Monday, April 29, 2024

-->

घरको चार घेराबाट निस्कनु नै महिलाको पहिलो क्रान्ति

राणाशासन र पञ्चायती  व्यवस्थामा राजघरानीयाँ महिला सत्तामा हालीमुहाली गर्थे, अवसर र स्रोतसाधनमा तिनकै वर्चस्व थियो। महिलाका लागि भनिने कार्यक्रम, योजना र नीतिहरू रानीका नाउँमा जारी हुन्थ्यो।

घरको चार घेराबाट निस्कनु नै महिलाको पहिलो क्रान्ति

महिलाले खुला आकाशमुनि स्वतन्त्र विचरण गर्नु आफैँमा सुन्दर विद्रोह हो। महिला सार्वजनिक रूपमा देखा पर्नु युगौँदेखि जरा गाडेर बसेको पितृसत्तालाई चुनौती हो, पितृसत्ताविरुद्ध प्रतिरोधको शंखघोष हो। जात व्यवस्थामा आधारित पितृसत्ताले महिला र दलितलाई पशुसरह दर्जा दिन्छ। त्यसैले हाम्रो जस्तो समाजमा महिलाले आफ्नो अधिकारबारे बोल्नु यथास्थितिमा रहेको समाजलाई खलबल्याउनु हो। 

‘सार्वजनिक जीवनमा महिला’, एक स्मृतिको पहल (२०२३) पुस्तकमा  समाजका विभिन्न क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेका महिलाहरूको फोटो, व्याख्या र अनुभूति समेटिएको छ। पुस्तक नेपाल पिक्चर्स लाइब्रेरीले प्रकाशन गरेको हो। पुस्तकले समय कालखण्डका हिसाबले मूलतः राणाशासन (२००७) अन्त्यमा महिलाको प्रतिरोध र आन्दोलनलाई प्रस्ट्याएको छ। त्यसैगरी, ०१७ सालमा राजा महेन्द्रले निर्वाचित संसद् भंग गरी सत्ता हत्यापछिको समय राजनीतिक दलहरूमाथि प्रतिबन्ध लाग्यो। यस पुस्तकमा एकतन्त्रीय पञ्चायती व्यवस्थाविरुद्ध कम्युनिस्ट र कांग्रेस विचारधारामा संगठित महिलाहरू राजनीतिमा होमिएर  जेलनेल खेपेको, निर्वासनमा कष्ट र पञ्चायती कहर भोगेको अनुभूति समावेश छ। राजनीतिमा लागेबापत महिलाले आफ्ना श्रीमान् र छोराछोरी गुमाएका सन्दर्भ छन्। विगतमा महिलाले गरेका राजनीतिक, सामाजिक योगदानलाई पुस्तकले उजागर गरेको छ। 

राजनीतिमा महिला 
हिन्दू वर्णवादी अवधारणालाई जस्ताको तस्तै सर्लक्क शिरोधार्य गरेको राणाशासनमा महिलाले पढ्न पाउने कुरै भएन। महिलाले पढ्न-लेख्न पाउनुपर्छ भनेर तत्कालीन राणा प्रधानमन्त्रीसँग आँखा जुधाएर माग गर्न सक्ने वीरंगना साधना प्रधान, मंगलादेवी सिंह र सहाना प्रधानहरूको योगदानले आजका महिलाको ज्ञानको ढोका उघार्न अतुलनीय योगदान गरेको छ। 

३० वर्षे पञ्चायती व्यवस्थामा देशभित्रै भूमिगत र निर्वासनमा रहेका कम्युनिस्ट र कांग्रेस महिला नेताहरूको कठिन राजनीतिक जीवन संर्घषलाई झल्काउने तस्वीरसहितको संक्षिप्त जानकारीले त्यस बेलाको जीवन्त अनुभूति दिन सफल छ पुस्तक। यस पुस्तकमा समावेश भएका विषय क्षेत्र, समय खण्डका हिसाबले चर्चा गर्दा मूल रूपमा विसं. २००७ सालको प्रजातान्त्रिक क्रान्ति, ०१७ सालको ‘कू’ र पञ्चायती व्यवस्थाको ३० वर्ष, ०४६ सालको जनआन्दोलन, १० वर्षे सशस्त्र द्वन्द्व र ०६२/०६३को जनआन्दोलनमा नेपाली महिलाको अथक संघर्ष र भूमिकालाई  फोटो लाइब्रेरीमा उतार्ने राम्रो  प्रयास भएको छ। 

२००७ साल, ०४६ साल  हुँदै ०६३/०६४को जनआन्दोलन र दस वर्षे जनयुद्धसम्म आइपुग्दा नेपाली महिलाको सामाजिक, राजनीति, आर्थिक र सांस्कृतिक क्षेत्रमा पहुँच र सहभागिताको अवस्था तस्बिरमा देख्न सकिन्छ।  एकतन्त्रीय पञ्चायती व्यवस्थाविरुद्ध भूमिगत कम्युनिस्ट राजनीतिमा संलग्न रहेर जनवादी क्रान्तिमा होमिएका सहाना प्रधान, शान्ता मानवी, सुशीला श्रेष्ठ, अष्टलक्ष्मी शाक्यहरूले घरपरिवार र समाजसँग विद्रोह गर्दै तत्कालीन जोखिमपूर्ण राजनीतिमा बलियो उपस्थिति जनाउनु आफैँमा ऐतिहासिक र गर्बिलो परिघटना हो । 

नेपाली काँग्रेसको प्रजातान्त्रिक खेमाबाट पञ्चायती शासनलाई हाँक दिने महिलाहरू मंगलादेवी सिंह, रेवतीकुमारी आचार्य, रश्मि राज्यलक्ष्मी शाहको  संघर्षपूर्ण योगदान र भूमिका तस्वीरमा उल्लेख छन्। इतिहासलाई आजको चेत र आँखाबाट बुझ्न ‘सार्वजनिक जीवनमा महिला’ पुस्तकले सहयोग गर्छ। यस पुस्तकले शिक्षा, पत्रकारिता, राजनीति, साहित्य र प्रशासन क्षेत्रका महिलाको सार्वजनिक उपस्थिति समेटेको छ। नेपाली महिलाको ज्ञानको आर्जनको संघर्षसँगै अँध्यारोबाट उज्यालोतिर, घरको चौघेराबाट समाज हुँदै विश्व यात्रामा आफ्नो पहिचान र अस्तित्व दुवैको जनाउ पाइला अगाडि चाल्ने यात्रा आजपर्यन्त जारी छ। 

पुस्तकमा नेपालको राजनीति र सामाजिक परिवर्तनका लागि योगदान दिएका प्रतिनिधि महिलाबारे संक्षेपमा चर्चा छ। विसं २००७ सालको राणाशासन फ्याँक्ने प्रजातान्त्रिक आन्दोलनको अग्रमोर्चामा मंगलादेवी सिंहको चर्चा हुन्छ, जो कांग्रेस नेता गणेशमान सिंहसँग विवाह भएको तीन महिनामै राजनीतिमा होमिइन्। नेपाल महिला संघमार्फत नेपालको महिला आन्दोलनको  विस्तारमा उनको महत्त्वपूर्ण भूमिका थियो। महिला भएकै कारण समाज र आफ्नै घरमा हुने विभेदविरुद्ध लाग्न मंगलादेवी सिंहलाई राजनीतिले हौसला दिएको थियो। २०१७ सालमा राजा महेन्द्रले ‘कू’ लगाएपछि नेपाली कांग्रेसका अन्य नेतासँगै मंगलादेवी पनि भूमिगत हुनुपरेको थियो। 

राणा शासनविरुद्ध आफ्नो श्रीमान् टंकप्रसाद आचार्य सर्वस्वहरणसहित जेल परेपछि राणाविरोधी आन्दोलनमा निरन्तर लागेकी रेवतीकुमारी आचार्य अर्को साहसिक नेता हुन्। शान्ता श्रेष्ठ जसले २००७ सालमा १६ वर्षको उमेरमै राणाविरुद्ध नाराबाजी गरेको तस्वीर छापिएपछि भूमिगत हुन परेको थियो। पछि बीबीसी नेपाली रेडियोमा प्रस्तोताका रूपमा उनले ३५ वर्ष सञ्चारकर्मीको रूपमा सेवा गरेकी थिइन्। क्रान्तिकारी महिला नेतृ पुण्यप्रभादेवी ढुंगाना जसले सन् १९५१ मा अखिल नेपाल महिला संगठनको स्थापना गरिन्, यी महिलाको भूमिका र योगदानलाई तस्वीरले जीवन्त बनाएको छ। 

महेन्द्रले  निर्वाचित सरकार खारेज गरी ‘क’ लगाएपछि रश्मि राज्य लक्ष्मी शाह र जगत प्रकाशजंग शाह दुवैको नेपाली प्रजातान्त्रिक प्राप्तिको आन्दोलनमा अतुलनीय योगदान स्मरणीय छ। निरकुंश पञ्चायती शासनविरुद्ध जीवन आहुति दिएका जगतप्रकाशजंग शाह र रश्मि शाह जोडीको ऐतिहासिक प्रेम सबै क्रान्तिकारीका लागि प्रेरणादायी  छ। रेडियो नेपालमा सहायक निर्देशकका रूपमा काम गर्ने रश्मि र उनको प्रेमी जगतप्रकाशजंग शाहसँगको रोचक प्रेम प्रसंग, विवाह र जगतप्रकाशजंग शाहको पञ्चायती सेनाले हत्या गरेपछि रातो क्रान्तिको माग गर्दै विद्रोही कविता लेखेर रश्मिले सन् १९६२ मा आत्महत्या गरिन्। आत्महत्या गर्नुअघि रातो कलमले लेखेको प्रेमपूर्ण कविताका फोटोले हामीलाई मीठो स्मरण र अमरप्रेमको सन्देश दिन्छ। 

टुकीको उज्यालोमा पढ्दै
सन् १९३५ ताका नेपाली समाजमा महिला शिक्षा वर्जितजस्तै थियो। राजधानीको काठमाडौँमै महिला लेखपढ गर्नका लागि विद्यालय थिएन। त्यस्तो बेला चन्द्रकान्तादेवी मल्लले कन्या विद्यालय खोल्ने जमर्को गरिन्। महिला शिक्षाको शुरूआती बेलालाई हेर्दा चन्द्रकान्तादेवी मल्लले सन् १९३५ बाट पहिलो छात्रा विद्यालयको शुरूआत गरेपछि नै सन् १९६० को दशकमा शिक्षाको क्षेत्रमा महिलाको सहभागिता बढ्यो, जसले राजनीतिमा पनि गजबका महिला नेतृ बनाउन सफल भयो। संसारभर जस्तै नेपालमा पनि त्यसयता बिस्तारै शैक्षिकस्तर उकासिँदै गयो। 

छोरी शिक्षालाई बोझ र बेकार मान्ने सामाजिक संरचनासँगै लड्दै शिक्षा हासिल गर्न सफल भएका महिलाहरूले पछि अन्य क्षेत्रमा रूपान्तरणका लागि अगुवाको भूमिका निर्वाह गरेका छन्। तत्कालीन सामन्ती पितृसत्तात्मक समाजका सचेत महिला र केही बौद्धिक पुरुषले छोरीलाई पढाउन हुँदैन भन्ने पर्खाल भत्काउन सफल भएका थिए, तर अड्चन त यद्यपि हटेको छैन। 

सन् १९५० ताका 'मेचीकी दिदी'को नामले प्रसिद्ध सरस्वती राईले इलामका बालबालिकाको शिक्षाका लागि अभियानकी नेतृत्व गरिन्। त्यसैगरी, पञ्चायती व्यवस्थामा महिला नेताको रूपमा स्थापित भद्राकुमारी घले (जो पछि पञ्चायती सरकारको श्रम तथा सामाजिक कल्याण मन्त्री बनिन्)  र बमकुमारी घले बुढामगर राजनीति र सामाजिक कार्यमा अग्रपङ्क्तिमा थिए। 

सन् १९४९ मा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएसँगै मार्क्सवादी कोणबाट महिला मुक्तिको सवाल उठाउन थालिएको थियो। महिलामाथि लैङ्गिक उत्पीडन मात्रै छैन, वर्गीय उत्पीडन पनि छ। महिलामाथि लैङ्गिक उत्पीडनको स्रोत पनि वर्गीय उत्पीडन नै हो भन्ने निष्कर्षसहित मार्क्सवादी अवधारणा विस्तार भइरहेकै बेला नेपालमा सन् १९८१ मा अखिल नेपाल महिला संघको स्थापना भयो। संघले आफ्नो घोषणापत्र जारी गर्दै नेपालको आधा जनसंख्या भएका महिला अशिक्षा, अन्याय र  थिचोमिचोमा परेकाले त्यसबाट उन्मुक्ति पाउनुपर्ने माग उठाएको थियो। 

महिलाको हकहित, अधिकार, अन्धविश्वास, रुढीवाद, शोषण, गरिबी, अनिकाल, जुवातास, मादक पदार्थको आडमा महिलालाई कुटपिट गर्ने कुरालाई दण्डनीय बनाउनुपर्ने माग तत्कालीन राज्यसँग राखेको थियो। महिला र पुरुषबीचको असमानता हटाउनु पर्ने, नेपाली राष्ट्रियता,सुरक्षा, जनतन्त्रको स्थापना र जनजीविकाको निम्ति संघर्षमा सक्रिय भाग लिन पाउनु पर्नेजस्ता मागलाई केन्द्रमा राखिएको थियो। 

त्यसैगरी, पुस्तकमा सन् १९८१ बहुचर्चित नमिता र सुनीता बलात्कार हत्याकाण्डको विरोधमा  राजनीतिक  दलमा आबद्ध महिला नेतृहरू र नागरिक समाजमा आबद्ध महिलाले काठमाडौँमा विरोध प्रदर्शन गरेको तस्बिर यसमा समावेश छ। उक्त बलात्कारपछि हत्या अभियोगमा पञ्चायती व्यवस्थाका उच्च ओहदाका व्यक्ति र राजपरिवारकै व्यक्तिको संलग्नताको पनि आशंका गरिएको थियो। त्यसविरुद्ध सचेत महिलाहरूले नारा जुलुस गरेका थिए।

त्यसैगरी, सन् १९९० (२०४६) को जनआन्दोलनताका गठन गरेको संयुक्त बाम मोर्चाको नेतृत्व सहाना प्रधानले गरेकी थिइन्। जनआन्दोलनको सफलतापछि  सहाना प्रधान अन्तरिम मन्त्रिमण्डलमा थिइन्। लक्ष्मी कार्कीलगायत थुप्रै महिला नेताले जनआन्दोलन सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।  

मुलुकभन्दा बाहिर 
बिस्तारै नेपाली महिलाले आफ्नो मुलुकभन्दा बाहिरको देश, संस्कृति, सामाजिक, राजनीतिक र आर्थिक  विकासलाई नजिकबाट नियाल्ने अवसर प्राप्त गरे। सन् १९६३ मस्कोको भ्रमण गर्नेमा  विमला मास्के, ओमी श्रेष्ठ, शशिकला शर्मा र समूहले विश्व महिला स्वतन्त्र संगठनको पाँचौँ विश्व महिला सम्मेलनमा सहभागिता जनाएका तस्बिर पुस्तकमा छन्।    

मीना आचार्य मस्कोमा,  बिन्दा पाण्डे हंककंग (सन् १९९६),  प्रतिभा सुबेदी ओसाकाको जापान, मञ्जु थापा दक्षिण कोरिया (१९९५) आदिले विश्व भ्रमणका पहिलो पाइलाहरू राखेको तस्बिरले महिलाको स्वतन्त्र उडान देखाउँछ। सोभियत युनियन, चीन, बर्मा, पाकिस्तान, भारतजस्ता देशमा नेपाली महिला पुगेर अनुभव सँगाल्न सफल भएको देखिन्छ। 

४० प्रतिशत महिला लडाकु लडेको जनयुद्ध
१० वर्षे नेपाली द्वन्द्वकाल जसले महिला, दलित, मधेशी, आदिवासी जनजाति समुदायको समावेशीको मुद्दा स्थापित गर्‍यो। त्यसैगरी गणतन्त्र र धर्म निरपेक्षताको विषयलाई राज्यले सम्बोधन गर्ने अवस्था सिर्जना गर्‍यो। महिलाको काम परिवार र बालबच्चा मात्रै सम्हाल्ने मात्रै हो भन्ने मान्यता भत्काएर जनयुद्धको लडाकु दस्तामा ४० प्रतिशत महिला समावेश भए। सन् २००० राज्यविरुद्ध भएको छापामार युद्धमा सहभागी महिला छापामारका थवाङ, रोल्पा लगायतका क्षेत्रमा खिचिएको तस्बिर पुस्तकमा समावेश छन्। सन् १९९८ जयपुरी घर्तीले अन्तर्जातीय विवाह गरेको तस्बिर,  जनयुद्धका समयमा भूमिगत रहँदा माओवादी पोलिटब्युरो सदस्य हिसिला यमिले आफ्नी छोरीलाई लेखेको चिठ्ठी लगायतका सन्दर्भ तस्बिरमा अटाएका छन्। 

महिलाका रचना र साहित्य
नेपालमा छापाको शुरूआत र लोकतन्त्रको लागि संघर्ष एकअर्कासँग गाँसिएका सवाल हुन्। शिक्षा पाए महिला तथा सर्वसाधारणले आफ्ना हकहित अधिकार माग्छन् भनेरै सबैलाई शिक्षाबाट टाढा राखियो। सन् १९५० को प्रजातान्त्रिक क्रान्तिपछि मात्रै आमजनताका लागि शिक्षाको ढोका खोलियो। सन् १९५९ मा श्यामप्रकाश शर्माद्वारा प्रकाशित तथा शशिकला शर्माद्वारा सम्पादित ‘स्वास्नी मान्छे’ले लैंगिक समानताका विषयलाई  केन्द्रमा राखेको थियो। दिव्या कोइराला (बीपी कोइरालाकी आमा)ले मासिक पत्रिका प्रकाशन गरिन्। महिलाको बोलीलाई जागृत गर्ने बानीरा गिरीले ‘मेरो आविष्कार’ कविता संग्रह १९८५ मा प्रकाशित गरिन्। गिरी पहिलो महिला पीएचडी पनि हुन्। साहित्यकार माया ठकुरी ले अनौपचारिक शिक्षाबाट डिप्लोमासम्मको शिक्षा पुरा १९६५ मा पूरा गरिन्। पछि ठकुरीको ‘बहुला आइमाई’ कविता संग्रह प्रकाशित भयो। 

त्यसैगरी प्रेमा शाह स्वछन्द र यौनप्रधान साहित्यकारको छवि कायम राख्न सफल लेखकका रूपमा चिनिइन्। सन् १९८० ताक नेपाली समाजमा साहित्यकारका रूपमा पारिजातले विशिष्ट स्थान कायम राख्न सफल भइन्। विशुद्ध लेखक मात्रै नभएर उनले समाजको राजनीतिक क्रान्तिकारी परिवर्तनको आन्दोलनलाई दिएको योगदान स्मरणीय छ। त्यसैगरी भागीरथी श्रेष्ठ, बेन्जु शर्मा, मञ्जु काँचुलीलगायत साहित्यकारहरूले नेपालका आधा धर्ती ओगटेका महिलाका सामाजिक, आर्थिक, राजनीतिक समानता र मुक्तिका लागि बोलेका छन्, लेखेका छन्।  

राजनीतिक अधिकारलाई केन्द्रमा राखेर अखिल नेपाल महिला संघको मुखपत्र ‘महिला मुक्ति’ नामको पत्रिका प्रकाशन गरेको देखिन्छ। यस पत्रिकाले क्रान्तिकारी महिलावादी विचार उत्पादन गर्ने पत्रिकाको रूपमा आफूलाई स्थापित गरेको थियो। थिचोमिचोमा परेका महिला जागृत भएर संगठित हुन थालेपछि नै समाजका विविध आयामहरूमा रूपान्तरणको अवस्था सिर्जना भएको तथ्यलाई यस पुस्तकले समेट्न सफल भएको छ।

सन् १९९० को दशकमा नागरिक समाजको सक्रियता बढ्दै जाँदा महिलाको  सम्पत्तिमाथिको अधिकार, लैंगिक हिंसा, मानव बेचबिखन, आर्थिक सशक्तीकरण प्रजनन स्वास्थ्य, सुशासन र राजनीतिक सहभागिताका मुद्दा अगाडि आएका छन्। गैरसरकारी क्षेत्रबाट महिला सुरक्षा दबाब कार्यक्रम (१९९३) महिला सुरक्षा दबाब समूहका जुलुस निकाल्ने क्रममा सहाना प्रधान अध्यक्ष रहेको समूहले ११ वर्षीय बालिकाको बलात्कारको विरोध र्‍याली निकालेको तस्बिर देख्न सकिन्छ। बलात्कार जस्तो गम्भीर अपराधको घटना प्रति नवगठित प्रजातान्त्रिक सरकारका गृहमन्त्रीले रातो  खुर्सानी बोक्नु पर्ने  र नङ लामो पाल्ने अभिव्यक्ति  दिएपछि महिलाहरूद्वारा  विरोध भएको तस्बिरले तत्कालीन समयमा अग्रज महिलाहरूले गरेको प्रतिरोधको झल्को दिन्छ।

सार्वजनिक जीवनमा सीमान्तकृत महिला
सार्वजनिक जीवनमा महिलाको उपस्थितिको कुरा गर्दा जातीय, भाषिक, र क्षेत्रीय रूपमा विभेदमा परेका महिलाको सामाजिक, राजनीतिक, र आर्थिक क्षेत्रमा कस्तो र कति उपस्थिति छ भन्ने कुराले अर्थ राख्छ। जसरी वर्तमान समाजका सबै क्षेत्रमा खस आर्य महिलाको वर्चस्व देखिन्छ, तत्कालीन समयमा अझ बढी नै  असमावेशी  चित्र देख्न सकिन्छ। 

अहिले पनि समाजका हरेक क्षेत्रमा दलित, आदिवासी, जनजाति, मधेसी र अन्य सीमान्तकृत महिलाको न्यून सहभागिता छ। विगतको विभिन्न कालखण्डमा समाजको अग्र भागमा नेतृत्व गर्ने गरी दलित, आदिवासी जनजाति र अल्पसंख्यक महिला नआउनुमा वर्णवादी सत्ताले उनीहरूमाथि हजारौँ वर्षदेखि गर्दै आएको बञ्चितिकरण र बहिष्करण नै मुख्य  हो। पञ्चायती निरकुंश शासन ढाल्न जातीय र वर्गीय रूपमा किनारामा रहेका महिलाको पनि त्याग र संघर्ष गरेको हामीले भुल्नुहुन्न।

यस पुस्तकको पेज नं १९९ मा कविता पौडेल, यमुना घिमिरे र माया भट्टराईसँगै दिलमाया विक जेलबाट निस्किएकै दिनको फोटो छ। उनीहरू 'मार्च ८' मा सरकार विरोधी नारा लगाएबापत जेल परेका थिए। सन् १९६१ मा राजा महेन्द्रविरुद्ध बोलेकाले नुवाकोटका प्रेमकुमारी तामाङ, लालुमाया तामाङ डिल्लीबजार जेलमा थुनामा परेका थिए। 

तर अवसर प्राप्त गर्ने र निर्णायक हैसियतमा सीमान्तकृत महिलाहरू देखिँदैनन्।  उदाहरणका लागि युरोप अमेरिका र अन्य देशको भ्रमणमा गएका महिलामध्ये एक जना पनि दलित समुदायका छैनन्। खस आर्य समुदायका महिलाको बाहुल्यता छ। जनजाति महिला धेरै कम देखिन्छन्। श्रमिक र अल्पसंख्यक महिलाको सहभागिता त शून्य देखिन्छ। 

सन् १९८० मा जमिनदारहरूको अत्याचारविरुद्ध आन्दोलन शुरू गर्ने कर्जाही दाङका थारू महिलाको संघर्ष आफैँमा ऐतिहासिक थियो। जमिनदारहरूले प्रहरीको सहायतामा किसानलाई धम्क्याउने र जनधनको क्षति गर्ने थालेपछि थारू महिलाहरूले थारू महिलाहरूले स्वाभिमानका लागि लड्न खोजेको देखिन्छ। सन् २०१० कञ्चनपुरमा भूतपूर्व कमलरीहरूले आयोजना गरेको आमसभाले पनि त्यही सन्देश दिन्छ।  

सन् १९७९ काठमाडौँस्थित नेबीको बिस्कुट फ्याक्ट्रीबाट आठ जना श्रमिक महिला कामबाट निकालेको विरोधमा महिला कामदारहरू ४५ दिनसम्म धर्नामा बसे। सुलोचना मानन्धरको अगुवाइमा धर्ना भएको थियो। त्यसैगरी सन् १९८१ मार्च ८ मा महिला दिवसको अवसरमा पहिलो पटक हेटौँडा औद्योगिक क्षेत्रका कामदारले निकालेको आमसभामा कम्युनिस्ट पार्टीसम्बद्ध मजदुर नेता विष्णु ओझाले सम्बोधन गर्दै गरेको तस्बिर पुस्तकमा छ। विष्णु ओझाले भुटनदेवी माध्यमिक विद्यालयमा आयोजित श्रमिक सभालाई सम्बोधन गर्दै महिलालाई समान श्रमका लागि समान ज्याला, सुत्केरी  बिदा तथा महिला दिवसलाई राष्ट्रिय रूपमा सार्वजनिक  बिदा घोषणा गर्नुपर्ने माग राखेकी थिइन। सो विवरण पुस्तकमा छ।  

राणा शासन र पञ्चायती  व्यवस्थामा राजघरानीयाँ महिलाले सत्तामा हालीमुहाली गर्थे, अवसर र स्रोतसाधनमा तिनकै वर्चस्व थियो। पञ्चायती व्यवस्थामा महिलाका लागि भनिएको विभिन्न कार्यक्रम, योजना र नीतिहरू रानीहरूका नाउँमा जारी हुन्थ्यो। निर्दलीय पञ्चायती व्यवस्थाभित्र पनि 'सरकारी' महिला सङ्गठनहरू थिए, जसले पञ्चायतप्रति प्रतिबद्ध महिलाहरूलाई सेवा सुविधा र अवसरहरू उपलब्ध गराउँथ्यो। यस पुस्तकमा पञ्चायती महिला संघद्वारा आयोजना गरिएको कार्यक्रममा सन् १९७५ मा रानी ऐश्वर्यको उपस्थितिमा पहिलो पटक 'अन्तर्राष्ट्रिय महिला वर्ष' मनाइएको फोटो समावेश छ।

नेपालको सामाजिक र राजनीतिक परिवर्तन, महिला समानता र अधिकारका लागि उत्पीडित वर्ग, जात-समुदायका महिलाहरू पनि लडेका छन्। तर संघर्षको दाँजोमा उपलब्धि न्यून प्राप्त गरेको देखिन्छ। तस्बिरमा समेटिएका भुईँ तहका महिलाले आफ्नो अधिकारका लागि मात्रै नभई देशको राजनीतिक र सामाजिक परिवर्तनका लागि संघर्ष गरेका छन्, बलिदान दिएका छन्, तर तिनको योगदानलाई अग्रभागमा राखेर उच्च मूल्यांकन गर्ने वातावरण अझै सिर्जना भएको छैन। नेपालमा महिलाको सामाजिक र राजनीतिक आन्दोलनमा महिलाको योगदान र संघर्षको समग्र दस्ताबेजीकरणमा एकदम थोरै मात्रै काम भएको छ। यस्तोमा पुस्तकले सराहनीय काम गरेको छ। जकडिएको समाजका फलामे साङ्ला भाँच्दै अघि बढेका महिलाहरूका प्रतिनिधि छायाचित्र समेटिएको यो पुस्तक महिलाको उदात्त उडानको अभिलेख हो।


सम्बन्धित सामग्री