Wednesday, May 15, 2024

-->

नेपाली क्रिकेटको विकास : पूर्वाधार नै पूर्वसर्त

टीयु क्रिकेट मैदानका अतिरिक्त माथिल्लो र तल्लो मूलपानी क्रिकेट मैदानको काम सकेर अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता गराउन सकिन्छ।

नेपाली क्रिकेटको विकास  पूर्वाधार नै पूर्वसर्त

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को एसोसिएट राष्ट्रको मान्यता पाएको २७ वर्ष पुग्दासमेत क्रिकेटमा ठुला राष्ट्र मानिने भारत र पाकिस्तानजस्ता देशसँग नेपालले क्रिकेट खेल्न पाएको थिएन। भर्खर सम्पन्न एसीसी प्रिमियम कपमा नेपाल र युएईले एसियाका एसोसियट देशहरूको माथिल्लो तहको प्रतिस्पर्धा गरे। एसिया कपमा नेपाल छनोट भयो। २१ वर्ष अगाडी (सन् २००२) मा नेपाल र युएईले एसिया कप खेल्ने मौका पाएका थिए। तर तत्कालीन समयमा भारत र पाकिस्तानबीचको राजनीतिक तनावले सो प्रतियोगिता हुन सकेन। तर २१ वर्षपछि खोलो फर्केको छ। नेपालले एसिया कपमा भारत र पाकिस्तानको समूहमा रहेर खेल्ने मौका पाउने भएको छ।

नेपाली क्रिकेटले पछिल्लो ३ महिनामा निकालेको नतिजा अत्यन्त लोभलाग्दो छ। आइसिसीको विश्वकप खेल्ने रोडम्यापको रूपमा रहेको लिग २ मा अन्तिमको दोस्रो स्थानबाट उकासिएर शीर्ष तीन टोलीभित्र रहँदै नेपालले विश्वकप छनोट प्रतियोगितामा श्रीलंका, वेस्ट इन्डिज, जिम्बावेजस्ता टेस्ट राष्ट्रसँग प्रतियोगिता गर्ने अवसर पाएको छ।

एक व्यक्तिको सक्रियताले समेत खेलमा पर्याप्त बदलाव ल्याउन सकिन्छ भन्ने सन्दर्भमा पछिल्लो उदाहरण बनेका छन्, मोन्टी देसाई। देसाई आएपछि क्रिकेट क्षेत्रका पारखीहरूले छुट्टै स्वाद चाख्न पाएका छन्। नेपालले पछिल्ला तीन महिनामा मुख्य उपलब्धिको रूपमा अन्डर १९ वर्ल्डकप, वनडे वर्ल्डकप क्वालिफायर र एसिया कप खेल्ने भएको छ। 

तर क्रिकेटको पूर्वाधारमा नेपाल कमजोर छ। नेपालमा अन्तर्राष्ट्रिय स्तरका सुविधा सम्पन्न क्रिकेट स्टेडियम त छैनन् नै, स्तरीय क्रिकेट मैदानको समेत अभाव छ। सन् १९९६ मा 'जी स्पोर्ट्स इन्डिया'ले बनाइदिएको त्रिभुवन विश्वविद्यालय मातहतको त्रिवि क्रिकेट मैदान नै नेपालको एक मात्र अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेट खेल मैदान हो। हालै सम्पन्न एसीसी प्रिमियम कपमा 'अपर मुलपानी'ले अन्तर्राष्ट्रिय मान्यता पाएको छ, यो खुसीको कुरो हो। तर यसमा पनि पूर्वाधारको अवस्था कमजोर नै छ। 

नेपालमा आइसिसी, एसीसीका प्रतियोगिता हुँदा टीयु क्रिकेट मैदानमा दर्शक खचाखच हुने गर्छन्। मैदानभित्र र बाहिरदेखि आसपासका रुखमा समेत चढेर क्रिकेट हेर्दै गरेका दृश्यलाई अन्तर्राष्ट्रिय मिडियाले महत्त्व दिने गरेका छन्। टीयु क्रिकेट मैदानको दर्शक क्षमता जम्मा २५ हजार मात्रै छ। 

ठूलाठूला प्रतियोगिता हुँदा '१२ औं खेलाडी'का रूपमा नेपाली क्रिकेट दर्शकले मैदानमा उपस्थित भएर आफ्नो देशको टिमको हौसला बढाउँदै आएका छन्। नेपाल एसोसियट राष्ट्रमध्ये सबैभन्दा बढी 'फ्यान फलोइङ' भएको राष्ट्र हो। नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागिता जनाउन थालेको २५ वर्षभन्दा बढी भइसक्यो, तर नेपालको अवस्था एसोसियट भन्दामाथि उठ्न सकेको छैन। नेपाल जत्तिको दर्शक/समर्थक रहेको देशले उहिले नै टेस्ट मान्यता पाइसकेको हुनुपर्ने हो, तर त्यसो हुन सकेको छैन।

नेपालले गएको दश वर्षमा आइसिसी टी २० विश्वकप खेल्यो भने एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको पनि ५ वर्ष पुगिसक्यो र त्यसको निरन्तरता पनि हालचालै पाएको छ। नेपाली क्रिकेटमा पूर्वाधारको पक्ष अत्यन्त नाजुक रहेको छ। सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम आवश्यकता हो, तर बनेको छैन। स्टेडियम त परको कुरो, आवश्यक पूर्वाधारसहितको क्रिकेट मैदानसमेत छैनन्। क्रिकेटसम्बन्धी गतिविधि हेर्ने संस्थाका रूपमा नेपाल क्रिकेट संघ (क्यान) छ। आइसिसीको कोषबाट चल्ने यो संस्थाको अधिकांश बजेट क्रिकेट खेल र व्यवस्थापन सम्बन्धि गतिविधि मै सिद्धिन्छ। क्रिकेट मैदान बनाउने काम राज्यको हो, तर अझै पनि नेपालमा राज्य र निजी क्षेत्रबाट क्रिकेटमा पर्याप्त लगानी हुन सकेको छैन।

नेपालले ठूला प्रतियोगितामा जित हात पारेपछि सुरु हुने बहस क्रिकेट स्टेडियम निर्माणको हो। नेपालले सन् २०१४ मा टी २० विश्वकप खेलेपछि विभिन्न ठाउँमा क्रिकेट मैदान बनाउने लहर चल्यो। काठमाडौँको बुढानीलकण्ठ नगरपालिकामा 'सुवर्ण स्मृति क्रिकेट स्टेडियम' बनाउने भनेर सुवर्ण अध्ययन प्रतिष्ठानले वि.सं. २०७१ मा घोषणा गर्‍यो। काम सुरु गरेको तीन वर्षमा कीर्तिपुर मैदान र सात वर्षभित्र त्यसलाई नै अन्तर्राष्ट्रिय स्तरको रङ्गशालाको रूपमा बनाउने भनियो। तर यसबारे अहिले खासै चर्चा छैन।

राजधानी बाहिर सबैभन्दा पहिला धनगढीको 'फाप्ला क्रिकेट मैदान'मा घरेलु क्रिकेट प्रतियोगिता 'डिपीएल' सम्पन्न भयो। क्रिकेट संघ निलम्बन हुँदा खेरी फाप्लामा भएको उक्त प्रतियोगिताले धेरैको नजर धनगढीतिर तानेको थियो। यता पोखराको क्रिकेट मैदान पनि निजी स्तरको पोखरा प्रिमियम लिग नामको घरेलु क्रिकेट प्रतियोगिता सञ्चालन गरियो। त्यसै गरी सुनसरी, बीरगंज र भैरहवालगायत देशका विभिन्न ठाउँका क्रिकेट मैदानमा घरेलु क्रिकेटका अभ्यास भएका छन्।

खेलकुदप्रतिको हाम्रो राजनीतिक सोच कतिसम्म छ भने मन्त्रीमण्डल गठन गर्ने क्रममा नेताहरूले हत्तपत्त खेलकुद मन्त्रालय लिन मान्दैनन्। २०७४ को चुनावपछि बनेको दुई तिहाइको बलियो सरकारमा खेलकुद मन्त्री बने जगतबहादुर विश्वकर्मा। उनले आर्थिक वर्ष २०७५/२०७६ मै देशका आठ वटा सहरमा नयाँ रङ्गशाला बनाउने घोषणा गरे, तर कहाँ र कुन ठाउँमा नयाँ रङ्गशाला बनाइने हो, त्यसबारे केही नभनी साढे दुई वर्षे कार्यकाल सकेर फर्किए। उनको कार्यकालमा मूलपानी क्रिकेट मैदानमा देखिएको समस्या समेत सुल्झिएन। टीयु क्रिकेट मैदानमा फ्लडलाईटदेखि स्तर सुधारका गाइँगुइँ पनि सुनिएन।  

भारतीय टेलिभिजन च्यानल 'जी स्पोर्ट्स'ले बनाएको टीयु क्रिकेट मैदानको जग्गा त्रिभुवन विश्वविद्यालय मातहत छ। नेपाल क्रिकेट संघको आफ्नै क्रिकेट मैदान छैन। वर्षौंदेखि कथा हालिँदै आएको मूलपानीमा केही अन्तर्राष्ट्रिय खेल भए, तर दर्शक बस्ने सुविधादेखि पार्किङलगायत धेरै कुरा त्यहाँ सहज छैन। 

नेपालले सन् २०१८ मा एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि धुर्मुस सुन्तली फाउन्डेसनले चन्दा उठाएर भरतपुर चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउने घोषणा गर्‍यो। घोषणाको पाँच वर्षसम्म पनि त्यो रङ्गशाला पूरा हुन सकेन। चन्दा उठाएर अत्यन्त महत्त्वाकाङ्क्षी परियोजना बनाउने घोषणा गरेको फाउन्डेसनले स्टेडियम सम्पन्न गर्न नसक्ने भन्दै हात उठाएर अहिले सरकारलाई जिम्मा लगाउन खोज्दैछ। 

कम लागतमा पनि बनाउन सकिन्छ क्रिकेट मैदान 

नेपालजस्तो कम विकसित मुलुकमा पूर्वाधार निर्माण सुस्त नै हुने गर्छ। आर्थिक स्रोत पहिचान र जोरजाम गर्ने विषय चुनौतीपूर्ण त छँदैछ, आर्थिकलगायत अनियमितता समेत हुने भएकाले समयमै यस्ता ठूला परियोजना सम्पन्न हुन नसक्ने दृष्टान्त हाम्रा सामु छन्। 

भारत, पाकिस्तान, अस्ट्रेलिया, बङ्गलादेश र श्रीलङ्काजस्ता देशका क्रिकेट मैदान र स्टेडियमहरू आधुनिक र सुविधा सम्पन्न छन्। सन् २०२० मा भारतमा बनेको 'नरेन्द्र मोदी स्टेडियम' संसारकै सबैभन्दा धेरै लागतमा बनेको क्रिकेट स्टेडियम हो र यसको दर्शक क्षमता लगभग १ लाख ३२ हजार छ। त्यसबाहेक मेलबर्न क्रिकेट मैदान (अस्ट्रेलिया), इडेन गार्डेन स्टेडियम (कलकत्ता) संसारका महँगा क्रिकेट स्टेडियम अन्तर्गत पर्छन्। ठूलो बजेटको महत्त्वाकाङ्क्षी परियोजनाभन्दा थोरै बजेटमै अन्तर्राष्ट्रिय स्तरका क्रिकेट मैदान र स्टेडियम बनाउन सकिन्छ। टेस्ट खेल्ने दक्षिण अफ्रिका, जिम्बाब्वे, न्युजिल्यान्डलगायत देशबाट हामीले थोरै बजेटमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउनेबारे सिक्न सक्छौँ। 

बोलान्ड क्रिकेट मैदान (पार्ल), बोर्डर क्रिकेट एंड बफेलो पार्क (इस्ट लन्डन), विलियम मुर पार्क (बेनोनी), डी बियर डायमन्ड ओभल (किम्बर्ली) जस्ता क्रिकेट मैदान, साउथ अफ्रिकामा प्राकृतिक चौर, पार्क र मैदानलाई व्यवस्थित गरी सञ्चालनमा ल्याइएका छन्। त्यसै गरी लिंकन मैदान (लिंकन), नेल्सन क्रिकेट मैदान (हासटिंग), जोन डेभिस ओभल क्रिकेट मैदान (क्विन्सटाउन), क्राईस्टचर्च क्रिकेट मैदान (न्युजिल्यान्ड) अन्तर्राष्ट्रिय प्रतियोगिता हुने क्रिकेट मैदान हुन्। अफ्रिकी देश जिम्बाब्वेमा पनि प्राकृतिक अवस्थाकै मैदानहरूलाई व्यवस्थित गराएर अन्तर्राष्ट्रिय खेल खेलाउने गरिएको छ। हरारे स्पोर्ट्स क्लब (हरारे), क्विन्स स्पोर्ट्स क्लब (बुलावायो) लगायत क्रिकेट मैदान अन्तर्राष्ट्रिय मान्यता प्राप्त र थोरै लगानीमै व्यवस्थित गरिएका क्रिकेट मैदान हुन्। 

प्राकृतिक अवस्थाका चौर र मैदानलाई व्यवस्थित गरेर नेपालमा पनि क्रिकेट मैदान बनाउन सकिन्छ। हाम्रोजस्तो देशले कम लागतका रङ्गशाला र मैदान बनाउनुमै कल्याण छ। चन्दा उठाएर र विदेशको ऋण लिएर अर्बौंअर्बौं बजेटका क्रिकेट स्टेडियम बनाउन खोज्नु भन्दा हालचाल स्थानीय र घरेलु प्रतियोगिता हुँदै आएका क्रिकेट मैदानलाई स्तरोन्नति गर्न सकिन्छ। 

हाम्रा मैदान

टीयु क्रिकेट मैदानका अतिरिक्त माथिल्लो र तल्लो मूलपानी क्रिकेट मैदानको काम सकेर अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता गराउन सकिन्छ। काठमाडौँ उपत्यकाका यी क्रिकेट मैदानबाहेक पोखरा, धनगढी, भैरहवा र भरतपुरलगायत क्रिकेट मैदानलाई स्तरोन्नति गरेर अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता सञ्चालन गर्न सकिन्छ। 

माथिल्लो मूलपानी क्रिकेट मैदानलाई एकेडेमी सञ्चालनको निम्ति बनाउने भनेर काम सुरु गरिएको थियो। हालै एसीसी प्रिमियम कपको आयोजनासँगै माथिल्लो मूलपानी क्रिकेट मैदानले अन्तर्राष्ट्रिय मान्यता पायो। मूलपानी क्रिकेट मैदान एक दिवसीय मान्यता पाउने २ सय १६औं मैदान हो। पहिलो एक दिवसीय मान्यता प्राप्त खेल युएई र ओमानबीच भएको थियो।

स्थानीय स्तरका क्रिकेट प्रतियोगिता हुँदै आएका देशका विभिन्न ठाउँका क्रिकेट मैदान प्रशस्तै छन्। जसको व्यवस्थापन, रेखदेख र सञ्चालनलाई व्यवस्थित गर्नु महत्त्वपूर्ण छ। 

फाप्ला क्रिकेट मैदान (धनगढी), लमही क्रिकेट मैदान (दाङ), तल्लो मूलपानी क्रिकेट मैदान, गौतम बुद्ध क्रिकेट मैदान (भरतपुर), सिद्धार्थ क्रिकेट मैदान (भैरहवा), पोखरा क्रिकेट मैदान (पोखरा), इनरुवा क्रिकेट मैदान (सुनसरी), देवदह क्रिकेट मैदान (रुपन्देही) लाई व्यवस्थापन गरेर चलाउन सकिने सम्भावना बोकेका क्रिकेट मैदान हुन्। यीबाहेक भविष्यलाई ख्याल गरेर स्तरोन्नति गर्न सकिने थुप्रै क्रिकेट मैदान छन्। 

सुनसरीको इटहरी, हेटौँडाको गौरीटार, मेची क्याम्पस क्रिकेट मैदान भद्रपुर झापा, सहिद रङ्गशाला मोरङ, बार्ह बिगाहा मैदान जनकपुर, जेसिएफ क्रिकेट मैदान जनकपुर, जलेश्वर क्रिकेट मैदान जलेश्वर, बीरगंज क्रिकेट मैदान बीरगंज, नारायणी क्रिकेट मैदान बीरगंज, राजविराज क्रिकेट मैदान राजविराज सप्तरी, महाविद्यालय क्रिकेट मैदान सूर्य विनायक, सेन्ट-जेभियर्स क्रिकेट मैदान गोदावरी, गैँडाकोट क्रिकेट मैदान नवलपुर, सुनवल क्रिकेट मैदान सुर्खेत तथा कञ्चनपुर क्रिकेट मैदानलगायतलाई व्यवस्थापन र स्तरोन्नति गरेर सञ्चालनमा ल्याउन सकिन्छ।

क्रिकेट खेलाडीले अब 'टेस्ट खेल्ने देश'को सपना बुन्न थालेका छन्। दर्शकहरू युएई, ओमन र नामिबियासित भन्दा बढी भारत, पाकिस्तान र अस्ट्रेलियालगायत देशसँगको क्रिकेट खेल हेर्न आतुर छन्। यस्तो अवस्थामा क्रिकेट खेलाडीले आफ्नो प्रदर्शनभन्दा बढी सोच्न नपर्ने र दर्शकले रुखका हाँगामा बसेर क्रिकेट हेर्न पर्ने दिन देख्न नपरे हुन्थ्यो। तर त्यसको लागि एउटै मात्र काम हुनुपर्यो-मैदान या स्टेडियम बन्नुपर्‍यो।
 


सम्बन्धित सामग्री