केही दिनअघि ‘अर्को विश्व सम्भव छ’ अभियानसँग जोडिएका मेरा एक आत्मीय मित्रको मेसेज आयो– “हाम्रो संस्थाले पनि विश्व सामाजिक मञ्चको एउटा सत्रमाथि प्यानल छलफल आयोजना गर्दैछ, समय मिलाएर पाल्नुहोला है।”
झट्ट ब्यानर हेरेँ, त्यहाँ उल्लेख भएको नाराले मथिंगल घुमायो। लेखिएको थियो– अर्को विश्व सम्भव छ।
अनेक प्रश्न आए मनमा। आखिर किन मलाई र यो पुस्तालाई ‘अर्को विश्व’ चाहिन्छ जबकि बाँच्नु यहीँ छ। कसका लागि अर्को विश्व सम्भव तुल्याउने होला? आठ अर्ब मानिस भएको यो विश्वका मानिसको जीवनलाई अर्को विश्वको नाराले कसरी सम्बोधन गर्छ? के यो विश्वका सबै कुरा बेकामे, असंगत र कुरूप भैसके र अबको विकल्प अर्को विश्व मात्रै हो? हामीले हाम्रा ज्ञान, तर्क र समग्र चेतनाका आडमा सिर्जेका २१औँ शताब्दीका सबै ज्ञानविज्ञानका उपलब्धिहरू अब असान्दर्भिक भैसके? यदि जवाफ ‘होइन’ भन्ने हो भने यस नाराले यही विश्वको सम्भावना र अस्तित्वलाई यतिविघ्न नकार गरेर केवल अर्को विश्वको परिकल्पना किन गर्यो होला?
अलि बढी नै शाब्दिक अर्थतिर लागेँ कि भन्ने ठानेर यो नारामाथि छोराछोरीको धारणा बुझेँ। “बाबा, पृथ्वीजस्ता ग्रह त कति छन् कति! यो नारा सर्जकले ठिकै भनेको हो। अर्को विश्व अवश्य सम्भव छ नि, केवल हामीले फेला पार्न मात्र नसकेको हो। आखिर वैज्ञानिकहरूले पनि यदाकदा हामीभन्दा उन्नत सभ्यता कतै हुनसक्ने अनुमान त लगाएकै छन् क्यार। यो कुनै स्पेस साइन्सका वैज्ञानिकहरूको सम्मेलनका लागि लेखिएको नारा होला,” छोराको यस्तो जवाफले म झन् अलमलिएँ।
उसको जवाफमा कताकता खगोलीय सन्दर्भ जोडिएर आयो। जबकि विश्व सामाजिक मञ्चको उद्देश्य यो होइन र थिएन। यही विषयमा थप प्रष्टता र आफ्नै बुझाइको परीक्षण हेतु मैले श्रीमतीलाई पनि सोधेँ। उनले भनिन्, “प्रस्तुत नारामा मान्छेले यही परिवेशको वर्तमानसँग हार खाएको र कतै सुदूर तथा अर्कै भविष्यको गर्तमा सम्भावना खोजेको प्रतीत हुन्छ।”
केही बुझेजस्तो र केही नबुझेजस्तो भएँ। त्यसपछि म निष्कर्षमा पुगेँ– एक परिवारका तीन जना सदस्यहरूबीचको बुझाइ तीनतिरको भएपछि प्रस्तुत नारामा केही न केही समस्या छ। म झन् घोत्लिन थालेँ।
सोच्दै गएँ– आखिर यो नारा लेख्ने सर्जकको दिमागमा के गुज्रियो होला र तिनले अर्को विश्वको कल्पना गरे होलान्? व्यञ्जना, अभिधा र लक्षणा सबै दृष्टिले अर्थ पहिल्याउन प्रयत्न गरेँ। हरेक समाजदेखि राष्ट्रसंघसम्म यही विश्वलाई बस्न र बाँच्नयोग्य बनाउन लागिपरेको सन्दर्भमा किन ‘अर्को विश्व’ भनेर वर्तमानलाई सुधार गर्नसक्ने नजिकको सम्भावनालाई झन् दुरूह बनाए होलान् सर्जकले? सम्भावित जवाफ गम्न थालेँ।
मनमा एक तर्क उब्जियो– बिगार जति यहाँ र यही विश्वमा गरेर अर्को विश्व सम्भव छ भन्नु बेइमानी हो। विगतका अनुभव र चेतनाको विकासक्रमलाई चटक्कै बिर्साएर आगतको कल्पनामा अल्मल्याउनु हो। किनकि यसमा न मान्छेका सिकाइको समीक्षा गर्ने चाहना छ, न भएगरेका गल्तीको स्वीकारोक्ति भाव नै निहित।
प्रयोजनवादी तथा कार्यमूलक तर्कको आलोकमा पनि यस नारालाई बुझ्ने चेष्टा गरेँ। यद्यपि यसको अर्थमा प्रष्टता देखिएन। नारामा कुनै ठोस कामको र लिनुपर्ने पहलकदमीबारे आह्वान छैन। यस सन्दर्भमा त यो अभिव्यक्ति भाग्यवादको अर्थ सम्प्रेषण गर्ने शब्दालंकार जस्तो लाग्यो जसले यस विश्वका मान्छेहरूले आफू र आफ्ना कर्महरूप्रति अपनत्व ग्रहण नगरेको दर्शाउँछ। “मैले यस विश्वको गति र मति सुधार्न गर्नुपर्ने जति गरिसकेँ। हाम्रा आफ्ना सामर्थ्य मात्रले काम गर्दैन। अब अन्तिम भरोसा कतै गर्न सकिन्छ भने त्यो कुनै अलौकिक शक्ति वा परमेश्वरमा छ। यस लोकका मेरा तमाम प्रयत्नहरूले काम नगरेपछि अर्को लोक सम्भव छ र त्यही सम्भावनाको सेरोफेरोमा म मेरो नियतिका चक्रहरू घुमेको देख्छु वा विश्वास गर्छु। किनकि म भाग्यवादमा विश्वास गर्छु,” नाराभित्रको अन्तर्य मैले यसरी अर्थ्याएँ।
‘अर्को विश्व सम्भव छ’ भन्नु भाग्यवादको चंगुलमा फसेको अभिव्यक्ति हो। आफ्ना सुधारका प्रयत्नहरूमा अविश्वास हुनु र ठोस पहलकदमीको आह्वानलाई सुदूरको गर्तमा जबरजस्ती ठेल्नु हो।
पाप र कुकर्म वा नियतिका चोटहरूले थलिनु थलिएपछि महान मार्क्सवादी वा अनिश्वरवादीले पनि कुनै न कुनै रूपमा परम शक्तिमाथि गोप्यरूपमा विश्वास गर्न थालेजस्तो यो नाराको सर्जकसमेत भाग्य वा नियतिवादको शिकार भएको हुनुपर्छ। उदाहरणका लागि, कुनै समयका नास्तिक क्रान्तियोद्धाहरूबाट वर्तमानमा मठमन्दिर निर्माण, तातोपानी कुण्ड स्नान, तीर्थस्थल भ्रमण र मठमन्दिरमा बलिलगायत अनुष्ठानजस्ता कार्य कि त सुदूर भविष्यको आशामा गरिएका हुन् कि चरम ढोँगका गतिविधि हुन्। त्यस्ता नियति वा भाग्यवादमा विश्वासका पदचाप हुन्छन्।
यस नाराको निहितार्थमाथि थप सोचेँ, लाग्यो यसको अर्थ– मेरी श्रीमतीले भनेजस्तै ‘अर्को विश्व सम्भव छ’ नारा वर्तमान सन्दर्भहरूसँग हारेको अभिव्यक्ति पनि हो। यो जागिरको खोजीमा वा करिअरको खोजीमा लागिपरेको तर उपलब्धि हात नपरेको कुनै दिग्भ्रमित युवालाई ‘लोकसेवा नभए विदेश छ नि’ भनेजस्तो हो। व्यापारको बाटो नभए अर्को बाटो सम्भव छ भनेजस्तो हारको पूर्वाभाष र सान्त्वनामुखी अभिव्यक्ति हो।
अर्को अर्थमा पनि यसलाई बुझ्ने चेष्टा गरेँ। वर्तमानमा जिउनुपर्ने र निरन्तर कर्मशील बाटो अपनाउनुपर्ने हाम्रो सनातन विश्वास हो। यस नाराले यी दुवै प्रस्तावनालाई नकारिदिन्छ। यहाँका असंगत पक्ष र अन्याय तथा असमानता हटाई विश्व सुधार्न सम्भव छ, यही विश्वलाई बस्नयोग्य बनाउन सकिन्छ भन्ने विश्वास दिलाउँदैन। यसले त कर्मशीलताको आह्वान समेत बिर्सेको देखिन्छ। केवल सुदूरको सम्भावनामा आशा गर्नुपर्ने सन्देश दिन्छ।
जलवायु परिवर्तन, युद्ध, भोकमरी, गरिबीलगायत अनेक समस्याबाट गुज्रिँदै गरेको विश्वमा सर्जकले पक्कै पनि समानता र शान्तिको बिम्बका रूपमा ‘अर्को विश्व सम्भव’ रहेको कुरा प्रवाह गर्न खोजेको हुनुपर्छ। तर यसमा प्रयुक्त शब्द संयोजनले यस्तो कार्यमूलक आह्वान गरेको छैन। केवल आशाको संकेतसम्म गरेको देखिन्छ। जबकि आशा र सम्भावनाभन्दा पहलकदमी अहिलेको खाँचो हो।
यस सम्मेलनमा समेटिएका विषयवस्तु र गर्न खोजिएको कामको दायरा भने पक्कै पनि प्रशंसनीय छन्। त्यस आलोकमा हेर्दा पनि उक्त नाराको वैचारिकीमा भने प्रष्टता छैन। यस्तो कल्पना सञ्चार गर्नुभन्दा ‘विश्वलाई सुधार्न सम्भव छ’ वा ‘अझै सुधार सम्भव छ’ वा ‘दिगो/उन्नत विश्व सम्भव छ’ भन्नु बढी सार्थक हुन्थ्यो होला। यसोभन्दा विश्व बिगार्न मानवले जानी/नजानी गरेका गल्तीहरूको सन्दर्भ पनि शब्दहरूमै समाहित भएर आउँथ्यो। त्यसो भन्दा तत्काल पाठकको मस्तिष्कमा त्यस्ता सुधारको कार्यदिशाको मार्गचित्रबारे सोच आउँथ्यो।
सम्मेलनका लागि बनाइएको पोस्टर पनि नियालेर हेरेँ। टाउकामा सिंगो पृथ्वी बोकेर कतै सुदूरतिरको हिँडाइ देखाउने चित्रले वर्तमानको वास्तविकताभन्दा सुदूर भविष्यको चिन्ता मात्रै गरेको प्रतीत हुन्छ। जबकि हाम्रो अवस्थाले त वर्तमानमै सुधारका अनिवार्य पहलको माग गर्छ। यस्तो शब्द र चित्रको अस्पष्ट वैचारिकीको ब्यानरमा एक बहुआयामिक संवादको असल अनुष्ठान त रचियो तर त्यसले अपेक्षाअनुरूप कार्यमूलक सन्देश भने प्रवाह गर्न सकेन।