Monday, April 29, 2024

-->

'फुड माइल', हाट बजार र जलवायु संकट

जलवायु परिवर्तनका असर रोक्न हाम्रा भान्छामा के पाकिरहेको छ र त्यो खाना भान्छासम्म आउने क्रममा त्यसले कति दूरी तय गरेको छ, त्यो ख्याल गरौँ।

फुड माइल हाट बजार र जलवायु संकट

जलवायु परिवर्तनका संकेत टड्कारो हुँदै जाँदा 'फुड माइल' (खाद्य पदार्थले पार गर्ने दुरी)बारे चर्चा चल्ने थालेका छन्। कुनै पनि खाद्य उत्पादन भएको ठाउँदेखि उपभोग हुँदासम्मको दुरीलाई फुड माइल भनिन्छ। आजका दिनमा खाद्य दुरीबारे गणितीय हिसाबमा छलफल गर्न उत्तिकै जरुरी छ। खासगरी पृथ्वीको वातावरणबारे चिन्तितहरूबीच खाद्य दुरी घटाउनुपर्छ भन्ने खालका बहस चल्न थालेका छन्। हामीले किन कम दुरीकै खाद्य, अन्न या फलफूल खानुपर्छ त? त्यसको कारण के हो? 

एक स्थानबाट अर्को स्थानसम्म सामान लैजान र ल्याउन धेरै ऊर्जासहित स्रोतसाधन खर्च हुन्छ। सम्भव भएसम्म स्थानीय खाद्य या उत्पादन प्रयोग  गर्दा खाद्य पदार्थमा जोडिने कूल लागत घट्छ। उदाहरणका लागि, अमेरिकामा फलेको एउटा स्याउ तीन हजारभन्दा बढी किलोमिटर तय गरेर नेपाल आइपुग्छ। ट्रक, पानीजहाज र फेरि ट्रक तथा साना सवारीसाधन हुँदै बल्लतल्ल हाम्रो घरमा आइपुग्छ। त्यस क्रममा 'प्याकेजिङ'देखि भण्डारणसम्म अनेकौँ चरण पार गर्नुपर्छ। यी सारा प्रक्रियामा धेरै ऊर्जा खपत हुन्छ। खपत भएको ऊर्जामार्फत धेरै कार्बन उत्सर्जन हुन पुग्छ। जसले अन्ततः पृथ्वी, प्राणीलगायत समस्त प्रकृतिलाई नै हानि गर्छ। गरिरहेको छ।

त्यति परको र महँगो उत्पादन खानुभन्दा आफ्नै स्थानीय उत्पादन खाने हो या प्रयोग गर्ने हो भने, त्यसले स्थानीय उत्पादक र साना किसानलाई दुई पैसा भए पनि आम्दानी हुन्छ। कम दुरीका खाद्य पदार्थ उपभोग गर्दा स्थानीय स्तरमै फलेका चिजबिज खान पुगिन्छ। नजिकैको हुनेबित्तिकै त्यो अनाज या फलफूल ताजा हुन्छ। कम दुरीको खाने कुराले स्थानीय बजारको प्रवर्द्धन हुन्छ। तपाईं जहाँ बस्नुभएको छ, त्यसको वरपर या निश्चित दुरीसम्मको वस्तु मात्र उपभोग गर्ने अभ्यास बढाउनु नै 'फुड माइलेज' घटाउने विषय हो।

भूमण्डलीकरणको युगमा विदेशको सामान प्रयोग गर्दै नगर्ने भन्ने कुरा सम्भव छैन। तर सम्भव भएसम्म स्थानीय सामग्री प्रयोग गर्नेतर्फ प्रेरित गर्ने आदर्श अभ्यास हो यो। हामीले यस्तो अभ्यास गर्दा स्थानीयस्तरमा रोजगारी बढ्न जान्छ। कम फुड माइलमा ध्यान दिँदा ठूला संकटमा पनि अर्थतन्त्र बाँच्न सक्छ, विश्व अर्थतन्त्रको चापमा हत्तपत्त स्थानीय अर्थतन्त्र कमजोर हुँदैन। 

परम्परागत हाट बजार पनि कम फुड माइलकै अभ्यास हो। 

हाट के हो?
टोल टोलमा उत्पादन हुने सामानहरूलाई बेच्ने एउटा ठाउँ/बजार नै हाट हो। जहाँ सानो क्षेत्रमा उत्पादित सामान, अनाज र फलफूल बेच्ने काम गरिन्। कम संख्या या परिमाणमा उत्पादन भएका सामान बेच्न सकिन्छ, हाटमा। उत्पादक स्वयं आएर सामान बेच्ने भएकाले हाटमा बिचौलियाले दुःख दिने डर हुन्न। कुनै किसानले आफ्नो करेसामा पाँच किलो मात्र गोलभेँडा उत्पादन गरेको छ भने, त्यसलाई हाटमा गएर बेच्न सक्छ। जबकि, पाँच किलो गोलभेँडा लिएर कुनै पनि किसान ठूलो बजार या सुपरमार्केटमा पुग्न सक्दैन। घरमै पाँच किलो गोलभेँडा एकैचोटि खपत पनि हुँदैन। त्यसमाथि, कतिपय किसान ठूला बजारसम्म पुग्न सक्ने ल्याकत राख्दैनन्। तिनका लागि पनि हाटबजार सहयोगी माध्यम बन्छ।

कतिपय मान्छेहरू आजको युगमा हाट सम्भव छ र भनेर प्रश्न गर्छन्, तर आज हाट सम्भव मात्रै होइन जरुरी छ। कोरोना महामारीताका लामो दुरी तय गरेर सामानहरू ल्याउन र लैजान सकिएन। त्यसबेला खासगरी गाउँ ठाउँमा, घरघरमा उत्पादन भएका सामान आपसमा बाँडेर कतिपय मान्छेले जीवन सहज बनाए।

अहिले समृद्धि र सपनाको कुरा गर्दा मान्छेहरू ठूला शहरहरूको परिकल्पना गर्छन्, तर स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउन त्योभन्दा बढी हाट बजारको आवश्यकता छ। किनकि, हाटमा सामान्य सिप भएको मान्छेले समेत आफ्ना सामान बेच्न सक्छ। हस्तकला 'मास स्केल'मा उत्पादन गर्न सम्भव हुँदैन। थोरै संख्यामा उत्पादित सामान सुपरमार्केटमा लगेर बेच्न सहज हुँदैन। केबल कृषि उपजको कुरा मात्र होइन, अन्य सिप, क्षमता र ज्ञानलाई पनि हाटमा बेच्न या बाँड्न सकिन्छ। त्यसो हुँदा ठूला शहरहरूमा पनि हाटका लागि खुला ठाउँ राख्नेबारे छलफलहरू चलाउनुपर्छ।

हाटहरू छाडेर सुपरमार्केट मोडलमा जाने कुराले थोरै र केही धनीमानीहरूलाई बलियो बनाउँछ, गरिबका अवसर खोस्छ, पुरानो र बलियो अर्थतन्त्र प्रणालीलाई बिगार्छ।  हाटमा उधारो चल्दैन। त्यहाँ कि सामान साटफेर हुन्छ कि हाताहाती। सुपरमार्केटमा जस्तो अहिले सामान दिएर तीन महिनापछि मात्र उत्पादकले पैसा पाउने भन्ने पनि हाटमा बिरलै हुन्छ। सानो स्केलको व्यवसाय भएकाले हाटमा सामान किन्दा किन्नेलाई पनि कम पैसा पर्छ। उत्पादकले थोरै भए पनि पैसा हात पार्छ, गुजारा चलाउँछ। त्यसो हुँदा हाटको आफ्नै मौलिकता र सुन्दरता छ। 

हाटमार्फत कृषिमा थोरै सिप भएका मान्छेले पनि बाँच्ने आधार भेट्टाउन सक्छन्। त्यहाँ सामान मात्रै किनिन्न, सामान बेच्ने र किन्नेबीच भावनात्मक सम्बन्ध पनि विस्तार हुन्छ। त्यो हाम्रो सुन्दर संस्कृति हो। त्यसले मानवीय संस्कृति अझै विस्तार हुन्छ। पाटनमा अहिले मंगलबार-मंगलबार भनीमण्डल हाट चलिरहेको छ। त्यहाँ एक जना दिदीले सेल पकाएर बेच्नुहुन्छ। सेल खानकै लागि समेत कतिपय मान्छे त्यहाँ जान्छन्। हाटको मज्जा सुपरमार्केटको सेलमा हुँदैन। 

आजभोलि स्थानीय उत्पादनहरू केबल ठूला होटेलहरूमा मात्र पाइन्छ भनेर चर्चा हुन्छ, तर हाटलाई प्रवर्द्धन र व्यवस्थित गर्न सके त्यस्ता कथनहरू झुट्टा साबित हुनेछन्। अहिले खासगरी तराईका पालिकाहरूले कसरी हाटबजार चलाउने भनेर निर्देशिकाहरूसमेत बनाउँदै छन्। पुराना हाटबजारलाई ब्युँताउने र व्यवस्थापन गर्नेबारे लागिरहेका छन्। 

जलवायु संकट घटाउन हाट
हामी दैनिकरूपमा खानादेखि लिएर यातायातका लागि प्रयोग गर्ने सवारी साधनमार्फत पृथ्वीलाई प्रदूषित बनाइरहेका छौँ। यस क्रममा पृथ्वीमा सञ्चित कार्बनलाई वायुमण्डललाई प्रदूषणका रूपमा फ्याँकिरहेका छौँ। त्यसले अन्ततः पृथ्वीको तापक्रम बढाउँदै छ, पृथ्वीको प्राकृतिक सन्तुलन बिगार्दै छ। पहिलेदेखि कायम रहेको जलवायु सन्तुलनलाई तपाईं हाम्रा आनीबानी, भोजन र व्यवहारकै कारण बिगार्ने काम भइरहेको छ। तर पृथ्वी स्वास्थ्य बिग्रिरहँदा यसको कारण र यसलाई निराकरण गर्नेबारे थोरै मात्र मान्छे सोचिरहेका छन्। 

पृथ्वीको तापक्रम बढेपछि हिमालको हिउँ पग्लन्छ। हजारौँ वर्षदेखि हिमालमा थुप्रेर बसेको हिउँ पग्लने कुरा डरलाग्दो हो। हिमालको हिउँ नेपाललगायत अरू धेरै देशहरूको पानीको स्रोत हो। हिमालमा थुप्रेको हिउँले वर्षभर निरन्तर पानी पठाइरहेको छ, तर अहिले बिस्तारै कम हुँदै छ। हिमालमा हिउँ नै कम भएपछि तलतिर पानीका मूल सुक्न थालेका छन्। समुद्रमा पानीको सतह बढ्दै जान थालेको छ। हिमालका मूलहरूबाट बग्ने खोला नै सुक्ने भएपछि त्यसबाट सिञ्चित हुने क्षेत्रका किसानहरूको खेतीपाती, अन्नबाली, फलफूल र चरन सबैमा प्रभाव पार्ने भयो।  

तापक्रम र सिँचाइलगायत कारणले कुनै उचाइमा भइरहेको उत्पादन त्यस क्षेत्रमा नहुने भयो, त्यस उत्पादनले अर्कै उचाइ लिने भयो। तराईको आँप बिस्तारै माथिल्लो क्षेत्रमा सर्न थाल्दै छ। अहिले नै हिमालहरूमा हिउँ कम देखिन थाले, सेता हिमालहरू काला हुन थाले। समुद्रमा पानी थुप्रँदा त्यस क्षेत्र नै डुबानमा पर्ने देखियो। हाम्रो जलवायु संरचना परिवर्तन भएको देखियो। हिउँदमा पर्नुपर्ने पानी यसपाला परेन। यसकारण पनि हामीले फुड माइल घटाउन आवश्यक भएको हो। खाद्य दुरीमा हामीले देखाउने सक्रियता र संवेदनशीलताले जलवायु परिवर्तनलाई झ्याप्पै रोक्न सकिँदैन। तर सबैले साझा प्रयास गर्ने हो भने त जलवायु परिवर्तनका असरहरू कम गर्न सकिन्छ। 

जलवायु परिवर्तनका असर रोक्न हाम्रा भान्छामा के पाकिरहेको छ, त्यो भान्छासम्म आउन कति दुरी तय गरेको छ, त्यो ख्याल गरौँ। खाना नफ्याँकौँ। सुपरमार्केट गएर धेरै सामान नकिनौँ। बजारको चमकधमकपूर्ण मार्केटिङबाट नलोभिऔँ। पुनः प्रयोगमा जोड दिऊँ। घरबाट बाहिर निस्केपछि हामी कुन सवारीसाधन प्रयोग गर्ने भन्नेमा ख्याल गरौँ। सकभर 'ननमोटराइज्ड' सवारीसाधन प्रयोग गरौँ। हिँडेर जान सकिने अवस्थामा हिँडौँ, नसके साइकल प्रयोग गरौँ। त्यो सम्भव नभए सार्वजनिक सवारी,  त्यसमा पनि यदि बिजुलीमार्फत चल्ने साधन खोजौँ। 

सँगसँगै, प्रणाली सुधारका लागि पनि हामीले आवाज उठाउनुपर्‍यो। अरूहरूसँग पनि यस्ता छलफलहरू चलाऊँ। सम्भव भएका ठाउँमा रूखहरू रोपौँ। धेरै रूखले तापक्रम नियन्त्रणमा सहयोग गर्छ, तर रूख रोप्दा पनि रैथाने र हावापानी सुहाउँदो रोपौँ। अर्को महत्त्वपूर्ण कुरा, कोकाकोला, जो आफैँ विश्वको ठूलो प्लास्टिक प्रदूषक हो, उसले  वृक्षारोपण गर्नमा सहयोग गरेर 'ग्रिन वासिङ' गरिरहेको छ। हामीहरू कोक पनि खान्छौँ र बिरुवा रोप्न पनि जान्छौँ। मान्छेलाई यसरी बुद्धि भुट्ने काम गरिरहेका बहुराष्ट्रिय प्रदूषकहरूलाई हेर्ने कुरामा हामीले आलोचनात्मक क्षमता विकास गरौँ। कोकले गरेको काम 'ग्रिन वासिङ' हो। यसरी बुद्धि भुटेर संसारलाई प्रदूषित बनाउनेहरूलाई 'आफ्नो मुहानमै सुधार, बाहिर-बाहिर मात्र होइन' भनेर खबरदारी गरौँ। 


ग्रामीण उत्पादनलाई बजारसम्म पुर्‍याउने अभियानमा लागेका ढकाल जलवायु परिवर्तनका असर न्यूनीकरणका पक्षमा पैरवी गर्छन्।


सम्बन्धित सामग्री