Saturday, April 27, 2024

-->

'डम्फुको आत्मालाप महाभारत क्षेत्र, तेमाल र भोटाङका कथा हुन्'

गहिरो दर्शन, व्याख्यात्मक आख्यान र अनुसन्धानमूलक कृतिमा मान्छेको रुचि घटेको जस्तो देखिन्छ। त्यसले सतही र हचुवा ज्ञानको खतरा हुन्छ। त्यसबाट बच्नु आवश्यक छ।

डम्फुको आत्मालाप महाभारत क्षेत्र तेमाल र भोटाङका कथा हुन्

सञ्चारकर्मी भक्त स्याङ्तानका ११ वटा कथा समेटिएको संग्रह 'डम्फुको आत्मालाप' अघिल्लो हप्ता काठमाडौँमा विमोचन भयो। खासगरी तामाङ क्षेत्र र संस्कृतिसँग जोडिएका कथाहरू सांग्रिला प्रकाशनले बजारमा ल्याएको हो। फुटकर लेखन र साहित्यमा दुई दशकदेखि संलग्न स्याङ्तानको यो पहिलो कृति हो। स्याङ्तानसँग यसै कृतिका सन्दर्भमा रहेर गरिएको कुराकानी: 

तपाईंले कथाहरू लेख्दै गर्दा यसको शीर्षक डम्फु या तामाङ संस्कृतिसँगै सम्बन्धित हुन्छ भन्ठान्नु भएको थियो?
मेरा अन्य लेख रचनासमेत प्राय: तामाङ संस्कृतिसँगै जोडिने गरेको हुनाले मेरै समुदायका कुरा समेटेर कुनै दिन कथा या उपन्यास लेख्नेछु भन्नेमा म प्रस्ट थिएँ। यस कथासंग्रहको नाम डम्फुको आत्मालाप हुन्थेन भने पनि तामाङ संस्कृतिसँगै जोडिएको कुने बिम्ब त संग्रहको शीर्षक पक्कै हुने थियो। 

तर के कुरा प्रस्ट पारौँ भने ११ वटा कथामा एउटा कथाचाहिँ नेवार संस्कृति र अधिकारको विषय वरपर छ भने अर्कोचाहिँ कलेजकालीन 'टिनेज' भावनाका विषयमा छ। 

आमनेपाली साहित्य खास जाति वरपर केन्द्रित साहित्य हो। शासक वर्गकै महिमा र कथा धेरै लेखिए। उत्पीडित जाति समुदायका बिरलै लेखिए। ज्ञान उत्पादनमा खास जातिकै वर्चस्व भएका कारण त्यसो भएको हो। यही कुरा मनन गरेर तपाईंले यी कथा लेख्नुभएको हो या अन्य कुनै कारण? कि लहडमा लेख्दै जाँदा यस्तो कृति बन्न पुगेको हो?
मेरो जाति समुदायले भोगेका कुरा जति मैले व्याख्या गर्न सक्छु, उति सहजै अर्को समुदायको लेखकले नसक्ला। त्यसो हुँदा यस कथासंग्रहका पात्रहरूमा म आफैँ छु या मेरा आफन्त र मेरा समकक्षी र बालसखाहरू छन्। तामाङ समुदायलाई यसअघि शासक जातका आँखा र मस्तिष्कले हेरिन्थे र  लेख्दा पनि त्यही कोणबाट लेखिन्थ्यो। तर तामाङ जातिलाई तामाङकै आँखाले हेरिएको साहित्य पनि आवश्यक छ भन्ने सोचका साथ यी कथा लेखेको हुँ। लेख्दै जाँदा यस्तो पुस्तक आएको होइन। तामाङ संस्कृति र परिवेशबारे नेपाली भाषामा कथा कृति निकाल्छु भन्ने लामो समयको हुटहुटीले नै यो किताब बनेको हो। 

तपाईंका कथाका पात्रहरू कहाँका हुन्? तिनले तामाङ परिवेश बुझाउन कत्तिको समर्थ छन्? 

म सिन्धुली जिल्लामा जन्मेको हुनाले कथाका पात्रहरू महाभारत क्षेत्रका, माथिल्लो पहाडी क्षेत्रका तामाङ समुदायका छन्। बाक्लो तामाङ बस्ती भएको काभ्रे तिमाल आसपासका पात्रहरू पनि कथामा छन्। सिन्धुपाल्चोकको हिमाली गाउँ भोटाङको सन्दर्भ पनि कथासंग्रहमा छ।

हामी पर्यटक बनेर धेरै बिकट गाउँवस्ती पुग्छौँ। त्यस्तै, तामाङ बस्तीमा एक–दुई दिन घुम्दा त्यहाँका मान्छेहरूको छाला र पहिरन देखिएला। तर ती मान्छेका भोगाइ र इतिहास त्यस्ता भ्रमणबाट मात्रै छाम्न सकिन्न। म त्यही ठाउँमा लामो सरसंगत र भ्रमणमा रहेका कारण पनि मेरा कथाका पात्रले तामाङ समुदायको वास्तविकता बुझाउन सहयोग गर्लान् भन्ने ठानेको छु।

लामो समयदेखि एक भाषी र एक जातिको अभ्यास भएको मुलुकमा तामाङ सभ्यता र संस्कृति जोडिएका कथा प्रकाशन गर्नु चुनौतीपूर्ण हो भन्ने लागेन? 
यो त्यति चुनौतीपूर्ण होजस्तो लागेन। किनकि खासगरी जनयुद्ध र २०६२/६३ को जनआन्दोलनपछि नेपालीको चेतना पहिलेभन्दा फराकिलो भएको छ। लेख्ने पढ्नेहरूको जमात पनि बढ्दैछ। त्यसो हुँदाहुँदै पनि तामाङ समुदायकेन्द्रित साहित्यलाई मूलधारको साहित्यमा कसरी सँगै लैजान सकिएला त भन्ने चिन्ताचाहिँ ममा थियो र अझै छ। वर्चस्वशाली जमातको मनोविज्ञान चिर्दै अघि बढ्ने कामचाहिँ चुनौतीपूर्ण नै हो। लामो समयदेखि बनेको मनोविज्ञान चिर्न समय पनि लामै लाग्ला। 

तामाङ जातिको इतिहासबारे लेखन, अध्ययन र अन्वेषण पनि भएका छन्, तर तामाङ जातिको जीवन र संस्कृतिलाई जोडेर नेपाली भाषामा कत्तिको आख्यान लेखिएका छन्? 
आख्यानका रूपमा त धेरै आएकै छैन। कथासंग्रहका रूपमा बिना थिङको 'याम्बुनेर'पछि मेरो नै होला। तामाङ जातिको सन्दर्भ र इतिहास जोडिएर लेखिएको उपन्यासचाहिँ युग पाठकको 'उर्गेनको घोडा' हो। तामाङ समुदायको इतिहास र सभ्यताबारे अनुसन्धानमूलक कृतिहरूचाहिँ प्रशस्त छन्। 

तामाङ जातिको मात्र होइन, पश्चिमा आधुनिकताको प्रभावसँगै एक खालको विश्वव्यापी संस्कृति फैलिँदैछ र अन्य संस्कृतिहरू कमजोर हुँदैछन्। यस्तो अवस्थामा स्वयं तामाङहरूले तामाङ साहित्यप्रति कत्तिको रुचि राखेका छन्? 
अनेक हिसाबले पछि परेको तामाङ समुदाय शिक्षामा पनि पछाडि नै छ। जसका कारण पढ्ने संस्कृति यहाँ पनि कम हुने नै भयो। तर माओवादीको जनयुद्धले मान्छेहरूमा जातीय संस्कृतिको पुनरुत्थानमा केही योगदान गरेका कारण 'हाम्रो सभ्यता र संस्कृतिबारे लेखिएका कुरा पढ्नुपर्छ' भन्ने भावनाचाहिँ तामाङ समुदायमा पनि वृद्धि भएकै छ। 

पाठकहरूलाई केही भन्न चाहनुहुन्छ? 
इन्टरनेट, स्मार्टफोन र मोबाइल प्रविधिमा भएको चामत्कारिक उन्नतिसँग मान्छेहरू किताबभन्दा बढी सामाजिक सञ्जालहरूमा छन्। गहिरो दर्शन, व्याख्यात्मक आख्यान र अनुसन्धानमूलक कृतिमा मान्छेको रुचि घटेको जस्तो देखिन्छ। त्यसले सतही र हचुवा ज्ञानको खतरा हुन्छ। त्यसबाट बच्नु आवश्यक छ। अर्को कुरा, ज्ञान मूल रूपमा भोगेर र अध्ययन गरेर प्राप्त हुन्छ। सबै कुरा भोग्न सम्भव हुँदैन। हामीसँग त्यो समय र परिवेश प्राप्त हुँदैन। त्यसो हुँदा ज्ञानबाट वञ्चित हुनुपर्छ। म आफ्नो किताबबारे यो दाबी गर्दिनँ तर अनुभवी र भुक्तभोगीले लेखेका किताबबाट हामीले धेरै जीवनोपयोगी ज्ञान र शिक्षा हासिल गर्छौं। अतः पढ्ने संस्कृतिलाई बढवा दिऊँ। 


सम्बन्धित सामग्री