Saturday, May 04, 2024

-->

छाउघर भत्काउन धामीलाई अघि लगाऔँ

परम्परालाई हठात् तोड्न र अन्त्य गर्न सकिँदैन, तर व्यवस्थित गर्न सकिन्छ। यसका लागि उचित पहल लिनुपर्छ। आस्थासँग सरोकार राख्ने विषयमा आस्थावान्‌लाई चोट नपुर्‍याइ सकारात्मक परिवर्तन गर्न सकिन्छ, गर्नुपर्छ

छाउघर भत्काउन धामीलाई अघि लगाऔँ

छाउपडी प्रथाबारे थोरै गहन अध्ययन र धेरै बहस भएका छन्। केही कानून लागू भइसके पनि यसबारे राज्य, समाज र नागरिक अभियन्तामा समेत थोरै ज्ञान, धेरै अस्पष्टता र अनभिज्ञता छ। यो छोटो लेख नेपालको पश्चिम क्षेत्र, विशेष गरी कर्णालीमा रही गरेको वर्षौंको अध्ययन, स्थानीयसँग गरिएका कुराकानी र अनुभवका आधारमा तयार गरिएको छ। 

के हो छाउपडी? 
महिनावारी र छाउपडी एउटै वा उही अर्थ दिने अवधारणा होइनन्। उमेर पुगेका, तर रजोनिवृत्ति भइनसकेका महिलामा प्रत्येक महिना हुने प्राकृतिक गुण हो महिनावारी वा रजस्वला। महिलामा हुने जैविक प्रक्रिया हो यो। यसको आफ्नै जैविक महत्त्व छ। नेपाल भारतबाहेक अन्य समाजमा पनि महिनावारीकै कारण महिलामाथि गरिने विभेदका अभ्यास छन्। छाउपडी नेपालको निश्चित भेग र समुदायमा महिला महिनावारी हुँदा व्यक्ति, परिवार वा समाजले पालना गर्दै आएको प्रथा हो। छाउपडी समाज निर्मित (सोसल कन्स्ट्रक्ट) अभ्यास या कुपरम्परा हो।

छाउपडी प्रथा मान्ने समाजमा महिनावारी भएका महिलालाई घरमा बस्न दिइँदैन। यहाँ ‘घर’ भन्नाले परिवारसँग सधैँजसो बसिने बास हो। एउटै भवनको संरचनामा पनि त्यही भवनको सबै भाग ‘घर’ नहुन सक्छ। उदाहरणका लागि दुई वा दुईभन्दा बढी तले घरमा भुइँतलामा बस्तुभाउ राखिन्छ भने भुइँतला घर होइन, गोठ हो। छाउपडी प्रथा मान्ने समाजमा भुइँतलाको गोठमा महिनावारीका बेलामा बस्न दिइन्छ। यसले छाउगोठ हटाउने कामलाई झनै जटिल बनाइदिएको छ। यो बेग्लै प्रसंग भयो।  

छाउपडी प्रथाबाट छाउपडी अपनाउने महिला प्रत्यक्ष प्रताडित छन्। असाध्य दुःख, कष्ट, अपमान, अकल्पनीय अप्ठ्यारा उनीहरूले बेहोर्नुपरेको छ। यसका कुप्रभावबाट परिवार र समाज नराम्ररी थला परेको छ, यसको असर समग्र मुलुकलाई परेको छ। सबैले बुझेको कुरा के हो भने छाउपडी अवाञ्छनीय कुप्रभावी प्रताडनायुक्त प्रथा हो। यसलाई हटाउन ढिलो, तर गाह्रो भइरहेको छ।  

छाउपडी र ‘देउता’
अखबार, कार्यशाला, गोष्ठी, विभिन्न अवलोकनका प्रतिवेदन आदिमा छाउपडीमाथि भएका चर्चा परिचर्चा अध्ययन गर्दा यसबारे धेरैमा भ्रम र अल्पज्ञान भएको पाइन्छ। सतही ज्ञान र गम्भीर एवम् गहिरो अध्ययनको अभावमा छाउपडी प्रथाको कारण पितृसत्तात्मक समाजलाई ठहर्‍याइएको पाइन्छ। प्रामाणिक अध्ययनबिना लेखिने अखबारी लेख र समाचार, सामाजिक संस्थाका सतही प्रतिवेदनले यस विषयमा मिथ्या सूचना र भ्रामक कुरा छरेका छन्। सरकारी निकायबाट गरिएका प्रायजसो अध्ययनमा समेत सम्बन्धित विषयमा योग्यता पुगेका अनुसन्धातालाई संलग्न गराइएको छैन। यसले गर्दा अध्ययनहरू समस्याको जरोसम्म पुग्न सकेका छैनन्। फलस्वरूप यसको दिगो समाधानका लागि सरकारी र गैरसरकारी दुवै पक्षबाट परिणाममुखी नीति, रणनीति र कार्यक्रम बन्न सकेका छैनन्।

संसारका कैयौँ धर्म ग्रन्थमा महिनावारीबारे आ–आफ्ना दृष्टिकोण छन्। हिन्दु धर्मसम्वद्ध स्मृति र केही कथामा पनि महिनावारीबारे उल्लेख छ। छाउपडी प्रथा नभएका समाजमा पनि महिनावारी हुँदा पूजाकर्म, भान्सा आदि काम नगरिने चलन छन्। हिन्दु धर्मका केही विधिविधान र कथामा उल्लेख भए बमोजिमका चलन/अभ्यास हुन्। 

तर छाउपडी प्रथा हिन्दु धर्मका केही कथा र शास्त्रमा महिनावारीलाई लिएर महिलालाई निश्चित काममा गरेको निषेधभन्दा बिलकुलै फरक परम्परा हो। छाउपडी प्रथालाई सम्बोधन गर्न यी दुवै व्यवहारलाई एकै डालोमा हाल्दा समस्या झनै गुजुल्टिन्छ। यसको अर्थ केही हिन्दु विधानमा उल्लेख गरेबमोजिम महिनावारी बार्नु उचित छ भन्ने हुँदै होइन। त्यसको छलफल छुट्टै हुन आवश्यक छ। छाउपडी प्रथा स्थानीय ‘देउता’ परम्परामा आधारित छ। स्थानीय ‘देउता परम्परा’मा मानिने देउता र हिन्दु धर्मका देवता अलग–अलग अवधारणा हुन्। यी दुई अवधारणालाई भेद नगर्ने हो भने यो समस्यालाई समाधान खोज्नेभन्दा अझ जटिल बनाउने र फुकाउन झनै हम्मे पर्ने गरी गाँठो कस्ने काम हुन जान्छ।

छाउपडी प्रथाअनुसार महिनावारी भएको बेला घरभित्र पसे वा घर बसे देउता रिसाएर घर परिवारमा अनिष्ट आइलाग्दछ भन्ने अन्धविश्वास छ। यो परम्पराअनुसारको ‘देउता’ हिन्दु धर्मका ‘देवता’जस्तो मूर्ति र स्पष्ट स्वरूपको वर्णन छैन। यो अदृश्य शक्ति हो। ती अनिष्ट स्वयम् वा परिवारका सदस्यमा रोग व्याधि, दुर्घटनादेखि लिएर सम्पत्तिको नोक्सानसम्मका रूपमा आउन सक्दछन्। ‘देउता’ अवधारणा हिन्दु धर्ममा आधारित नभएर आत्मवाद (एनिमिजम)मा आधारित छ। यो प्रकारको देउतालाई ‘विशेष अनुशासन’मा बस्ने मानिसमा अवतरण गराइन्छ। 

यस्ता मानिस धामी र पुजारी (धामीका सहयोगी) हुने गर्छन्। ‘देउता परम्परा’बारे अरू धर्ममा झैँ देउताको वर्णन गर्ने अथवा देउता मान्ने विधिबारे ग्रन्थ वा पुस्तक छैनन्। ग्रन्थको अभावमा देउताको वर्णन गर्न गाह्रो भएता पनि देउता मान्ने समाजमा अपनाइएका व्यवहार र अभ्यासका आधारमा यस परम्पराबारे के भन्न सकिन्छ भने प्रत्येक व्यक्तिको अस्तित्व भौतिक जगत् र आत्मिक जगत् दुवैमा हुन्छ र त्यो पनि एकै पटक। भौतिक जगत् र आत्मिक जगतले एक अर्कामा प्रभाव पारिरहेका हुन्छन्।

‘देउता परम्परा’ अनुसार कसको कारणले के अनिष्ट वा विपत् आइलागेको हो र के विधि गरेर समाधान गर्न सकिन्छ भनेर खुट्ट्याउने काम देउताकै हो। धामीले कुनै व्यक्ति वा परिवारमा आत्मिक जगतले पारेको संकट टार्न आफूमा देउता अवतरण गराएर ती दुवै जगत्‌मा ओहोरदोहोर गर्न सक्छन् भन्ने मानिन्छ। छाउपडी प्रथाअनुसार महिनावारी भएकी कुनै पनि महिला छाउपडी मान्ने परिवारको घरभित्र बस्दा त्यो घरका देउता रिसाएर परिवारमा अनिष्ट आइलाग्छ भन्ने विश्वास समाजमा व्याप्त छ। अर्थात् घरमा देउता राखिने ठाउँ हुन्छन्, त्यहाँ देउता बस्छन् महिनावारी भएकी महिला घरभित्र बसेको देउतालाई थाहा हुन्छ र अनिष्ट हुनसक्छ। 

यो अनिष्ट आइलाग्ने विश्वास न हिन्दु धर्ममा आधारित छ, न त पितृसत्ताको संरचनामा। यो विश्वास आत्मवादमा आधारित देउता मान्ने परम्परामा छ। र, यो परम्पराले वर्जित गरेका काम गरेमा नर्कमा गइने होइन। यहीँको दैनन्दिनमा अनिष्ट आइलाग्ने त्रास हो। अर्थात् यो परम्परा यही लोकमा तुरुन्तै भोग्नु पर्ने ‘भयको सिद्धान्त’मा आधारित छ। भय भौतिक कुरो होइन। यसलाई सजिलै हटाउन सकिँदैन। भयकै कारण मानसिक अस्वस्थता मात्र होइन, चिकित्सा शास्त्रअनुसार रक्तचाप बढ्ने, ग्लुकोजको मात्रा गडबड हुने, टाउको दुख्ने, मुटु पोल्ने, अपच हुने आदि समस्या आउने हुन्छन्। छाउपडी प्रथालाई आत्मसात् गरेको समाजमा विविध कारण व्यक्तिमा आउने यस्ता अनेकौँ समस्यालाई देउता रिसाएर निम्तेको अनिष्ट भनेर बुझ्न पर्याप्त हुन्छ। यही रितका कारण मानिसका दैनिकीमा संयोगले घट्ने घरपरिवारका दुःखद परिघटना देउता रिसाएर निम्तेका थप ‘अनिष्ट’ अर्थिन पुग्छन्।

समाधानका उपाय 
आत्मवादमा आधारित देउता परम्परा अहिलेका हिन्दु, बौद्ध, इस्लाम, इसाईजस्ता धर्मभन्दा पनि धेरै पुराना हुन्। परम्परालाई हठात् तोड्न र अन्त्य गर्न सकिँदैन, व्यवस्थित गर्न सकिन्छ। यसका लागि उचित पहल गर्न सकिन्छ। आस्थासँग सरोकार राख्ने विषयमा आस्थावान्‌लाई चोट नपुर्‍याइ सकारात्मक परिवर्तन गर्न सकिन्छ, गर्नुपर्छ। महिनावारी भएका बेला घरमा पस्न, बस्न नहुने कारण घरभित्र देउता राखिने विश्वासले हो। यो विश्वासअनुसार देउता राख्न हिन्दु धर्ममा जस्तो पूजाकोठा बनाएर वा तस्वीर वा मूर्ति राखेर स्थान दिन आवश्यक हुँदैन। घरको खाँबो, छानो, दलिन कतै देउतालाई कपडाका रातासेता धजा बाँध्ने ठाउँ बनाएर पनि देउतालाई स्थान दिन सकिने विश्वास छ। कतै कतै धजा नै नबाँधे पनि महिनावारी भएका बेला घरमा नपसे घरमा देउता बस्छन् भन्ने मान्यता छ। देउता र यो परम्पराका अनुयायीका मध्यस्थकर्ता भनेका धामी नै हुन्।

सुधारका लागि सुझबुझ भएका समझदार धामीको नेतृत्वमा प्रत्येक गाउँमा सामूहिक देउता घर बनाउने, सबैका घरबाट देउतालाई यिनै देउता घरमा स्थानान्तरण गराउन प्रेरित गर्न सकिन्छ। यस्ता देउता घरलाई यस परम्परा अनुसार ‘थान’ भन्ने चलन छ। यो उपाय भनेको भइरहेकै चलनको व्यवस्थितीकरण हो। लोक परम्पराका कुरालाई समाधान गर्न स्थानीय लोककै विज्ञ, अगुवा र ‘जान्नेसुन्ने’लाई अगाडि लगाउनुपर्छ। यो सवालमा धामीहरू नै उपयुक्त स्रोत व्यक्ति र सहजकर्ता हुन सक्छन्। धामीलाई मनाएर उनीहरूकै सक्रिय र नेतृत्वदायी सहभागिता र भूमिकामा महिलालाई घरभित्र बस्ने वातावरण बनाइनुपर्छ। धामीहरूले नै विश्वस्त पारिदिएपछि समाज निर्धक्क बन्छ। अर्थात् उनीहरूमा देउताले अनिष्ट ल्याइदिने भय रहँदैन। यति भएपछि महिलाहरू महिनावारी भएका बेला घरमा बस्न अनिष्ट हुने छैन भनेर ढुक्क हुनेछन्।

यसरी छाउपडी प्रथालाई नरम तरिकाले हटाउन सम्भव छ। धामीहरूलाई साथ लिएमा सफलता पाइने अधिक सम्भावना छ। गाउँमा छाउगोठ भएकाले छाउगोठमा पठाउने चलन चलेको हो भनेर ती गोठ भत्काउनु वा यस परम्पराका संरक्षक धामी हुन् भनेर थान भत्काउनु अपरिपक्व कार्य हुनसक्छ। 

माथि वर्णन गरिएका धामीको विशेष कार्यमा समपूरक वा पूरक भूमिका निर्वाह गर्न स्वास्थ्य र  शिक्षाको अहम् महत्त्व हुन्छ। जब मानव जीवनमा आइलाग्ने अनिष्ट, हानी, बिगार आदि रहस्यमय बन्छन् र  भयको सिद्धान्तमा आधारित प्रथाले यस्ता परिणाम (छुइछाइ)लाई नै  कारक ठान्छन् भने यस्ता प्रथा हटाउन झनै मुस्किल हुन्छ। गाउँघरमा सामान्य स्वास्थ्य समस्याको पनि उपचार नहुँदा वा उपचार गर्ने सुविधासम्पन्न ठाउँ नहुँदा मानिस धामीको शरणमा पुग्न बाध्य हुन्छन् र यस्ता भयमा आधारित प्रथाले पुनश्च: सुदृढीकरणको मौका पाउने सम्भावना हुन्छ। यसकारण यी प्रथाले जरा गाडेका ठाउँमा राज्यले मनोचिकित्सकसहित सुविधा सम्पन्न स्वास्थ्य सेवा पुर्‍याउन ढिलो गर्नु हुँदैन। त्रासबाट उब्जेका रोग शारीरिक नभएर मानसिक हुन सक्छ। त्यस कारण शरीरमा आइलाग्ने कुनै पनि अस्वस्थता वा घरपरिवारका परिघटनालाई यसै प्रथाअनुसारको नियम उल्लंघनसँग जोडेर अर्थ्याउने हुँदा यसको यथोचित समाधानलाई मनोचिकित्सकको महत्त्वपूर्ण भूमिका रहन्छ।

यसैगरी, औपचारिक एवम् अनौपचारिक शिक्षा, सचेतना कार्यक्रम साथसाथै सञ्चालन गरिनुपर्दछ। यस्ता समस्या ज्वलन्त भएका प्रदेशका विद्यालय स्तरको पाठ्यक्रममा नै महिनावारी, छाउपडी प्रथा, आत्मवादमा आधारित परम्परा आदि पाठ्यवस्तु समावेश गरिनु पर्छ। अन्त्यमा सबैभन्दा महत्त्वपूर्ण कुरो के छ भने यस्ता समस्यालाई सम्बोधन गर्न सम्बन्धित तर फरक फरक विषयका दक्ष र विशेषज्ञबाट आवश्यक खोज, अनुसन्धान र सहकार्य गराउनु अपरिहार्य हुन्छ। 

उदाहरणका लागि महिनावारी स्वास्थ्य विज्ञानसम्बन्धी विषय हो र छाउपडी मानवशास्त्र तथा समाजशास्त्रसम्बन्धी अवधारणा हो। यति गम्भीर कुरामा मानवशास्त्र तथा समाजशास्त्रका विज्ञ बेखबरजस्तै छन्। हाम्रोमा समस्या यो पनि छ–अनुसन्धान, विषयगत दक्षता र विशेषज्ञताको खोजी नै नगर्ने र टापनटिपन सतही काम गरेर नीति, रणनीति वा कार्यक्रम बनाउने। समाधानका लागि गर्नुपर्ने कुरा असाध्य र अगम्य छैनन्, तर यसका लागि विषयकेन्द्रित सोधखोज गम्भीरताका साथ गरिनुपर्छ।


सम्बन्धित सामग्री