Monday, April 29, 2024

-->

रंगमञ्च
किसानलाई उठिबास लगाउने त्यो सरकारी ‘ट्युबवेल’

‘ट्युबवेल’ नाटक मात्र होइन, सरकारले किसानमाथि गरेको अन्यायको वास्तविक कथा पनि हो। २०५६ सालदेखि तराईका जिल्लामा सिँचाइ गर्न ट्युबवेल गाड्ने २० वर्षे परियोजना चलाइएको थियो, तर ती किसानको अवस्था उस्तै छ।

किसानलाई उठिबास लगाउने त्यो सरकारी ‘ट्युबवेल’
ट्युबवेलका निर्देशन रोसन सुवेदी र नाटकका दृश्यहरू। तस्वीरहरू: कृष्पा श्रेष्ठ/उकालो

काठमाडौँ– पर्साको सेढवा गाउँमा एक जोडी दम्पती बस्छन्, हरिया र मुन्नी। हरिया सामान्य किसान हो। एक जोडी बयल र केही खसीबाख्रा पालेको छ। त्यसबाहेक, सानो खेत उनीहरूको सम्पत्ति हो। श्रीमती मुन्नी घरायसी कामैमा व्यस्त हुन्छे।

हरियाको मिल्ने साथी दुई जना छन् नन्दन र मंगला। मंगला उसको भतिज पनि हो। मंगला नहरमा माछा मारेर बेच्ने गर्छ। मंगला र हरिया पढ्न जान्दैनन्, नन्दन नेपाली र अंग्रेजी दुवै भाषा थोरबहुत लेखपढ गर्नसक्छ।

केही दिनअघि आएका सरकारी कर्मचारी लालबहादुर खड्काले ट्युबवेल बनाउनको लागि हरियाको खेत सबैभन्दा उपयुक्त भएको बताएको थियो। गाउँकै अर्का व्यक्ति चित्तरञ्जन भने ती कर्मचारीको भनाइमा सहमत छैनन्। त्यसो त चित्तरञ्जन र हरियाको कहिले पनि कुरा मिल्दैन। झगडा परिरहन्छ।

त्यसकारण पनि चित्तरञ्जन हरियाको खेत ट्युबवेल राख्नका लागि चयन भएकोमा खुशी छैन। उसले गाउँका मुखियासामु पनि विरोध गर्छ। यद्यपि, मुखिया सरकारी निर्णयमा केही गर्न नसक्ने भन्दै मौन रहन्छ।

आफ्नो खेतमा ट्युबवेल बन्ने भएसँगै हरिया खुशी छ। यद्यपि, खेतमा ट्युबवेल धसाउनु सहज छैन। सरकारले ट्युबवेल राख्न ८० प्रतिशत अनुदान दिन्छ भने, किसानले २० प्रतिशत रकम हाल्नुपर्छ। गाउँमा ट्युबवेल बनेपछि सबैलाई फाइदा हुने हिसाबले सामूहिक रूपमा रकम संकलन गर्ने सल्लाह लालबहाुदरले दिन्छ। तर, चित्तरञ्जनजस्ता पात्रको कारण पैसा उठाउन सम्भव हुँदैन।

हरियाले आफूले लगानी गर्नुपर्ने २० प्रतिशतको लागि धानबाली, बाख्रापाठा बेचेर पैसाको जुगाड गर्छ। पैसा बुझाएसँगै आफ्नो खेतमा ट्युबवेल आउने सपना उसले देख्छ। ट्युबवेलको प्रयोग गाउँका मानिसले पनि गर्ने हुँदा बिस्तारै पैसा उठ्ने र आफ्ना सन्तानको भविष्य सप्रने उसले आशा गरेको छ। 

तर, हरियाले देखेको सुनौलो भविष्यको सपना त्यति सहज छैन। आफूले देखेको सपनालाई विपनामा परिणत गर्न उसले अझै धेरै सौदा गर्नुपर्ने हुन्छ। त्यसको कल्पना उसले गरेको छैन।

हरियाले रकम बुझाएपछि लालबहादुर फेरि सेढवा आउँछ। हरिया ट्युबवेल कहिले धसाउने बुझ्न आतुर छ। तर हरियाको सपना तब निराशामा परिणत हुन्छ, जब लालबहादुरले यसअघिको निर्णय उल्टिएर सरकारको लगानी २० प्रतिशत हुने र  किसानले ८० प्रतिशत रकम हाल्नुपर्ने सुनाउँछ।

आफ्नो भएको सम्पत्ति यसअघि २० प्रतिशत रकम तिर्नकै लागि खर्चिएका हरियासँग बाँकी खर्च गर्ने पैसा छैन। उनको खेतमा ट्युबवेल गाड्ने निर्णयबाट खुशी नभएका चित्तरञ्जन, सरकारको नयाँ निर्णयमा खुशी हुन्छ। मुखिया पनि आफ्नो स्वार्थ हरियामार्फत पूर्ति हुने पहिल्यैबाट देखिरहेका हुँदैन्न। के हरियाले बाँकी रकम जोड्न सक्ला? हरियाको कमजोरीमा चित्तरञ्जन र मुखियाकोे चलखेल कस्तो होला? सरकारले फेरि निर्णय फेर्ला? के हरियाको खेतमा ट्युबवेल धसिएला?

यिनै प्रश्नको जवाफ छ ‘ट्युवेल’ नाटकमा। साढे एक घण्टाको नाटकमा पात्रका सुन्दर अभिनय र हँसाउने संवाद प्रशस्त छन्। 

दुःख भुलाउन कुन्दन र हरिया बेलाबेला मदिरा पिउन जाने गर्छन्। मंगलाले हरियालाई दिने साथसहयोगको पाटो हृदयस्पर्शी छ। नाटकमा शुरूआतदेखि नै राखिएका रमाइला संवाद र दुश्यले दर्शकलाई तानिरहन्छन्। 

हेपाहा सरकारी परियोजनको वास्तविकता
ट्युबवेल धसाउन लगानीको २० प्रतिशत तिरिसकेका हरियाले ६० प्रतिशत थप पैसा नलगाए तिरेको रकम जफत हुने बताइन्छ। यस्तोमा उनलाई मंगलाको साथ सहयोग हुन्छ। यद्यपि, सामाजिक संरचनाको पिँधमा रहेको हरिया आर्थिक हिसाबले कमजोर छन्। चित्तरञ्जन जस्तो लप्पनछप्पन गरी कमाउन चाहँदैन। 

त्यहीकारण मुखिया चित्तरञ्जनको पक्षमा उभिन्छ। यसरी सामाजिक संरचनामा पिँधमा रहेका हरियाहरूले गुमाउनु परेको सर्वोस्वको कथा हो, नाटक ट्युबवेल। 

सिनामंगलस्थित पुरानो नाटकघरमा मञ्चन भइरहेको छ ट्युबवेल। नाटकले मधेशको हरेक गाउँको कथा भन्छ। कृषिको उर्वर भूमि तराईमा सिँचाइको समस्या नाटकले चित्रण गरेको छ। लोकतन्त्र अर्थात्, जनताले जनताका लागि शासन गर्ने तन्त्रमा जनता नै शोषित भएको यथार्थ नाटकले भन्छ।

तराईका विभिन्न जिल्लाका किसानलाई सिँचाइको सुविधा दिन ट्युबवेल उपलब्ध गराउन सरकारले २०३६/०३७ सालमा भूमिगत जलस्रोत विकाश परियोजना कार्यक्रम ल्याएको थियो। 

तथापि, ती २० जिल्लामा हालिएका ट्युबवेलका अनेकन कथा छन्। ती कथालाई नाटकको माध्यमबाट निर्देशक रोसन सुवेदीले उजागर गरेका छन्। २४ वर्षअघि ट्युबवेल गाडिएको ठाउँका किसानको अवस्था अहिले पनि उस्तै रहेको सुवेदी बताउँछन्।

नाटकका पात्र लालबहादुर खड्का वास्तविक जीवनमा निर्देशक सुवेदीको भोगाइसँग नजिक छन्। सुवेदी तराईका विभिन्न जिल्लामा उक्त परियोजनाको लागि अध्ययन गर्दै हिँडेका थिए। उनी भन्छन्, “२४ वर्षअघिको उक्त परिवेश, घटना, समस्या अझै पनि उस्तै छ। मेरो भोगाइ सुनाउनुपर्छ भन्ने लागेर नै नाटकमार्फत प्रस्तुत गरेको हुँ।”

दिनको १६–१७ किलोमिटर साइकल चलाएर गरेको अध्ययनमा देखेका र भेटेका किसानका कथालाई नाटकमार्फत प्रस्तुत गर्ने प्रयास गरेको उनको भनाइ छ। नाटकमा प्रजातन्त्र र गणतन्त्रमा पनि जनता शोषित पीडित भएको दृष्टान्त छ। चित्तरञ्जन र मुखियाको पीडक मानसिकता हाम्रो सामाजिक संरचनाको उपज हो।

सरल कथावस्तुलाई पाश्र्वसंगीतमा रहेको भोजपुरी गीत र भाषाले मिठास दिएको छ। भोजपुरी भाषा नबुझ्नेका लागि पनि नाटकले तान्छ। नाटकको सबल पक्ष नै संवाद हो। काठमाडौँमा भोजपुरी संवाद सुनाएर नाटकले विद्रोहको स्वर दिएको छ।

के सेढवाका हरियाको ‘भोजपुरी रोदन’ र असन्तुष्टि सुन्ला काठमाडौँले?


सम्बन्धित सामग्री