Monday, April 29, 2024

-->

मनीषा कोइरालाको राष्ट्रवाद

मनीषाको राष्ट्रवाद त्यही राजशाहीवाला हो, जहाँ राजालाई बिलकुलै जनताको समस्याको बोध हुँदैन। सर्वत्र छेलोखेलो भएका शासकलाई भोकले मर्ने जनताको दुःख के थाहा?

मनीषा कोइरालाको राष्ट्रवाद

भारतीय फिल्मी करियरबाट झन्डै अवकाश लिएकी मनीषा कोइराला बेलाबेला नेपाली राष्ट्रवाद, हिन्दुराज्य र राजतन्त्र पुनर्स्थापनाबारे विवादास्पद अभिव्यक्ति दिने गर्छिन्। पछिल्लो पटक पूर्वराजा ज्ञानेन्द्र शाहकी बुहारी हिमानी शाह र उनीबीचको एक वार्तालापमा शाहलाई 'सरकार' भन्दै राजसी सम्बोधन टक्र्याइन्। ज्ञात भएकै कुरा हो, राज खलकका कम उमेरकै सदस्यले समेत पाको उमेरका जनतालाई समेत ‘तिमी’ भन्दै सम्बोधन गर्थे। टेलिभिजनका पाका पत्रकार दुर्गानाथ शर्मालाई उतिखेरका राजा ज्ञानेन्द्र शाहले टेलिभिजन अन्तर्वार्तामै 'तिमी' भनेको सबैले सुनेकै होलान्, जबकि उमेरकै कुरा गर्दा पनि शर्मा शाहभन्दा केही जेठा हुन्। 

राजाको शासनमा जुनसुकै उमेरका व्यक्तिले राजपरिवारका जोकोहीलाई ‘हजुर, सरकार बक्सियोस्’ फुर्को लाउन पर्थ्यो। यसैबीच जनता जागे। निरंकुश शाही राजतन्त्र चाहिँदैन भन्दै जनताले नार्गाजुनको खोपीमा सो व्यवस्था थन्काइदिएकै पनि दुई दशक पुग्नै लागिसक्यो। तर राजतन्त्र ढलेको तथ्यलाई पूरै नजरअन्दाज गर्दै कोइराला हिमानी शाहलाई 'रैती' बन्दै 'सरकार, सरकार' सरकार! टक्र्याउँदै दासताको 'मजा' लिइरहेकी छन्। 

उनको तन्नम तर्क छ, ‘अमेरिका र भारतजस्ता देशमा आफ्नो राष्ट्रियता र पहिचानमा गर्व गर्ने वातावरण उच्च छ, तर नेपालमा राष्ट्रवाद कमजोर भयो।’ अमेरिका मात्र नभई विश्वभर नै चरम दक्षिणपन्थी छवि बनाएका अमेरिका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रवादको आदर्शका रूपमा मनीषा चित्रण गर्छिन्। ट्रम्प तिनै मनुवा हुन्, जो ‘अमेरिका महान्,’ ‘अमेरिकी फस्ट’जस्ता संकुचित नारा उराल्दै अमेरिकाको अराजनीतिक र निराश जमातलाई प्रभावमा पार्दै सन् २०१७ को राष्ट्रपति चुनाव जित्न सफल भए। चुनाव जितेपछिको ट्रम्पका नौटंकी र अराजनीतिक चर्तिकलाले उनी विश्वभर हाँसोको पात्र बने। उनकै उक्साहटमा केही दर्जन मान्छेको बित्थामा ज्यान गयो। भारतमा दक्षिणपन्थी मोदीको सन् २०१४ को उदयपछि भारतमा अल्पसंख्यक, दलित र महिलाको हालत र समग्रमा उदारवादी लोकतन्त्रवादीको हालत के छ, भन्न परोइन। दुःखको कुरा, मर्नुलाई बाँच्नु देखिरहेकी छन् कोइराला। 

राजतन्त्र ल्याउन आतुर उनी नेपाली/भारतीय समाजका भुईं तहका गरिबको चिन्ता गर्न भ्याउन्न। जात व्यवस्थाका कारण दैनिक दुर्व्यवहार र हिंसामा पर्ने दलितबारे उनले बोलेको हामी सुन्दैनौँ, जबकि सरकारकै तथांकअनुसार नेपालमा हरेक दिन औसतमा ६ जना बालिकामाथि यौन हिंसा भइरहेको छ। आर्थिक वर्ष ०७९/०८० मा १६ हजारभन्दा बढी घरेलु हिंसाका घटना प्रहरीमा दर्ता भए। तीन हजार बढी यौनजन्य हिंसाका घटना सार्वजनिक भए। निर्मला पन्त, भागीरथी भट्ट, माया विकहरूको बलात्कारपछिको जघन्य हत्यामा मनीषाको संवेदना र आक्रोश कतै सुनिँदैन। शायद राष्ट्रवादको कोकोहोलोमा निमुखाहरूको आवाज मनीषाको कानसम्म पुग्न सक्दैन। 

बीपी लिगेसीको अपमान
प्रजातन्त्र प्राप्तिका लागि मनीषाका हजुरबा बीपी कोइरालासहित कोइराला परिवारले जेल, नेल र कष्ट भोगे। त्यस्तो सम्पूर्ण राजनीतिमा मनीषाको एक पित्को भूमिका नभए पनि बीपी नातिनीको पगरी मुफ्तमा उनलाई प्राप्त छ। राणाशासकले थपना बनाएको राजतन्त्रलाई स्वतन्त्र र शक्तिशाली बनाउन उतिखेरका कम्युनिस्ट र कांग्रेसले ज्यानको बाजी लगाए। तर अन्ततः तिनैलाई शत्रुको कित्तामा राख्दै सत्ताको लगाम लिएको राजसंस्थालाई पछि अधिनायक बन्ने भोक जाग्यो। फलस्वरूप, पञ्चायतले निरन्तर ३० वर्ष निरंकुश व्यवस्था चलायो। प्रजातान्त्रिक आन्दोलनका अग्रणी बीपी कोइरालासहितको विरासतको रक्षामा मनीषाको भूमिका हुनुपर्ने हो, तर प्रजातान्त्रिक आन्दोलनमा लागेबापत राणा र राजाहरूबाटै जेलनेल र निर्वासन भोगेका बीपी र कोइराला परिवारको योगदानकै मानमर्दन हुने गरी हिजोका तिनै शोषक–पीडक परिवार र संस्थाको भूतप्रेत जगाउन मनीषा लागेकी छन्। (भूतप्रेतको बिम्ब यहाँ प्रयोग गरे पनि भूतप्रेत भन्ने कुनै अस्तित्व छैन भन्नेमा लेखक प्रस्ट छ।) 

विसं. २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रको अपहरण गरेलगत्तै बीपी जेल परे। छाडा पञ्चायतले बीपीलाई आठ वर्ष लामो कारावासको सजाय दियो। विसं २०२५ सालमा जेलमुक्त भएपछि भारतमा निर्वासित बीपी राष्ट्रिय मेलमिलापको आह्वानसहित २०३३ सालमा स्वदेश फिर्ता भए। तर दरबारको आदेशमा काठमाडौँ विमानस्थलबाटै उनलाई पक्राउ गरी सिधै सुन्दरीजल जेलमा लगेर कोचियो। विदेशमा रहनुभन्दा मातृभूमिमै रहेर लोकतन्त्रका लागि लड्छु भन्ने योद्धालाई जेलमा कुहाइयो। राजतन्त्र कहिल्यै पनि आमजनताको न्याय, समानता र लोकतन्त्रको पक्षमा थिएन। जनताले सोही बुझेर ०४६ सालको जनआन्दोलन, १० वर्षे जनयुद्ध, ०६२/०६३ मा आन्दोलन सिर्जना गरे र अन्ततः गणतन्त्र स्थापना भयो। 

गणतन्त्र हजारौँ जनताको बलिदानबाट प्राप्त भएको हो, न कि कुनै राजा महाराजका कृपाबाट। पटक–पटकको राजनीतिक र सामाजिक आन्दोलन सामाजिक न्याय, लोकतन्त्र, समानुपातिक समावेशी र समानताका लागि गरिएको थियो। सत्ताका लागि आफ्नै वंशज र निकटतम सदस्यसम्मलाई भौतिक रूपमा समेत सफाया गर्न पछि नपर्ने राणा–शाह खलकको २४० वर्षको इतिहास षडयन्त्र, लुट र रगतले लतपतिएको छ। जुन तथ्य नेपाली नागरिकबाट छिपेको छैन। त्यसो हुँदा आजको समाजको गतिलाई अग्रगमनतिर लैजान सचेत नागरिकले निरन्तर प्रयास गर्नुपर्छ। इतिहास भइसकेको सडेगलेको राजसंस्थाको संरचनालाई ध्वस्त गरेर अगाडि बढ्नुपर्छ। नेपाली समाजले खोजेको क्रान्तिकारी समाजवादी व्यवस्था स्थापनाका लागि अग्रसर हुनुपर्छ।

राजतन्त्र पुनर्स्थापनाको दिवास्वप्न
लोकतन्त्र र गणतन्त्र ल्याउन जसको कुनै योगदान छैन, त्यस्ता पात्रले गणतन्त्रको मर्म नबुझ्नु र मास्न खोज्नु अनौठो होइन। मनीषाले उमेर र बल हुन्जेल पुँजीवादी बजारमार्फत नाम र दाम कमाइन्। सिनेमाको दुनियाँमा भलै उनले गरिब, अपहेलित वर्ग–समुदायको भूमिका निर्वाह गरेकी होलिन्, तर वास्तविक जीवनका भुईं मान्छेका दुःख उनलाई थाहा भएन। एकात्मक जात व्यवस्थारूपी संरचनात्मक व्यवस्थाका कारण मुठ्ठीभर वर्ग र समुदाय बाहेकका जनता उत्पीडनमा परेको र किनाराकृत भएको यिनलाई के बोध? जात व्यवस्थामा आधारित पितृसत्ताले महिलामाथि गरेको संरचनागत शोषण र उत्पीडनबारे यिनले जान्ने कुरै भएन। 

मेरी आमा बेलाबेला भन्नुहुन्थ्यो र अन्यत्र पनि यस्ता प्रसंग सुनेको छु: राजा त्रिभुवनसँग कुनै एक गरिब जनताले ‘सरकार, मैले खान पाइन’ भन्दा ‘दूध भात पनि खान पाइनस् र?’ भन्दै प्रतिप्रश्न गरेका थिए। आमा भन्नुहुन्थ्यो, ‘राजालाई जनताका रोगभोक र शोकबारे थाहै हुँदैन’। यथार्थ थियो त्यो। राजा र राजपरिवारका लागि वरपरका हुक्के, ढोके र तालुकदारबाहेक अरू सबै 'अराष्ट्रिय तत्त्व', अनागरिक र विरोधी हुन्थे। मनीषाको राष्ट्रवाद त्यही राजशाहीवाला हो, जहाँ राजालाई बिलकुलै जनताको समस्याको बोध हुँदैन। सर्वत्र छेलोखेलो भएका शासकलाई भोकले मर्ने जनताको दुःख के थाहा? हिन्दु राजतन्त्रको अढाई सय वर्ष एकात्मक, निरंकुश, एकल वंशीय, पितृसत्तात्मक र वर्णवादी थियो। अचाक्ली भएर नै जनताले पटक–पटकको आन्दोलनमार्फत राजतन्त्रको अवशेषलाई नार्गाजुनको खोपीमा थन्काइदिएका हुन्। 

हिन्दी सिनेमाको ग्ल्यामरबाट ओर्लेर जीवनको उत्तरार्धमा आइपुग्दा मनीषालाई राष्ट्रवादको ज्वरोले गाँजेको छ। भारतीय समाज, जहाँ उनले कलाकारिताको क्षेत्रबाट नाम र दाम कमाइन्, त्यो देशमा यथास्थितिको राजनीतिमा जीवनको उत्तरार्धमा हाम फाल्ने सयौँ कलाकार छन्। विश्वभर नै सिनेमा, खेल वा सेलिब्रेटीवाला छवि बनाएपछि मसिहा बन्ने लालसा राखेर राजनीतिमा छिर्ने धेरै छन्। 

उसो त भारत र नेपालका चल्तीका भनिएका सिनेमा जीवनको यथार्थभन्दा कोसौँ टाढा छन्। तर सिनेमाको पर्दामा हिरोगिरी गरेकाले जनताका वास्तविक जीवनको मर्म बुझ्ने र त्यस्ता पात्र राजनीतिमा आउनेबित्तिकै सबै समस्याहरू छुमन्तर हुन्छन् भन्ने भ्रम पाल्नेहरू पनि समाजमा धेरै छन्। अन्धविश्वास र अदृश्य शक्तिमा विश्वास गर्ने समाजले फिल्मको खास चरित्रले चमत्कार गर्ला भन्ने अपेक्षा राख्नु स्वाभाविकै पनि हो। 

जसरी समाजमा वर्ग छ, त्यसैगरी कथा, नाटक र सिनेमामा देखिने पात्रले निर्वाह गर्ने भूमिकामा पनि वर्ग आइपुग्छन्। तिनका स्वार्थ र अन्तर्विरोध हुन्छन्। तर अधिकांश  हिन्दी र नेपाली सिनेमामा समाजको सतही विश्लेषण, प्रेम यौन, हिंसा र महिलाको वस्तुकरण समेटिन्छन्। यथार्थबाट टाढा सिनेमा क्षेत्र आफैँमा समाजमा भ्रम सिर्जना गर्ने एजेन्सीका रूपमा बदनाम छन्। वर्तमान समयको सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा व्याप्त समस्याको निराकरण गर्नेभन्दा यथास्थितिमै रहने वा झिनो सुधार मात्रको अपेक्षा र सपना देखाउने सिनेमा बन्छन् यहाँ। यसो हुँदा सिनेमाकृत पात्रले दिने "देश विकासमा आकाशबाट तारा खसाल्छौँ" वाला गफको भ्रमबाट मुक्त हुन जरुरी छ। हाल विश्वभर र छिमेकी भारतको राजनीतिक वृत्तमा आएका चलचित्रका कलाकार पार्टी र संसद्का आलंकारिक सजावटको पात्रमा मात्रै सीमित भएको देखिन्छ।

चरम राष्ट्रवाद अर्थात् फासिवाद 
हिटलर जर्मनीका क्रूर तानासाह थिए। सन् १९३३ देखि सन् १९४५ सम्म जर्मनीका चान्सलर बनेका उनी दोस्रो विश्वयुद्ध शुरू गर्ने केन्द्रीय पात्र थिए। यहुदी जातीको कट्टर विरोधी उनले सत्तामा आएपछि कम्युनिस्ट विचारधारालाई निषेध गरे। सन् १९३३ मा जर्मनीलाई नाजी विचारधारामा आधारित एकदलीय, अधिनायकवादी, निरंकुश शासनमा संस्थागत गर्न सफल भए। 

जर्मनहरू आर्य जाति भएको र आर्य जाति संसारमै सर्वश्रेष्ठ जाति भएको उनको दाबी थियो। आर्य जातिले नै विश्वको नेतृत्व गर्नुपर्छ भन्ने दाबी गर्थे उनी। तत्कालीन जर्मनीमा हिटलरको फासीवादको आतंक प्रत्येक क्षेत्रमा छायो। परिणाम स्वरूप सन् १९३३ देखि १९३८ सम्म जर्मनमा लाखौँ यहुदीहरूको हत्या गरियो। यहुदी हुनेबित्तिकै त्यसलाई शत्रु किटान गरेर सफाया गर्ने, कम्युनिस्ट विचारधारालाई निषेध गर्ने नस्लवादी हिटलर र उनकी प्रेमिकाले सन् १९४५ अप्रिल ३० मा आत्महत्या गरे।

छिमेकी मुलुक भारतमा पछिल्लो समय त्यहाँको सत्ताधारी पार्टी धार्मिक–फासिवाद फैलाइरहेको छ। सन् २०१४ यता उग्र जातिवादी र धार्मिक मसलाको बलमा निरन्तर नरेन्द्र मोदी प्रधानमन्त्री छन्। धर्मका उग्र नारासहित लोकरिझ्याइँको बर्को ओडेको मोदी सत्ताको अत्याचार दलित, मुसलमान, र महिलामाथि निरन्तर छ। हिन्दुत्वको महिमागान गर्दै अल्पसंख्यकप्रति आरा चलाउने मोदी र उनका आसेपासेले देशको समृद्धि र न्यायपूर्ण समाज स्थापनाभन्दा पनि धर्म, जात र राष्ट्रवादको ‘फन्डा’ उराल्दै सत्तामा टिक्न सफल छन्। 

चरम दक्षिणपन्थको एक रूप हो फासिवाद। यसले समाजको अग्रगमन र गतिशीलता रोक्न खोज्छ। म, मेरो जात, रङ, धर्म र विचार नै सबै थोक हो भन्छ। आफ्नो राज्य, सभ्यता सबैभन्दा अब्बल र अरू सबै कमसल भन्दै आफ्नो मान्यता थोपर्न खोज्छ। र, दक्षिणी छिमेकको दक्षिणपन्थी हावाको वेग अलिक बढी नै हाम्रोतिर बग्न खोजेको देखिन्छ। हिन्दुराज्यको माग, राजतन्त्रको स्थापना र खासगरी आफूमाथि अत्याचार हुँदा बोल्न खोज्दै गरेका दलित समुदायमाथि बढ्दो अत्याचार, महिलामाथि चरम हिंसा र हत्याको बढ्दो श्रृंखलाले त्यही संकेत गर्छ। सत्तामा लामो समयदेखि एकपछि अर्को कम्युनिस्ट नामधारी पार्टी र व्यक्ति सरकारमा रहे पनि आम जनताले तात्त्विक रूपमा परिवर्तनको अनुभूति गर्न पाएका छैनन्। किनकि राज्यले अवलम्बन गर्ने आर्थिक, सामाजिक र राजनीतिक संरचना नाफामूलक, विभेदकारी र सत्ताकेन्द्रित छ। 

अन्तमा,  
रोजा लग्जम्वर्ग भन्छिन्–पुँजीपति महिलालाई राजनीतिक अधिकार आवश्यक पर्दैन, किनकि उनीहरू मुफ्तको माल उठाउन पाउँछन्।

जबसम्म सीमान्तमा परेका, आधा विश्व ढाकेका महिला वर्गीय, लैंगिक उत्पीडनविरुद्ध राजनीतिक रूपमा संगठित र आन्दोलित हुँदैनन्, तबसम्म मुठ्ठीभर सामन्ती एवं पुँजीपति वर्गका महिलाले यथास्थितिमै आंशिक सुधार वा पश्चगमनतर्फ लैजान प्रयास गर्छन् नै। यस्तो अवस्थामा श्रमजीवी वर्गको मुक्तिका लागि विश्वव्यापी दलाल पुँजीवादको कब्जामा रहेको अर्थराजनीतिक पक्षलाई सर्वहारा वर्गको पक्षमा कसरी छिटोभन्दा छिटो लैजाने भन्ने कुराचाहिँ क्रान्तिकारीका लागि प्रधान हो। राजनीतिक भुईंफुट्टाहरूले धमिलो पानीमा माछा मार्ने प्रयास त गर्नु स्वाभाविक नै छ।


सुनार राष्ट्रिय महिला आयोगकी पूर्वसदस्य हुन्।


सम्बन्धित सामग्री