Thursday, April 18, 2024

-->

इतिहास
भीमशमशेरले दिलकुमारी तामाङलाई यसरी बनाए ‘सीता बडामहारानी’

दिलकुमारी ब्लोन तामाङलाई भीमशमशेरले आफ्नी विवाहिता श्रीमतीको निधनपछि दाम राखेर ढोग्न लगाएर बडामहारानी बनाए। त्यसपछि उनको नाम पनि फेरियो। दरबारमा उनलाई 'सीता बडामहारानी' भनेर सम्बोधन गर्न थालियो।

भीमशमशेरले दिलकुमारी तामाङलाई यसरी बनाए ‘सीता बडामहारानी’

पूर्वी नेपालको एउटा पहाडी दुर्गम गाउँबाट एक सुसारेका रूपमा दरबार छिरेर नेपालका तत्कालीन श्री ३ महाराजकी बडामहारानी बन्ने सपना सायद दिलकुमारी ब्लोन (तामाङ)ले देखेकी थिइनन् होला। तर, भीमशमशेरले यी ल्याइतेलाई आफ्नी विवाहिता श्रीमतीको निधनपछि बडामहारानी घोषित गरी दाम राख्न लगाए। त्यसपछि उनले दिलकुमारीको नाम परिवर्तन गरेर सीता राखिदिए। उनलाई ‘सीता बडामहारानी’ सम्बोधन गरेर सलाम गर्न थालियो।

सीता बडामहारानीका कारण नेपालका अत्यन्तै शोषणमा परेका आदिवासी जनजाति तामाङहरूले भने गौरवको शिर ठड्याउन पाए। कुनै कुनै ऐतिहासिक पत्रहरूमा यी जातिको थर ‘तामाङ’ उल्लेख भए पनि अधिकांश सरकारी कागजपत्रहरूमा ‘मुर्मी’ (सिमानातिरको मानिस) र ‘भोट्या’ (तिब्बती) भन्ने उल्लेख छ। यसप्रति चित्त दुखाउँदै आफूहरूले ‘तामाङ’ लेख्न पाउनुपर्ने माग तामाङहरूले गरेका थिए। एक इस्तिहार जारी गरेर भीमशमशेरले तामाङ थर लेख्न पाउने बाटो खुलाइदिए। त्यसैले दिलकुमारी ब्लोन (तामाङ)को दरबार प्रवेश तामाङहरूका लागि दूरगामी महत्त्वको रह्यो।

सीता नामको अर्थ
जेठी पत्नीको मृत्युपछि पाँचौँ राणा प्रधानमन्त्री श्री ३ भीमशमशेरले २४ वर्षकी दिलकुमारीलाई सीता बडामहारानी बनाए। त्यसपछि टङ्गाल दरबारमा एउटा विशेष समारोह आयोजना गरी मुख्तियारदेखि तल्लो दर्जाका अफिसरसम्मलाई हाजिर गराएर बडामहारानीलाई दाम राखी ढोग्न लगाए (प्रमोदशमशेर राणा,‘राणाशासनको वृत्तान्त’–२०७०ः२३७)।

दिलकुमारीको नाम सीता राख्नुको खास अर्थ छ। अन्वेषक रविन्द्र तामाङले (‘तामाङ जातिको ऐतिहासिक रुपरेखा’–२०५८ः३१)मा भीमशमशेरले आफ्नी नवविवाहिता पत्नीको सुन्दरताको चित्रण गर्दै उनलाई ‘सीता’ उपनाम दिएको उल्लेख गरेका छन्। तर, भीमशमशेर आफूलाई रामभक्त भनाउँथे। आफू रामभक्त या रामकै अवतार ठानेर हुनसक्छ, उनले दिलकुमारीको नाम आफ्नै उत्तम जोडीका रूपमा सीता उपनाम दिए। सायद आफ्नो जोडीलाई जनताले राम र सीताको जोडीका रूपमा हेरुन् भन्ने उनको चाहना थियो। 

आफूले शासनभार सम्हालेको बेलालाई भीमशमशेर अरुले ‘रामराज्य’सँग तुलना गरिदिउन् भन्ने चाहन्थे। त्यसैले प्रजामा खान लाउन सुुबिस्ता होस् भनी उनले नुन र रुवाको भन्सार रकम माफ गरिदिएका थिए। उनले सबै किसिमका अपराधमा प्राणदण्डको प्रावधान पनि खारेज गरिदिए (बालकृष्ण सम, ‘मेरो कविताको आराधन’ २०५४ः३०६)। 

भीमशमशेरले आफ्नी प्रियतमा सीतालाई श्री ३ बडामहारानी बनाएपछि उनको निमित्त एउटा भव्य सीता भवन बनाइदिए (सम, उहीः३१८)।  नक्सालमा रहेको सीता भवनमा हाल ‘बालमन्दिर’ र नेपाल ललितकला प्र्रज्ञा प्रतिष्ठानको कार्यालय छ।

शक्तिशाली थिइन् सीता
सीताको शक्तिका बारेमा राणाकालकै एक चल्तापूर्जा व्यक्तित्व काशीनाथ आचार्यको त्यसबेलाको संस्मरणले पनि पुष्टि गर्छ। उनले आफ्नो पुस्तकमा ‘श्री ज. भीमको नारायणहिटी वागको तालिमे नानीसित आसक थियो। यति भएको केही दिनपछि श्री ३ महाराज राज गर्न हनुमानढोका सवारी होइबक्सियो। श्री क. ई. खड्गहरू सव नारायणहिटी सवारी होइबक्सियो। नारायणहिटी राज हुँदा ज. भीमले आफ्नु आसकलाई नानीको दर्जा बक्सी वागबाट ल्याइबक्सेछ । नारानहिटीमा मैले दर्शन पाएँ, दाम राखेँ। ...दाजैलाई जागिर खाने मन भएछ र दाज्यैबाट सो कुरा भन्नुहँुदा सोही मौकामा आफ्नु आधार ज. भीमको हजुरमा विन्ति गरे। वाहाबाट कान्छा महारानीसित विन्ति गर भन्ने मर्जी भयो’ (काशीनाथ आचार्य, ‘भयाका कुरा’–२०३१ः१३) भन्ने उल्लेख छ। यसबाट कान्छा महारानी अर्थात् सीता बडामहारानीलाई त्यसबेला जागिरे वा चाकरीबाजहरूले रिझाउनुपर्ने बाध्यता थियो भन्ने सजिलै बुझ्न सकिन्छ

भीमशमशेर र सीता महारानी

तामाङकी छोरी सीतालाई बडामहारानी दिन नहुने मत राख्नेहरू पनि दरबारमा थिए। तीमध्ये काशीनाथ पनि एक थिए। उनले आफ्नो संस्मरणमा ‘श्री ३ लाई मनपरी गर्नेभन्दा पनि ज्यादा शौख कान्छा महारानीलाई पूरा बढाइ उनको सन्तानलाई सरोवर गर्ने भित्र इच्छा थियो। मैले सो कुरा मञ्जुर नगर्ने ढाचा देखाएको थिएँ, यसमा कान्छा महारानीलाई बडामहारानी गराउने कुरा वागमै उठेको हो। श्री भीमले पनि मरेभन्दा पनि ती भोटेनीलाई बढाएर राख्नुभयो, विहे गरेकीलाई कोठामा कैद गर्नुभयो’ (आचार्य, उहीः२६–२७) भन्ने उल्लेख भएबाट पुष्टि हुन्छ।

त्यतिखेर भीमशमशेरले सीतालाई बडामहारानी घोषणा गरी टङ्गाल दरबारमा दाम राख्न लगाउँदा उनको दर्शन गर्न पुग्ने हाल १०९ वर्षिया चन्द्रकुमारी जोशी अझै जीवित छिन्। त्यसबेलाको दृश्यको वर्णन गर्दै उनले भनेकी छन्, “ओहो, सीता महारानी त भयङ्कर भएकी। गज्जबको लुगा लगाएकी, नाकमा झलल पर्ने फूली लगाएकी । सबै राणाजीले सलाम गरेर दाम राखे” (रुपा जोशी, ‘हिमालखबर’–१५ फागुन, २०७६)।

जोशीका अनुसार सीता शुरूमा भीमशमशेरकी बिरामी रानीलाई स्याहार गर्न दरबार छिरेकी थिइन्। भीमशमशेरले मन पराएपछि उनलाई महारानी बनाउने कुरा चल्दा विरोध गर्नेमध्ये चन्द्रकुमारीका आफूबुवा (काका) पनि एक थिए। उनका काकाले भीमलाई त्यसबेला ‘सीतालाई रानीसाहेबसम्म दिन मिल्ने तथा बडामहारानी त मिल्दैन’ भन्ने मत राखेका थिए। त्यसपछि भीमले उनको काकालाई देशनिकाला गरे। ती काका कलकत्ता गएर बसे। अर्का महाराज (जुद्धशमशेर) भएपछि मात्र उनी नेपाल फर्के (जोशी, उही)।

चन्द्रकुमारी नेपालका पाण्डे गुरुज्यू खलककी छोरी हुन्। उनी 'नाती गुरुज्यू' नामले चिनिएका लोकराज पाण्डेका कान्छा छोरा गुरुज्यू विश्वराज पाण्डेकी छोरी हुन्। जङ्गबहादुर राणाले राजगुरु बनाएका विजयराज पाण्डे खलकका सन्तान हुन्, विश्वराज।

त्यो समय बडागुरुज्यूको पद विजयराजका दाजु तीर्थराजका सन्तानले लगातार पाउँदै आएका थिए। भीमशमशेरको समयमा बडागुरुज्यू पदबाट सिंहराज पाण्डे बर्खास्तीमा परेका थिए। उनको ठाउँमा जनकराज पाण्डेलाई बडागुरुज्यू बनाइएको थियो। सिंहराज वि.सं. १९८३ देखि वि.सं. १९८६ सम्म बडागुरुज्यू भएका थिए (प्रकाश ए. राज, ‘प्राचीन नेपाल’ सङ्ख्या १४५–असार २०५७ः५२)।

चन्द्रकुमारीले आफ्ना काकालाई भीमशमशेरले देश निकाला गरिएको भनी जसलाई सङ्केत गरेकी हुन्, उनी बडागुरुज्यू सिंहराज पाण्डे हुन् भन्ने देखिन्छ। सिंहराजले सीतालाई बडामहारानी दिन नमिल्ने तर्क राख्दा भीमशमशेरबाट उनी खोसुवामा परेका थिए।

सिंहराज पाण्डे पछि वि.सं. २०२० देखि २०२५ र २०३० देखि २०४० सम्म पनि बडागुरुज्यू भएको देखिन्छ (राज, उहीः५३)।

भीमशमशेरका तीन श्रीमतीमध्ये विवाहितातिरका छोरा पद्मशमशेर मात्र थिए। उनी जुद्धशमशेरपछि श्री ३ महाराज बने। भीमशमशेरले आफ्नी अविवाहितातिरका हिरण्यशमशेर तथा रामशमशेरहरूलाई रोलवाला जर्नेल बनाएका थिए। तर, जुद्धशमशेरको समयमा उनीहरू ‘ग’ वर्गका राणा भएकाले कटौतिमा परे। तीमध्ये हिरण्यशमशेरका छोरा कांग्रेसका नेता सुवर्णशमशेरले त राणाशासनविरुद्धको सशस्त्र क्रान्तिमा सक्रियतापूर्वक भाग लिए। उनैले कलकत्तामा बसेर राणाशासनविरुद्ध आफ्नै खर्चमा जनमुक्ति सेना गठन गरेका थिए।

भीमशम्शेरकी सीता वडामहारानीपट्टिका एक मात्र छोरी पिताम्बरी राज्यलक्ष्मी थिइन्। उनी दुई वर्षकी हुँदा र अर्की चार वर्षकी नातिनी दिव्यराज्यलक्ष्मीसमेत दुई नाबालिका कन्याको विवाह तत्कालीन युवराज महेन्द्रसँग गर्न भीमशमशेरले राजा त्रिभुवनसँग प्रस्ताव गरेका थिए। भीमशमशेरको चर्को दवावमा परेका राजा त्रिभुवनले 'नाईं' भन्न नसकी स्वीकृतिका लागि लालमोहर पनि गरिसकेका थिए। 

सन् १९३३ को मार्चमा विवाह सम्पन्न हुने निश्चित भएको थियो। तर, सन् १९३२ सेप्टेम्बरमै भीमशमशेरको निधन भएकाले पूर्वनिश्चित विवाह कागजमै सीमित हुन पुग्यो (राणा, उहीः२४०)। पछि पिताम्बरी राज्यलक्ष्मीको विवाह भारतको उत्तरप्रदेश घामपुर स्टेटका राजा राजेन्द्रसँग भयो।

सीताको माइती दिप्रुङ थुम
हालसम्म सीता बडामहारानीको माइतीगाउँ भोजपुरको सिम्पाने हो (रमेश ढुङ्गेल, ‘हिमाल’ वर्ष १२ अङ्क १५–मङ्सिर १६–३०, २०६९ः३६–३८) भन्ने धारणा प्रचलित भए पनि वास्तवमा उनको माइतीगाउँ तत्कालिन पूर्व ४ नम्बर दिप्रुङ (दिप्लुङ) थुमको दिहु हो। यो ठाउँ पहिले भोजपुर जिल्लामै पर्थ्यो। २०३२ सालपछि यो खोटाङ जिल्लामा पर्न गयो। हालः यो दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर ६ (साविकको सत्यश्वरी छितापोखरी गाविस वडा नम्बर १) मा पर्छ। 

यो तथ्य नातामा सीताको भदा पूर्णबहादुर ब्लोन र भदातर्फको नाती सानबहादुर ब्लोनसितको कुराकानीपछि शोधकर्ता सन्तोष योञ्जन तामाङले लेखकलाई बताएका हुन्। नाचगानलगायत सांस्कृतिक कार्यक्रममा सक्रिय पूर्णबहादुर अहिले वृद्धावस्थामा पुगिसकेका छन्। २०२५ सालमा काठमाडौं पुग्दा आफ्नी फुपु सीता बडामहारानीसँग उनले नक्सालको सीता भवनमा भेट गरेका थिए। त्यसबेला सीताको श्रवणशक्ति अलि कमजोर भइसकेको थियो।

तत्कालिन श्री ३ महाराज भीमशमशेरले सीतालाई बडामहारानी घोषित गरिसकेपछि तीन दाजुभाइ राजमान, हडमान र थानसिंहलाई भने तत्कालीन कानून (मुलुकी ऐन १९१०) अनुसार जनै लगाइदिएर उनीहरूलाई पाँडे थरमा परिणत गराइदिएका थिए (तामाङ, उहीः३१)।

काठमाडौं उपत्यका वरपरका पहाडी भेगमा मूल बसोबास गर्दै आएका तामाङहरू देशका विभिन्न ठाउँमा विभिन्न कारणले छरिएर रहेका छन्। पृथ्वीनारायण शाहको राज्यविस्तार अभियानका क्रममा तामाङहरूलाई भारी बोकाएर पूर्व क्षेत्रको अभियानमा लगिएको थियो। पृथ्वीनारायण शाहले पूर्वको अभियानमा पहाडी खण्डमा रामकृष्ण कुँवर र अमरसिंह थापालाई तथा तराई खण्डमा अभिमानसिंह बस्न्यात र पारथ भण्डारीलाई खटाएका थिए।

यसरी सैनिक खटाइँदा पूर्वतिरका पहाडका बाटाघाटा असजिला हुनाले भरियाका रूपमा बन्दोबस्त मिलाउन पृथ्वीनारायण शाहले सैनिकमा भर्ना नहुने मुर्मी, सुनुवार र थामीलाई पाखाबाली हुने जग्गा किपट दिई लडाइँको रसद, हतियार आदि बोक्ने काम ठेकिदिएका थिए (बाबुराम आचार्य, ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’–२०६१ः४१८)।

यताबाट विचार गर्दा दिलकुमारी ब्लोनका माइतीका पुर्खाहरू यसरी नै गोरखाली सेनाको बन्दोबस्तीका सामानहरू बोकेर रामकृष्ण कुँवर र अमरसिंह थापाहरूसँगै खोटाङ तथा भोजपुर पुगी पछि त्यतै बसोबास गरेका हुन् भन्ने अनुमान हुन्छ।

जङ्गबहादुरकी पनि तामाङ रानीसाहेब
तामाङसँग विवाह गर्ने राणा प्रधानमन्त्रीहरूमा भीमशमशेर पहिलो होइनन्। उनीअघि नेपालमा राणा शासनको जग बसाउने जङ्गबहादुरले एक तामाङ स्त्रीलाई रानीसाहेबका रूपमा दरबार भित्र्याइसकेका थिए। त्यसपहिले तागाधारीहरूलाई तामाङको हातको पानी चल्दैनथ्यो। जङ्गबहादुर राणाले भारदारीसभा बसी कोचे र मेचेको पानी चलाउने निर्णय गरे। यस्तै साल्मी (मानन्धर) र भोटे (तामाङ)हरूको हातको पानी जङ्गबहादुरकै आदेशमा चलाइयो (पुरुषोत्तमशमशेर जबरा, ‘श्री ३ हरूको तथ्यवृत्तान्त’–२०६५ः१४३)।

जबराले कहिलेदेखि यी जातथरको पानी चलाउन थालियो, यसबारेमा मिति भने उल्लेख गरेका छैनन्। यसैगरी पानी चलाउन थाल्नुको कारण पनि खुलाएका छैनन्। तर मेचेहरूको पानी चलाइएको प्रमाण खुल्ने एक पत्र भने ‘रेग्मी रिसर्च सेरिज’मा पाइएको छ। वि.सं. १९१९ साउन सुदी १ मा खजाञ्ची शिवप्रसाद अर्याललाई पठाइएको पत्रमा आफूहरूको पानी चलाउनका लागि मेचेहरूले फिराद गरेको र भारदारी सभा बसी उनीहरूको पानी चलाउने निर्णय गरिएको उल्लेख छ (महेश सी. रेग्मी, ‘रेग्मी रिसर्च सेरिज’ वर्ष ५ अङ्क ७–जुलाई १९७३ः१३८) ।

यस तथ्यलाई मध्यनजर राख्दा तामाङहरूको पनि १९१९ साउनदेखि पानी चलाउन थालिएको अनुमान गर्न सकिन्छ। तामाङहरू हिन्दू वर्णाश्रमअन्तर्गत नपर्ने हुँदा वर्णाश्रम प्रथाबाट सिर्जना गरिएको छुवाछुतको कारण उनीहरूलाई पानी अचल गरिएको भने होइन। तामाङहरू गोभक्षक भएका कारण केन्द्रीय शासनसत्ता हिन्दू धार्मिक दर्शन, मूल्य र मान्यताबाट सञ्चालन हुने हुँदा उनीहरूलाई पानी अचल गरिएको सहज अनुमान गर्न सकिन्छ।

हिन्दू वर्णाश्रमले घोषणा गरेको छुवाछुतबाट पीडित दलित वर्गले भोग्नु परेको पानी अचलको अवस्था भने तामाङहरूको होइन। राजा राजेन्द्रविक्रम शाहको समयमा, १८८५ चैत वदी ६ रोज ५ मा जारी गरिएको पशुपतिनाथको मन्दिर प्रवेशसम्बन्धी लालमोहरले पनि यो कुरा पुष्टि गर्छ। लालमोहरमा ‘हीण्डुः जातका पानी चलने जातले र पाहाड्का तामां भोटेले : चढी दर्शन गर्न हुन्छ। हीण्डु पानी नचलने जातमा  कामकाजले जाहासम्म गै काम गर्नुपर्छ ताहांसम्म कसाहि कुसले जातसम्मले र थाक्स्या भोटेले बाहिरका ढोकाभीत्र देवल्वाहेक चोकसंम जान हुन्छ सीढीमा चढ्न हुदैन अरु पोडे च्यामखलक कामी सार्की दमाई भाड वादि र हिन्डु वाहेकका पानी नचलने जातले चोकका वाहिरी ढोकाबाट भीत्र जान हुदैन...’ भन्ने उल्लेख हुनु यसको प्रमाण हो।

जबरा (उहीः१४३)ले जङ्गबहादुरकी ४२औँ श्रीमतीमध्ये एकजना भोटेनी (तामाङ्नी) भएकी, उनी कुनै मैया साहेबकी धाई भएकी तर उनको बाबु आमाको नाम र उनीबाट सन्तान भए नभएको केही थाहा नभएको उल्लेख गरेका छन्। जङ्गबहादुरका छोरा पद्मजङ्ग राणाले पनि आफ्ना बाबुका श्रीमतीहरूको सूचीमा एक जना भोटेनी भित्रिनी भएको उल्लेख गरेका छन्। सूचीमा उनी वामा मैयाकी धाई भएकी र यिनको लोग्ने छ (कमल दीक्षित, ‘जंग–गीता’–२०४०ः१४३) भन्ने परेबाट जङ्गबहादुरले पूर्वविवाहित यिनलाई अर्का पुरुषबाट खोसेर दरबार भित्र्याएका रहेछन् भन्ने बुझिन्छ।

यस्तै प्रो. शिवराज पण्डितले टिपाएको जङ्गबहादुरका श्रीमतीहरूको सूचीमा यिनलाई ‘भोटेनी रानीसाहेब’ (वामा धाई) उल्लेख गरिएको छ (दीक्षित, उहीः १४७)। भोटुद्वारेले टिपाएको सूचीमा वामा मैया जङ्गबहादुरका श्रीमतीमध्ये एक मीना महारानीतिरकी छोरी भएको उल्लेख छ (दीक्षित, उहीः१४५)। यताबाट हेर्दा जङ्गबहादुरको दरबारमा उनी मीना महारानीतिरबाट जन्मेकी वामा मैयाको धाईका रूपमा प्रवेश गरेकी पूर्वविवाहीत यी तामाङ महिलालाई जङ्गबहादुरले ल्याइता भित्रिनी बनाएको देखिन्छ। उनले एक तामाङ महिलालाई आफ्नो भित्रिनी रानीसाहेब नै बनाइसकेपछि तामाङहरूको पानी चलाउन थालिएको अनुमान गर्न पनि त्यति गार्हो छैन।

यसरी जङ्गबहादुरले पनि दरबारमा एक धाईको रूपमा प्रवेश गरेकी तामाङ महिलालाई रानीसाहेब बनाएको इतिहास रहेकोले भीमशमशेरमा एक सुसारेको रूपमा दरबार पसेकी तामाङ महिलालाई आफ्नी विवाहिता श्रीमतीको मृत्युपछि बडामहारानी बनाउने आँट आएको हुनुपर्छ।

विधवा महारानीमाथि लुटपाट
सन् १९३२ सेप्टेम्बर १ (वि.सं. १९८९ भदौ १७ गते) भीमशमशेरको मृत्यु भयो। उनी बेलुका गाँजा तानिसकेपछि एकदम चिल्लो र पीरो खाना खान्थे। खाना खाएर चुठ्ने बेलामा घाँटीमा औँला हालेर खाइसकेको खाना बान्ता गरेर निकाल्ने उनको बानी थियो। सधैँझैँ साबिकको खाना खाइसकेपछि उनले बान्ता गर्न खोज्दा घाँटीभित्र केही चिज अड्केजस्तो भयो। उनले त्यो चिज निकाल्न सकेनन् र छटपटाउन थाले। त्यतिखेरै पक्षघात पीडित तेजशमशेरको उपचार गर्न कलकत्ताबाट इन्दुभुषण  राय र भर्खरै डाक्टरी पास गरेर स्वदेश आएका सिद्धिमणि मिलेर उनको घाँटीबाट रबरको पाइप छिराएर पेटमा जम्मा भएको पदार्थ निकाल्न खोज्दा रगत निस्कियो। उनी झनै छटपटाउन थाले। वेदना सहन नसकेर उनको मृत्यू भयो (राणा उहीः२४३) ।

उनको पार्थिव शरीर टङ्गाल दरबारको दुबे चोकमा रामनामी र तासको कपडाले छोपेर राखिएको थियो। दुई गुँडका छोराहरू लासको दुईतिर बसेका थिए। नयाँ महाराजको आदेश प्राप्त नभई लास उठाउन नहुने परम्परा थियो। सबै जना आदेशको प्रतिक्षामा थिए। माथि महाराजको खोपीमा नातिनी–बुहारीहरू पसेर भर्खर विधवा भएकी सीता महारानीको कम्मरबाट साँचोको झुप्पा खोसी महाराजको ढुकुटी खोली असर्फीका थैली र गिनीका धोक्राहरू फोरी एक घण्टाजति लुट मच्चाएका थिए (राणा, उहीः२४३)।

भीमशमशेरको योगदान
तामाङहरूले वि.सं. १९८९ देखि मात्रै आफूहरूको जातथर ‘तामाङ’ लेख्न पाउने स्वीकृति प्राप्त गरे। यसका लागि तत्कालीन श्री ३ महाराज भीमशम्शेरले एक इस्तिहार जारी गरिदिएका थिए। आफूहरूले ‘तामाङ’ लेख्न पाउनुपर्ने माग गर्ने अघिसरा सरदार जङ्गबीर हुन्। 

भीमशमशेरले जारी गरेको इस्तिहारको ब्यहोरा यस्तो छः ...आगे नेपाल सरहदभर मुलुकका जङ्गी निजामती अड्डा गौँडा गोश्वारा भैभारदार रैतिदुनिय गैड्रके यथोचित उप्रान्त बार्ह तामाङ जातलाई लामाभोटे भन्ने चलन चलेकोमा अरु–अरु अनेक किसिमका जात थरकाहरू पनि लामा भोटे भनी बोलाईने र लेखिने हुनाले कुन भोटे के जात थरको हो केही छुटिने भएन हामी बार्ह तामाङलाई आफ्नो तामाङ जात भन्ने भनिने लेख्ने लेखाईने गराई बक्स्ये हुँदोहो भनी सो तामाङ जातका सरदार बहादुर जङ्वीर तामाङदेखि ओ.वी.ई.डी.एम.एल.सी. अगुवा भै जाहेर गरेको कुरा मुनासीबै लेखिएको हुँदा सो कुरा मन्जुर गरी बक्सी यो इस्तिहार जारी गरी बक्सेको छ। अब उप्रान्त हाम्रा नेपाल सरहद गोरखा राज भरका तामाङ जातले आफ्नो जात लेख्दा लेखाउँदा तामाङ भनी लेख्ने लेखाउँने गर्नु जङ्गी निजामती सरकारी अड्डाखाना पल्टनका कागजमा र दुनियादारको व्यवहारमा पनि बार्ह तामाङ जातका भोटेको जात लेख्दा र सो जातका भोटेलाई बोलाउँदा लामाभोटे नभनी तामाङ भनी लेख्ने बोलाउने गर्नु इति सम्वत् १९८९ साल भाद्र ६ रोज १ शुभम् (तामाङ, उहीः२६)।

यो इस्तिहार जारी भएको दिन भदौ ६ गतेलाई तामाङहरूले आफ्नो ‘पहिचान दिवस’का रूपमा मनाउने गर्छन्। भदौ ६ गते यो इस्तिहार सरोकारवालालाई दिइएको अनुमान हुन्छ। तर, यो इस्तिहार सर्वसाधारणका लागि समेत जानकारीका लागि सार्वजनिक गर्ने उद्देश्यका साथ १९८९ साउने ११ गते सोमबार गोरखापत्रले भाग ३२ सङ्ख्या १५ को पहिलो पृष्ठमै प्रकाशित गरिसकेको थियो।

यसरी पूर्वी नेपालको एउटा दूर्गम पहाडी गाउँबाट सुसारेको रुपमा दरबार छिरेर तत्कालीन श्री ३ महाराजको हृदय पगाली बडामहारानीसमेत घोषित एक तामाङ चेलीले खास समुदायले तामाङ समेत लेख्न नपाउने त्यो समयमा आफ्ना माइती खलकलाई जातीय पहिचान दिलाउन ऐतिहासिक रूपमा सफल भइन्।


सम्बन्धित सामग्री