इतिहासले हिजोको स्थिति मात्र देखाउँदैन, भोलिको मार्गचित्रसमेत प्रस्तुत गर्छ। इतिहासबाट शिक्षा लिने शासकहरू अपेक्षाकृत सफल भएका छन्। इतिहासले सिकाएको पाठ बिर्संदा आफ्नो जमिनमा आफैँ खेताला हुन पुगेका शासक पनि छन्। नेपालको इतिहासमा यस्ता घटना बारम्बार पुनरावृत्त भएका छन्।
पृथ्वीनारायण शाहले विजय अभियान सञ्चालन गरी नवनेपाल निर्माण गरेपछि शाह वंशीय राजाहरू सर्वेसर्वा हुन पुगे। राज्यको असीमित स्रोत र साधन प्रयोग गरी आफ्नो वैयक्तिक इच्छा र स्वार्थअनुसार राज्य सञ्चालन गर्न थाले। यसरी राज्यको बागडोर सम्हाल्दा स्थापित मान्यता, मर्यादा र परम्परालाई वास्ता गरेनन्। यस्तै शासकको गणनामा रणबहादुर शाहको नाम अग्रपंक्तिमा आउँछ।
रणबहादुर शाहले आफ्नो स्वार्थका लागि अनेकौँ बितन्डा मच्चाए, ती गणना गरेर साध्य छैन। उनले विधवा ब्राह्मणी कान्तिवतीसँग विवाह गर्नका लागि सबै राजकीय धर्मलाई तिलाञ्जली दिए। उनले यिनै कान्तिवतीबाट जन्मेका छोरा गिर्वाणयुद्धलाई राजा बनाउने उद्घोष मात्र गरेनन्, आफूले गद्दी त्याग गरी बालक गिर्वाणयुद्धलाई गद्दीमा राखे। पहिले विवाह गरेकी सुवर्णप्रभाबाट जन्मेका ज्येष्ठ युवराज रणोद्योत शाहको हक नै खोसिदिए।
गिर्वाणयुद्धलाई राजा बनाउने घोषणा गरेको दस्ताबेजमा तत्कालीन भारदार, चौतारीया, गुरुपुरोहित, महाजन आदि सबैको सहमति रहेको कागज गराए, सबै भारदारले सहमति जनाएको पृष्ठभूमि तयार पारे। यसबाट राजाको जेठो छोरो राजा हुने परम्पराको मानमर्दन मात्र भएन राजाले जे गर्दा पनि प्रजा मौन रहन्छन् भन्ने सन्देश प्रवाह भयो। गिर्वाणयुद्ध राजा भएपछि नेपालमा राजतन्त्र रहेसम्म उनैका सन्तान गद्दीमा आसीन हुँदै गए।
रणबहादुरका नाति राजेन्द्रविक्रम पनि इतिहासमा कमजोर शासक साबित भए। उनले आफ्ना दुई रानी साम्राज्यलक्ष्मी र राज्यलक्ष्मीदेवीको वशमा परी गर्न हुने/नहुने सबै काम गरे तर साम्राज्यलक्ष्मी जीवित छउन्जेल राज्यलक्ष्मीको कुनै जोर चलेन। साम्राज्यलक्ष्मीको मृत्युपछि भने हर्ताकर्ता बन्न पुगेकी राज्यलक्ष्मीले युवराज सुरेन्द्रको स्थानमा आफ्नो छोरा रणेन्द्रलाई राजा बनाउने उद्योग गरिन्। गिर्वाणयुद्ध राजा भएको दृष्टान्तबाट उनमा महत्त्वाकांक्षा जाग्नु स्वाभाविकै थियो।
उनले आफ्नो अभीष्ट पूरा गर्न माथवरसिंह थापालाई प्रधानमन्त्री बनाइन्। यिनबाट आफ्नो स्वार्थसिद्ध नहुने देखेपछि उनको हत्या गराइन्। गगनसिंह खवास र जंगबहादुरलाई यिनै राज्यलक्ष्मीले आवश्यकताभन्दा बढी पुठ दिइन्। यिनै सन्दर्भबाट षड्यन्त्रकारी राजनीतिको विजारोपण भयो। यस्तै राजनीतिका कारण गगनसिंहको हत्यापश्चात् जंगबहादुर शक्तिशाली भएर आए। जंगबहादुरलाई ‘जंगबहादुर’ बनाउने हात पनि उनै राज्यलक्ष्मीदेवीको थियो।
जंगबहादुरबाट पनि आफ्नो छोरा रणेन्द्रलाई राजा बनाउने सुरसार नदेखेपछि उनलाई तह लगाउने प्रपञ्च रच्न थालिन्। जंबहादुरलाई सिध्याउने तानाबाना बुन्दाबुन्दै उनी आफ्नो जालमा आफैँ परिन्। कोतमा धेरै भारदारहरूको हत्या गराएको, सुरेन्द्रको सट्टा आफ्नो छोरा रणेन्द्रलाई राजा बनाउन कुटिल चाल चलेको जस्ता संगीन आरोप लगाएर उनलाई देश निकाला गरियो। यसरी कान्तिवतीले झैँ राज्यलक्ष्मीले जेठो सन्तान पन्छाएर आफ्नो छोरालाई राजा बनाउन सकिनन् र उल्टै दण्डित हुनुपर्यो। यसो हुनुमा राज्यलक्ष्मीले इतिहास नबुझ्नु प्रमुख कारण हो।
राजकुमार गिर्वाणयुद्धलाई राजा घोषणा गर्ने राजनीतिक परिवेश र विसं १८४० को दशकको राजनीतिक परिस्थिति फरक थियो। पहिले राजा रणबहादुर शाह सर्वेसर्वा थिए। भारदारिया षड्यन्त्रले जरा गाडिसकेको थिएन। गद्दी खोसिएका रणोद्योत शाह वयस्क भइसकेका थिएनन्। सुवर्णप्रभालाई आफ्नै सौता राजेश्वरी र अन्य दरबारियाको समर्थन थिएन।
राज्यलक्ष्मीले कुटिल चाल चलेको समयमा भारदारी षड्यन्त्रले चरम उत्कर्ष लिएको थियो। कोत पर्वको घटनाबाट सबै प्रमुख भारदारहरूको हत्या भई जंगबहादुर सर्वेसर्वा हुन पुगेका थिए भने युवराज सुरेन्द्र वयस्क भइसकेका थिए, जसलाई जंगबहादुरको पनि पूर्ण समर्थन थियो। राज्यलक्ष्मीको योजनामा केही लुरेलारे भाइभारदार मात्र लागेका थिए। उनीहरूको खासै राजनीतिक हैसियत थिएन। उता राजा राजेन्द्रमा सुरेन्द्रको हक खोस्न सक्ने साहस पनि थिएन। इतिहासले राज्यलक्ष्मीलाई उत्साहित त बनायो तर इतिहास बुझ्न नसक्दा उनी आफूले खनेको खाडलमा आफैँ जाकिइन्।
कोत पर्व, भण्डारखाल पर्वजस्ता अनेक गम्भीर र संवेदनशील काण्डहरूबाट अभूतपूर्व सफलता पाएका जंगबहादुरले युवराज सुरेन्द्रलाई आफ्नो मुठीभित्र राखेका थिए। राजा राजेन्द्र आफ्नै कान्छी महारानी राज्यलक्ष्मीदेवीसँग बनारस प्रवासमा गएका थिए। उनलाई काठमाडौँ आउन ताकेता गर्दा पनि आएनन्। यसैकारण उनी गद्दीच्यूत गरिए। तत्पश्चात् राज्यलक्ष्मीको लहैलहैमा लागि जंगबहादुरलाई दण्ड दिन तम्सिए। बनारसबाट केही मुठ्ठीभर सहयोगी लिई नेपालको सरहदमा घुसे। उनले रणबहादुर शाहले जस्तै जनताको र सेनाको साथ पाउने आशा गरेका थिए। तर जंगबहादुरको विश्वस्त फौजले राजा राजेन्द्रलाई अलौ (वीरगञ्ज नजिकैको स्थान)मा बन्दी बनायो र उनका सहयोगीहरूको हत्या भयो।
यस घटनापश्चात् राजेन्द्रविक्रम शाहको बाँकी जिन्दगी नजरबन्दमा नै बित्यो। शाहकालमा गद्दी हरिएका पहिलो राजा राजेन्द्र नै हुन पुगे। जंबहादुरको यस कदमको विरोध गर्ने त्यस बेलाको राजनीतिमा कसैको साहस भएन। चीन र भारत दुवै तर्फबाट कुनै छेकबार थिएन।
विसं २००७ सालमा जंबहादुरले जस्तै गरी श्री ३ महाराज मोहनशमशेरले भागेर दिल्ली पुगेका राजा त्रिभुवनलाई गद्दीच्यूत गरी महेन्द्रका माइला छोरा ज्ञानेन्द्रलाई राजा घोषणा गरे। यस कार्यमा तत्कालीन सबै भारदार उच्च पदस्थ निजामती तथा जंगी उच्चतहका सबै कर्मचारीहरूले समर्थन त जनाए तर यस कार्यको चौतर्फी विरोध भयो। भारतले नयाँ राजालाई मान्यता नै दिएन।
नेपाली कांग्रेसको नेतृत्वमा सञ्चालित आन्दोलन चर्कँदै गएको अवस्थामा मोहनशमशेरको उक्त कदमले बलेको आगोमा घिउ थपिदियो। हिन्दुस्थानको मध्यस्ततामा भएको दिल्ली सम्झौता (?) ले राजा त्रिभुवनलाई नै पुनः राजगद्दीमा स्थापित गरायो। यसरी मोहनशमशेरले पनि जंगबहादुरले जस्तै सफलता पाउने आशा गरेका थिए होलान्। विगतको घटनाबाट उत्साहित पनि पक्कै थिए होलान् तर इतिहास बुझ्न नसक्दा पूर्णतया विफल मात्र भएनन् राणा शासनकै समाप्ती भयो।
२००७ सालको परिवर्तनपश्चात् नेपालको राजनीतिक रंगमञ्चमा अनेकौँ नाटक मञ्चन भए। संक्रमणकालीन राजनीतिका अनेकौँ अभ्यास भए। यी सबै विकसित राजनीतिक सन्दर्भको केन्द्रबिन्दुमा तत्कालीन राजा त्रिभुवन र महेन्द्र नै थिए। राजाले नचाहँदा नचाहँदै पनि २०१५ सालको आमनिर्वाचन भई नेपाली कांग्रेसले अत्याधिक बहुमत प्राप्त गर्यो र बीपी कोइराला नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्न पुगे। राजा महेन्द्र र बिपी कोइरालाबीच पटक्कै समन्वय, सहकार्य र समझदारी हुन सकेन। यसले उग्र रूप लिँदै गएपछि २०१७ पुस १ गतेको काण्ड भयो। जसले बिपी कोइरालालगायतका केही नेता बन्दी बनाइए। कतिपय विदेश पलायन भए। मौजुदा संविधान भंग भयो। देशको सार्वभौम राज्यसत्ता महेन्द्रले आफ्नै हातमा लिए।
यस परिवर्तित परिस्थितिलाई केहीले प्रत्यक्ष र केहीले परोक्ष रूपमा विरोध त गरे तर खुलेर देखापर्ने साहस धेरैले गर्न सकेनन्। तसर्थ विरोधमा सडकमा उत्रनेहरू दण्डित हुन पुगे। भारत र चीन दुवैले महेन्द्रको कदमको खासै विरोध गरेनन्। राजा महेन्द्र क्रमशः शक्तिशाली हुँदै गए र पञ्चायती व्यवस्थाको सूत्रपात भयो।
२०४६ सालको आन्दोलनबाट पञ्चायती व्यवस्था अन्त्य भई संसदीय व्यवस्थाको अभ्यूदय हुनपुग्यो। २०४७ सालदेखि २०५९ सालसम्म प्रजातन्त्रको नाममा अनेकौँ अभ्यासहरू भए। राजनीतिक पार्टीहरूमा अन्तरकलहले जुट्ने, फुट्ने र टुट्ने क्रम चलिरह्यो। राजनीतिमा शत्रुको शत्रु मित्र हुन्छ भन्ने उखान चरितार्थ भयो। यी सबै घटनाक्रममा राजा वीरेन्द्र केवल मुकदर्शक भइरहेको बेलामा दरबार हत्याकाण्ड भई उनको पनि वंशकै नाश भयो।
तत्पश्चात् काकताली परेर राजा बनेका ज्ञानेन्द्रलाई राजनीतिक पार्टी र माओवादी विद्रोहले महेन्द्रपथमा अग्रसर हुन सञ्जीवनी बुटी दियो। राजनीतिक पार्टीहरूले देशलाई रसातलमा पुर्याएको आरोप लगाउँदै सम्पूर्ण राजपाट आफ्नै हातमा लिए। सबै राजनीतिक पार्टीहरूलाई साम, दान, दण्ड र भेदको नीतिले ठेगान लगाउने प्रयत्न पनि गरे। आफ्नै पिता जस्तै शक्तिशाली राजा हुने महत्त्वकांक्षा उनमा पनि चुलियो। दि इम्पेरर न्यु क्लोथको कथाका पात्र जस्ता नन्दीभृङ्गी देखा परे।
ज्ञानेन्द्रको कदमले सबै राजनीतिक पार्टी एक ठाउँमा आए र राजाउपर खनिए। यस परिस्थितिमा भारतको समर्थनले पार्टीको उद्देश्यमा मलजल गर्यो। ज्ञानेन्द्र झुके र सम्झौता गरे। संसद् पुनस्थापना भयो। माओवादी राजनीतिको मूल प्रवाहमा आए। संविधानसभाको निर्वाचन भयो। पहिलो बैठकले राजतन्त्रलाई सदाका लागि समाप्त पार्यो। यी सबै घटनाक्रममा राजा ज्ञानेन्द्र मात्र होइन नेपालमा राजसंस्था नै दण्डित भयो। राजनीतिक पार्टी पुरस्कृत हुन पुगे। ज्ञानेन्द्रले महेन्द्रले जस्तै कार्य गर्न त खोजे तर इतिहास बुझेनन्।
इतिहास नबुझी हिजो अपेक्षाकृत उपलब्धि भएको घटनाबाट प्रेरित भई सोहीअनुसारको कार्य गर्दा उल्टो नोक्सान पर्न गएको हेक्का राख्नै पर्छ। गिर्वाणयुद्ध राजा घोषणा भएको घटना र राजा राजेन्द्रको पदच्यूतिको काण्डबाट उत्साहित हुँदा राज्यलक्ष्मीदेवी र मोहनशमशेर दुवैलाई प्रत्यूत्पादक साबित भयो। महेन्द्रपथमा अग्रसर हुने चेष्टा गर्दा ज्ञानेन्द्रको अवसान मात्र भएन नेपालबाट राजतन्त्र नै समाप्त भयो। यी सबै कुरा समय परिस्थिति नबुझ्नुकै परिणति हुन्। हिजो सफल भएको कदम भोलि पनि सफल हुन्छ भन्न किमार्थ सकिँदैन भन्ने ऐतिहासिक तथ्यलाई आत्मसाथ सबैले गर्नैपर्छ। यो नै ध्रुवसत्य हो।