ पार्न किन नसकेको होला हामीले? चिन्ताको विषय यही हो अहिले। कसरी बन्छ खर्च उठाउने नाटक? किन नाटकको खर्च बढिरहेको छ? नाटकको खर्चमा ध्यान नदिएर आफ्नै लयमा नाटक मञ्चन गरिरहेका थिएटर पनि छन्। नाटक उत्पादन गर्दा एउटा नाटकले के–के कुराको भारी बोक्न सक्छ? तीन वर्षदेखि गरेको बौद्धिक लगानी, कलाकारको पारिश्रमिक, सेट प्रप्स, भेसभुसा, खाजा खर्च, थिएटरमा आउने प्रशासनिक खर्च, स्क्रिप्टको खर्च, ठाउँ ठाउँमा मिटिङ, के के कुराको भारी नाटकलाई बोकाउने?

अहिलेको परिस्थितमा धेरै नाटक निर्माता, निर्देशकको चिन्ता नै नियमित मञ्चनबाट आफ्नो नाटकको खर्च उठ्दैन भन्ने नै हो। लगानी किन सुरक्षित हुँदैन? यो कुरामा फरक–फरक निर्देशकहरूको फरक–फरक विश्वास होला। मेरो विश्वासचाहिँ आफूले दिन नसकेको ‘क्वालिटी’युक्त काम नै हो। विषयवस्तु र प्रस्तुतिमा क्वालिटी नै हो दर्शकलाई थिएटरसम्म ल्याउने एक मात्र उपाय। दर्शक तान्ने त्यो क्वालिटी सजिलै सिर्जना गर्न सक्ने भए दिग्गजहरू यसरी खुम्चिएर बस्दैनथे। भटाभट नाटक निर्देशन गर्थे।

अनि ‘एउटा सपनाको अवसान’को कुरा नि! नाटकले योभन्दा राम्रो समीक्षा पाउला र? किन यो नाटकले खर्च उठाएन? डर धेरैलाई यही हो।

गुणभन्दा दोष बढी निस्किँदै गएपछि बटुलेको हिम्मतले पनि काम गर्न छोड्दो रहेछ! मैले अहिलेको दर्शकको रोजाइ बुझ्नै सकिनँ। दर्शकलाई म मेरो आफ्नै रोजाइ हेर्न बाध्य पार्दै रहेछु। दर्शकको विचार, चाहना नबुझेर मेरो आफ्नै विचार लादिरहेको छु। एउटा सामान्य दर्शकले मेरो विचारमा किन लादिनु? मैले नाटकको योजना भनौँ वा प्रस्तुतिमा नयाँपन दिनै सकिनँ। कलाकारमा अभिनयको नयाँ शिल्प जगाउनै सकिनँ। लगानीकर्ता बिच्किन यस्तै कारणहरू पर्याप्त भइदिए।

महँगो थिएटरको खर्च धान्न सक्ने नाटकका दर्शक छैनन्। नाटकमा संलग्न कलाकार, निर्देशक वा अरू साथीहरूले नियमित नबोलाई आउने दर्शक न्यून छन्। नाटकको खर्च विभिन्न कारणले बढ्दै छ। नाटकको ‘क्वालिटी’ घट्दै छ। नाटक हेर्ने दर्शकले नाटकमा आफ्नो कुरा भेट्न छोडे। अनि कसरी सुरक्षित हुन्छ नाटकको लगानी? 

माफ गर्नुस्, न्यारेटर निराश छ। तपाईं निराश हुनु जरुरी छैन।


सम्बन्धित सामग्री