विगतको दशक अँध्यारो नै थियो भने महामन्त्रीका रूपमा बाल्नुभएका उज्यालाका दियोहरू कहाँ छन्? जवाफदेहिताबाट उम्किन पाउनुहुन्न।
डियर सभापति, जय नेपाल
हालै ‘अनलाइनखबर’ मा प्रकाशित तपाईँको ‘देशभरि संवाद गर्दा पायौँ–कांग्रेस १० वर्ष अँध्यारो बाटोमा हिँडेछ,’ शीर्षकको लेख पढेपछि केही नलेखीकन नहुने लाग्यो। लेखमार्फत तपाईँले घरेलु राजनीति र अझ कांग्रेस वृत्तमा नयाँ र तातो विमर्शको ढोका खोल्नु भएको बुझें। तपाईँले आफूलाई ‘परिवर्तनकारी’ र ‘सुधारक’ का रूपमा उभ्याउँदै विगत एक दशकको कांग्रेस यात्रालाई ‘अँध्यारो बाटो’ को संज्ञा दिनुभएको छ। लेखमा प्रस्तुत ‘प्राइमरी’, ‘डिजिटल आईडी’ र संरचनात्मक सुधारका अवधारणाहरू सुन्नमा आकर्षक र आधुनिक लाग्छन् पनि। तर, यो सुस्पष्ट सांगठनिक भाष्यलाई तपाईँकै विगतको कसीमा राखेर हेर्दा भाष्य र यथार्थबीच ठूलो खाडल उजागर हुन्छ।
प्रस्तुत प्रत्युत्तर तपाईँको व्यक्तित्व खण्डित गर्न तयार गरिएको नभई सार्वजनिक र राजनीतिक जीवनको रणनीतिलाई राजनीतिशास्त्रका स्थापित सिद्धान्तहरूको ऐनामा हेर्ने सानो प्राज्ञिक प्रयासमात्र हो। के यो ‘परिवर्तन’ कांग्रेसको वास्तविक पुनर्जागरण हो वा पुरानै सांगठनिक संरचनामा नयाँ प्राविधिक आवरण मात्र? मिहिन विश्लेषण जरुरी छ र जवाफ यसै विषयमा केन्द्रित हुनेछ।
राजनीतिक र सांगठनिक चिरफारलाई नेतृत्वले व्यक्तिगत आक्रमण वा आक्षेपको रूपमा बुझ्छ भने त्यहाँ सन्त कबीरदासको यो कालजयी दोहा स्मरण गर्नु सान्दर्भिक हुनेछ, ‘निन्दक नियरे राखिए, आँगन कुटी छवाय। बिन पानी, साबुन बिना, निर्मल करे सुभाय।’ अर्थ हुन्छ, आफ्नो आलोचना वा निन्दा गर्ने व्यक्तिलाई जहिले पनि आफ्नो नजिक, सम्भव भए आफ्नै घरको आँगनमा कुटी बनाएर राख्नुपर्छ। नकि, जसरी कपडा धुन पानी र साबुन चाहिन्छ, त्यसरी नै आलोचकले बिना पानी र साबुन हाम्रो गल्ती र कमजोरीहरू औँल्याएर हाम्रो स्वभाव र चरित्रलाई निर्मल, स्वच्छ र सच्याउने काम गरिदिन्छ। यो जवाफ पूर्वाग्रह होइन बरु तपाईँको राजनीतिक स्वभावलाई सच्याउने र कांग्रेसलाई ऐना देखाउने एउटा निर्मल प्राज्ञिक प्रयास हो।
‘अँध्यारो दशक’ को सहयात्री कि सुधारक?
तपाईँको राजनीतिक यात्रा आफैँमा संस्थापनको यात्रा हो। ज्ञानेन्द्रको ‘कू’को विरोध र २०६२/६३ को जनआन्दोलनको रापतापबाट कांग्रेसको राजनीतिको मूलधारमा प्रवेश गरेको तपाईँ अनवरत संविधानसभा सदस्य, केन्द्रीय सदस्य, प्रतिनिधि सभा सदस्य र मन्त्रीका रूपमा पनि महत्वपूर्ण भूमिका/जिम्मेवारीमा रहनुभयो। तपाईँले अँध्यारो करार गर्नुभएको १० वर्ष (२०७२–८२) को कालखण्डको ठूलो हिस्सामा स्वयम पार्टीको दोश्रो ठूलो कार्यकारी पद महामन्त्री (२०७८ देखि २०८२ पुससम्म) मा आसिन हुनुहुन्थ्यो।
महामन्त्री आलंकारिक पद होइन, नीति निर्माण, संगठन सुदृढीकरण र चुनावी रणनीतिको मुख्य इन्जिन हो। यस्तो पृष्ठभूमिमा विगतको असफलताको दोषजति निवर्तमान नेतृत्वउपर थोपर्नु राजनीतिक इमानदारीको कसीमा फितलो देखिन्छ। यसले ‘मैले बनाएको खेल होइन, म त मैदानमा उत्रिएको मात्र हुँ,’ भन्ने एकप्रकारको उत्तरदायित्वबाट पलायन हुने मनोविज्ञान (एस्कापिजम) देखाउँछ। विगतको दशक अँध्यारो नै थियो भने महामन्त्रीका रूपमा बाल्नुभएका उज्यालाका दियोहरू कहाँ छन्? जवाफदेहिताबाट उम्किन पाउनुहुन्न।
अँध्यारो बाटोको दुरी
२०७२–०८२ मात्र अँध्यारो देख्नु तपाईँको इतिहासप्रतिको संकुचित र सुविधानुकूल दृष्टि (सेलेक्टिभ एम्नेशिया) हो। कांग्रेसमा अँध्यारो २०७२ सालबाट मात्र शुरू भएको हो? इतिहासका पानाहरू पल्टाउँदा कांग्रेसको वास्तविक विचलन र अँध्यारो अध्याय पहिले नै शुरू भइसकेको थियो।
२०४६ सालमा प्रजातन्त्रको पुनर्बहालीपछि बहुमतको सरकार बनाएको कांग्रेस बिपीको लोकतान्त्रिक समाजवाद र भुइँतहका गरिब/किसानका अजेन्डाहरू त्यागेर चरम आन्तरिक सत्ता संघर्ष (छत्तीसे र चौहत्तरेको विवाद) मा फस्यो। त्यस्तै, २०५२ सालमा माओवादीले सशस्त्र युद्ध शुरू गर्दा सरकारमै विराजमान कांग्रेसले त्यसको राजनीतिक र सामाजिक आयाम बुझ्न चाहेन, जसले देशलाई ठूलो रक्तपाततर्फ धकेल्यो। २०५९ सालमा राजा ज्ञानेन्द्रले ‘कू’ मार्फत शासन सत्ता हातमा लिँदा कांग्रेस इतिहासकै सबैभन्दा कमजोर र विभाजित अवस्थामा थियो
अन्ततः जनआन्दोलन र माओवादीसँगको शान्ति सम्झौतामार्फत कांग्रेसले गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा देशलाई शान्ति प्रक्रियामा त ल्यायो, तर यही कालखण्डदेखि कांग्रेस आफ्नो मौलिक वैचारिक धार छाडेर कम्युनिष्टहरूको अजेन्डाको भरिया बनी वास्तवमा ‘अफिस–सिकिङ’को बाटो समात्यो। त्यसैले, २०७२–८२ को दशकलाई मात्र अँध्यारो देख्नु राजनीतिक इमानदारी होइन।
२०४६ सालपछि सत्ताको लुछाचुँडी, ५२ सालको द्वन्द्व व्यवस्थापनमा असफलता अनि ‘कू’ सम्मका सबै कालखण्डमा कांग्रेस वैचारिक र सांगठनिक रूपमा अँध्यारै बाटोमा त थियो। विगत दशकलाई मात्र निशाना बनाउनुको मुख्य कारण त्यो कालखण्डमा तपाईँका प्रतिस्पर्धी/अग्रज नेताहरू सत्ताको केन्द्रमा थिए र उनीहरूलाई असफल प्रमाणित गरेर मात्रै आफ्नो राजनीतिक भविष्य सुरक्षित हुन्छ भन्ठानेको हुनुपर्छ।
केवल सत्ता, सत्ता र सत्ताको भाष्य
लेखमा महत्वपूर्ण र जायज प्रश्न उठाउनुभएको छ– विगत ८–१० वर्षमा कांग्रेस केवल सत्ता, सत्ता र सत्ताको वरिपरि मात्रै घुम्यो। कांग्रेसको सम्पूर्ण ध्यान सत्तामा कसरी पुग्ने र कसरी टिकिरहने भन्नेमा केन्द्रित रह्यो। यो स्वीकारोक्ति आफैँमा तितो सत्य हो। तर गहिरो विश्लेषण गर्दा यसले तपाईँकै वैचारिक सीमालाई पनि दर्शाउँछ।
राजनीतिशास्त्रमा ‘अफिस–सिकिङ’ बनाम ‘पोलिसी–सिकिङ’को स्थापित सिद्धान्त छ। जब कुनै पार्टी मूल सिद्धान्त (जस्तै, कांग्रेसको हकमा बिपीको लोकतान्त्रिक समाजवाद) लाई बिर्सेर केवल सत्ताका पदहरू बाँडफाँड गर्न तल्लिन हुन्छ, तब त्यसलाई अफिस–सिकिङ भनिन्छ। विगत दशकमा कांग्रेसले यही गर्यो। कहिले कम्युनिष्टहरूसँग गठबन्धन, कहिले दक्षिणपन्थीहरूसँग सम्झौता– सबै सत्ताकै लागि थियो।
प्रश्न यहाँनिर उठ्छ, यो सत्ताको खेल भइरहँदा गगन थापा कहाँ हुनुहुन्थ्यो? कांग्रेसको वैचारिकधार पुनर्जीवित गर्ने जिम्मेवारीप्राप्त महामन्त्री हुनुहुन्थ्यो। सरकारमा को जाने, कोसँग गठबन्धन गर्ने, कुन-कुन देशसँग कुन सम्झौता गर्ने भन्ने निर्णय प्रक्रियामा तपाईँको पनि कहिले मूक सहमति त कहिले सक्रिय सहभागिता नै थियो। आज आएर ‘अँध्यारो बाटो’ भन्नु आफ्नो कार्यकालमा घटेका घटनाहरूबाट चोखिन खोज्नु मात्र होइन र? सत्ता, सत्ता र सत्ताको त्यो भूलभुलैयामा सिंगो पार्टी फँस्दा महामन्त्रीका रूपमा वैकल्पिक वैचारिक मार्गचित्र प्रस्तुत गर्न सक्नुभएन, किन?
‘पोलिसी–सिकिङ’ को यथार्थ
लेखमा पार्टी सुधारका वर्तमान प्रयासलाई सूक्ष्म रूपमा प्रस्तुत गर्नुभएको छ। कांग्रेसलाई अफिस–सिकिङ (केवल पदको खोजी)बाट मुक्त गरेर पोलिसी–सिकिङ (नीति–आधारित राजनीति) तर्फ लैजान खोज्नुभएको हो? आवरणमा नीति तथा प्रशिक्षण प्रतिष्ठान र ‘ग्रिन टेबल’ का बहसहरूमार्फत कांग्रेसलाई नीतिगत रूपमा बलियो बनाउन खोज्दै हुनुहुन्छ जस्तो नदेखिने होइन। जब हामी गहिराइमा पुग्छौँ, यो पोलिसी–सिकिङ वास्तविक रूपान्तरण नभएर एउटा रणनीतिक नाटक वा बौद्धिक भ्रम (एकेडेमिक क्यामुफ्लेज) मात्र देखिन्छ।
यो वास्तविक नीतिगत खोजी हुन्थ्यो भने तपाईँले बनाएका नीतिहरू संसद्मा प्रतिपक्षको भूमिकामा देखिनुपर्थ्यो। व्यवहारिक धरातलमा के देखिन्छ भने नीतिहरू केवल कोठाभित्रका छलफलमा सीमित छन् र पार्टीको निर्णय प्रक्रियामा जब टिकट वितरण र गुटको सुरक्षाको कुरा आउँछ, तपाईँ पुनः उग्ररूपमा अफिस–सिकिङ र ‘पावर–शेयरिङ’ को पुरानै फोहोरी खेलमा ओर्लिनुहुन्छ। प्रविधि र नीतिको कुरा गर्ने नेताले चुनावको मुखमा विधान मिचेर एकलौटी टिकट बाँड्नुले यो पोलिसी–सिकिङ केवल कार्यकर्ता अल्मल्याउने र गुट बलियो बनाउने आवरण मात्र हो भन्ने पुष्टि गर्छ।
नेतृत्वले संगठन निर्माणको परम्परागत र व्यवहारिक विधिलाई छाडेर केवल बौद्धिक विलासितामा मात्र सीमित गरेपछि पार्टी जनताको सुख–दुःखबाट टाढिन्छ। नीति निर्माण आवश्यक छ, तर जब यो भुइँतहको कार्यकर्ता परिचालनको विकल्प बन्न खोज्छ, तब पार्टीले आफ्नो वास्तविक राजनीतिक ऊर्जा गुमाउँछ।
राष्ट्रिय संकट र कमजोर प्रतिपक्ष
वर्तमान नेपाली राजनीतिको धरातल अत्यन्तै संकटग्रस्त र निराशाजनक छ। केही दिन पहिले मात्रै देशमा चरम आर्थिक–सामाजिक निराशा र प्रशासनिक झमेलाका कारण ५ जना (जसमा ३ जनाको मृत्यु भइसकेको छ) युवाहरूले आत्मदाह जस्तो हृदयविदारक कदम चालिसकेका छन्। संसद्मा हुनुपर्ने लोकतान्त्रिक बहसहरू ठप्पजस्तै छन्। यहाँसम्म कि संसद्को नियमावलीमा संविधानसँग सरासर बाझिने खालका प्रावधानहरू राखिए। लोकतान्त्रिक अधिकारका आधारभूत स्तम्भ र कांग्रेसका पैत्रिक सम्पति मानिने ट्रेड युनियन र विद्यार्थी युनियनलाई खारेज गर्ने प्रपञ्च भइरहेको छ, जुन आमनागरिकको लोकतान्त्रिक हक–अधिकार र अभिव्यक्ति स्वतन्त्रतामाथिको सिधा प्रहार हो।
यस्तो संकटको घडीमा संसद्को प्रमुख प्रतिपक्षी दल कांग्रेस र सांसदहरूले सरकारका गलत नीतिहरूविरुद्ध जसरी सशक्त र संगठित प्रतिरोध गर्नुपर्थ्यो, देखिएको छैन। अझ अचम्मको कुरा त, विगतमा सडक र सदनमा आफ्नो तार्किक र आक्रामक भाषणका लागि चिनिएका सभापति स्वयम यी गम्भीर मुद्दाहरूमा रहस्यमयी ‘चुप्पी’ मा हुनुहुन्छ। आत्मदाह जस्तो गम्भीर सामाजिक संकट, नियमावलीको संवैधानिक विचलन र युनियन खारेजी जस्तो लोकतान्त्रिक अधिकारको हननका सवालमा उहाँ जत्तिको ’भोकल’ नेता प्रतिपक्षको रूपमा जति खरो उत्रिनुपर्थ्यो, त्यहाँ उहाँको ‘फलाइट मोड’ अर्थात् पलायनवादी चरित्र प्रष्ट देखिन्छ।
यसको पछाडिको मुख्य कारण, सभापति अहिले देशका जीवन्त–जल्दाबल्दा राष्ट्रिय मुद्दाभन्दा पार्टीका आन्तरिक गुटबन्दी, सत्ताको अङ्कगणित र आगामी महाधिवेशनमा पकड जमाउने भन्ने संकीर्ण रणनीतिमा रुमल्लिनु भएको छ। जब प्रतिपक्षको प्रमुख नायक राष्ट्रिय मुद्दाहरू छाडेर आन्तरिक शक्ति संघर्षको लौह पिँजडा (आइरन केज) मा फस्छ, संसदमा लोकतन्त्रको आवाज कमजोर हुनु स्वभाविक हो।
म्याक्स वेबरको लौह पिँजडा
जर्मन समाजशास्त्री म्याक्स वेबरले समाज र संगठनमा वैधताका तीन स्रोतहरूका व्याख्या गरेका छन्– (क) परम्परागत (ख) चमात्कारिक र (ग) कानुनी–तार्किकता। कांग्रेस ऐतिहासिक रूपमा बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता नेताहरूको चमत्कारिक सत्ता र आमकार्यकर्ताको भावनात्मक सम्बन्ध (ह्युमेन एजेन्सी) मा टिकेको ‘मास–बेस्ड’ पार्टी हो। पार्टीको मेरुदण्ड भनेको गाउँ–गाउँमा बस्ने, प्रविधिसँग अपरिचित तर पार्टीका लागि रगत–पसिना बगाउने परम्परागत कार्यकर्ताहरू हुन्। कांग्रेसलाई ‘डिजिटल आईडी’, ‘अनलाइन रजिस्ट्रेशन’ र अमूर्त कानुनी–तार्किक प्रणालीमार्फत बैधता दिन खोज्नु भनेको वेबरका अनुसार आधुनिकीकरण र तार्किकता आवश्यक त छ, तर यसले एउटा ठूलो खतरा निम्त्याउँछ–जसलाई उनले ‘तार्किकताको लौह पिंजरा’ (आइरन केज अफ ब्युरोक्रेसी) भनेका छन्।
जब नियम, सफ्टवेयर र प्रविधि मानवीय भावनाभन्दा माथि हावी हुन्छन्, तब संगठनको ‘मानवीय सार’ (ह्युमेन एजेन्सी) हराएर जान्छ। कांग्रेसलाई जीवन्त राजनीतिक पार्टीबाट कर्पोरेट संस्था, अध्ययन/शोध संस्था वा ‘डिजिटल एनजीओ’ मा बदल्न खोजियो भने पुराना–इमानदार कार्यकर्ताहरू प्रविधिको ‘फलामे पिंजरा’ भित्र नअट्न सक्छन्। प्राविधियुक्त सेवाग्राही प्रणालीमा ‘फ्रन्ट–डेस्क’ र ‘ब्याक–डेस्क’ को आ–आफ्नै महत्व हुन्छ। फ्रन्ट–डेस्कमा कार्यकर्ताहरूको अनुहार देखिनुपर्छ भने ब्याक–डेस्कमा प्रविधियुक्त अद्यावधिकको काम गरिनु नै पार्टीहितको कार्य हुन्छ।
रोबर्ट मिशेल्सको गुटतन्त्रको फलामे नियम
सभापतिको वर्तमान कार्यशैलीलाई समाजशास्त्री रोबर्ट मिशेल्सको प्रसिद्ध सिद्धान्त ‘गुटतन्त्रको फलामे नियम’ (आइरन ल अफ ओलिगार्की) को आधारमा बुझ्नु उपयुक्त हुन्छ। मिशेल्सले सन् १९११ मा आफ्नो पुस्तक ‘पोलिटिकल पार्टीज’ मा एउटा कडा सत्य उजागर गरेका थिए– ‘जसले संगठन, संगठन भन्छ, उसले वास्तवमा गुटतन्त्रकै कुरा गरिरहेको हुन्छ’ (हु सेज अर्गनाइजेसन, सेज ओलिगार्गी)।
मिशेल्सका अनुसार, संगठन जतिसुकै लोकतान्त्रिक र सहभागितामूलक आदर्श बोकेर जन्मेको भए पनि समयक्रममा यसको व्यवस्थापनका लागि विशेषज्ञता र सक्रियताको नाममा सीमित व्यक्तिको समूह (एलिट ग्रुप)को प्रशासनिक संयन्त्र (ब्युरोक्रेसी) तयार हुन्छ, सत्ता तिनैबीच केन्द्रित रहन्छ। एकचोटी पावर, पैसा, र प्रतिष्ठा पाएपछि प्रधान उद्देश्य पार्टीको सिद्धान्तलाई अगाडि बढाउनुभन्दा आफ्नो सत्ता जोगाइराख्नु बन्न पुग्छ। आफ्नो समूहलाई नै सङ्गठन सम्झन थाल्छन्।
मिशेल्सले भने जस्तै सभापति थापाले कांग्रेसमा ‘प्राइमरी’ (आन्तरिक निर्वाचन) प्रणाली र ‘ल्याटरल इन्ट्री’ (छड्के प्रवेश) को चर्को वकालत गर्नुभयो। तर चुनावका लागि उम्मेदवार छनोटका क्रममा व्यवहारमा आन्तरिक लोकतान्त्रिक प्रणाली अभ्यास गर्न खोजेको देखिएन। प्राइमरीका लागि समयाभाव भएकै भएपनि विगतभन्दा बढी वैज्ञानिक, स्वीकार्य अभ्यास गर्न सकिन्थ्यो होला। उही पुरानै पारा आयो। निवर्तमान सभापति देउवापक्षलाई उम्मेदवारीबाटै वञ्चित गर्ने गरी पार्टीको सांगठनिक शुद्धीकरण (पर्ज) को अभ्यास भयो।
ल्याटरल इन्ट्रिको नाममा केही नयाँ–विज्ञहरूलाई टिकट त दिइयो, तर सबैजसो पराजित भए। रोबर्ट मिशेल्सले उजागर गरे जस्तै, सुधार र प्रविधिको नारा दिएर स्थापित भएको नयाँ युवा नेतृत्वले पनि अन्ततः आफ्नै वरिपरि एउटा नयाँ, प्राविधिक र अनुकूल गुटको निर्माण गर्छ। यो ‘नयाँ गुटतन्त्र’ (न्यु ओलिगार्गी) अस्तित्व रक्षाको मनोविज्ञान (साइक्लोजी अफ सर्भावल)ले गर्दा पुरानो संस्थापनभन्दा झनै बढी केन्द्रीकृत र असहिष्णु बनेको छ।
अस्तित्व रक्षाको मनोविज्ञान
सभापतिको निर्णय प्रक्रिया र टिमको व्यवहारलाई अब्राहम मास्लो र निकोलो मेकियावेलीको नजरले विश्लेषण गर्दा यसको भित्री तहमा ‘अस्तित्व रक्षाको मनोविज्ञान’ (साइकलोजी अफ सर्भाइबल) सक्रिय देखिन्छ। यो मनोविज्ञानलाई बुझ्न हामीले तीनवटा आयामतर्फ ध्यान दिनुपर्छ।
क. अब्राहम मास्लोको आवश्यकताको सोपान (मास्लोज हाइरार्की)
मनोवैज्ञानिक अब्राहम मास्लोको पिरामिड सिद्धान्तअनुसार आफ्नो आधारभूत सुरक्षा सुनिश्चित नभएसम्म मान्छे आत्मप्राप्ति (सेल्फ–एक्चूअलाइजेसन) वा उच्च नैतिक आदर्शका लागि काम गर्न सक्दैन। सभापति सार्वजनिक रूपमा ‘पार्टीको रूपान्तरण’, ‘समुन्नत देश’ र ‘नीतिगत योजना’ (प्रोजेक्ट गभर्मेन्ट) जस्ता आदर्शका कुरा त गर्नुहुन्छ, जुन मास्लोको पिरामिडको शीर्ष स्थानमा पर्छन्। तर, अन्तरचेतन अहिले पिरामिडको दोस्रो तह अर्थात् ‘राजनीतिक सुरक्षा र सांगठनिक अस्तित्व’ को लडाइँ लडिरहेको छ। तपाईँलाई डर छ कि यदि शेरबहादुर, पूर्णबहादुर, सिटौलालगायत राजनीतिक खेलका माहिर नेताहरू फेरि पार्टीको मूलधारमा आए १५औँ महाधिवेशनमा राजनीतिक भविष्यमा प्रभावित हुने धक्का लाग्नसक्छ।
सभापतिले बुझ्नुपर्छ, ती पुराना नेताहरू पार्टीभत्र बसेर तपपाईको त्यति बिगार गर्नसक्दैनन् जति बाहिर बसेर गर्नसक्छन्। त्यसैले ‘सर्वजन हिताय र सर्वजन सुखाय’को लागि ‘अस्तित्व रक्षाको मनोविज्ञान’ फाइट होइन ‘फलाइट मोड’ मा पुर्याउनु नै उत्तम हुनेछ।
ख. विकासवादी जीवविज्ञानको फाइट वा फ्लाइट मोड
विकासवादी जीवविज्ञानअनुसार जब कुनै प्राणीले आफ्नो अस्तित्वमाथि ठूलो खतरा देख्छ, तब तत्काल उसको मस्तिष्कले दुईवटा मात्र प्रतिक्रिया दिन्छ– या त आक्रमण (फाइट) वा भाग (फ्लाइट)। सभापति अहिले पूर्णरूपमा सांगठनिक ‘फाइट मोड’मा हुनुहुन्छ। विधान, डिजिटल प्रणाली र अदालती फैसलालाई रणनीतिक ढालका रूपमा प्रयोग गर्दै राजनीतिक विरोधीहरूलाई पाखा लगाउने प्रयत्न गर्दैहुनुहुन्छ।
निर्वाचनमा उम्मेदवारी दर्ताका लागि निवर्तमान सभापति देउवालगायतका नेताहरूलाई टिकट नदिनु फाइट मोडको उग्ररूप थियो। अर्कोतर्फ, पराजयपछि राजीनामा दिइ केन्द्रीय समितिबाट ‘सर्वसम्मत अस्वीकार’ गराउने रणनीति वास्तवमा जिम्मेवारीबाट भाग्ने एउटा परिष्कृत फ्लाइट मोड थियो नै, ’मेकियावेलीयन भय’ पनि थियो।
ग. मैकियावेलीको शासकीय भय
पुनर्जागरणकालका विचारक निकोलो मेकियावेली आफ्नो क्लासिक कृति ‘द प्रिन्स’मा लेख्छन्, ‘स्थापित शासकको तुलनामा नयाँ शासकका लागि सत्ता जोगाउनु निकै कठिन हुन्छ, किनकि नयाँ शासकसँग बदला लिन चाहने पुराना शत्रुहरू स्थापित हुन्छन् र उसका आफ्नै सहयोगीहरू अनिश्चित हुन्छन्।’
मेकियावेलीले भनेको नयाँ शासक सभापति थापा कांग्रेसको संस्थापनमा नयाँ हुनुहुन्छ। उहाँका वरिपरि देउवा, कोइराला, खड्का, सिटौला जस्ता ३०–४० वर्षको सांगठनिक अनुभव बोकेका खेलाडीहरू हुनुहुन्छ। यही ‘मेकियावेलियन भय’ ले गर्दा तपाईले कहिल्यै पनि पार्टीभित्र लचिलोपन वा मेलमिलापको बाटो रोज्ने मूडमा सुनिनुहुन्न। सभापतिलाई संशय छ कि अलिकति मात्र ठाउँ दियो भने पुरानो नेताहरूले भ्याइदिन्छन्।
वास्तविक पुनरुत्थानको प्रस्थानविन्दु
सभापति, तपाई योजनाबद्ध सोच र ऊर्जा भएको सक्षम नेता त हुनुहुन्छ। लेखमा उल्लेख गरेअनुसार, प्रोजेक्ट गभर्नमेन्टमार्फत देशका लागि नीतिगत खाका कोर्ने जुन प्रयास गर्नुभएको छ, प्रशंसनीय छ। आफ्ना कमजोरीहरूको सार्वजनिक माफी माग्ने हिम्मत पनि देखाउनुभएको छ, जुन नेपाली राजनीतिमा विरलै पाइन्छ। तर, राजनीति केवल प्रबन्धकीय कुशलता, सत्ताको अङ्कगणित, ग्रिन टेबलको प्राज्ञिक बहस, सफ्टवेयर/अल्गोरिदम मात्र होइन। यो भावना, इतिहास, त्याग र मानवीय सम्बन्धको महासंग्राम हो।
यदि साँच्चै कांग्रेसलाई तपाईले घोषणा गरेको अँध्यारो बाटोबाट बाहिर निकाल्ने हो भने यथाशीघ्र निम्न कदम चाल्न उचित हुन्छ, निषेध होइन, समायोजन (इन्क्लुजन ओभर पर्ज) नीति अँगाल्नु पर्छ। विशेष महाधिवेशनमा भाग नलिएका र पार्टीभित्रका विरोधी गुटहरूलाई समाप्त पार्ने मेकियावेलियन भयबाट मुक्त भएर सबै पक्षलाई समेट्ने राजनीतिक परिपक्वता देखाउनुपर्छ। सत्ताको आशक्ति केवल पुरानो नेतृत्वमा मात्र होइन, नयाँ नेतृत्वको क्रियाकलापमा पनि झल्किनु रुपान्तरणको पर्यायवाची हुँदैन।
पार्टी सङ्गठनमा प्रविधि र मानवीयताको सन्तुलन (ब्यालेन्सिङ टेक्नोलोजी एण्ट ह्युमेन एजेन्सी) कायम गर्ने नीति लिनुपर्छ। डिजिटल प्रणालीलाई संगठनको ‘फिल्टर’ होइन सहायक औजार बनाउनुपर्छ। गाउँको पाका/इमानदार र गैरप्राविधिक कार्यकर्ताहरूलाई बिपीको मन्दिरमा निरन्तर फूलमाला अर्पण गर्ने वातावरण निर्माण गर्नुपर्छ। विशेष महाधिवेशनपछि केही नेता, कार्यकर्ताहरूलाई जोड्ने काम हालसम्म अधुरो र अपूर्ण रहेकोले, ‘एकचोटीको कांग्रेसी सधैँको कांग्रेसी’ भन्ने तथ्यलाई मनन गर्नपर्छ। आत्ममन्थन र उत्तरदायित्वको स्वीकारोक्तिमा इमान्दारी प्रस्तुत गर्नुपर्छ। महामन्त्रीकाल र सभापति कालका असफलताहरूको पूर्ण स्वामित्व लिँदै पार्टी पुनरुत्थानका लागि इमान्दार प्रयत्न गर्नुपर्छ।
सभापति एउटा पुरानो शैलीको नयाँ अनुहार बन्ने कि कांग्रेसलाई वास्तविक पुनरुत्थानको बाटोमा डोर्याउने ऐतिहासिक नायक बन्ने? यो प्रश्नको उत्तर तपाईँको आगामी लेखमा होइन सांगठनिक व्यवहार, राजनीतिक उदारता र नैतिक उत्तरदायित्वमा खोजिनेछ। गौतम बुद्धको त्यो कालजयी महावाणी, ‘अप्पो दीपो भव’ अर्थात् आफ्नो प्रकाश आफैँ बन भने जस्तै, कांग्रेसको उज्यालोतिरको यात्रा अरूलाई आरोपित गरेर वा अरूको कमजोरी औँल्याएर होइन, बरु आफैँभित्रको दियो बालेर र इमानदार स्वीकारोक्तिबाट मात्र शुरू हुन सक्छ।
(जवाहरलाल नेहरू विश्वविद्यालयबाट विद्यावारिधि डा. कुशवाहा कांग्रेस महासमिति सदस्य हुन्)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
