Monday, April 29, 2024

-->

हामीले पक्षधरता लिनैपर्छ

गोड्से र गान्धीको राम कुन रोज्ने भन्ने बहस चलिरहेका बेला हामीले गान्धीको रामको कुरा गर्नुपर्छ। सर्वधर्म समभावको कुरा गर्नुपर्छ।

हामीले पक्षधरता लिनैपर्छ

'रामसीता कथा'का सयौँ संस्करण हाम्रो समाजमा छन् र तिनलाई श्रद्धाका साथ दक्षिण एशियाली समाजमा पढिन्छ। त्यस्ता धेरै रोचक प्राचीन कथाका धनी छौँ हामी, तर यो कथा हाम्रो विश्वाससँग जोडिएकाले मान्छेले यसलाई आफ्नो जीवनको अंग बनाएका छन्, आत्मसात् गरेका छन्। कतिपय मान्छे त रामका कथाहरू सुनाउँदा भावुक बनेर रुन्छन्। उसो त हामीहरू चलचित्र र नाटक हेर्दा पनि रुन्छौँ।

कथामा बताइएका राम वास्तवमै थिए या थिएनन् भन्ने बहसहरू पनि बेलाबेला सतहमा आउँछन्। सामाजिक सञ्जालमा त्यस्ता बहसका पक्ष र विपक्षमा मान्छे तर्क/कुतर्क गर्छन्। तर यति कुरा भन्न सकिन्छ, कथामा बताइएझैँ चाहिँ पक्कै कुनै कोही राम थिएनन्। इतिहासका कुनै कालखण्डमा राम नामका राजा पक्कै थिए होलान्, जस्तो: गोर्खा राज्यमै राम शाह नामका राजा थिए। उनलाई गोर्खा राज्यका चौथो राजा मानिन्छ। उनको शासनकाल विसं. १६६३ देखि १६९० सम्म चलेको बताइन्छ। 

गोर्खामै समेत राजा राम थिए भने विशाल भारत वर्षमा अनेकन् रामहरू थिए भनेर अनुमान गर्न सकिन्छ। हिमालयको दक्षिण, गंगोत्तरी (उत्तराखण्ड) देखि कन्याकुमारी (तमिलानडु)सम्म  र सिन्धु नदी (पाकिस्तान, भारत र चीनसम्म फैलिएको नदी) देखि ब्रह्मपुत्र नदी (तिब्बत, भारत तथा बांग्लादेश हुँदै बग्ने नदी) सम्म फैलिएको भूगोललाई भारत वर्ष मानिन्छ। राम कथाको लामो अभ्यासले यस क्षेत्रमा जन्मने धेरै पुरुषको नाम राम भेटिन्छन्: रामवरण, रामचन्द्र, रामकृष्ण, रामबहादुर, रामप्रसाद, रामचरण, रामचरित्, रामलाल, रामशरण, रामचन्दर आदि। सीता, लक्ष्मण, बाली, सुग्रीव, हनुमान पनि धेरै नाम छन्। 

त्यसो हुँदा कुनै एक सामान्य राजालाई कालान्तरमा दिव्य बनाइएको बुझिन्छ। भक्ति अभ्यास र परम्पराले गर्ने पनि त्यही हो। यतिसम्म त ठीकै थियो, तर अब आएर रामकै नाममा शक्ति र अहंकार प्रदर्शनका मेला र झाँकीहरू प्रदर्शन हुन थाले। यसै पनि अनेकन् विभेदका बाबजुद यो समाज तुलनात्मक रूपमा समन्वय र समभावको हो। अनेकौँ संस्कृति यहाँ मिलेर बसेका छन्, हुन्। यस्तो अवस्थामा रामनाम राजनीतिक अभीष्ट पूरा गर्ने साधनका रूपमा प्रयोग हुनु दुखद हो। 

राम नामको अर्को मननीय पक्ष छ। रामावतार या रामलीला  हिन्दू सनातनीहरूको जीवनसँग जोडिएको छ। रामको जीवन सार्वभौम आदर्श र संस्कृतिको आधार पनि मानिन्छ। शम्बूक वध, गर्भिणी अवस्थामा सिता त्याग, आफ्नै पुत्रद्वय लवकुशलाई अस्वीकार कपट गरेर बालीको वधजस्ता केही प्रसंग आजको चेतमा अनुचित लागे पनि समग्रमा रामकथाभित्र अनेकौँ आदर्श र दर्शनहरू पाइन्छ। मूल कुरा, त्यस कथालाई लिएर हाम्रो समाज आजसम्म द्वन्द्वमा गएको छैन। अभिवादनकै रूपमा ‘राम-राम‘, ‘जय सियाराम’ अथवा ‘जय श्रीराम‘ र ‘हे राम्’ भन्नेहरूले कसैप्रति घृणा फैलाएनन्। हाम्रा पुर्खाले दुःखसुखको साथीका रूपमा राम नामलाई लिए। कष्टको सहाराका रूपमा लिए, कसैलाई कष्ट दिनका लागि होइन। 

प्राचीन इजिप्सियन दार्शनिक हाइपेटियाले भनेका छन्, "दन्त्यकथालाई सोही रूपमा बुझाइनुपर्छ, सिकाइनु पर्छ। मिथकलाई मिथककै रूपमा र चमत्कारलाई काव्यात्मक स्वैरकल्पनाको रूपमा। अन्धविश्वासलाई सत्य र तथ्य भनेर सिकाइँदा कालान्तरमा  घातक र भयावह बन्न सक्छ। शिशुको अबोध र अरक्षित मनले काल्पनिक या मनगढन्ते विश्वासलाई जब सत्य ठान्छ र त्यो उसको मानसपटलमा बसिरहन्छ, पछि गएर त्यो ठूलो त्रासद भएर निस्कन्छ या विस्फोट हुन सक्छ।" (भावानुवाद)

अहिले यत्रतत्र मुखरित भइरहेको विषय हो- राम जन्मभूमि। यता केपी शर्मा ओलीजीले आफ्नो प्रधानमन्त्री कालमा ठोरीलाई पनि राम जन्मभूमि या अयोध्यापुरी भनेर उद्घोष मात्र गरेनन्, बालुवाटारमा मूर्ति ओसार्दै ठोरीको अयोध्यापुरीमा लगेर प्राण प्रतिष्ठा गराइछाडे। कम्युनिस्ट (भौतिकवादी) पार्टीका अध्यक्षको सो हर्कत आफैँमा उदेकलाग्दो थियो। भौतिकवादी मार्क्सवादी दर्शनको हुर्मत लिइँदा तिनका पार्टीका कार्यकर्ता पनि जयजयकार गर्दै पछाडि लागेको दृश्य झनै विस्मयकारी थियो। 

विषयवस्तुतिर फर्कौँ। मानौँ रे, आजको उत्तर प्रदेश (भारत) को अयोध्यामा कुनै बेला राम जन्मेका थिए। कुनै व्यक्ति कतै जन्मेकै कारण, त्यो ठाउँ हजारौँ वर्षसम्म पनि तिनकै सन्तान/उपासकको हुनैपर्छ भन्ने छ र? कुनै बेला राम जन्मेको त्यस भूमिमा अन्य समयमा अरू धेरै व्यक्ति जन्मे होलान्। रामबाहेकका बौद्धमार्गी, जनै अर्हत या इस्लामी इमामा र हिन्दू गुरुहरू पनि जन्मे होलान्। तिनको काल अवधिमा तिनको आधिपत्य रह्यो पनि होला, तर त्यसले के फरक पर्छ? जमिन आखिर जमिन हो। पृथ्वीमा कुनै बेला मान्छेको राज्य नै थिएन, डायनोसरहरूको जगजगी थियो। लाखौँ वर्ष पृथ्वी उनीहरूकै अधीनस्थ थियो। आज ती कता गए? हामी भोलि जगत‍्को कुन गर्तमा बिलाउने छौँ? अतः पृथ्वी कसैको पनि स्थायी होइन, अर्को अर्थमा सबैको प्राणीको साझा हो। 

कतिपय इतिहासकारले त दाबी नै गरेका छन् कि अयोध्या कुनै बेला बौद्धस्थल थियो। बौद्ध पुस्तकहरूमा उल्लेख साकेत नै अहिलेको अयोध्या रहेको जिकिर छ। भारतकै अन्तर्राष्ट्रिय ख्यातिप्राप्त लेखक रोमीला थप्परले सातौँ शताब्दीमा चिनियाँ  तीर्थयात्री ह्वेन त्सांगको वर्णनअनुसार त्यो ठाउँ बौद्धमार्गीको स्थल भनेर आफ्नो पुस्तक 'कल्चरल पास्ट्स : एस्से इन अर्ली इन्डियन हिस्ट्री'मा धारणा व्यक्ति गरेकी छिन्। तर बौद्धमार्गीहरूले यस विषयमा नोकझोक गरेका छैनन्। 

के भुल्नहुन्न भने विवादका बिउ झिक्दै प्राचीन चिहान खोतल्दै जाने हो भने यो संसार नै फेरि अर्को मानवले चिहान खोतल्न नमिल्ने गरी चिहान बन्न सक्छ। तर यस युगका सभ्य मान्छेबाट त्यस्तो अपेक्षा गर्नहुँदैन। 

जनसंख्याका आधारमा भारत संसारकै सबभन्दा ठूलो प्रजातान्त्रिक मुलुक हो। प्रजातान्त्रिक देशमा अल्पसंख्यकको मतको कदर हुन्छ, तर अहिले रामलाई लिएर भारतमा भएका हर्कतहरू देख्दा त्यस्तो लाग्दैन। भारतमा २०१४ सालयता मोदी शासनमा उदाएयता 'जय श्रीराम' भन्दै या नभनेको आरोपमा फरक आस्थाका मान्छेहरू पिटिएका भिडियोहरू सामाजिक सञ्जालमा देखिए र देखिँदै छन्। अन्ततः भारतीय सर्वोच्च अदालतको समेत सहमतिमा अयोध्यामा सरकारी सक्रियता र लगानीमै राम मन्दिर बनेपछि धार्मिक उत्पीडकहरूको आत्मविश्वास थप बढेको छ। त्यसको राग नेपालसम्म समेत आइपुग्न सक्छ। त्यसका संकेत मधेस र धरानमा पहिले नै देखिएका छन्। 

प्रसिद्ध राजनैतिक विश्लेषक र प्रजातन्त्रका पक्षधर जोन स्टुआर्ट मिलले भनेका छन्, "समस्त  मानवमध्ये करिब एकै जनाले पनि कुनै विषयमाथि आफ्नो  भिन्न  मत राखेको छ भने ती सबैले एक जनालाई चुप हुन बाध्य गराउन सक्दैनन्।" तर लगभग एक अरब ४४ करोड जनसंख्या भएको भारतमा २० करोड जनसंख्यासहित अल्पसंख्यकका रूपमा रहेका मुसलमानहरूको बोली बन्द गराइने चेष्टा हुँदैछ। तर त्यसको प्रतिप्रभाव डरलाग्दो हुनसक्छ, जसबारे रामलाई केवल आस्थाका रूपमा पुज्ने गान्धीजस्तै 'हे रामवाला'हरूले अब प्रशस्त काम गर्नुपर्ने जरुरी देखिन्छ।

यस धर्तीका हामी करिब आठ अरब मानव जाति अनेकौँ प्रतिकुलतासँग जुद्धै यहाँसम्म आइपुगेका छौँ। अँध्यारो युगसँग भिड्दै विज्ञानको यो उज्यालोसम्म आइपुगेका छौँ। अनेकौँ आस्था तोड्दै, नयाँ निर्माण गर्दै, फेरि त्यसमा रूपान्तरण गर्दै यहाँ आइपुगेका हौँ। अगणित ठक्कर र हन्डर खाँदै, अन्धविश्वास र रुढीको आँधी र चक्रवातसँग रगडिँदै, उचालिँदै, पछारिँदै २१औँ शताब्दीको प्रातः काल देख्न पाएका छौँ। विज्ञानको चरमोत्कर्ष भएको यो समय हाम्रो शुभ मुहूर्त हो। खुशीको कुरा, हाम्रा पूर्वज र समकालीन वयस्कझैँ नयाँ पुस्ता मिथकलाई विज्ञान मान्न तयार छैनन्। कुन मिथक हो, कुन विज्ञान हो या कुन छद्म विज्ञान हो, चिन्तन र मन्थन गर्न सक्छन्।  

मानव विकास या उत्थानको विविध कालचक्रमा धर्म, संस्कृति, भावना र आस्थाको नाममा अगणित नरसंहार भएका छन्। तीमध्ये कति त इतिहासका पाठबाटै छुटेका छन् या तोडमोड गरिएका छन्। रामकै नाममा या अन्य मिथकका नाममा अहिले भइरहेको साम्प्रदायिक राजनीति हाम्रो भविष्यमैत्री छैन। गोड्से र गान्धीको राम कुन रोज्ने भन्ने बहस चलिरहेका बेला हामीले गान्धीको रामको कुरा गर्नुपर्छ। सर्वधर्म समभावको कुरा गर्नुपर्छ। 

यहुदी अमेरिकी लेखक एली विजेलले भनेकी छन्, "हामीले  पक्षधरता लिनैपर्छ। तटस्थताले पीडितलाई नभएर उत्पीडकलाई सहयोग गर्छ। मौनताले अत्याचारीलाई अझ बढी अत्याचार गर्न उत्साहित गर्ने छ, सन्तप्तलाई होइन।" 


सम्बन्धित सामग्री