फापरखेत पहिरोको स्थायी समाधानका लागि म्याग्दी नदीमाथि सात करोड ५० लाख रुपैयाँको लागतमा ‘डिजाइन एण्ड बिल्ड’ मोडलमा पक्की मोटरेबल पुल निर्माण गरिने भएको छ।
म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको मुख्य चुनौती बनेको फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल निर्माण हुने भएको छ।
फापरखेतको पहिरोको विकल्पमा मङ्गला गाउँपालिका–३ पखेर र २ सिमलचौर जोड्ने म्याग्दी नदीमाथि मोटरेबल पुल बनाउन चालु आर्थिक वर्ष २०८३/८४ मा रु दुई करोड बजेट विनियोजन गरेसँगै गण्डकी प्रदेश सरकारले प्रक्रिया थालेको हो।
गतवर्ष सङ्घीय सरकारले बेलिब्रिज उपलब्ध गराउने, प्रदेश सरकारले जडान गर्ने र पहुँचमार्ग बनाउने समझदारी जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण कार्यान्वयन नहुँदा प्रदेश सरकारले विनियोजन गरेको रु एक करोड बजेटबाट काम हुन सकेन।
सवारीसाधनको अत्यधिक चाप हुने बेनी–दरवाङ सडकमा बेलिब्रिज बनाउँदा जोखिम हुने प्राविधिक प्रतिवेदनको आधारमा प्रदेश सरकारले रु सात करोड ५० लाख बजेटको स्रोत सुनिश्चित गरे पनि ठेक्का आह्वान नभएको जनाउँदै ‘डिजाइन एण्ड बिल्ड’ विधिबाट पक्की मोटरेबल पुल बनाउने तयारी सुरु गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख डा महेन्द्र बानियाँले बताए।
उनका अनुसार एउटै कम्पनी वा ठेकेदारले डिजाइन (नक्सा, प्राविधिक विवरण) तयार र निर्माण गर्ने परियोजना कार्यान्वयन गर्ने ठेक्का प्रणालीलाई डिजाइन एण्ड बिल्ड भन्ने गरिन्छ। बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा सडकमुनि म्याग्दी नदी छ भने माथितिर ठूलो पहिरो पर्दछ।
विसं २०६० अघि मार्ग खुलेको सडक निर्माण भएदेखि हरेक बर्खायाममा वर्षा हुनेबित्तिकै पहिरो खस्ने र २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडकमा सीधा यातायात सेवा बन्द हुने गरेको छ भने दुर्घटनाको जोखिम बढाएको स्थानीय बताउँछन्।
माथिबाट पहिरो खसिरहने र साँघुरो उक्त ठाउँको सडकबाट पछिल्लो दुई महिनामा दुई वटा मालवाहक ट्रक म्याग्दी नदीमा खसेर दुर्घटना भएका थिए। मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्छन्।
घुमाउने भनेर चिनिने फापरखेत पहिरोले स्थानीयवासीलाई आवतजावत, बिरामीलाई अस्पताल पुर्याउन, दूध, तरकारी, फलफूल बजार लैजान, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी गर्न समस्या भएको छ। साँघुरो सडकमा गुडिरहेका सवारीसाधनमाथि पहिरो खसेर चोटपटक लाग्ने, सवारीसाधनमा क्षति पुग्ने गरेको छ। जुनसुकै बेला पहिरो खस्ने खतरा भएकाले यात्रा गर्न जोखिम रहेको स्थानीयको भनाइ छ।
म्याग्दी नदीमा निर्माणाधीन पाँच वटा जलविद्युत् आयोजना र डाँडाखेत राहुघाट सवस्टेसन तथा प्रसारण लाइन, सडक, भवन, खानेपानी, सिँचाइलगायत विकास आयोजनाहरूमा पनि पहिरोका कारण असर परेको छ।
तत्कालीन जिविसले सडकमुनि पक्की पर्खाल निर्माण गरेर म्याग्दी नदीको कटान रोकथाम गरे पनि सडकमाथिको पहिरो नियन्त्रणका लागि भएका प्रयास असफल र लगानी खेर गएको छ। पूर्वाधार विकास कार्यालयले सडकमा खसेको पहिरो पन्छाउने र यातायात सञ्चालनको व्यवस्था मिलाउँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
