संकटमा गोदी मिडिया

सत्तासँग सुमधुर सम्बन्धका कारण भारतीय मिडिया पहिले पनि आलोचनामुक्त थिएन। इमर्जेन्सीका बेलासमेत अपवादबाहेक भारतीय मिडियाले प्रेस सेन्सरसिपको प्रतिरोध गरेन।

"दुईवटा स्टाटस पोष्ट गर्दिएर पारीको सरकार ढाल्दिन सक्छौँ, त्यसैले त छिमेकी हामीसँग थुरुरु छ," भन्नेहरू पनि सिंहदरबारमै छन् रे। भेट्न पुगेकाहरूलाई त्यस्तो भनेको सुनियो। सामाजिक सञ्जालबाटै सत्ताधीश बनेकाहरूलाई राजनीति/भूराजनीतिबारे यथेष्टमात्र होइन आधारभूत ‘ज्ञान’ को अभाव अस्वभाविक सुनिँदैन पनि।   

वास्तविकताचाहिँ फरक छ। शिक्षा मन्त्रीको राजीनामाको माग गरी कक्रोच जनता पार्टी (सीजीपी)ले शुरू गरेको आन्दोलन विस्तारित हुँदै गर्दा भारतका शिक्षामन्त्री धमेन्द्र प्रधानले राजीनामा गरेको खबरले नै आन्दोलनकारीहरू माझ विजयोत्सवको रूप लिएको थियो। नहोस पनि किन? विश्लेषक/वरिष्ठ पत्रकारहरू नै कुनै हालतमा राजीनामा नआउने दाबी गरिरहेका थिए। ‘इन्टरनेटीय’ सञ्जालहरूमा मन्त्री राजनाथ सिंहको पुरानो भाषण ‘यहाँ इस्तिफा नही होता, यह युपिए नही एनडिए सरकार है’ को क्लिप भाइरल भइरहेको थियो।    

हुन पनि आठ वर्षअघि तत्कालीन विदेश राज्यमन्त्री एमजे अकबरले यौन दुर्व्यवहारको आरोप खेपेपछि राजीनामा गरेको एउटा दृष्टान्तबाहेक १२ वर्षको मोदीराजमा कसैले दबाबमा राजीनामा (मन्त्रिपरिषद्‍को पुनर्गठनमा मन्त्री बाहिरिने/भित्रिने त भएको थियो) गर्न परेको थिएन। त्यसैले आन्दोलनकारीको प्रमुख माग ‘दरकिनार’ गरी आन्दोलन सामसुम पार्न हरसम्भव प्रयत्न गर्‍यो। प्रधानलाई राजीनामा नगराउनुलाई त सरकारले ‘जुँगाकै सवाल’ बनाइरह्यो। आन्दोलन क्रमशः देशव्यापी बन्दै गर्दा धमेन्द्रभन्दा पनि निशानामा स्वयम नरेन्द्र (मोदी) परेपछि राजीनामा आएको थियो। आन्दोलनकारीद्वारा आलोचनाको अचानो बनाइएका मोदीलाई ‘प्रधानमन्त्री कि प्रधानको मन्त्री’ भनेर पनि आलोचना गरिएको थियो।   

‘लुजर’ गोदी मिडिया 
शिक्षामन्त्री, प्रधानमन्त्री आन्दोलनकारीको निशानामा पर्नु त स्वभाविकै थियो, आन्दोलन ‘पेपर लिक’का कारण शुरू भएको थियो। तर अजेन्डामा नभए पनि गोदी मिडियाविरुद्ध पनि आन्दोलन भएको भान हुन्थ्यो। भारतमा मोदीको भक्तिगानका साथै उनी नेतृत्वको सरकारकै स्तुतिगान गर्ने मिडिया/पत्रकारलाई गोदी भन्ने गरिन्छ। गोदी शब्द चलनचल्तिमा ल्याउने पत्रकार रविशकुमारका अनुसार इराकमा अमेरिकी आक्रमणको समयमा प्रचलित ‘एम्बेडेड’ मिडिया/पत्रकारजस्तै शब्दको खोजीमा थिए उनी। मोदीसँग अनुप्राश मिल्ने र पाल्तुको अर्थ पनि दिने भएकाले गोदी शब्द चयन गरेका थिए।

"उनीहरू प्रतिपक्षीउपर आक्रामक हुन्छन्, सरकारको प्रतिरक्षा गर्छन्," पत्रकार श्रीनिवासन जैन भन्छन्, "खासमा गोदी मिडिया आक्रमणकारी कुकुरजस्तै भूमिका निभाउँछन्।" (जेटेओमा मेहन्दी हसनसँग अन्तर्वार्ता)    

पत्रकारिताको धर्म/कर्तव्यविपरीत सत्ताको भक्तिगानमा लीन भएका कारण लामो समयदेखि आलोचित भए पनि पछिल्लो आन्दोलनले चाहिँ तिनलाई आफ्नो भूमिकाको समिक्षा नगरी नहुने अवस्थामा पुर्‍याइदिएको छ। धर्ना/प्रदर्शनस्थल जन्तरमन्तरमा गोदी एंकर भनेर चिनिनेहरू (सुधिर चौधरी, अञ्जना ओम कश्यप, अर्णव गोस्वामी, चित्रा त्रिपाठी, रुबिका लियाकत, सुशान्त सिन्हा आदि)को तस्वीर नै राखेर खलनायकीकरण गरिएको थियो। गोदी भनेर आलोचित पत्रकारहरू रिपोर्टिङ गर्न प्रदर्शनस्थल पुग्दा दुर्व्यवहारको सामना गर्न परेको थियो। होनहार रिपोर्टर रविशरञ्जन शुक्लाउपर पनि दुर्व्यवहार भयो, उनी काम गर्ने ‘एनडिटिभी’ गोदी श्रेणीमा पर्ने भएकाले।    

"भारतीय मिडिया आउटलेट हेर्दा लज्जा महसुस हुन्छ," पत्रकार तवलिन सिंह भन्छिन्, "एउटा व्यापक आन्दोलन हुँदै गर्दा मिडियाचाहिँ सरकारलाई प्रश्न गर्न छाडेर आन्दोलनकारीलाई प्रश्न गर्न थाल्छन्।" 

गोदी पत्रकार/गोदी एंकरका रूपमा चिनिने पात्रहरू पत्रकारभन्दा पनि सरकारी प्रोपगन्डा सिपाहीजस्तो सुनिन्छन्। तिनले सरकार (अझ प्रधानमन्त्री मोदी) को स्तुतीगान र प्रतिपक्षको आलोचनामा उर्जा खर्चिन्छन्। गोदी भनेर चर्को आलोचना हुँदा पनि तिनले सुध्रिने चेष्ट गरेका छैनन्। इण्डिया टिभीमा स्वामित्व रहेका रजत शर्मा र रिपब्लिक टिभीका अर्णव गोस्वामीलाई त न्युज च्यानल शुरू गर्न आफू निकटका व्यवसायीहरूमार्फत लगानी जुटाइदिने काम नै भारतीय जनता पार्टीले गरेको ठानिन्छ।

"सरकारको हिन्दू राष्ट्रवादलाई मलजल गर्न प्राइम टाइममा मुस्लिमविरोधी भावना फैलाउन खोज्छन्," श्रीनिवासनको दाबी छ, "प्रधानमन्त्रीका सहयोगीहरूले यिनीहरूलाई प्राइम टाइमको अजेन्डा नै निर्देशित गर्छन्।"   

भारतमा कांग्रेसराजको अन्त्य गरी मोदीराज ल्याउने ‘टर्निङ प्वाइन्ट’ मानिने सन २०११ को ‘इण्डिया अगेन्स्ट करप्शन’ सफल बनाउने श्रेय परम्परागत मिडिया (अझ चौबिस घण्टे न्युज च्यानल)लाई जान्छ। तिनका सामग्रीलाई विस्तार गर्न फेसबुकले पनि योगदान गरेको थियो। पन्ध्र वर्षपछि जेनजी आन्दोलनलाई सफल बनाउने श्रेय सामाजिक सञ्जाल प्लाटफर्महरू (अझ इन्स्टाग्राम)लाई दिइएको छ। परम्परागत मिडियाले बेवास्ता वा नकारात्मक रिपोर्टिङ गर्दा पनि आन्दोलनमा जनसहभागिता रोकिएन।     

"यही ताल हो भने मिडियाले पूरै पुस्ताको विश्वास गुमाउने छ," तवलिन प्रश्न गर्छिन्, "चौथो अंग अर्थात् लोकतन्त्रको पहरेदार हुनपर्ने मिडियाले जनविश्वास गुमाउदाको परिणाम के हुन्छ?" परम्परागत मिडिया आउटलेटका पत्रकारहरूले भागमभाग गर्नपर्ने अवस्थामा सरकारप्रति आलोचनात्मक युट्युबरहरूको जयजयकार पनि देखियो। प्रधानको राजीनामाको खबर आएपछि विजयोत्सवको मुडमा रहेका आन्दोलनकारीहरूले रातबिरात नभनी आन्दोलनको रिपोर्टिङ गरेका अभिनव पाण्डे (न्युजपञ्च), अजित अञ्जुम आदि युट्युबरलाई बोकेका थिए।

जनमानसमा मोदी सरकारको भोंपू भनेर चिनिने मिडियाहरूले शुरूमा आन्दोलनको समाचारलाई ब्ल्याकआउट गरे भने जनचासो र सहभागिता बढ्दै गएपछि कभर त गरे, वास्तविकतासँग मतलब देखिएन। "अझ कतिपयले त गलत हिसाबले प्रस्तुत गरे," पत्रकार सिद्धार्थ वर्धराजन भन्छन्, "सरकारको न्यारेटिभलाई स्थापित गर्ने दुष्प्रयास गरे।" (द वायर) 
कक्रोच जनता पार्टीको नाममा डिजिटल प्लेटफर्महरूमा उपस्थिती जनाएको छिनभरमै मिलियन फलोअर बनाएपछि एकाएक सर्वत्र चासो/चर्चाको पात्र बनेका अभिजित दिप्केले उतिवेलै गोदी मिडियालाई अन्तर्वार्ता नदिने घोषणा गरी सरकारप्रति आलोचनात्मक युट्युब च्यानलहरूमा मात्रै अन्तर्वार्ता दिएका थिए।

शिक्षा मन्त्रीको राजीनामासँगै आन्दोलन समाप्तिको घोषणापश्चात चाहिँ सिजेपी प्रवक्ता सौरभ दासले उनीहरूले गोदी भनेका मिडिया/पत्रकारलाई अन्तर्वार्ताहरू दिएका छन्। यसअघि किसान आन्दोलनलगायतमा पनि ‘गोदी मिडिया वापस जाओ’का नारा सुनिए पनि यस्तो अब सर्वत्र सुनिन थालेको श्रीनिवासन बताउँछन्। 

पि साइनाथका अनुसार भारतमा मिडियाको कर्पोरेटाइजेशन आर्थिक उदारीकरणको पाँच वर्षअघि नै (सन १९८० को दशकको मध्यतिर) भयो, समिर जैनमार्फत। टाइम्स समूहलाई शुद्ध नाफामूलक मिडियामा रुपान्तरण गर्ने समिरको एउटा किस्सा प्रचलित छ। सन् नब्बेको दशकको प्रारम्भतिर एकजना पत्रकारले जैनलाई सोध्छन्, "टाइम्स अफ इण्डिया सरकार समर्थक हो कि सरकार विरोधी?" जैन उत्तर दिन्छन्, "न हामी सरकार समर्थक हौँ, न विरोधी, हामी नै सरकार हौँ।" भारतमा अस्थिर सरकारको दौर चलिरहेको नब्बेको दशकमा टाइम्स समूहचाहिँ राजस्व र प्रभावको नयाँ–नयाँ रेकर्ड कायम गरिरहेको थियो। सञ्जय बारुका अनुसार (इण्डियाज पावर एलिट) चौथो स्तम्भ भनिने मिडियालाई विशुद्ध व्यापारमा रूपान्तरण गर्नमा अरुण पुरी (इण्डिया टूडे ग्रुप) र जैनको निर्णायक भूमिका रह्यो।

सोशल मिडियाले मिडियाको शक्तिलाई विभाजित गरिदिएका कारण आजको अवस्था कुनै समिर जैनले हामी नै सरकार हौँ भन्नसक्ने अवस्था रहेन। नेपालमै पनि ‘कान्तिपुर’ राजाविरुद्ध आन्दोलन गर्ने आठौँ दलको अवस्था गौरवशाली विगतमात्र भइसकेको छ।

सत्तासँग सुमधुर सम्बन्धका कारण अघि पनि भारतीय मिडिया आलोचनामुक्त थिएन। इमर्जेन्सीकालमा अपवादबाहेक भारतीय मिडियाले प्रेस सेन्सरसिपको प्रतिरोध गरेन। यसैले तत्कालीन विपक्षी लालकृष्ण आडवाणीले भनेको ‘सत्ताले त झुक्न भनेको थियो, मिडिया त घिस्रियो पो’ अहिले पनि चर्चित छ।

भाजपा सत्ताको सदाबहार आलोचक रविशकुमार २०१४ अघि मिडियामा कमजोरी भए पनि कसैले सत्ताको विरोध गर्नासाथ त्यसविरुद्ध क्रूर रूपमा प्रस्तुत हुने पत्रकार, एंकर यसअघि कहिल्यै थिएनन् भन्छन्। "त्यसअघि एंकरले सरकारी नीतिविरुद्ध प्रदर्शन गर्ने किसानलाई खालिस्तानी भन्ने कल्पना गर्न सकिन्थेन," उनी थप्छन्, "प्रदर्शनकारीलाई ग्याङ भन्थेनन्।"

लेखक बारुले दिल्लीको मिडियालाई शुद्ध व्यवसायिक, सरकार समर्थक, विपक्ष समर्थक र भ्रष्टगरी चार समूहमा वर्गीकरण गरेका छन्। मोदीले धेरैभन्दा धेरैलाई सरकार समर्थक बनाउने भरपुर प्रयत्न गरे। र, खासगरी हिन्दीभाषी मिडिया र पत्रकारमा आफ्नो समर्थन सुनिश्चित गरे। भारतमा मिडिया–राजनीतिक दल गठबन्धनको पहिलो सफल प्रयोग सन् ८० को दशकको शुरूतिर आन्ध्र प्रदेशमा भएको थियो, तेलुगुदेशम पार्टी– इनाडु गठबन्धनमार्फत। तेलुगु फिल्मका सुपरस्टार एनटी रामारावले पार्टी गठन गरी राजनीतिमा छिरेपछि तेलुगु भाषाको प्रख्यात अखबार इनाडु उनको मुखपत्रजस्तो हुनपुग्यो। सन् १९८३ एनटिआर–इनाडु गठबन्धनले कांग्रेस र रेड्डीको एकाधिकार अन्त्य गरिदिएको थियो। एनटिआर कम्मा समुदायको पहिलो मुख्यमन्त्री बन्नपुगे।  

तामिलनाडुको डिएमकेमा सक्रिय मारन परिवारको लगानीमा सन १९९३ मा ‘सन टिभी’ शुरू भयो भने जयललिता नेतृत्वको प्रतिष्पर्धी एआइएडिएमकेले ‘जया टिभी’ शुरू गर्न छ वर्ष (सन १९९९) कुर्‍यो। आन्ध्र प्रदेशका वर्तमान मुख्यमन्त्री वाइएस जगनमोहन रेड्डीले पनि साक्षी अखबार र टिभी शुरू गराए। हैदराबादको ‘डेक्कन क्रनिकल’को स्वामित्व कांग्रेस नेता टि चन्द्रशेखर रेड्डीसँग रहन्थ्यो। महाराष्ट्रमा ‘लोकमत’ समूहको स्वामित्व कांग्रेसी दर्डा परिवारसँग छ भने ‘सकाल’ मा पवार परिवारको पैसा छ। "नेता कि मिडिया मालिकै बनिरहेका छन् या नियन्त्रण कायम गरेका छन्," बारु लेख्छन्।

आन्दोलनकारी उपर दिल्लीमा अधिक बल प्रयोग भयो। घाइतेहरू अस्पतालमा उपचाररत छन्। कतिपयलाई त छर्रा लागेको छ। केन्द्रीय रिजर्भ पुलिस बलको ‘र्‍यापिड एक्सन फोर्स’लाई समेत उतारिएको थियो। तर सुरक्षाकर्मीको भूमिकामा जवाफदेही हुनपर्ने गृहमन्त्री अमित शाह संसद्‍ भवन अघिल्तिर गाडीबाट उत्रिएर  भवनतिर सोझिँदा पत्रकार प्रश्न सोध्छन्, "सर ड्रेस त नयाँ छ त।" भारतीय पत्रकारिता गिर्नुसम्म गिरिसकेको टिप्पणी सिद्धार्थ गर्छन्। उनलाई पूर्वी चम्पारणको ढाका भन्ने सानो बजारको भिडियो प्राप्त भएको थियो, जसमा झन्डै दुई हजार जति मान्छे प्रदर्शनमा उत्रिएका थिए। सिद्धार्थले पहिलोचोटी नाम सुनेको सानो ठाउँ हो, त्यो। "यति व्यापक बनेको आन्दोलप्रति परम्परागत मिडियाको रेस्पन्स उदेकलाग्दो भयो," उनी थप्छन्, "मोदीले के भन्लान् र न्युज बनाऔँला भन्नेमा देखिए।"  

सत्ताप्रति आलोचनात्मक मिडिया (युट्युब च्यानल) चलाएवापत प्रवर्तन निर्देशनालय (इडी)को छापामारीमा परिसकेका पत्रकार परन्जोय गुहा ठकुर्टाले सन २०२४ को लोकसभा चुनाव सम्मुख सार्वजनिक गरेको म्युजिक भिडियोको बोल छ—

गोदीजी
गोदीजी गोदीजी गोदीजी 
कुछ तो अच्छा बोलो 
अफवाहका जहर न घोलो 
नफरतके तुम बोल नाबोलो 
आखे तो तुम खोलो
चारोओर आगलगी है 
देखो कितना कोलाहल 
झूलस रहे है कितना दिल कितने इन्सान है घायल 
गोदीजी  
गोदीजी गोदीजी गोदीजी।