Saturday, April 20, 2024

-->

नेपालीले बहिस्कार गर्नुपर्थ्याे विश्वकप फुटबल

कतारका स्टेडियम बनाउँदा कम्तिमा २२ सय नेपालीको ज्यान गएको छ। तिनको ज्यानको मूल्यमा खेलाइएको यो विश्वकप फुटबल कमसेकम नेपालीहरूले बहिस्कार गर्नुपर्थ्यो। तर हामीले बहिस्कारको आवाजलाई ठूलो बनाउन सकेनौँ।

नेपालीले बहिस्कार गर्नुपर्थ्याे विश्वकप फुटबल

म मध्यपूर्वको कतारमा झण्डै आठ वर्ष काम गरेर फर्किएको हुँ। मैले गल्फ र मलेसियाका श्रमिक अधिकारका लागि एक दशकदेखि काम गरिरहेको छु। सन् २०१३ देखि २०२१ सम्म त्यहाँ रहेँ। 

गार्डियन पत्रिकाले आजभन्दा पाँच छ महिना पहिला सार्वजनिक गरेको रिपोर्टअनुसार कतारले वर्ल्ड कप गर्न बोलपत्र आह्वान गरेयता सन् २०१० देखि २०२० सम्म हेर्दा मात्रै ६ हजार ५०० श्रमिकको ज्यान गएको छ। त्यसरी मृत्यु हुनेमा प्रमुखरूपमा दक्षिण एसियाली मुलुकका मजदुरहरू छन्। जसमा बंगलादेश, नेपाल र भारत प्रमुख छन्। अफ्रिकाका मजदुरहरू पनि त्यस गणनामा पर्छन्। नेपाली र बङ्गलादेशी नागरिकहरूले चाहिँ मूल रूपमा निर्माण क्षेत्रमा काम गर्ने भएकाले विश्वकप आयोजनाका संरचना बनाउने क्रममा ज्यान गुमाउनेमा प्राय: नेपाली र बङ्गलादेशी नै छन्। अनौपचारिक स्रोतहरूबाट हामीले अहिलेसम्म पाएको जानकारीअनुसार स्टेडियम लगायत संरचना बनाउने क्रममा कमसेकम २२ सय नेपालीको ज्यान गएको छ। 

नेपाली राज्य श्रमिकले थेगेको अर्थतन्त्रमा रमाइरहेको छ। राज्यले यहाँको बेरोजगारीबाट नेपाली युवालाई मुक्ति दिन विदेश पैठारी गर्ने सहज नीति लिएको छ। त्यसो हुँदा राज्यलाई दोहोरो फाइदा छ। एउटा, युवाहरू विदेश गएपछि राज्य ढुक्कले चलाउन पाइने र विद्रोह नहुने। दोस्रो, आप्रवासी मजदुरले पठाएको पैसाले अर्थतन्त्र चलिरहने। आजका दिनमा कतारमा सालाखाला चार लाख नेपालीले अनेक क्षेत्रमा काम गरिरहेका छन्। त्यसमा पनि होटल एन्ड हस्पिटालिटी, रिटेल, सरसफाइ तथा कम ज्यालाका काममा नेपालीहरू संलग्न छन्। कतारका भौतिक पूर्वाधार र अर्थतन्त्र प्राय: सबै प्रवासी श्रमिकहरूकै योगदान हो। नेपालबाट चार लाख, भारतबाट आठ लाख, बंगलादेशबाट चार लाखलगायत इजिप्ट श्रीलंकालगायत ग्लोबल साउदबाट ठूलो संख्यामा मान्छेहरू छन् त्यहाँ। जसका कारण त्यहाँको अर्थतन्त्र चलायमान छ। त्यहाँको फिफा विश्वकपका संरचना, मेट्रो रेल तथा अन्तर्राष्ट्रिय चेन-होटलहरू श्रमिकहरूकै रगत पसिनामा बनेका हुन्। 

कतार गएर दुई पैसा कमाएर श्रमिकहरूले आफ्नो जीवन र घर व्यवहारलाई अलिकति सहज बनाएका त होलान् तर त्यसमा मानव अधिकार हनन र शोषणका गम्भीर विषय छन्। आर्थिक लाभको तुलनामा त्यसको सामाजिक मूल्य बढी छ। त्यसमाथि एउटा छोरा, छोरी, बा अथवा आमा विदेशमा केही पैसा कमाउनकै लागि विदेश जाँदा त्यसले निम्त्याउने सामाजिक क्षति झनै डरलाग्दो छ। बच्चा र प्रियजनहरूले गुमाउने न्यानो काख, माया र ममतासँगै त्यसले निम्त्याउने भावनात्मक क्षति डरलाग्दो छ। त्यसको नत हिसाब हुनसक्छ, न कसैले हिसाब गर्ने चेष्टा नै गरेको छ। त्यत्रा क्षतिको मूल्यमा श्रमिकहरूले पठाएको विप्रेषणमा नेपाली अर्थतन्त्रका झण्डै एक चौथाइ प्रतिशत जिडिपी थेगेको छ। राज्यको ढुकुटीमा भरथेग गरिरहेको छ। तर श्रमिकका दुःखप्रति भने हामी अन्देखा गरिरहेका छौँ। यो विश्वकप फुटबलमा पनि त्यही भइरहेको छ। 

अहिले पनि मलेसिया र गल्फबाट ५ या ६ जनाको शव नेपाल आउने गरेका छन्। त्यो अवस्था किन आयो? यदि ती देशको काम गर्ने अवस्था र स्वास्थ्य सेवा श्रमिक मैत्री हुन्थ्यो  भने त त्यति धेरै श्रमिकहरूको शव नआउनुपर्ने हो। किनभने १८ देखि चालिस वर्षका व्यक्ति हुन् प्राय: वैदेशिक रोजगारीमा जाने। जबकि त्यो उमेर समूह एकदमै क्रियाशील र स्वस्थमध्ये पर्छन्। तर यस कुरालाई राज्यले सम्बोधन गर्नेभन्दा पनि राज्यकाले जोड युवालाई विदेश खेद्नेमै छ। 

कतारमा बस्दाको मेरो अनुभव के हो भने, त्यहाँको स्थानीय समुदाय र आप्रवासी समुदायबिच अन्तर घुलन नै छैन। फिटिक्कै चिनजान छैन। केही आदानप्रदान नै छैन। त्यसो हुँदा बाहिरबाट गएकाले त्यहाँको सामाजिक संस्कृति बुझ्ने अवसर पाउँदैन। कतारीहरू शासक र आप्रवासी चाहिँ दास हुन् भन्ने मनोविज्ञान बन्न जान्छ। स्थानीय नागरिक ठूलो पदवाला, प्रवासी केबल श्रमिक। त्यसो हुँदा श्रमिकलाई केवल वस्तु या उपभोग्य सामानका रूपमा व्यवहार गरिएको अनुभव भयो मलाई। यो अवस्था अन्य खाडी मुलुकको पनि हो। मलेसियाको पनि हो। 

फुटबल भन्नेबित्तिकै चार वर्षमा आउने ठूलो महोत्सवझैँ प्रचार गरिएको छ। तर त्यसमा एउटा भकुण्डो मात्र जोडिएको छैन। पूर्वाधार, अर्थतन्त्र, सामाजिक मूल्य र व्यापारको कुरा छ। विश्वकप फुटबल धेरैका लागि चार वर्षे मेला र मनोरञ्जन हो भने कतिपयका लागि अर्बाैं डलरको लगानी र  व्यापार पनि हो। तर मेला र मजामा भुलिरहँदा हजारौँ श्रमिकहरूको जीवनको मूल्यलाई यसपटक पनि अन्देखा गरिएको छ, भुलिएको छ। विगतका विश्वकप प्रतियोगिताहरूमा पनि मानव मूल्यका कुरा उठ्थे तर गल्फ राष्ट्रमा भएको विभेदी 'कफल्ला प्रणाली'का कारण पनि यसपटक विभेदका कुरा तुलनात्मक रूपमा धेरै बाहिर आए। कफल्ला त्यस्तो अमानवीय प्रणाली हो, जसले व्यक्तिका मौलिक अधिकारमाथि नियन्त्रण गर्छ। देश छाड्ने तथा आफ्नो धर्मसंस्कृतिकाे अभ्यास गर्ने कुरामा समेत परहेज लगाइन्छ। 

यी सबै कुरालाई केलाएर हेर्ने हो भने कतारको फुटबल महोत्सव आयोजना गर्ने क्रममा ठूलो मानवीय क्षति भएको छ। त्यसो हुँदा फुटबल एउटा खेल मात्रै होइन यो त सामाजिक प्रतिष्ठान पनि हो। त्यसो हुँदा फुटबलसँग सामाजिक उत्तरदायित्व हुनुपर्छ। दुःखको कुरो, हजारौँ श्रमिकहरूले ज्यान गुमाएर बनाएका संरचनामा विश्वकप फुटबल भइरहँदा पनि कतिपय मान्छेले विश्वकप फुटबलको सर्वोच्च निकाय फिफा र आयोजक राष्ट्रविरुद्ध बिरलै आवाज उठाए। अझ लाजैमर्दो कुरो, नेपालकै केही मिडिया सेलिब्रेटीहरूले त कतारको राजदूतसँग फुटबल उचालेर रात्रि पार्टीमा फोटो नै खिचाए। योचाहिँ घोर असंवेदनशीलता हो। 

फुटबल खेलाएर मनोरञ्जन दिलाएसँगै मानवीय क्षतिको भरणपोषण र न्यूनीकरण गर्नुपर्छ। यसका सकारात्मक कुरा के छ भने, पछिल्लो समयमा फिफालाई कसरी उत्तरदायी बनाउन सकिन्छ भनेर केही अन्तर्राष्ट्रिय संघसंस्थाले काम गरिरहेका छन्। त्यसका कारण श्रमिकको अवस्थामा थोरै सुधार पनि भएको छ। कतारको विश्वकपको संरचना निर्माण गर्ने क्रममा श्रमिकहरूमाथि भएको शोषण र अत्याचारकै सन्दर्भमा हामीले केही महिना पहिले जर्मन नागरिकहरूमाझ जागरण फैलाउने भन्ने उद्देश्यले बर्लिन् फ्र्यांकफर्ट म्युनिकलगायत सात वटा शहरमा पुग्यौँ। 

र, त्यहाँका स्थानीय फुटबल क्लबहरूसँग हामीले कुरा राख्यौँ। कुरा सुन्यौँ। उनीहरूले त श्रमिकहरूमाथि भएको हिंसा शोषण र अत्याचारलाई लिएर विश्वकप फुटबल बहिस्कार गर्ने कुरासमेत राखे। विश्वकप फुटबल नै बहिस्कार गर्नुपर्छ भन्ने कुराचाहिँ आज मात्रै उठेको होइन। मानव अधिकार उल्लंघन र मानवीय क्षति भएका कारण यो प्रतियोगितालाई विश्वभर बहिस्कार गर्ने कुरा २०२० तिर उठेको हो। तर विश्व मिडिया र स्थानीय मिडियाले समेत सो बहिस्कारको विषयलाई प्राथमिकता दिएनन्। आखिर मिडिया भन्नु पनि विश्व बजारकै एउटा अंग न हो। सचेत दर्शकले फिफाको प्रत्यक्ष प्रसारण नहेर्ने यो भने त्यस खेलेका विश्वव्यापी चर्चा पनि घट्छ र त्यसको बजार मूल्य पनि कम हुन्छ। त्यसो हुँदा फिफा र आयोजक राष्ट्रले बहिस्कारबाट सबक सिक्लान् र आगामी दिनमा श्रमिकहरूको न्यूनतम मानव अधिकार आत्मसम्मान र जीवन रक्षा हुन जान्छ भन्ने आशयबाट फुटबल खेल बहिस्कारको कुरा उठेको हो। विश्वकप फुटबलमा ठुलो प्रभाव रहेको देश जर्मनीमै पनि यो विश्वकप बहिस्कारका साना अभियान चलेका छन्। 

कतारका स्टेडियम बनाउने क्रममा २८ सय नेपालीहरूको ज्यान गएको छ। तिनको ज्यानको मूल्यमा खेलाइएको यो विश्वकप फुटबल कमसेकम नेपालीहरूले बहिस्कार गर्नुपर्थ्यो। तर हामीले बहिस्कारको आवाजलाई ठूलो बनाउन सकेनौँ। उल्टो, लुकेरै भए पनि खाडीजस्ता मुलुकमा श्रमिकका लागि काम गर्ने हामीजस्ता अधिकारकर्मी र मरेका मजदुरहरूकै हुर्मत लिए केही सेलिब्रेटीले। कतारी दूतावासको भोजमा गएर विश्वकप फुटबलको आधिकारिक फुटबल उचालेर चियर्स गरे। श्रमिकको अधिकारबारे आयोजक राष्ट्र संवेदनशील हुन्न भने त्यस्तो देशलाई किन फुटबल खेलाउन दिने त भन्ने प्रश्नमा नै बहिस्कारको कुरा उठेको हो। सँगसँगै, पूर्वाधार बनाउने क्रममा मरेका श्रमिकहरूको सम्मानकै लागि पनि त्यसो गर्नुपर्छ भन्ने आवाज उठेको हो। राज्यले आँखा चिम्ले पनि र मिडियाले बेवास्ता गरे पनि हामी श्रमिकको जीवन रक्षा र आत्मसम्मानका लागि लड्न भने छाडिँदैन। 

श्रेष्ठ एक दशकदेखि खाडी र मलेसियामा प्रवासी नेपाली श्रमिकको हितका लागि कार्यरत छन्। 


सम्बन्धित सामग्री