Tuesday, April 30, 2024

-->

प्रविधिलाई पूर्ण गर्ने अत्याधुनिक आविष्कार अर्थात् 'एआई'

सीमित मेमोरीयुक्त कृत्रिम बौद्धिकता धेरै जटिल हुन्छ र प्रतिक्रियाशील यन्त्रहरूको तुलनामा यसले धेरै सम्भावना प्रदान गर्छ। चालकरहित कार, च्याट जीपीटी, गुगल बोर्ड, यसका उदाहरण हुन्।

प्रविधिलाई पूर्ण गर्ने अत्याधुनिक आविष्कार अर्थात् एआई

आधुनिक कम्प्युटर विज्ञानको प्रोग्रामिङ वा कोडिङ भाषाको संजालमा लुकेको एक रहस्यमय पक्षलाई कृत्रिम बौद्धिकता (एआई) भनिन्छ। मानवझैं यन्त्रले व्यवहार गर्ने विज्ञानको एक शाखा हो कृत्रिम बौद्धिकता। कृत्रिम तरिकाबाट विकसित गरिएको बौद्धिक क्षमता हो एआई। यन्त्रले समय-परिस्थिति आदिको विश्लेषणपछि कुनै निर्णय लिन्छ भने यन्त्रको यो अवस्थालाई एआई भनिन्छ। मानिसझैं सोच्न र मानवीय संज्ञानात्मक क्षमता नक्कल गर्नको लागि यसलाई प्रोग्रामिङमार्फत् बनाइन्छ। यसको अर्थ, मानव मस्तिष्कसँग जोडिएका सोच्ने, बुझ्ने, सिक्ने र समस्या समाधान गर्ने लक्षणलाई यसले प्रकट गर्छ। यसमा यन्त्रलाई आफ्नो आचरण विपरीत प्राकृतिक रूपमा व्यवहार गर्नका लागि बनाइन्छ। 

विज्ञानको उन्नतिसँगै मानिसले बौद्धिकताको क्षेत्रमा पनि आफ्ना अनुभव र आकांक्षाबाट कृत्रिम बौद्धिकताको विकास गरेको हो। कृत्रिम बौद्धिकताले मुख्य गरी ज्ञान, विचार, समस्या समाधान, अनुभूति, योजना निर्माण र वस्तुहरूमा हेरफेर तथा स्थानान्तरितको क्षेत्रमा हुने कामलाई सुगम बनाउँछ। सन् २०२२ मा जेनेरेटिभ प्रिट्रेन्ड ट्रान्सफर्मर अर्थात् जीपीटीको प्रयोगको व्यापकतासँगै कृत्रिम बौद्धिकतालाई मुख्य धाराको रूपमा लिएको देखिन्छ। यो प्रविधिमा आधारित सबैभन्दा लोकप्रिय एप्लिकेसन ओपन एआईको च्याट जीपीटी हो। यसपछि नै कृत्रिम बौद्धिकता विभिन्न उद्योग र दैनिक जीवनमा गहिरो प्रभाव पार्ने एक परिवर्तनकारी क्षेत्रका रूपमा उदाएको छ। च्याट जीपीटीप्रति बढ्दो आकर्षणले यसलाई धेरै उपभोक्ताको मनमा एआईको पर्याय बनाइदिएको छ। यद्यपि, यसले कृत्रिम बौद्धिकताको केवल एउटा सानो अंशको मात्रै प्रतिनिधित्व गर्छ।

कृत्रिम बौद्धिकता प्रविधि अत्यन्त विस्तृत क्षेत्र हो। कृत्रिम बौद्धिकताका प्रणेतामध्ये एक कम्प्युटर वैज्ञानिक जोन मेकार्थीका अनुसार यो विशेष रूपले बौद्धिक कम्प्युटर प्रोग्राम बनाउने विज्ञान र इन्जिनियरिङको क्षेत्र हो। अर्थात् यन्त्रद्वारा प्रदर्शित गरिएको बौद्धिकता हो एआई। कृत्रिम बौद्धिकता कम्प्युटर विज्ञानको उपक्षेत्र हो, जसका जरा पूर्ण रूपले कम्प्युटर प्रणालीमा आधारित छन्। कृत्रिम बौद्धिकताको अन्तिम लक्ष्य बुद्धिमानीपूर्वक, नियमबद्ध र स्वतन्त्र रूपले मानवीय काम गर्ने उपकरणको निर्माण गर्नु हो। यसमा कम्प्युटर र कम्प्युटरद्वारा नियन्त्रित रोबोटले सामान्यतः मानिसद्वारा गरिने कार्य हुन्छ। यसले मानव बुद्धिको नक्कल गर्नका लागि 'मेसिन लर्निङ'को उपयोग गर्छ। सिरी, एलेक्सा, टेल्सा कार र नेटफ्लिक्स, एमेजनजस्ता डिजिटल एप्लिकेसन एआई प्रविधिका उदाहरण हुन्।

बौद्धिक रोबोट, कम्प्युटर गेमिङ, भाषाको पहिचान, विशेषज्ञ प्रणाली, प्राकृतिक भाषा प्रोसेसिङ, भिजन सिस्टम, आदि कृत्रिम बौद्धिकताका अन्य उदाहरण हुन्। कृत्रिम बौद्धिकतालाई अहिले मानिसले यति विकसित बनाएका छन् कि मानिसको मस्तिष्कको धेरै गुणा तीव्र र सटीक कार्य सुपरकम्प्युटर तथा रोबोटद्वारा गराइन्छ। एआईको उद्देश्य धेरै मात्रामा डाटा संशोधन गर्न, प्याटर्न पहिचान गर्न तथा विशिष्ट लक्षण प्राप्त गर्न वा समयसँगै प्रदर्शनमा सुधार गर्नका लागि नयाँ जानकारी अपनाउनमा एल्गोरिदम र मोडेल विकसित गर्नु हो। कृत्रिम बौद्धिकताको आदर्श विशेषता कुनै विशिष्ट लक्ष्य प्राप्त गर्ने सबैभन्दा राम्रो सम्भावनायुक्त तर्कसंगत कार्य गर्नु हो। 

कृत्रिम बौद्धिकताअन्तर्गत पर्ने मेसिन लर्निङ (एमएल), डीप लर्निङ (डीएल), रोबोटिक्स, वेरेबल टेक्नोलोजी इन्टरनेट अफ थिंग्स (आईओटी) इत्यादि विभिन्न क्षेत्र कृत्रिम बौद्धिकता प्रविधिकै अन्य उपशाखा हुन्। यी सबै क्षेत्रमा गरिने विभिन्न प्रयोगलाई एकीकृत रूपमा कृत्रिम बौद्धिकता प्रविधिअन्तर्गत सामेल गरिन्छ। मुख्य रूपले यी प्रयोग मानवीय जीवनलाई सहज र सरल बनाउनेतिर प्रेरित हुन्छन्। एआई एमएल र डिएल एकअर्काको स्थानमा उपयोग हुन्छन्। तर पनि यिनीहरूमा अन्तर छ। डीप लर्निङ प्रविधिले धेरै मात्रामा संरचित डाटा (टेक्स्ट, चित्र वा भिडियोको माध्यमबाट अटोमेटिक लर्निङलाई सक्षम बनाउँछ। मेसिन लर्निङ न्यूनतम मानव हस्तक्षेपसँगै स्वचालित रूपले अनुकूलित हुनसक्छ। यसले भविष्यवाणी मोडल बनाउनका लागि कम्प्युटर एल्गोरिदम र एनालिटिक्सको उपयोग गर्छ। यसको प्रयोग प्याटर्नको खोज गर्न एल्गोरिदमको उपयोग गरी त्यो डाटाबाट अन्तर्दृष्टि प्राप्त गर्नको लागि गरिन्छ। 

विकाश
कृत्रिम बौद्धिकताको खोज कार्य सन् १९२३ देखि नै भएता पनि सन् १९५० को दशकबाट यसमा बढी काम भयो। अमेरिकी वैज्ञानिक जोन मेकार्थीले १९५६ मा गरेको डर्टमाउथ सम्मेलनपछि मात्र कृत्रिम बौद्धिकताको क्षेत्रमा नयाँ मोड आएको हो। यही सम्मेलनमा कृत्रिम बौद्धिकता शब्दको रचना भयो र यसको अवधारणामाथि चर्चा भयो। यसले कम्प्युटरको क्षेत्रमा शोध र नयाँ खोजलाई धेरै बढावा दियो। कृत्रिम बौद्धिकता शब्दको रचना गर्ने जोन मेकार्थीलाई एआईको खास प्रणेता मानिन्छ। सन् १९५८ मा मेकार्थीले कृत्रिम बौद्धिकताको लागि प्रोग्रामिङ ल्याग्वेजको विकास गरे। यसपछि वैज्ञानिकहरूले विभिन्न कृत्रिम बौद्धिकता प्रणाली र एल्गोरिदमको विकासमा काम गरे। 

सुरुको दशकमा लजिक र सम्बन्धित गणितीय विधिहरूको उपयोगबाट निर्देशित समस्याहरूलाई हल गर्न सक्षम केही कम्प्युटर प्रोग्राम बनाइएका थिए। १९६० देखि १९८० सम्म कृत्रिम बौद्धिकताको क्षेत्रमा विभिन्न आविष्कार भइरहे, तर कृत्रिम बौद्धिकताको विकासमा सन् १९८१ मा जापानद्वारा एआई प्रविधिको प्रयोग गरी पाँचौं पुस्ताको कम्प्युटर बनाउने घोषणा धेरै महत्त्वपूर्ण थियो। त्यसका लागी दस वर्षीय कार्यक्रमको रूपरेखा प्रस्तुत गरियो। ब्रिटेनले जापानसँग प्रतिस्पर्धा गर्न एलबी प्रोग्रामको घोषणा गर्‍यो। युरोपियन युनियनले पनि एस्प्रिट नामक योजना घोषणा गर्‍यो। सन् १९८३ मा यो समूहले धेरै ठूलो परिमाणमा एकीकृत सर्किट (भेरी लार्ज स्केल इन्टिग्रेटेड सर्किट) को विकासको लागि माइक्रो इलेक्ट्रोनिक्स एण्ड कम्प्युटर टेक्नोलोजी नामक संयुक्त औद्योगिक संस्थानको स्थापना गर्‍यो।  

सन् १९९० देखि २००० को बीचको दशक कृत्रिम बौद्धिकताको लागि युगान्तकारी रह्यो। सन् २००५ देखि २०१९ को बीचमा आजको प्रगतिको आवाजको पहिचान, रोबोटिक प्रोसेस अटोमेसन (आरपिए), डान्सिङ रोबोट, स्मार्ट हाउस र अन्य धेरै चीजहरूको आविष्कार भएको थियो। २०१० मा वर्तमान नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङको उपयोगबाट कम्प्युटरलाई भाषा बुझ्ने र संवाद गर्ने क्षमता प्राप्त भएको हो। च्याट जीपीटी प्रविधि यसैमा आधारित छ। यसको अतिरिक्त कम्प्युटर, इन्टरनेट, सिलिकन चिप र मेमोरीको स्वरूपले पनि कृत्रिम बौद्धिकताको विकासमा महत्त्वपूर्ण योगदान दिएको छ। 

कृत्रिम बौद्धिकताका प्रकार
कृत्रिम बौद्धिकताका विभिन्न प्रकार छन्। कृत्रिम बौद्धिकतालाई त्यसको कार्यशैलीको आधारमा बलियो कृत्रिम बौद्धिकता र कमजोर कृत्रिम बौद्धिकता गरी दुई वर्गमा विभाजित गरिन्छ। बलियो कृत्रिम बौद्धिकताले प्रविधि समर्थित यन्त्रहरूद्वारा मानिसले गर्न सक्ने सबै कतिपय काम गर्न सक्षम हुन्छ। अर्थात् यसद्वारा कार्य गर्ने क्रममा मानवीय हस्तक्षेप लगभग नगण्य हुन्छ। यस प्रकारको कृत्रिम बौद्धिकतालाई पूर्ण कृत्रिम बौद्धिकता पनि भनिन्छ। यो मानव समान कार्य गर्ने अत्यन्तै जटिल प्रणाली हो। यसको प्रयोग स्वचालित कारमा देखिन्छ। प्रविधि समर्थित यन्त्रहरूद्वारा मानिसले गर्ने सबै कामहरू गर्न कमजोर कृत्रिम बौद्धिकता भने सक्षम हुँदैन। अर्थात् यहाँ यन्त्रद्वारा कार्य सम्पादन गर्ने क्रममा बीचबीचमा पर्याप्त मानवीय हस्तक्षेपको पनि आवश्यकता हुन्छ। 

यसको प्रयोग कुनै विशिष्ट वा सीमित क्षेत्रसम्म हुन्छ। अहिले उपयोग भइरहेको कृत्रिम बौद्धिकताको प्रचलित नाम सीमित कृत्रिम बौद्धिकता (न्यारो एआई) हो। यस प्रकारको एआईलाई विशिष्ट कार्यहरू वा एकल विचार सीमाको लागि बनाइन्छ र प्रशिक्षित गरिन्छ। गुण र कार्य प्रणालीको आधारमा यसलाई विभिन्न प्रकारमा विभाजित गरिएको देखिन्छ। 

पहिलो, पूर्ण प्रतिक्रियात्मक (प्योर्ली रियाक्टिभ) हो। यसमा इनपुटको आधारमा आउटपुटलाई उत्कृष्ट बनाउनको लागि एल्गोरिदमको उपयोग हुन्छ। चेस खेल्ने एआई प्रणाली यसको उदाहरण हो। यसले प्राप्त सूचनाअनुसार प्रतिक्रिया व्यक्त गर्छ। यसलाई कुनै एउटा कामका लागि प्रशिक्षित गरिन्छ। यसले केवल वर्तमान स्थितिमा ध्यान केन्द्रित गर्छ र सर्वोत्तम तरीकाले प्रतिक्रिया दिन्छ। यसमा मेमोरीको कमी हुन्छ। यो वास्तविक समयको निर्णय लिन अघिल्ला अनुभवहरूमा भरोसा गर्न सक्दैन। यो आफ्नो सामुन्नेको 'संसार' हेर्न र प्रतिक्रिया गर्न आफ्नो बुद्धिको उपयोग गर्न भने सक्षम हुन्छ। 

दोस्रो, सीमित स्मृति (लिमिटेड मेमोरी)हो। यस प्रकारको कृत्रिम बौद्धिकताका यन्त्र थोरै उन्नत हुन्छन्। यिनीहरूले तुरुन्त जानकारी आफ्ना विगतका केही जानकारीसँग मिलाएर राख्छन् र प्रोग्रामिङमा सामेल गरी आफ्ना कार्यहरू संचालित गर्छन्। यो प्रणालीले विगतका अनुभवहरूको अनुकूलित हुनुका साथै नवीन डाटाको आधारमा स्वयंलाई अद्यावधिक गर्छ। यसमा पनि लगातार सिक्ने र अनुकूलित हुने क्षमताको अभाव हुन्छ। सीमित मेमोरीयुक्त कृत्रिम बौद्धिकता धेरै जटिल हुन्छ र प्रतिक्रियाशील यन्त्रहरूको तुलनामा यसले धेरै सम्भावना प्रदान गर्छ। चालकरहित कार, च्याट जीपीटी, गुगल बोर्ड, यसका उदाहरण हुन्। भविष्यमा अन्य प्रकारको कृत्रिम बौद्धिकताको विकासको सम्भावना व्यक्त हुँदै गएको छ। यस्ता कृत्रिम बौद्धिकतामा सामान्य एआई (जनरल एआई), मस्तिष्क एआई (माइन्ड एआई), स्वविवेकी एआई (सेल्फ अवेरनेस) र कृत्रिम उच्च बौद्धिकता (सेल्फ अवेर एआई) पर्छन्। 

सामान्य एआईसँग मानवको जस्तै बुद्धि र क्षमता हुन्छ। यो मानिसले गर्ने कुनै पनि क्रियाकलाप बुझ्ने, सिक्ने र कार्यान्वयन गर्ने बौद्धिक काम गर्न सक्षम हुन्छ। मस्तिष्क एआईमा मानवीय भावना, विश्वास र विचारको बोध हुन्छ। यस प्रकार यो सबभन्दा तीव्र मानव मस्तिष्कसमान हुनेछ। यसमा विगत अनुभवबाट सिक्ने र त्यसलाई कायम राख्ने व्यापक क्षमता हुन्छ। यस प्रकारको एआईमा उन्नत च्याटबट सामेल हुन्छ। मनको सिद्धान्त कृत्रिम बौद्धिकता प्रविधिको एक अत्याधुनिक वर्ग हो, जुन केवल अवधारणामा विद्यमान छ। यस प्रकारको एआई रोबोट अहिलेसम्म बनिसकेको छैन। तर शोधकर्ता तिनीहरूको क्षमतालाई अगाडि बढाउन कडा मेहनत गरिरहेका छन्।

स्वविवेकी एआईले चेतनाद्वारा आफूलाई जागरुक गराउन सक्छ। यसले बुझ्न सक्छ र मानवजस्तै व्यक्तिगत अनुभवबाट लैस हुन्छ। यो स्वयंको अस्तित्वप्रति संवेदनशील र जागरुक हुन्छ। यो बुद्धिमान हुन्छ र यसमा भावना, चेतना र 'आत्म'जागरुकता हुन्छ। यसले मानवीय भावना पत्ता लगाउन सक्छ र तिनका आन्तरिक विशेषता, परिस्थिति र मनोदशा बुझ्न सक्छ। मानवीय दिमागभन्दा पनि यी बुद्धिमान हुन सक्छन्। कृत्रिम उच्च बौद्धिक एआई मानव मस्तिष्कभन्दा पनि धेरै उच्च कृत्रिम बौद्धिकता हो। यसले सबभन्दा बुद्धिमान मानिसको दिमागलाई पनि विफल गर्न सक्षम हुन्छ। यसलाई समाज र सभ्यतामा  गहिरो प्रभाव पार्ने खतरनाक एआई बताइएको छ।  

एआई कम्प्युटर विज्ञानको सबैभन्दा जटिल र आधुनिक शिक्षा हो। यसको प्रोग्रामिङ जटिल हुन्छ र कुनै खास कार्यको लागि यसलाई तयार गरिन्छ। यसको प्रोग्रामिङ निर्देशनमा मानव जसरी काम गर्न सकोस् र निर्णय लिन सकोस् भनेर गरिएको हुन्छ। यसले प्रोग्रामद्वारा बताइएका स्थलहरूबाट नयाँ आँकडा पनि ग्रहण गर्छ र स्वयंलाई निरन्तर बुद्धिमान बनाइरहन्छ। त्यस कारण मानिसको जसरी नै बौद्धिकतामा लगातार सिक्ने गुण यसमा समाहित हुन्छ। एउटा मानिसलाई परिपक्व हुन र महत्त्वपूर्ण मुद्दामा परिपक्व निर्णय लिने क्षमता विकास गर्न धेरै वर्ष लाग्छ, तर कृत्रिम बौद्धिकता प्रोग्रामलाई एक पटक निर्देशन दिएपछि तुरुन्तै आफ्नो काम गर्न लाग्छ र कामको क्रममा प्राप्त भएका अनुभवबाट ज्ञान पनि आर्जित गर्छ। 

एआईका काम
मानव जीवनका दैनिक क्रियाकलापको कार्यान्वयनका लागि कृत्रिम बौद्धिकताको उत्कृष्ट ढंगले उपयोग गर्न सकिन्छ। कृत्रिम बौद्धिकताको माध्यमबाट उत्खनन् र अन्वेषणका काम गर्न सकिन्छन्। गहिरा र दुर्जन स्थलमा मानवको ठाउँमा रोबोट पठाउँदा मानव जीवनको पनि रक्षा हुन्छ र त्यस क्षेत्रको सटीक आँकलन पनि गर्न सकिन्छ। ब्रम्हाण्डका नसुल्झिएका विभिन्न रहस्य सुल्झाउन पनि कृत्रिम बौद्धिकताको धेरै ठूलो महत्त्व रहन जान्छ। यसमा आधारित उपकरणलाई ब्रम्हाण्डका विभिन्न खगोलीय पिण्डमा पठाएर त्यसबारे जानकारी प्राप्त गर्न सकिन्छ। ब्रम्हाण्डका विभिन्न परीक्षणको क्रममा प्राप्त आँकडाहरूको विश्लेषण गरी ब्रम्हाण्डको उत्पत्ति र यससँग सम्बन्धित विभिन्न रहस्यबारे सटीक जानकारी प्राप्त गर्न कृत्रिम बौद्धिकता सक्षम साबित हुनसक्छ। 

कृत्रिम बौद्धिकताबाट व्यापार क्षेत्रलाई अनुकूलित गर्न, निर्णय लिन, दोहोर्‍याइने कार्यलाई स्वचालित गर्न, ग्राहक सेवामा सुधार गर्न, व्यक्तिगत बजारीकरणलाई सक्षम बनाउन, अन्तर्दृष्टिको लागि 'बिग डाटा'को विश्लेषण गर्न, साइबर सुरक्षा खतरालाई पत्ता लगाउन,आपूर्ति श्रृंखला प्रवर्द्धनलाई प्रभावकारी बनाउन, नवप्रवर्तन एवम् प्रतिस्पर्धामा विकास गर्न सकिन्छ। कृत्रिम बौद्धिकता कानूनी अनुसन्धान र विश्लेषणमा सुधार, दस्तावेजीकरण र मुद्दा व्यवस्थापन स्वचालित गर्न, न्यायिक प्रक्रिया तथा समय बढाउन, पूर्वानुमानित विश्लेषणको माध्यमबाट कानूनी निर्णय लिनमा सहायता गर्न र भर्चुअल रूपमा कानूनी सहायता प्रदान गरी न्यायसम्म पहुँच प्रदान गर्नको लागि फाइदाजनक हुन्छ। 

साइबर सुरक्षा गर्न र साइबर खतरा पत्ता लगाइ त्यसलाई रोक्न, विषम गतिविधिको पहिचान गर्न, प्रारूप एवं तथ्यांक विश्लेषण गर्न, नेटवर्क तथा समापन सुरक्षा बिन्दुलाई बढाउन, खतराको प्रतिक्रिया एवम् घटना व्यवस्थापनलाई स्वचालित गर्न, प्रमाणीकरण र पहुँच नियन्त्रणलाई बलियो बनाउन पनि कृत्रिम बौद्धिकताको महत्त्वपूर्ण भूमिका हुन्छ।

चुनौती
कृत्रिम बौद्धिकतामाका धेरै बेफाइदा पनि छन्। यसले धेरै मानिसलाई रोजगारविहीन बनाइदिन सक्छ। धनी र गरीबबीचको खाडल झनै ठूलो बनाउन सक्छ। प्रयोग गरिने डाटाबाट पक्षपाती र भेदभावपूर्ण परिणाम पनि उत्पन्न हुनसक्छ। यसबाट धेरै प्राविधिक समस्या पनि आउन सक्ने देखिन्छ। कृत्रिम बौद्धिकता प्रणाली मानिसद्वारा नै बनाइने हुनाले पक्षपाती निर्णय लिने कुराको अनुमान गर्न सकिन्छ। अर्को कुरा, यस्ता कृत्रिम बौद्धिकताको उपयोग गर्नमा धेरैजसो विकसित देश सक्षम हुन्छन्। त्यसो हुँदा विकसित देशले तीव्र रूपमा विकास र समृद्धि हासिल गर्न सक्छन्। यस्तो स्थितिमा कृत्रिम बौद्धिकताले विश्वको पारस्परिक विकास झनै बढी दरार पैदा गरिदिन्छ। धनी देश अझ धनी हुँदै जान्छन् भने गरिब अझै गरिब हुँदै जान्छन्। यो कृत्रिम बौद्धिकताको एकदमै नकारात्मक पक्ष हो।

कृत्रिम बौद्धिकताको विकास हुँदै गएपछि विशेषीकृत मानवीय क्षेत्रका कामहरू गरिनेछन्। यसले मानव प्रतिस्पर्धात्मकतालाई खतरामा पार्न सक्छ। कृत्रिम बौद्धिकता गलत हातमा गयो भने विश्व सुरक्षामा ठूलो चुनौतीसमेत पार्न सक्छ। यसबाट विशेष रूपले नागरिक डाटाबेसका निजी कम्पनी र सुरक्षा एजेन्सीहरूद्वारा दुरुपयोगसँगै स्वास्थ्य, शिक्षा र अन्य क्षेत्रमा व्यक्तिगत डाटाको सम्भावित चोरी हुनसक्छ। सबै डिजिटल जानकारीको 'ह्याकिङ' र दुरुपयोगको खतरा हुन्छ। त्यस कारण कृत्रिम बौद्धिकताले सक्षम प्रणालीलाई प्रासंगिक गोपनीयता सुरक्षा उपायसँगै डाटालाई सुरक्षित रूपमा सम्हाल्नु अत्यन्तै आवश्यक हुन्छ।  

कृत्रिम बौद्धिकतामार्फत हतियार निर्माण र युद्ध विश्वको लागि धेरै खतरनाक हुनसक्छ। कृत्रिम बौद्धिकतायुक्त प्रविधि आतंकवादीको हातमा पर्‍यो भने संसारमा धेरै ठूला समस्या निम्तिन सक्छन्। कृत्रिम बौद्धिकताको तीव्र विकास हुँदै गएपछि मानवीय रचनात्मकतामा कमी आउँछ। मानिसमा आफ्नोपनको भावना घट्दै जान्छ। मानिस आफूभन्दा बढी यन्त्र र उपकरणसँग समय व्यतीत गर्न थाल्छन्। मानिसहरूमा अल्छीपन बढ्नेछ। कृत्रिम बौद्धिकता अनियन्त्रित रूपले विकसित हुँदा त्यसले मानव जातिलाई नै आफ्नो अधीनमा लिएर मेटाइदिन सक्ने तर्क पनि कतिपयले गर्ने गरेका छन्। कृत्रिम बौद्धिकतामार्फत यन्त्र स्वयंले निर्णय लिन सक्ने तर त्यसमाथि नियन्त्रण प्रणालीको विकास भएन भने मानव सभ्यताका लागि त्यो सबैभन्दा खतरापूर्ण हुनेछ। त्यसो हुँदा कृत्रिम बौद्धिकताको विकासमा विवेक एवम् सतर्कताको अति जरुरी हुन्छ।

आजका दिनसम्म मानिसले धेरै हदसम्म कृत्रिम बौद्धिकतामा आफ्नो निर्भरता कायम गरिसकेको छ। आउने समयमा यो निर्भरता यति बढ्नेछ कि कृत्रिम बौद्धिकताबिना मानव जीवन असम्भवजस्तै पनि हुनसक्छ। कृत्रिम बौद्धिकताको प्रयोग बढ्दै गएपछि मानवका लागि यो झनै खतरापूर्ण बन्नेछ। तिनै कुरा मनन गर्दै वैज्ञानिकहरू यसलाई मानव कल्याणका लागि सर्वोत्तम रूपले प्रयोग गर्ने गरी र मानव विनाशको कारण नबन्ने गरी यसको विकास र नियन्त्रणमा जुटेका छन्।


सम्बन्धित सामग्री