आजको भारतमा आस्था वा भगवानको नाम लिएर मानिसको ज्यान लिनुसमेत सामान्य बनेको छ। धर्मका नाममा छुट्टै साम्प्रदायिक लोकसंस्कृति नै बन्ने क्रममा छ। यी सबै कारणले आस्थासम्बन्धी बहसहरू छिट्टै विषाक्त बन्ने गरेका छन्।
बौद्धिक तप्काका जुन मानिसहरूले यस्ता संवेदनशील विषयमा विचार निर्माणको नेतृत्व गर्नुपर्ने थियो, उनीहरूले यसमा हात हाल्ने रुचि नै देखाएका छैनन्। समाजको उदारवादी कित्ता यो विषयमा अरूका अतिवादी कर्तुतको प्रतिक्रिया दिने भूमिकामै सीमित छ। परिणामः अतिवादी र राजनीतिक महत्वाकांक्षामा लिप्त मानिसहरू मात्रै यो बहसमा देखिन्छन्।
विगतका दुई हजार वर्षमा आस्था र आस्थाको राजनीतिले मानव समाजमा पारेको प्रभावबारे जारी भिडियो मन्थन शृंखलाको यो तेस्रो अंकमा यी प्रश्नको जवाफ खोज्दैछु– जोसुकैले आफ्नो सुविधाअनुसार व्याख्या गर्ने गरेको सनातन हिन्दू धर्म आखिर के हो? यसका शास्त्रहरूमा के छ, के छैन? समयसँगै यो कसरी बदलिएको छ?
यो शृंखलाको पहिलो अंकमा मैले एक ईश्वरीय आस्थाहरू र पश्चिमा दर्शनको विकासक्रमबारे चर्चा गरेपछि दोस्रो अंकमा पूर्वीय र पश्चिमा दर्शनबीच तुलना गरेको थिएँ। यो अंकपछि भारत र नेपालमा चर्चा भइरहेको हिन्दू राष्ट्रको बहसलाई सही धरातलमा उभ्याएर अघि बढाउन सकिन्छ भन्ने मलाई लाग्छ। आगामी अंकमा म भारतबाट उठेको हिन्दू राष्ट्रको बहसबारेको चर्चा अघि बढाउनेछु।
हेर्नुहोस् भिडियो: