एआई डेटा सेन्टरका लागि विशाल ग्यास पावर प्लान्ट निर्माण गर्दै अमेजन

आफ्ना नयाँ डेटा सेन्टरका लागि आवश्यक बिजुली जुटाउन प्रविधि कम्पनी अमेजनले अमेरिकाको टेक्सासमा अहिलेसम्मकै ठूलो ग्यास विद्युत् प्लान्ट निर्माण गर्ने भएको छ।

अमेरिकी प्रविधि कम्पनी अमेजनले टेक्सासमा विशाल ग्यास विद्युत् प्लान्ट निर्माणका लागि लगानी गरिरहेको जनाएको छ। उक्त प्लान्ट कम्पनीको नयाँ डेटा सेन्टर सञ्चालनका लागि प्रयोग गरिनेछ।

पेकोस काउन्टीमा निर्माण हुने उक्त प्लान्टबाट सात दशमलव ६५ गिगावाट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ। ३५ वटा टर्बाइन रहने यो प्लान्ट हाल संयुक्त राज्य अमेरिकामा सञ्चालनमा रहेका ग्यास विद्युत् प्लान्टमध्ये सबैभन्दा ठूलो हुनेछ।

यस प्लान्टबाट वार्षिक तीन करोड मेट्रिक टनभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने अनुमति दिइएको छ। यो अमेरिकामा कुनै एकै स्रोतबाट हुने सबैभन्दा ठूलो उत्सर्जन हुनसक्ने अनुमान छ। यद्यपि, वास्तविक उत्सर्जन अनुमति दिइएको सीमाभन्दा कम हुने गर्छ।

बजार अनुसन्धान कम्पनी 'क्लीनभ्यू'ले अमेजनले हालै दायर गरेका तीनवटा डेटा सेन्टर निर्माण अनुमतिपत्रको अध्ययन गर्दै प्लान्ट र डेटा सेन्टरबीचको सम्बन्ध सार्वजनिक गरेको थियो। प्लान्ट 'प्यासिफिको इनर्जी'ले निर्माण गरिरहेको छ र यसलाई ‘जीडब्ल्यू रान्च’ नाम दिइएको छ।

अमेजनका अनुसार आफ्नै विद्युत् उत्पादन गर्दा डेटा सेन्टरका लागि आवश्यक पूर्वाधारको लागत सामान्य उपभोक्तामाथि पर्नेछैन। कम्पनीले डेटा सेन्टर सञ्चालनका लागि लाग्ने विद्युत्को पूर्ण लागत आफैँले बेहोर्ने जनाएको छ।

“अमेजनले हाम्रो सञ्चालनका लागि आवश्यक विद्युत्को पूर्ण लागत तिर्नुपर्छ भन्ने विश्वास गर्छ,” कम्पनीका प्रवक्ताले भने।

कम्पनीका अनुसार पेकोस काउन्टीमा प्रस्तावित डेटा सेन्टर परिसर नयाँ स्थलगत विद्युत् उत्पादनबाट सञ्चालन हुनेछ। विद्युत् प्रसारण प्रणालीसँग जोडिने समयरेखाअनुसार पछि राष्ट्रिय विद्युत् ग्रिडसँग जोडिने गरी परियोजना डिजाइन गरिएको छ।

अमेजनले उक्त क्षेत्रमा सौर्य ऊर्जा तथा ब्याट्री भण्डारण प्रणाली प्रयोग गर्ने सम्भावनाको समेत अध्ययन गरिरहेको जनाएको छ। डेटा सेन्टरका लागि पिउन अयोग्य खारा भूमिगत पानी प्रयोग गरिने र यसबाट स्थानीय जलस्रोतमा पर्ने दबाब कम हुने कम्पनीको दाबी छ।

अमेजनले सन् २०४० सम्ममा आफ्नो कार्बन उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ। कम्पनीका अनुसार टेक्सासमा करिब १० गिगावाट क्षमताका ४० वटा कार्बनरहित ऊर्जा परियोजनालाई समेत सहयोग गरिएको छ।

डेटा सेन्टरका लागि विद्युत् उत्पादन गर्ने यस्तो 'ग्रिडबाहिर' (अफ-ग्रिड/मिटरपछाडि) को प्रणाली पछिल्लो समय प्रविधि कम्पनीहरूमा बढ्दै गएको छ। एआई प्रविधिको तीव्र विस्तारसँगै डेटा सेन्टरका लागि ठूलो मात्रामा तत्काल विद्युत् आवश्यक पर्न थालेपछि कम्पनीहरूले राष्ट्रिय ग्रिडमा निर्भरता घटाउने उपाय खोजिरहेका छन्।

क्लीनभ्यूका अनुसार मेटा, माइक्रोसफ्ट र ओरेकललगायत ठूला प्रविधि कम्पनीहरूले समेत करिब ९७ गिगावाट क्षमताका यस्ता परियोजना अघि बढाउने योजना बनाएका छन्।

विश्लेषकहरूका अनुसार यस्ता परियोजनाबाट हुने कार्बन उत्सर्जन उल्लेखनीय हुनसक्छ। परियोजनाको सङ्ख्या, टर्बाइनको दक्षता र सञ्चालनको अवधिअनुसार वार्षिक कार्बन डाइअक्साइड उत्सर्जन २० करोड मेट्रिक टनभन्दा बढी पुग्नसक्ने अनुमान गरिएको छ।

'युनियन अफ कन्सर्न्ड साइन्टिस्ट्स'का ऊर्जा विश्लेषक जोन रोजर्सले प्राकृतिक ग्यासको प्रयोगबाट विद्युत् उत्पादन गर्ने अझ प्रभावकारी उपायहरू रहेको बताएका छन्। उनका अनुसार प्रस्तावित प्लान्टहरूले त्यस्ता विकल्प प्रयोग नगरेकाले वातावरणीय तथा स्थानीय प्रदूषणको जोखिम बढ्न सक्छ।

कोइलाभन्दा प्राकृतिक ग्यासबाट हुने प्रदूषण कम भए पनि ग्यास प्लान्टहरू हरितगृह ग्यास उत्सर्जनका महत्वपूर्ण स्रोत हुन्। प्राकृतिक ग्यासको मुख्य घटक मिथेन उत्पादन, प्रशोधन र ढुवानीका क्रममा चुहावट हुनसक्ने भएकाले यसले जलवायु परिवर्तनमा थप असर पार्ने विज्ञहरूको भनाइ छ।

ग्यास प्लान्टबाट कार्बन उत्सर्जनका अतिरिक्त सूक्ष्म कण, नाइट्रोजन अक्साइड तथा पारा, फर्माल्डिहाइड र बेन्जिनजस्ता हानिकारक वायु प्रदूषकसमेत उत्सर्जन हुने गर्छन्। यस्ता प्रदूषक मुटु तथा फोक्सोसम्बन्धी समस्या र श्वासप्रश्वाससम्बन्धी रोगसँग जोडिएका छन्।