Saturday, April 27, 2024

-->

एउटै छानामुनि दुई विद्यालय : विभेदको निरन्तरता

विद्यार्थी टिकाइराख्न सामुदायिक विद्यालयले अंग्रेजी र नेपाली माध्यमका फरक कक्षा सञ्चालन गर्दा सामाजिक विभेद उत्पन्न भएको छ।

एउटै छानामुनि दुई विद्यालय  विभेदको निरन्तरता
तस्वीर: अमित मचामसी/उकालो

भक्तपुर– कक्षा ४ उतीर्ण भएर ५ मा पुगेपछि भक्तपुर ताथलीकी उपासना नेपाली (१०) लाई विद्यालय जानै मन लागेन। पढ्न मन नभएर होइन, पढ्न मन भएको माध्यममा पढ्न नपाएर।

उनलाई अंग्रेजी माध्यममा पढ्न मन थियो। भक्तपुरको सौडोलस्थ्ति देवी माविमा अध्ययनरत् उनले कक्षा ४ सम्म अंग्रेजी माध्यममै पढेकी थिइन्। तर, यो वर्ष उनलाई बुवाले नेपाली माध्यममा राखिदिए। विद्यालय उही थियो, पढाउने शिक्षक पनि उही। तर, पढ्ने माध्यम फेरिएपछि उपासनाको जीवनमा धेरै कुरा फेरिए। कक्षा फेरियो। विद्यालय पोशाक फेरियो। साथी फेरिए। कक्षा ४ बाट उतीर्ण हुँदा ३०/३५ जना विद्यार्थीमध्ये उनको रोल नम्बर १५ थियो। नेपाली माध्यममा आएपछि १० जना विद्यार्थीमा रोल नम्बर पनि १० नै भयो। 

यो परिवर्तन उनका लागि सहज भएन। अनि, बुवालाई गुहारिन्। “अंग्रेजी माध्यममै पढ्न मन थियो, बुवालाई अंग्रेजीमै पढाउन भनेँ,” उपासना भन्छिन्, “तर, बुवाले अंग्रेजीमा पढ्नुपर्दैन भन्नुभयो। अनि, नेपालीमै पढेको।” 

बुवाले किन आफूलाई अंग्रेजी माध्यममा नपढाएको भन्ने उपासनालाई थाहा छ। तर, कसैले सोधे, उनी जवाफ दिन हिच्किचाउँछिन्। उनलाई सोधिएका हरेक प्रश्नमा ‘थाहा छैन’, ‘खोइ!’ भन्छिन्। खुसीका कथाजस्तो दुःखका कथा सहजै बताउन सकिँदैन, सायद। 

उपासनाका बुवा उमेश भने छोरीलाई नेपाली माध्यममा पढाउनु आफ्नो बाध्यता भएको बताउँछन्। “म सिलाइको काम गर्ने हो। खासै आम्दानी छैन, त्यसैले छोरीलाई ५ कक्षादेखि नेपाली माध्यममा राखिदिएको हुँ,” उनी भन्छन्, “शुरुमा त छोरीले अंग्रेजीमा पढाउन कर गर्थिन्। अहिले बाबाको आर्थिक अवस्था कमजोर भएर नेपालीमा पढ्न परेको भनेर थाहा छ। मेरो बाध्यता बुझ्दै गएकी छ।”

विद्यालयका शिक्षकले पनि छोरीलाई अंग्रेजी माध्यममै राखेर पढाउन उमेशलाई सल्लाह दिएका थिए। उनलाई छोरी अंग्रेजी माध्यममै पढाउन मन छ। तर, कोभिडको समयमा काम गर्न नपाएपछि घरव्यवहार चलाउन नै मुस्किल भएपछि नेपाली माध्यममा राख्न बाध्य भएको बताउँछन्। “काम नभएपछि दाम नि भएन। बल्ल बल्ल व्यवहार धानेर बसेको थिएँ,” उनी भन्छन्, “आफ्नो स्थितिले भ्याएको भए छोरीलाई बोर्डिङमा नै पढाउन मन थियो। मैले नपढे पनि पढाउनुपर्छ भनेको सकिएन।” 

लकडाउनको बेला उपासनाले अनलाइन कक्षा पनि पढ्न पाइनन्। उनकी आमा रवितासँग एन्ड्रोइड मोबाइल त थियो, तर त्यसमा इन्टरनेट जोड्न सकिनन्। विद्यालय खुलेपछि अरुले पढाइ अगाडि बढाउँदा उनी अनलाइनमा छुटेको पाठ पढेर बसेकी हुन्थिन्।

उपासना अहिले आफूलाई अंग्रेजी माध्यमबाट पढ्ने साथीहरूभन्दा कमजोर ठान्न थालेकी छिन्। उनी भन्छिन्, “उनीहरु हामीभन्दा धेरै पढ्छन्।” यद्यपि, अंग्रेजी माध्यमबाट पढ्दा उनको आत्मविश्वास कमजोर नभएको शिक्षकहरू बताउँछन्। 

द्वैध शिक्षा प्रणाली
भक्तपुरकै महेन्द्र ग्राम मावि, बागीश्वरी उच्च मावि लगायत काठमाडौंको गुह्येश्वरी मावि, बुटवलको कालिका मानव ज्ञान मावि, रुपन्देहीको शंकरनगर दुर्गादत्त मावि, पशुपति माविलगायत देशभरका धेरै सामुदायिक विद्यालयमा नेपाली र अंग्रेजी दुवै माध्यमका फरक कक्षा सञ्चालन भएका छन्।

एकै तहमा फरक माध्यममा पढ्ने विद्यार्थीको पोशाक पनि फरक छ। देवी माविमा अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीको पोशाक कोठे सट र खैरो पाइन्ट छ, नेपालीमा पढ्ने विद्यार्थीको आकाशे रंगको सट र निलो पाइन्ट छ। पठनपाठनको अवधि पनि फरक छ। हिउँदे वा वर्षाको बिदा नेपाली माध्यममा २० दिन हुन्छ भने अंग्रेजीमा पढ्ने विद्यार्थीलाई १० दिन मात्र हुन्छ। 

उही पाठ्यक्रम अंग्रेजी माध्यमका विद्यार्थीले धेरै दिन लगाएर र नेपाली माध्यमका विद्यार्थीले कम दिनमा पढ्नुपर्ने अवस्था छ। रुपन्देहीको शंकरनगर दुर्गादत्त माविमा त अंग्रेजी र नेपाली माध्यम पढाउन भवन नै फरक छन्। अंग्रेजी माध्यममा पढाउन तीनतले भवन छ, नेपालीका लागि एकतले। 

विद्यार्थी टिकाउन दुई माध्यम!
भक्तपुरको देवी माविमा २०६५ सालदेखि नै अंग्रेजी माध्यमबाट पनि पढाइ शुरु भएको हो। अहिले यो विद्यालयमा कक्षा ३ सम्म अंग्रेजी मात्र तथा कक्षा ४ देखि नेपाली र अंग्रेजीका फरक कक्षा छन्। विद्यालय वरपरका स्थानीय विद्यार्थी टाढाका निजी अंग्रेजी विद्यालयतर्फ आकर्षित भएपछि विद्यालय व्यवस्थापन समितिले स्थानीय अभिभावकसँग छलफल गरी अंग्रेजी माध्यममा पठनपाठन शुरु गरेको सहप्रधानाध्यापक राजेन्द्र कुमार साखकर्मी बताउँछन्।

“अभिभावकको चाहना अनुसार अंग्रेजी माध्यमबाट पनि पढाउन शुरु गरिएको हो। माध्यम आफैंमा ज्ञान होइन। विद्यार्थीको रुचि र क्षमता अनुसार पढाइरहेका छौँ,” उनले भने, “एउटै छानामुनि रहेर गेटबाट छिरेसी दुई थरी शिक्षा दिनुपर्दा असहज महसुस भयो नै। यद्यपि, अंग्रेजी माध्यम नचलाउँदा विद्यार्थी कम हुने अवस्था भएकोले दुवै माध्यमबाट पढाइरहेका हौँ।” 

विद्यालयले अंग्रेजी माध्यममा अध्ययनरत विद्यार्थीसँग ‘सहयोग शुल्क’ भनेर मासिक शुल्क उठाउने गरेको छ। सो शुल्क अभिभावकको इच्छाले तिरेको उनी दाबी गर्छन्। “सरकारी नियमअनुसार विद्यार्थीसँग शुल्क उठाउन पाइँदैन। अंग्रेजी माध्यममा पढाउने भनेपछि अभिभावकले स्वेच्छाले सहयोग दिनुभएको हो,” उनी भन्छन्, “अंग्रेजी माध्यमबाट सस्तोमा पढाउन पाउँदा अभिभावक खुशी हुनुहुन्छ।” 

अंग्रेजी माध्यममा पढाउन अहिलेको दरबन्दीले अपुग भएपछि निजी स्रोतका २० जनाभन्दा बढी शिक्षक राखिएको उनी बताउँछन्। अभिभावकबाट उठेको सहयोग शुल्कले नै निजी स्रोतका शिक्षकलाई तलब दिइने गरिएको उनको भनाइ छ। “सरकारले पर्याप्त दरबन्दी पठाइदिने हो र शिक्षकलाई सबलीकरण गरिदिने हो भने निजी स्रोतका शिक्षक राख्नुपर्दैनथ्यो। अभिभावकबाट पैसा नि उठाउन पर्दैनथ्यो,” उनी भन्छन्।

बुटवलको कालिका मानव ज्ञान माविमा २०६७ सालदेखि नै नेपाली र अंग्रेजी माध्यमबाट पढाइ भएको छ। अहिले यो विद्यालयमा कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यमबाट र कक्षा ६ देखि १२ सम्म नै नेपाली र अंग्रेजी माध्यमका फरक फरक कक्षा सञ्चालनमा छन्। 

प्रधानाध्यापक दिनेश थापा अभिभावकहरूको चाहना, समयको मागअुनसार अंग्रेजी माध्यममा पढाइ शुरु गरेको बताउँछन्। उनी भन्छन्, “इङ्लिस मिडियमलाई हाउगुजी बनाएका छन्। विभिन्न व्यापार गर्ने संस्थाले हामी अंग्रेजी माध्यममा पढाउँछौँ, हामी कहाँ बच्चा ल्याउनुस् भनेको भएर हामीले अभिभावक भेला ग¥यौँ। भेलामा अभिभावकले अंग्रेजी माध्यममा पढाउन माग गरेपछि पढाउन थालेका हौँ।” 

उनका अनुसार शुरुदेखि नै नेपाली माध्यममा पढेका विद्यार्थी नेपाली माध्यमकै कक्षामा छन् भने अंग्रेजी माध्यममा पढेका विद्यार्थी अंग्रेजी माध्यमकै कक्षामा छन्। विद्यार्थी र अभिभावकको चाहना अनुसार नै नेपाली र अंग्रेजी ‘सेक्सन’ बनाएको उनको दाबी छ। “दुवै माध्यमका विद्यार्थीलाई हामी समान हिसाबले पढाउँछौँ,” उनी भन्छन्, “नेपाली र अंग्रेजीमा पढ्दा भिन्नता हुँदैन। त्यो त पढाइ हुने माध्यम मात्रै हो । केही विषय मात्रै नेपालीमा लेख्ने हो। छुट्टाछुट्टै भन्ने हुँदैन।”

अहिले समाजमा अंग्रेजी मोह बढेकाले नै यो माध्यमबाट पनि पढाउनुपरेको प्रधानाध्यापक थापाको भनाइ छ। नेपाली माध्यममा पढाउँदा कमजोर विद्यार्थी उत्पादन हुने अभिभावकहरूको सोचाइ रहेको उनले बताए। उनी भन्छन्, “अंग्रेजी पढाउने बित्तिकै ब्रिलियन्ट हुने, नेपाली पढाउने बित्तिकै कमजोर हुने भन्ने हाम्रो सोचाइ होइन, अभिभावकको हो। जुनसुकै माध्यममा भए पनि हामीले समान रुपमा पढाएका छौँ।” 

विद्यार्थीलाई स्कुलमा प्रवेश गरिसकेपछि समान महसुस होस् भनेरै विद्यालय पोशाक एउटै गरिएको उनले बताए। 

विभेदकै निरन्तरता 
एउटै विद्यालयमा विद्यार्थीको फरक समूह बनाएर दुई माध्यमबाट पढाउनु विभेदको अर्काे स्वरूप भएको शिक्षाविद् विद्यानाथ कोइराला बताउँछन्। उनी भन्छन्, “एउटै विद्यालयमा दुई थरि माध्यममा राखेर पढाउनेलाई त ठाडै मुर्दावाद भन्छु म। यस्तो गर्न पाइँदैन।”

विद्यालयमा आउने हरेक विद्यार्थीलाई समान व्यवहार र शिक्षा दिनुपर्ने उनको भनाइ छ। अंग्रेजी माध्यमबाट पढाउने भए भाषामा कमजोर विद्यार्थीलाई ‘ब्रिज कोर्स’को व्यवस्था गरेर भए पनि समान अवसर दिनुपर्ने उनी बताउँछन्। भाषागत माध्यम, पोशाक आदि फरक गरेर विद्यालयले नै विद्यार्थीमाथि विभेद गर्दा विद्यार्थीमा तीन प्रकृतिको मानसिकता पैदा गराउने उनी बताउँछन्। 

“पहिलो भनेको, यो विभेदले जतिबेला पनि विद्रोह निम्त्याउन सक्छ। दोस्रो, विद्यार्थीमा हिनताबोध उत्पन्न गराउन सक्छ। हामीसँग पैसा छैन, त्यसैले यस्तै भयो भन्ने भावना जागृत गरिदिन्छ,” उनी भन्छन्, “तेस्रो, विद्यार्थीलाई नेपालीमा पढे पनि अंग्रेजीमा पढेको भन्दा राम्रो अंक ल्याएर पास गर्छु भन्ने भावना पनि जगाउन सक्छ। तर, नेपालको सन्दर्भमा यो तेस्रो मानसिकता उत्पन्न गराउन गाह्रो छ। किनकि, नेतृत्वको चिन्तन र तरिका नै फरक छ।”

शिक्षामा भएको विभेदका विषयमा सरकार मौन रहेको उनले आरोपसमेत लगाए। उनी भन्छन्, “बुटवलमा मुख्यमन्त्रीको कार्यालयअगाडि कै विद्यालयमा पनि यस्तो भइरहेको छ। तर, सरकारले वास्तै गरेको छैन।”

मार्टिन चौतारीका अनुसन्धाता देवेन्द्र उप्रेतीका अनुसार एउटै स्कुलमा अंग्रेजी र नेपालीको फरक कक्षा सञ्चालन गर्दा विद्यालयभित्रै वर्ग विभाजन हुन्छ। पहिले एउटै विद्यालयभित्र एउटै कक्षामा गाउँ वा सहरका सम्पन्नदेखि विपन्न विद्यार्थी पढ्थे। उनीहरूको भाषा र शिक्षक एउटै हुन्थे। “त्यतिबेला कमजोर पारिवारिक पृष्ठभूमि भएको विद्यार्थीले सम्पन्न परिवारको विद्यार्थीसँग प्रतिश्पर्धा गर्थे। उनीहरू साथी पनि बन्न सक्थे,” उनी भन्छन्, “अहिले पारिवारिक पृष्ठभूमि तुलनात्मक बलियो भएपछि अंग्रेजी माध्यममा राख्ने कारण नेपाली माध्यममा कमजोर वा सीमान्तकृत परिवारका बालबालिका मात्र पढ्छन्।”

यसले विद्यालय भित्र वर्ग उत्पादन गर्नुका साथै विद्यार्थीको व्यक्तित्व निर्माणमा समेत असर पुर्याइरहेको उनको भनाइ छ। “यी सबै भनेको १५÷१६ वर्षभन्दा कम उमेर भएका विद्यार्थी हुन्। एउटै विद्यालय पढे पनि दुई प्रकारका विद्यार्थी, दुई प्रकारको सोचाइ र शैली देखिन्छ। यसले तत्कालभन्दा भविष्यमा विद्यार्थी मनोवैज्ञानिक असर पर्छ,” उनी भन्छन्। 

दुई माध्यममा पढाउँदा नेपाली बालबालिकाहरूको आत्मविश्वास थाहा नपाइँदो तरिकाले कमजोर बनाइरहेको उनको भनाइ छ। नेपाली पढ्नेलाई मात्रै हैन, अंग्रेजी नै पढ्नेलाई पनि समस्या हुने उनी बताउँछन्। “अंग्रेजी माध्यममा पढ्नेले अन्जानमै भए पनि आफूलाई सुपेरियर ठान्छ। पहिलेबाटै आफू उपल्लो तहको भनेर सोच्नु पछिसम्म उसको व्यक्तित्व विकासमा पनि समस्या हुनु हो,” उप्रेती भन्छन्।

कतिपय विद्यालयले नेपाली र अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीहरुलाई गर्ने व्यवहारसमेत फरक हुने गरेकाले झन् समस्या निम्तिने उनको ठम्याइ छ। अंग्रेजी माध्यममा पढाउन पुराना शिक्षकभन्दा पनि निजी स्रोतमा अंग्रेजी पढाउन सक्ने शिक्षक राखिएको हुन्छ। ती शिक्षकको तलब विद्यार्थीहरूबाटै ‘सहयोग शुल्क’को रूपमा उठाइएको हुन्छ। नेपाली माध्यमका विद्यार्थीसँग सहयोग शुल्क लिइँदैन।

कसरी कम गर्ने विभेद? 
उपासना नेपालीले जस्तै छोरीको पढाइको शुल्क तिर्न नसक्दा अंग्रेजी माध्यमबाट पढ्नबाट बञ्चित हुनुपरेको अर्की विद्यार्थी हुन् सदीक्षा रानामगर। देवी माविमा पढ्ने उपासना र सदीक्षा मात्रै होइन, देशभरिकै धेरै विद्यार्थी र अभिभावक यो समस्याबाट पीडित छन्। तर, विद्यालयका प्रधानाध्यापकहरु भने बालबालिका र अभिभावककै रुचिमा नेपाली माध्यम पढाएको दाबी गर्छन्। 

सरकारी विद्यालयमा निजीकरण पसेको उल्लेख गर्दै अनुसन्धाता देवेन्द्र उप्रेती विद्यालयले ‘ब्लेमिङ द भिक्टिम’ भनेझैँ, जो पीडित छ उसैलाई दोषारोपण गरिदिएको बताउँछन्। उनी भन्छन्, “सामान्य व्यापारी, बोर्डिङले त्यसरी सोच्न पाउँछ। तर, हाम्रो करबाट चलेको राज्य र सामाजिक संस्थाले त्यस्तो सोच्न पाइँदैन। सबैले तिरेको करबाट त्यो विद्यालय सञ्चालन भइरहेको छ। त्यो विद्यालय चलाइरहेकाहरूले त नागरिकलाई विभेद गर्न नैतिक रूपमा मिल्दैन।” 

अहिले गाउँगाउँसम्म निजी बोर्डिङ स्कुल पुगेको अवस्थामा सामुदायिक विद्यालयले विद्यार्थी टिकाउन अंग्रेजी माध्यम चलाउन बाध्य भएका छन्। अंग्रेजी भएन भने अभिभावकले बालबालिका निजीतिर सार्ने समस्या सुन्दा ठिकै लागेपनि नेपाली माध्यममा पढिरहेको लागि पनि सोच्नुपर्ने उप्रेती बताउँछन्। 

शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार आर्थिक अवस्था कमजोर भएर अंग्रेजी माध्यममा पढ्न नसकेका विद्यार्थीलाई गाउँपालिका र नगरपालिकाहरूले निश्चित बजेट छुट्याएर बराबर बनाउनतिर लाग्नुपर्छ। “बालबालिकामा गरिएको लगानी खेर जाँदैन, यसले नगरकै विकास गर्छ,” उनी भन्छन्।


सम्बन्धित सामग्री