Sunday, April 28, 2024

-->

स्थानीय पाठ्यक्रम: नछुटोस् मौलिक इतिहास

हालसम्म विश्व इतिहासको नाममा युरोपकेन्द्रित इतिहास अनि नेपालको इतिहासको नाममा काठमाडौँको इतिहास पढाएर उमारिएको ज्ञान फेर्न इतिहासको स्थानीय अध्ययन शुरू गर्नैपर्छ।

स्थानीय पाठ्यक्रम नछुटोस् मौलिक इतिहास

स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्नुपर्ने नीतिअनुरूप देशभरका स्थानीय तह स्थानीय पाठ्यक्रम बनाउन छलफलमा छन्। धेरैजसो पालिकाले पाठ्यक्रम निर्माण गरीकन कार्यान्वयनमा पनि ल्याइसकेका छन्। कतिपय पालिकाले बनाएका पाठ्यक्रम विवादमा समेत तानिए। स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले स्थानीय पाठ्यक्रममा बलात्कार मुद्दामा दोषी ठहरिइएका एक क्रिकेटरको जीवनी समावेश गरेर आफूलाई विवादको केन्द्रमा तान्यो।

स्थानीय पाठ्यक्रम निर्माणका लागि बहस–छलफल भए, विज्ञहरू नियुक्त गरिए। पालिकाहरूले गोष्ठी र बैठकमा पक्कै 'ह्यान्डसम् अमाउन्ट' खर्च गरे। आफैँले निर्माण गरेको पाठ्यक्रम उत्कृष्ट बनोस् भनेर अधिकतम प्रयत्न पनि गरे होलान् कति पालिकाले। तर स्थानीय पाठ्यक्रमको मर्म पक्रिएर बनाइएका पाठ्यक्रमहरू धेरै देखिएका छैनन्। 'फास्टफुड' प्रकृतिका पाठ्यक्रम नै चर्चामा आए। गम्भीर सोध–अनुसन्धान गर्न प्राय: पालिकाले जाँगर चलाएनन्। अन्तिम समयमा आएर मात्र कार्य प्रारम्भ गर्ने आम प्रवृत्तिले यहाँ पनि असर गरेको देखियो।

आफ्नो गाउँघर, टोल र समाजका विषयवस्तु अध्ययन गरिनलायक छन्। तिनीहरूको अध्ययन जरुरी छ। संघीयताको मर्मअनुरूप प्रत्येक कुनाकन्दराको समानुपातिक उन्नयनका लागि स्थानीयस्तरमा महत्त्व बोकेका विगत, वर्तमान र आगतका सम्भावनाको पहिचान हुन जरुरी छ। त्यसको अध्ययन त्यहीँका स्थानीयले गम्भीर रूपमा गर्नु आवश्यक छ भन्ने मान्यताको धरातलमा स्थानीय पाठ्यक्रमको जन्म भएको थियो, तर हाल बनेर कार्यान्वयनमा आएका पाठ्यक्रमले निराशा नै जन्माइरहेका छन्।

बेवास्तामा इतिहास
मूलतः इतिहास अध्ययनको क्षेत्रमा स्थानीय पाठ्यक्रम अनुदार देखिन्छन्। आफ्नो स्थानीय तहमा लुकेर, लुकाइएर, छोपेर, छिपेर रहेका विगतको सान्दर्भिक र सूक्ष्म अध्ययनबिना न वर्तमानको यथार्थ चित्रण सम्भव छ, न आगतको बाटो स्पष्ट देख्न सकिन्छ। इतिहासको विषयलाई पाठ्यक्रममा समेट्दा स्वार्थ समूहबीच उत्पन्न हुने टकराबका कारण पनि यो विषय बेवास्ताको सिकार भएको देखिन्छ।

इतिहासमा भएका ठूला र उथलपुथलकारी घटना परिघटनालाई हेर्ने दृष्टिकोणमा एकरूपता नहुँदा र दलीय तथा धार्मिक अन्तर्विरोधहरूले पनि इतिहासको पाठ्यक्रम निर्माणलाई प्रभावित गरेका छन्। मूलतः इतिहासमै जनताको तहबाट उठेको सबैभन्दा ठूलो विद्रोह ‘माओवादी विद्रोह’बाट अप्रभावित पालिका लगभग शून्यप्राय: छ। उक्त विद्रोहलाई अन्देखा गरेर इतिहासको पाठ्यक्रम बन्दैन। तर सो विषय समेट्न खोज्दा उक्त विद्रोहप्रतिको दृष्टिकोणमा सरोकारवालाबीच एकरूपता छैन। पृथ्वीनारायण शाहको नेतृत्वमा भएको राज्य विस्तारदेखि गणतन्त्रको घोषणासम्मको यात्रामा प्रत्येक विन्दुमा उनीहरूबीच भिन्न दृष्टिकोण छ। माथिल्लो तप्काको बीचमा रहेको फरक दृष्टिकोण तल्लो तहसम्म सञ्चार भएको छ पछिल्लो समय। पाठ्यक्रम निर्माणमा संलग्न हुने सरोकारवालाबीच समान मत कायम नभएसम्म पाठ्यक्रममा उक्त विषय समावेश हुन सक्ने कुरै भएन।

अर्कोतिर, लामो समयको अध्ययन र गम्भीर सोधका लागि आवश्यक पर्ने धैर्य र लगानीका लागि सम्बन्धित निकायको अनिच्छा पनि यसको अर्को कारण हो। केन्द्रीयस्तरमा इतिहाससम्बन्धी पाठ्यक्रम निर्माण गर्दा उत्खनन भइसकेका र स्थापित भइसकेका सामग्रीमा भर पर्न सकिन्छ। स्थानीय पाठ्यक्रममा इतिहास समेट्दा केवल विषय समेटेर हुँदैन। ती विषयमा अध्ययन, चिन्तन र अनुसन्धान गरी मानक स्थापत्य कायम गर्नु पहिलो काम हुन्छ। इतिहास लेखनले गम्भीर सैद्धान्तिक तथा प्राविधिक दक्षताको माग गर्छ, तर हामीकहाँ त्यो स्तरको जनशक्ति उपलब्धता छैन। 

किन जरुरी?
स्थानीय पाठ्यक्रममा इतिहासलाई गम्भीर रूपमा समेटेर विद्यार्थीलाई अध्यापन गराउनुका फाइदा लामो समयपछि मात्र देखिन थाल्छ। तत्काल लगानी उठाउने 'फास्टफुड' व्यापारजस्तो हुँदैन यो। दीर्घकालीन महत्त्वको हिसाबले इतिहासको स्थानीयकरण जरुरी भइसकेको चाहिँ उहिल्यैदेखि हो।

अहिलेसम्मको इतिहासको किताबमा आफ्नो गाउँको नामसमेत नदेखेका, आफ्नो वरिपरिका मानिसको नाम नपढेका अनि आफ्ना वरिपरिका कसैको पुर्खाको समेत चर्चा नछापिएको कारण धेरैलाई हालसम्मको इतिहासमा आफ्नो भूमिका शून्यझैँ लाग्छ। ‘आफ्नो गाउँठाउँ, देहात, मौलिकता, सम्पदाको इतिहास र तिनै ठाउँमा भएका विद्रोह र बगावतका विषय त कसरी लेख्न मिल्दो हो र किताबमा?’ जस्तो लाग्दो हो कतिलाई।

हालसम्मको परिवर्तनमा आफूलाई किनाराको साक्षीजस्तै सोचिरहेका छन् धेरैले। जसको प्रतिफल स्वरूप, अधिकांशले अहिलेको परिवर्तनमा अपनत्व महसुस गरेका छैनन्। देश निर्माणको सारा जस खास जातिका खासखास राजामहाराजालाई दिएर लेखिएका इतिहासका ठेलीहरू पढेर हुर्किएको पुस्ताले आफ्नो अस्तित्वलाई समेत तिनै राजाहरूको गुणको प्रतिफलको रूपमा स्वीकार गरेका छन्।

इतिहासको यो बिब्ल्याँटो रेखालाई सुल्टाउनका लागि देश निर्माण र व्यवस्था परिवर्तनमा आफ्नो ठाउँ र आफ्नो पुर्खाको महत्त्वपूर्ण भूमिका रहेको तथ्य विद्यार्थीले अध्ययन गर्न जरुरी छ। वर्तमानको निर्माण आधार नै इतिहास हो भनेर चिनाउनु यसको एक मात्र उपाय हो। उक्त आधारको प्रत्येक अवयव प्रत्येक व्यक्ति र समुदाय हुन् भन्ने सत्यबोध गराउनु हो। त्यसका लागि इतिहासको केन्द्रीकृत अवधारणा भत्काउन जरुरी छ। प्रत्येक ठाउँ र गाउँको इतिहास नलेखी यो सत्यबोध हुन सक्दैन।

ससाना संघर्षको बलमा ठूला संघर्ष हुन्छन् अनि ससाना संघर्ष भुईं मान्छेहरूको प्रयत्नबाट भएका हुन्छन्। जसरी सिंगो पुस्तक एक–एक पानाको योगफलको प्रतिफल हो, ठिक त्यसैगरी प्रत्येक ससाना संघर्षको योगफल देश निर्माणका लागि भएको संघर्षको रूपमा अभिव्यक्त भएको हो। व्यवस्था परिवर्तनका लागि भएका निर्णायक संघर्षहरू यिनै भुईंका संघर्षको योगफल हो। यी भुईं संघर्ष हाम्रै वरिपरिबाट सञ्चालित थिए र हुँदै छन्। यसर्थ, यो देशको निर्माण र व्यवस्था परिवर्तनका प्रत्येक संघर्ष प्रत्येक जनताको तागतमा उभिएर भएका थिए।

उल्लिखित तथ्यबोध भएपछि आफ्नो जीवन कोही कसैको निगाह स्वरूप चलिरहेको ठान्ने अवधारणा फेरिन शुरू हुन्छ। आफूमा रहेको शक्तिको अनुभूति हुन शुरू हुन्छ। आफ्नो मुक्तिको लागि कुनै देवदूत देउता या महापुरुषको खोजी गर्ने चिन्तन भत्कन शुरू हुन्छ। “यो देशमा म एउटा मान्छे खोजिरहेछु’ भन्ने गीतले सान्दर्भिकता गुमाउन थाल्छ। एउटा मान्छेले थोरै मात्र गर्न सक्छ। ठूला परिवर्तन सामूहिक प्रयत्नको फल हो। त्यो सामूहिक प्रयत्नको एउटा अवयव म हुन सक्छु भन्ने बोध शुरू हुन्छ। नायकको खोजीमा रुमल्लिन छोडेको दिन जीवन साँच्चै सुन्दर हुनेछ। मसिहा बन्ने अभिलाषाको पनि अन्त्यको यात्रा शुरू हुनेछ।

अन्त्यमा
हालसम्म विश्व इतिहासको नाममा युरोपकेन्द्रित इतिहास अनि नेपालको इतिहासको नाममा काठमाडौँको इतिहास पढाएर उमारिएको ज्ञान फेर्न इतिहासको मौलिक अध्ययन शुरू गर्नैपर्छ। स्थानीय तहहरूले इतिहासमा आफ्नो भूमिका खोज्न थालेपछि निश्चित परिवार, जात र व्यक्तिको महान् सोच र संघर्षको कारण अहिलेको अवस्था निर्माण भएको भाष्यसहितको झूटो इतिहासको अन्त्य हुनेछ।

यसकारण प्रत्येक स्थानीय तहले गम्भीर सोध र अध्ययन गरी स्थानीय पाठ्यक्रममा इतिहासको कोर्स समेट्नुपर्ने देखिन्छ। इतिहासको नाममा स्थानीय तहको नामको शाब्दिक व्युत्पत्तिमा (त्यसमा पनि मूलतः मिथामा) मात्र इतिहासलाई सीमित गर्नु सर्वथा हानिकारक हुनेछ। आफ्नो इतिहासको सही जरा पक्रिएर नयाँ आगतको रेखा कोर्न सक्ने जनशक्ति निर्माणका लागि एक पटक आएको यो सुनौलो अवसर बिस्तारै उम्कँदै छ। 


लेखक सामुदायिक विद्यालयका अंग्रेजी विषयका शिक्षक हुन्।


सम्बन्धित सामग्री