अंग्रेजीमा एउटा शब्द छ– ‘बेबल’। नेपाली अर्थ ठ्याकै ठम्याउन अलि कठिन। बेबल उत्पत्तिको कथाचाहिँ रमाइलो छ। बाइबलमा एउटा मिथक छ– 'द टावर अफ बेबल'। कथाअनुसार कुनै कालखण्डमा सम्पूर्ण मानव जाति एउटै भाषा बोल्दथे। एकपटक उनीहरूले एउटा धरहरा (टावर) बनाउने निर्णय गरे, आकाश (वा स्वर्ग) सम्मै पुग्ने गरी, सायद ईश्वरको ढोकासम्मै! मानिसको यस्तो प्रयास हेरिरहेका ईश्वरलाई लाग्यो– एकअर्कासँग संवाद गर्न सक्ने क्षमता नै मानिसहरूको तागत हो।
उनले ठाने– त्यो संवाद शक्तिले मानिसलाई यति शक्तिशाली बनाएको छ कि उनीहरू जे पनि गर्ने सामर्थ्य राख्छन्, यहाँसम्म कि पूरा पृथ्वीलाई नै नियन्त्रणमा लिन सक्छन्, जहाँ वास्तवमा ईश्वरको शासन हुनुपर्ने हो। र, उक्त टावर पूर्ण रूपमा बनिसक्नु पहिले नै ईश्वरले उनीहरूले बोल्ने भाषामै यस्तो गडबड गरिदिए कि उनीहरू बोल्न त बोलिरहे, तर भाषा भने फरक भइदियो– कसैले एक अर्कालाई बुझ्नै नसक्ने गरी! उक्त टावर बनाउने प्रयास विफल भयो। बाइबलको त्यही कथाबाट अंग्रेजी भाषाले शब्द पायो– बेबल।
आजभोलि टोल, समाज, मिडिया, सामाजिक सञ्जाल, राजनीति, जता हेर्यो त्यतै बेबल हाबी भएझैँ लाग्छ– जो कोही बोलिरहेको छ, तर कसैले कसैको कुरा बुझिरहेको छैन।
२०४६ सालमा प्रजातन्त्रको पुनरोदय भएपश्चात् मुलुकमा चाहिएको थियो सामाजिक र आर्थिक रूपान्तरण। प्रजातन्त्रका लागि दलहरूले खेलेको भूमिकाप्रति जनताको अगाध स्नेह र सम्मान थियो। जनतामा चाहना थियो कि राजनीतिक दलले समय क्रमसँगै समाजलाई प्रगतिको बाटोमा अगाडि बढाउन्। त्यसका लागि चाहिने शर्तचाहिँ सफा राजनीति थियो। तर भइदियो के भने प्रजातन्त्रदेखि लोकतन्त्र हुँदै गणतन्त्रको यात्रा तय गर्दासम्म राजनीति परिष्कृत हुँदै जानुको साटो यसले उल्टो बाटो समायो।
विकृत र फोहोर हुँदै जाँदा राजनीति नै बेबल भइदियो, अनि यसको असर बिस्तारै समाजमा पर्न थाल्यो। अहिले या त राजनीतिक दलप्रति समाजमा अत्यन्त रोष छ या आशक्ति। जसको रोष छ उनीहरू एकोहोरो रूपमा गाली गरेको गर्यै छन् र जसको आशक्ति छ उनीहरू दलीय हिसाबले अत्यन्तै विभाजित छन्। एक अर्काप्रति सहनशीलताको स्तर यति तल खस्केको छ कि कोही पनि कसैको विचारलाई आत्मसात् गर्नु त परै जाओस्, सुन्न र बुझ्न तयार छैन।
हालैका केही घटना हेरौँ। सतहमा आएका केही मुद्दालाई लिएर जसरी विचारको बम वर्षा भएका छन्, त्यसले सिर्जना गरेको बेबलमा कसैले कसैको कुरा बुझ्ने, बुझाउने या विमर्श गर्ने कुनै गुन्जायस नै छैन। विचारको विभाजन मात्र भएको छैन, जुन तहमा र तरिकाले आ–आफ्ना तर्क थोपर्न खोजिएको छ, त्यो निकै खतरनाक छ। हद त योसम्म भएको छ कि व्यक्तिगत गालीगलौज र चरित्रहत्या नै हतियारको रूपमा प्रयोग गरिन थालिएको छ।
यो प्रवृत्ति सामाजिक सञ्जालमा मात्र सीमित नभएर अब सामाजिक जीवनमै पोखिन थालेको छ।
गत साता एक बिहान एउटा क्याफेमा दुई युवा प्रवेश गर्दा निकै हँसिलो र प्रसन्न मुद्रामा देखिन्थे। म नजिकैको टेबलमा भएकाले उनीहरू कुनै हालैको राजनीतिक विषयवस्तुमा केन्द्रित थिए भन्ने अनुमान गर्न गाह्रो थिएन। प्रस्ट यो पनि भइसकेको थियो कि दुवै जना फरक विचार वा आस्था राख्छन्। तर उनीहरू बीचको कुराकानी केही क्षणमै अनपेक्षित रूपमा आरोप प्रत्यारोपमा यसरी परिणत भयो कि, यस्तो लाग्दै थियो ती दुईमध्ये कोही पनि एक अर्कालाई सुन्न र बुझ्न राजी नै थिएनन्। यो एक प्रतिनिधि घटना मात्र हुन सक्ला, तर यसले तरंगित मात्र बनाएन कि सोच्न पनि बाध्य बनायो– एकअर्काको विचारप्रति यति असहिष्णु किन भए होलान् त ती युवा? ती आफ्ना विचार म पूर्णतः स्पष्ट थिएँ कि कुनै अति पूर्वाग्रही विचारबाट ग्रसित थिए?
हुन त हरेक व्यक्ति आफ्ना विचारका लागि स्वतन्त्र हुन्छ। लोकतान्त्रिक समाजमा हरेक व्यक्तिले विचार मिल्ने दलप्रति आस्था राख्न पाउँछ। कसैलाई कुनै दलप्रति समर्थन मात्र गर्न या कार्यकर्ता नै हुनु छ भने पनि त्यो सबैको मौलिक अधिकार नै हो। तर राजनीतिक संस्कार गुम्दै जाँदा कुनै अमुक दल या उसको विचारप्रति आस्था राख्नेहरू इतर विचारलाई स्वीकार गर्नै नसक्ने स्थितिमा पुग्नु लोकतन्त्रकै लागि कुनै राम्रो लक्षण भने हैन। पुराना या नयाँ, सबै दल र तिनका कार्यकर्ता मात्र हैन, ती दलप्रति सद्भाव राख्नेहरू पनि अहिले एकअर्काप्रति जुन रूपमा असहिष्णु देखिन थालेका छन्, त्यो निकै खतरनाक छ।
नेपालमा राजनीतिक दल र नेताहरूको आपसी भेटघाटलाई सहिष्णुता र मेलमिलापको अनुपम उदाहरणका रूपमा मिडियामा परिभाषित गरिए तापनि प्रस्ट हुँदै आएको कुरा के हो भने उनीहरूले एकअर्काप्रति देखाउने कथित सदाशयताको उद्देश्य जनता–समाज–मुलुककेन्द्रित पटक्कै छैन, सार्वजनिक खपतका खातिर उनीहरू भलै जेसुकै भनुन्। सत्ता नै सत्य हो भन्ने निष्कर्षमा पुगेका दल र नेताहरू अन्यथा सडकबाट मात्र हैन, संसद्बाट पनि एकअर्कामाथि कुन तहमा गएर हिलो छ्याप्न चुकेका छैनन्/चुक्दैनन् भन्ने कुरा आम मानिसबाट छिपेको छैन। यही प्रवृत्ति विकसित हुँदै जाँदा नै हाल बेबलको रूप लिइरहेको छ।
समस्या फरक विचार हुनु हैन। लोकतान्त्रिक समाज वास्तवमा विभाजित नै हुन्छ; एकै विचार, एकै बोली, एकै भाषा भएको समाज त कसरी पो समाज हुन्छ। फरक विचारहरू हुनु लोकतान्त्रिक समाजको विशेषता हो। तर एउटा लोकतान्त्रिक समाजले खोज्ने भनेको विचारहरूको बेबल मात्र हैन, सभ्य विमर्श पनि हो।
समाज र राजनीति दुई अलग तर अन्तरसम्बन्धित वृत्तहरू हुन्, राजनीति कस्तो छ भन्ने कुराले समाजलाई निर्देशित गर्छ अनि समाज कस्तो छ भन्ने कुराले राजनीतिलाई। हुनलाई राजनीतिक चेत भएको समाज त राम्रो हो, तर समाजको अधिक–दलीयकरणले रचनात्मक विचारको स्खलन र अभाव निम्त्याउने खतरा पनि रहन्छ। पछिल्ला वर्षमा नेपाली समाजमा राजनीतिक विचारको यस्तो बाहुल्य छ कि, यस्तो लाग्छ– राजनीतिक विचारभन्दा अरू कुनै विचार नै छैन। विमर्श, तर्क र विवेचना आदि अति-आग्रह र पूर्वाग्रह सहितका विचारहरूको बेबलमा हराइरहेका छन्।
हरेक फरक विचारप्रति हरेकले सहमति जनाउन जरुरी छैन र त्यो सम्भव पनि छैन; तर फरक विचारप्रतिको स्वीकार्यताको क्षयीकरण जुन तीव्रतासाथ भइरहेको छ, त्यसले न रचनात्मक समाज बनाउन सहयोग गर्छ न लोकतन्त्रलाई सुदृढ बनाउन नै।
दलका समर्थक र कार्यकर्ताले त बुझ्न जरुरी छ नै आमनागरिकले पनि बुझ्न जरुरी छ कि एकमाथि अर्कोले बोलेको बोल्यै गर्ने, एउटा विचारमाथि अर्को विचारले दमन गर्ने अलोकतान्त्रिक अभ्यासले समाजलाई लाने अधोगतितिरै हो। बाइबलको कथामा ईश्वरले आफ्नो शासनमा नियन्त्रण गुम्ने भयले आम मानिसको भाषा गडबड गरिदिएर सिर्जना गरिदिएको बेबलझैँ नेपाली दलहरूले पनि कहीँ बेबलका लागि पायक वातावरण तयार गर्दिइरहेका त छैनन्?