दिल्ली सम्झौताको विरोध गर्ने डा. के आइसिंह भारतीय सैनिकको सहयोगमा पक्राउ परे। विद्रोही भीमदत्त भारतीय सेनाद्वारा मारिए। मन्त्रीपरिषद् बैठकमा भारतका राजदूत बस्ने परम्परा त्रिभुवनकै पालामा बस्यो।
पूर्व राजा ज्ञानेन्द्र प्रशंसायोग्य छन्। ०६२/०६३ सालको आन्दोलन दबाउन उनले ठूलो नरसंहारको बाटो रोजेनन्। अढाई सय वर्षको विरासत बोकेको राजसंस्था विघटन हुँदा र स्थायी गद्दी स्थायी रूपमा त्याग्दा खासै हताश देखिएनन्। मन रोएकै थियो होला, तर रोनाधोना गरेनन्। उनलाई गद्दीच्युत गराउन रगताम्मे हुने गरी आन्दोलनमा होमिएकाहरू कालान्तरमा अस्थायी कुर्सी त्याग गर्न पर्दासमेत ग्वाँग्वाँ रोए। नवयुवाको आन्दोलन र तत्पश्चात् भएको विध्वंसपछि देशमा शासकीय रिक्तता देखियो। देश तबाह भएका बेला पूर्व राजाले मौकामा चौका हान्न खोजेनन्, कम्तीमा मरिहत्ते गरेनन्। पूर्व राजा ज्ञानेन्द्रको सुझबुझपूर्ण परिपक्वता उदाहरणीय छ।
पूर्वराजामा देखिएको परिपक्वता शाह वंशले भोगेका अनेकन् हन्डर ठक्करको उपज हो। शाह वंश भित्रको घात प्रतिघात र षडयन्त्र राजा वीरेन्द्रसम्म आइपुग्दा वंश विनाशमा पुग्यो। दरबारभित्रको शक्ति संघर्षले दरबारलाई मात्र कमजोर बनाएन, बेलाबेला राष्ट्रिय स्वाधीनता नै जोखिममा पार्यो। पृथ्वीनारायण शाहको नेतृत्वमा अनेक भूगोल एकै ठाउँमा गाभिँदा नेपाल राज्य बनेको हो। आज यस सरहदको पहिचान नेपाल र हामी नेपाली भएका हौँ। नियतिको खेल वा शक्ति संघर्षको नियम, पराक्रमी राजा पृथ्वी दुनियाँलाई एक गर्न सफल रहे पनि आफ्नै परिवार एकताबद्ध गर्न भने विफल रहे।
'एकताका प्रतिक'कै परिवारमा बेमेल
गोरखाले राज्य एकीकरण थालेसँगै दरबारभित्र टुटफुट र विभाजन देखिइसकेको थियो। राजाका कान्छा भाइ शूरप्रताप पहिले नै गोर्खा छाडी कास्कीतिर गायब भइसकेका थिए। इतिहासकार बाबुराम आचार्यले चर्चित पुस्तक 'अब यस्तो कहिल्यै नहोस्'मा पृथ्वीनारायण शाहका अर्का भाइ चौतरा महोद्दामकीर्ति शाह पनि भागेर दाइ पृथ्वीको विरोध गर्दै कास्की हानिएको उल्लेख गरेका छन्। दाजुभाइकै बेमेलका बीच पनि पृथ्वीनारायण शाह राज्य बिस्तारमा सफल दरिए। तर, उनको निधनसँगै दरबारभित्रको खिचातानी, लहड र पौँठेजोरी अनियन्त्रित हुन पुग्यो। दरबारभित्रको अनेकताका कारण नेपालले आफ्नो एक तिहाइ भूभाग मात्र गुमाउनु परेन, नेपालमा विदेशी हस्तक्षेप निम्तियो।
नेपाल एकीकरणको सन्दर्भमा राजा पृथ्वी नारायण शाहसँगै अभिन्न रहने नाम हो–बहादुर शाह। बहादुर शाहको प्रतिष्ठा र दबदबा दाजु प्रतापसिंह शाहलाई रुचेन। दरबारमा राजहरण हुने हौवा फिँजाइयो। फलतः राजा प्रतापसिंहले भाइ बहादुर शाह र काका दलजित शाहलाई कैद गरे। प्रतापसिंह शाहको अल्पायुमै निधन भएपछि दरबारभित्रको शक्ति संघर्षले नयाँ रूप लियो। राजेन्द्रलक्ष्मीलाई सती पठाउने र अढाई वर्षका रणबहादुर शाहलाई राजा बनाइ नायवी चलाउन भारदार र राजपुरोहितहरू सक्रिय भए।
इन्तु न चिन्तु अवस्थामा पुगेकी राजेन्द्र लक्ष्मीले देवर बहादुर शाहलाई कैद मुक्त गर्दै सहयोगका लागि याचना गरिन्। बहादुर शाह कैद मुक्त भएपछि राज्यलक्ष्मीलाई राजकाजबाट अलग गर्ने योजना सफल हुन पाएन। दरबारको संकट टरेपछि बहादुर शाह र राजेन्द्रलक्ष्मी बीचको खटपट बल्झियो। उनी पटक पटक कैद गरिए। दरबारभित्रको मामिलामा क्रमशः देश बाहिरका शक्ति आमन्त्रित हुन थाले।
कलह दरबारमा, तरंग परदेशमा
बालखैमा राजा भएका रणबहादुर शाहको उमेर जति बढ्दै गयो, दरबारभित्रको कलह उत्ति नै फैलँदै गयो। रणबहादुर शाहको रवैयाबाट आजित भएका बहादुर शाहले चिनियाँ अधिकारी सुङ युनलाई पत्र लेखेका थिए। उनले पत्रमा आफूलाई रणबहादुरको तुच्छ व्यवहारबाट मुक्त गराइपाऊँ भनी याचना गरेका थिए। मिलेर राजकाज गर्नु भन्ने सल्लाह चिनियाँ पक्षले दियो। बहादुर शाह चीन भ्रमणमा जान चाहन्थे। चीनले भ्रमण स्वीकृतिका लागि राजा रणबहादुरलाई पत्राचार गर्यो। यही विषयलाई लिएर रणबहादुर शाहले काका बहादुर शाहलाई कैद गरिदिए।
राजा रणबहादुरले एउटा टोली ल्हासा पठाए। दरबार र चीन स्वयंका लागि बहादुर शाह किन खतरनाक छन् भनी बेलिबिस्तार लगाइयो। बहादुर शाहले दाजु प्रतापसिंहको हत्या योजना बनाएको, राजा रणबहादुरको ज्यान लिने दुस्साहस गरेको, चीनसँग युद्ध गर्नका लागि अंग्रेजसँग सम्झौता गरेको लगायत भएनभएका कुरा चिनियाँ अधिकारीसमक्ष जाहेर गरियो। विक्रम संवत् १८५४ आषाढ १४ गते बहादुर शाहको गुप्त अवस्थामै ज्यान गयो। नेपालको आन्तरिक मामिलामा विदेशी शासकको सहारा खोजी गरिएको बहादुर–रणबहादुरको कलहलाई पराधीनताको प्रारम्भ मान्न सकिएला।
नरोकिएको रणबहादुरको रडाको
दरबारमा वैधानिक दुई श्रीमती छँदै थिए, पशुपति दर्शन गर्न गएका बेला रणबहादुरले विधवा कान्तवतीलाई देखे। चौपट्ट राम्री कान्तवतीको रूपले रणबहादुरलाई एकसुरे बनाइदियो। विधवा विवाह सो जमानामा वर्जित थियो। रणबहादुर लहडी थिए भनौँ या क्रान्तिकारी, उनलाई कान्तवती नभई भएन। कान्तवतीबाट जन्मने सन्तानलाई राजा बनाउने मन्जुरनामा पछि उनी तेस्री रानीका रूपमा दरबार भित्रिइन्। सनकी राजाको उपमा पाएका रणबहादुरले पशुपतिनाथ मन्दिरलाई तोपले उडाउने अन्तिम तयारी गरेका थिए। जसोतसो रोकिए।
तुलजा भवानीको मूर्तिलाई उनले मसानघाटमा बगाइदिए। दामोदर पाँडेलगायत भारदारहरू दरबारभित्र मारिए। क्रमशः दिग्दार हुँदै गएका रणबहादुर शाह स्वामीको भेषमा बनारस पलायन भए। इतिहासकार प्रमोदशमसेर राणाले राणासाशनको वृत्तान्तमा सविस्तार यसबारे चर्चा गरेका छन्। रणबहादुर शाह बनारसमा रहँदा ऋणमा चुर्लुम्म डुबेका थिए। खराब ऋणी रणबहादुरका कारण नेपालको बदनामी नै भएको इतिहासकार प्रमोद शमशेरको कथन छ।
सुगौली सन्धि, अंग्रेज रेसिडेन्सी र दरबार
रणबहादुर शाहको पनि आफन्तबाटै हत्या भयो। कान्तवतीपट्टीका गिर्वाणयुद्ध राजा बनाइए। उनको पनि १९ वर्षको उमेरमा निधन भयो। एक दिन पनि खाली हुन नहुने राजसिंहासन १८ दिनसम्म खाली रह्यो। कारण थियो दरबारभित्रको राजनीति।
१८ दिनपछि मात्र तीन वर्षीय राजेन्द्रविक्रम राजा घोषित भए। देश अंग्रेज सँगको भीषण लडाइमा थियो, तर दरबारमा शक्तिका लागि भयंकर संर्घष जारी रह्यो। यसै मेसोमा सुघौली सन्धि भयो। नेपालले एक तिहाइ भूभाग गुमाएन मात्र, स्वाधीनता पनि गुमायो। भलै नेपाल विधिवत् रूपमा उपनिवेश भएन, आन्तरिक मामिलामा अँग्रेज हस्तक्षेप नयाँ रहेन। विक्रम संवत् १८७३ देखि काठमाडौँमा स्थायी रूपमा अंग्रेज रेजिडेन्सि रहन थाल्यो। यहीँबाट प्रारम्भ भयो नेपालको आन्तरिक मामिलामा खुलेआम विदेशी हस्तक्षेप।
राजदरबार भित्रको शक्ति संर्घषका कारण थापा गुट र पाँडे गुट जबरजस्त तयार भइसकेका थिए। दुई रानी साम्राज्यलक्ष्मी र राज्यलक्ष्मीका बीचमा कसको छोरालाई भावी राजा बनाउने भन्ने विषयमा ठुलै संर्घष थियो। यसै संर्घषको घानमा मुख्तियार माथवरसिंह थापा मारिए। उनका भानिज जङ्गबहादुर कुँवर दरबारमा शक्तिशाली हुँदै गए। दरबारभित्रको अन्धो शक्ति संर्घषका कारण कोतपर्व मच्चियो। मध्यरातमा भएको कोत पर्वबारे जानकारी पाएपछि राजा राजेन्द्र कोत पुगेनन्।
अंग्रेज रेजिडेन्टसँग भेट्न लैनचौर जान्छु भनी त्यसतर्फ प्रस्थान गरे। मध्यरातमा लैनचौरको ढोकामा पालकी पुगेपछि राजदूतलाई खबर पठाए द्वारेले। कार्यवाहक रेजिडेन्ट कप्तान जर्ज ओटलेले मध्यरातमा कसैलाई भेट्दिनँ भनी राजालाई फिर्ता पठाइदिए। यसअघि ब्रायन हगसन रेजिडेन्ट हुँदा पनि भारतीय मूलका व्यापारी शिव बक्ससँगको लेनदेनसम्बन्धी कुरालाई लिएर राजा र युवराजसमेत दुवै जना रेजिडेन्सीमा पुगेका थिए। कोतपर्वसँगै राणा शासनको उदय भयो। जङ्गबहादुरले कोतपर्वको भोलिपल्ट अंग्रेज रेजिडेन्टप्रति वफादार रहने कसम खाइसकेका थिए।
हट्यो राणाकाल, हटेन परनिर्भरता
जङ्गबहादुरबाट सुरु भएको राणा शासनको मुख्य चरित्र अंग्रेज प्रतिको बफादारिता थियो। भारतबाट अंग्रेजको प्रत्यक्ष शासन पलायन भएपछि बफादारिता भारतीय सत्तातर्फ ढल्कियो। नेपालमा प्रजातन्त्रका लागि आन्दोलन चर्कँदै थियो। चौतर्फी चेपुवामा परेका राणा प्रधानमन्त्री मोहनशमशेरलाई भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूले भ्रमणका लागि निम्ता गरे सन् १९४९ को डिसेम्बरमा। नेपाली महाराजले दुई वटा सर्त राखे; १. राष्ट्राध्यक्षलाई जस्तो २१ तोपको सलामी पाउनुपर्ने र भ्रमण दलमा २ सय जना सहभागी हुने। सर्त स्वीकृत भयो। सन् १९५० मा नेपालका प्रधानमन्त्री रेलमार्ग हुँदै दिल्ली हानिए। उनको स्वागतमा नेहरु नै उपस्थित थिए।
मोहनसमशेरले खोजेअनुरूपकै सम्मान मिल्यो। तर उनलाई गरिएको सम्मान शान्ति तथा मैत्री सन्धिका लागि पृष्ठभूमि थियो भन्ने उनले बुझेनन्। प्रसन्न मुद्रामा स्वदेश फर्किएका मोहनसमशेरले परराष्ट्र विभागका डाइरेक्टरलाई भारत पठाइ ३१ जुलाई सन् १९५० दिन नेपाल भारत शान्ति मैत्री सन्धि र नेपाल भारत व्यापार सन्धि गराए। असमान सन्धिका रूपमा आजपर्यन्त चर्चामा रहेको यो सन्धि पछिसम्म गोप्य राखिएको थियो। जुन २८, १९६० मा नेपालको मुस्ताङको कोर्लापासमा चीनका सैनिक अधिकारीहरूले नेपालका सैनिक अधिकारीको हत्या गरे। प्रधानमन्त्री नेहरूले नेपाल माथिको हमलालाई भारतमाथिको हमला सम्झनुपर्छ भन्दै भारतको संसदमा वक्तव्य दिए। उनको भनाइले नेपाल प्रतिको प्रेम र हस्तक्षेप एकसाथ झल्काउँथ्यो। यो भनाइ निकै विवादास्पद बन्यो।
असमान सन्धि गरेपछि सायद मोहनशमशेरले राणा शासनलाई कसैले हल्लाउन नसक्ने सोचेका थिए, त्यसका बाबजुद पनि राणा शासन बचेन। मानसम्मानका साथ भारतमा स्वागत गरिएका राणा प्रधानमन्त्रीविरुद्ध विद्रोह गर्ने राजा त्रिभुवनलाई पनि भारतले मानसम्मान दियो। उनको भव्य स्वागत र सम्मानमा प्रधानमन्त्री नेहरु नै खटिए। राणा र राजा दुबैसँग एकपछि अर्को लाभ लिन भारत किन चुक्थ्यो र?
राजा त्रिभुवनको भारत प्रस्थान रहस्यमयपूर्ण थियो। कांग्रेससँग प्रजातन्त्रका लागि कार्यगत एकता गरेको भनिएका राजा त्रिभुवन कांग्रेसलाई जानकारी नदिईकनै भारतीय दूतावास छिरेका थिए। कांग्रेस नेताद्वय बीपी कोइराला र कृष्णप्रसाद भट्टराईले आफ्नो आत्मवृत्तान्तमा राजाबाट अप्रत्याशित कदम चालिएको उल्लेख गरेका छन्। राजा त्रिभुवनलाई आफ्नो नियन्त्रणमा रहेको पाल्पा लैजाने तयारीमा थियो काँग्रेस। तर राजा दूतावासको शरणमा किन पुगे? प्रश्न अझै अनुत्तरित छ।
राजा त्रिभुवन २००७ साल कात्तिक २१ गते सपरिवार भारतीय दूतावास गएका थिए। सिकारका लागि निस्केका भनिएका राजाले राणा शासनलाई सिकार बनाउने उद्देश्य लिएका थिए। उनको उद्देश्य राणा शासनलाई सिकार बनाउने भए पनि परिणाम नेपालको स्वाधीनता नै सिकार हुने गरी आयो। कात्तिक २५ गते राजालाई भारतबाट आएका २ वटा विमानमार्फत दिल्ली लगियो। विमान अवतरण गर्न नदिने राणा प्रधानमन्त्रीको चेतावनीलाई धम्काएर वा सम्झाएर भारतीय पक्षले साम्य पारेको थियो। त्यसपछि भारतीय विमानले काठमाडौँको आकाशबाट पर्चा पम्प्लेट गरेको इतिहासकार प्रमोद शमशेर राणाले राणा शासनको वृत्तान्तमा उल्लेख गरेका छन्।
भारतमा त्रिपक्षीय सम्झौता गरी त्रिभुवनको विद्रोह र राणा शासनको अन्त्य गरिएको थियो। बीपी कोइराला र कृष्णप्रसाद भट्टराईको आत्मवृत्तान्त अनुसार राणा, राजा र काँग्रेसका बीचमा भएको भनिएको सो त्रिपक्षीय सम्झौता मूलतः भारतीय प्रधानमन्त्री नेहरुको दस्ताबेज थियो। काँग्रेसलाई सम्झौता मान्न बाध्यमात्र बनाइएको थियो। नेपालका राजा, राणा र तत्कालीन विद्रोही काँग्रेसलाई दिल्लीमा भेला गराएर भारतले नेपालको राजनीतिक नक्सा कोरिदिएको थियो। त्यो नक्सा कोराउने माध्यम बनेका थिए राजा त्रिभुवन। जब राजा त्रिभुवन नेपाल भित्रिए, ऐतिहासिक स्वागत पाए। तर त्रिभुवन एक्लै थिएनन्, उनका सहयोगी अर्थात् पीए बनेर आएका थिए भारतका सचिव गोविन्द नारायण। भारतका सचिव स्वाधीन देश नेपालका राजाका सहयोगी कसरी बने? नेपालका राजा स्वाधीन वा पराधीन?
दिल्ली सम्झौताको विरोध गर्ने डाक्टर के आइसिंह भारतीय सैनिकको सहयोगमा पक्राउ परे। विद्रोही भीमदत्त भारतीय सेनाद्वारा मारिए। नेपालको मन्त्रीपरिषद् बैठकमा भारतका राजदूत बस्ने परम्परा त्रिभुवनकै पालामा बस्यो। भारतीय दूतको ज्यादतीबारे बीपीले आफ्नो आत्मवृत्तान्तमा मज्जैले लेखेका छन्। बीपीले भारतका दूत भगवान् सहायरुद्ध वक्तव्य नै जारी गरेका थिए। नेपालको सुरक्षा समितिको बैठक भारतीय दूतावासमा बस्ने गरेको अँध्यारो पाटो छ।
राष्ट्रवादी भनिएका राजा महेन्द्रले प्रजातान्त्रिक सरकार विस्थापित गर्दा भारतको अप्रत्यक्ष सहयोग लिएका थिए। २०१७ साल मङ्सिर २८ गते सिकार खेल्ने निहुँमा भारतका सेनाध्यक्ष जनरल के एम थिमैया ठोरीको जङ्गलमा आए। त्यहीँ भारतीय राजदूत भगवान् सहायले महेन्द्र र थिमैयाको भेट गराएका थिए। त्यसको दुई दिनपछि महेन्द्रले निरंकुश शासन सुरु गरे। यो कुरा राष्ट्रिय पञ्चायतका अध्यक्ष रहिसकेका पूर्वमन्त्री नवराज सुवेदीले आफ्नो पुस्तक 'इतिहासको एक कालखण्ड'मा उल्लेख गरेका छन्। पछि राजा महेन्द्र र भारतबीच मतान्तर भयो। मन्त्रिपरिषदमा आफूले सिफारिस गरेका पात्र नपरेकोमा भारतीय पक्ष रुष्ट भएको थियो। महेन्द्रको शासनकालमा नेपालको उत्तरी क्षेत्रमा तैनाथ भारतीय सुरक्षा फौज हटेको थियो। तर, उत्तिकै सत्य कुरा के हो भने महेन्द्रकै कालमा कालापानीमा भारतीय क्याम्प बसेको हो। राजतन्त्रको गरिमाबारे पैरवी गर्ने प्राध्यापक डाक्टर रमेश ढुंगेलका विचारमा महेन्द्रले भारतलाई बढी नचिढाउन कालापानीमा मौन बसेका हुन सक्छन्।
राजा महेन्द्रले भारतको अप्रत्यक्ष सहयोगमा बीपीलाई अपदस्थ नगरेको भए नेपाल लोकतान्त्रिक रूपमा आज परिपक्व भइसक्थ्यो। आज जुन राजनीतिक गोलचक्करमा देश गुज्रिएको छ, त्यो काल उहिल्यै टरिसक्थ्यो। त्यो सुवर्ण मौका महेन्द्रका कारण गुम्यो।
वीरेन्द्र र पारिवारिक बेमेल
राजा वीरेन्द्र बाहिरी दुनियाँमा जति लोकप्रिय थिए, दरबार भित्रको शक्ति संघर्षमा झन्डै एक्लो थिए।
उनले नागरिकताका विषयमा लिएको अडान आजपर्यन्त ओजपूर्ण छ। त्यसका बाबजुद जनमत संग्रहताका सीमावर्ती क्षेत्रका कैयौँ मानिसलाई मतदाता नामावलीमा सूचीकृत गरियो। प्रधानमन्त्री थिए सूर्यबहादुर थापा। पञ्चायत जिताउनु थियो, सबै रणनीति अख्तियार गरियो। पछि राजा वीरेन्द्रले घोषणा नै गरे: सो नामावली मतदान प्रयोजनका लागि बाहेक अन्य प्रयोजनका लागि मान्य नहुने। तर यो आफैँमा दोहोरो नीति थियो। व्यवस्था छान्ने अधिकार दिइसकेपछि नागरिकता लिने अधिकारबाट वञ्चित गर्ने कुरा कति सम्भव थियो? राजा वीरेन्द्र मतदाता नामावलीबारे पछिमात्र जानकार भए वा सुरुमा आँखा चिम्लिदिएका थिए? अनुत्तरित छ।
पूर्व सैनिक सचिव विवेककुमार शाहले लेखेको 'मैले देखेको दरबार'मा दरबारभित्रका थुप्रै बाहिर नआएका विषय समेटिएका छन्। तीस वर्ष राजदरबारभित्र सेवा गरेका पूर्वसैनिक सचिवले लेखेको सो पुस्तकका अनुसार राजा वीरेन्द्र भारतवेष्टित नेपालको राजनीतिलाई स्वाधीन र राजतन्त्र अनुकूल बनाउन एउटा नयाँ कदम लिने अन्तिम तयारीमा थिए। तर, उनी दरबारभित्रै मारिए। उनको मरण यसअघि दरबारभित्रको शक्तिसंर्घषमा भएका हत्याकाण्डको पुनरावृत्ति वा अरू केही हो? अझै रहस्यमा छ। कस्ती बुहारी भित्राउने भन्ने ऐश्वर्य–ऐठनका कारण वीरेन्द्रको वंशनाश भएको बताइन्छ।
०४५ सालमा भारतले नेपालमाथि नाकाबन्दी लगाएर राजा वीरेन्द्रलाई गलाउन र आफू अनुकूलको सम्झौता गराउन चाहेको थियो। पूर्व पराराष्ट्रमन्त्री रमेशनाथ पाण्डे लिखित आत्मवृत्तान्तमा राजा वीरेन्द्रले भारतसँग सम्झौता गर्नुभन्दा देशभित्रका दलसँग सम्झौता गरी बहुदल दिएको उल्लेख छ। बहुदल आएपछि पनि राजा वीरेन्द्रले भारतले चाहेअनुसार नागरिकता विधेयकमा लालमोहर लगाउन नमानेको जगजाहेरै छ।
ज्ञानेन्द्रको भारतीय पक्षसँग याचना
अधिराजकुमारका रूपमा ज्ञानेन्द्र शाहको भूमिका कस्तो थियो भनी बुझ्न भेषबहादुर थापाको पुस्तक 'राष्ट्र—परराष्ट्र' र पञ्चायतकालीन हस्ती नवराज सुवेदी लिखित 'इतिहासको एक काल खण्ड' पर्याप्त छन्। राजा फर्काउन गठित जनआन्दोलनका कमान्डर सुवेदीका अनुसार अधिराजकुमार ज्ञानेन्द्र शाहको ध्याउन्न पैसा कमाउनु मात्र थियो। अधिराजकुमार ज्ञानेन्द्र दाजु वीरेन्द्रको नरम शासन शैलीप्रति सन्तुष्ट थिएनन्।
नरमपन्थी राजा वीरेन्द्र गरमपन्थी दरबारियाको घेराबन्दीमा थिए। भारतका लागि तत्कालीन नेपाली राजदूत भेषबहादुर थापाले राजाको रूपमा ज्ञानेन्द्र शाहको पहिलो भारत भ्रमणबारे उल्लेख गरेका छन्। उनका अनुसार राजा ज्ञानेन्द्रले भारतीय प्रधानमन्त्रीसमक्ष गोप्य वार्ता गरेका थिए। सो वार्ताका क्रममा राजाले भारतीय प्रधानमन्त्री अटल बिहारी बाजपेयीसँग आफूलाई ३ वर्षको समय दिन याचना गरेका थिए। बाजपेयीले संविधानअनुरूप आन्तरिक समस्या सुल्झाउन सुझाव दिएका थिए।
राजकाजको अनुभव नभएका ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनभार राजतन्त्रका लागि भारी पर्न गयो। माओवादी र सात दलबीचको १२ बुँदे सहमतिपछि देशमा आन्दोलन चकँर्दै गयो। उनी देशभित्रका शक्तिसँग सम्झौता गर्न तयार भएनन्। भारतीय प्रधानमन्त्री मनमोहन सिंहका विशेष दूत करण सिंहसँगको संवादपछि राजाले जनताको नासो जनतालाई नै फिर्ता गरेको घोषणा गरे। तर, ०६३ वैशाख ८ गते राजाले सो घोषणा गरे पनि आन्दोलन रोकिएन। अन्ततः दलहरूसँगको सहमतिपछि वैशाख ११ गते राजा ज्ञानेन्द्रले प्रतिनिधिसभाको पुनर्स्थापना गर्दै दलहरूको म्यान्डेटअनुरूप अघि बढ्ने वाचा गरे। संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्र घोषणा गरेपछि राजतन्त्रको अन्त्य भयो।
पृथ्वी नारायण शाहको अगुवाइमा आजको नेपाली भूगोल बन्यो। तर, शाह परिवार सायदै एकीकृत रह्यो। एकीकृत भई राजपरिवारले देशमा शासन गरेको भए देशको हविगत यस्तो हुन्थेन। शाह वंशले शासन सम्हाल्दा अमेरिका स्वतन्त्र भइसकेको थिएन, फ्रान्सेली क्रान्ति भएको थिएन। भारतले ब्रिटिसको गुलामी सुरु गरिसकेको थिएन। भारत पाँच सयभन्दा बढी राजारजौटामा विभाजित थियो।
तर, नेपाल भने राजारजौटाबाट रूपान्तरित भई राजनीतिक रूपमा शक्तिशाली राज्यमा दरिएको थियो। समृद्ध थियो देश। केही सामान निर्यात समेत गर्थ्यो। सिक्का बेच्थ्यो। नेपाली मुद्राबाटै तिब्बत र भारतको कारोबार चल्थ्यो। राजसंस्थाभित्रको शक्ति संघर्षको भुङ्ग्राले नेपालको त्यो गौरवशाली इतिहास नामेट गराइदियो।
हामी नेपालीको विस्मृति शक्ति ज्यादा छ। विगत बिर्सिहाल्छौँ, इतिहासमा गज्जब थियो भन्छौँ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
