Thursday, September 12, 2024

-->

नानक जन्मजयन्ती
शिख धर्मका संस्थापक गुरु नानकको नेपाल साइनो

गुरु नानक काठमाडौँ आएको बखत बसेको ठाउँलाई अहिले पनि गुठी संस्थानले संरक्षण गरिरहेको छ। सोह्रखुट्टे नयाँ बजारनजिकै विष्णुमती नदीछेउमा उनी बसेको डाँडामा प्राचीन उदासीन श्री गुरु नानक मठ रहेको छ।

शिख धर्मका संस्थापक गुरु नानकको नेपाल साइनो

भारतीय उपमहाद्विपस्थित पञ्जाबको तालवन्डी नगरमा सन् १४६९ अप्रिल १५ मा जन्म भएका बालक नै पछि शिख धर्मका संस्थापक भए। उनी हुन् गुरु नानक। उनको जन्म भएको ठाउँ हाल पाकिस्तानको पञ्जाबमा पर्छ।

उनका बारेमा धेरै किंबदन्तीहरू चल्तीमा छन्। नानक बढ्दै जाँदा उनलाई शिक्षा लिन पठाइयो। उनले गुरुहरूलाई अनौठा प्रश्न सोधेर हैरान पार्थे। भर्खर वर्णमालाको अ, आ, इ, ई सिक्दै गर्दा एक दिन आफ्नो शिक्षकलाई सोधे ‘अ’ को अर्थ के हो? 

अलि हुर्किन थालेपछि सांसारिक मामिलामा उनी उदासीन रहन थाले। आफ्नो सम्पूर्ण समय आध्यात्मिक चिन्तन र सत्संगमा बिताउँथे। उनको बाल्यकालमा उनले गरेका अनेक अनौठा हर्कत देखेर गाउँका मानिसले उनलाई दैवी व्यक्तित्व मान्न थालेका थिए। तर नानक युवा अवस्थामा पुग्नुअघि नै उनले धार्मिक कट्टरपन्थविरुद्ध संघर्ष थाले। उनले धर्म प्रचारकका कमजोरीलाई उजागर गर्न अनेक तीर्थस्थलको भ्रमण गरेर कट्टरताबाट टाढा रहन मानिसहरूलाई आह्वान गरे।

गुरु नानकले ‘ईश्वर मानिसको हृदयमा बास गर्नुहुन्छ। यदि, हृदयमा क्रूरता, घृणा, निन्दा, क्रोध आदि दुर्गुणहरू छन् भने भगवान यस्तो फोहोर हृदयमा बस्न तयार हुनुहुन्न’ भन्ने आध्यात्मिक सिद्धान्त प्रतिपादन गरे। कसैले कसैको अधिकार खोस्नु हुँदैन, परिश्रम र इमान्दारको कमाइले सक्षम बन्नु पर्छ र खाँचोमा परेकालाई सहयोग गर्नुपर्छ भन्ने उनको वाणीमा शिख धर्मावलम्बीहरूले विश्वास गर्छन्।

सोह्रखुट्टे नयाँ बजार प्राचीन उदासीन श्री गुरु नानक मठमा भेला भएका शिख धर्मावलम्बी। तस्वीर: रितेश/उकालो

गुरु नानकले एक ओमकार अर्थात भगवान एक हुनुहुन्छ भन्ने नारा दिएका थिए। भगवान जताततै उपस्थित रहेको र सबैका पिता भएकाले सबैसँग मिलेर बस्नुपर्ने उनको भनाइ शिख धर्मावलम्बीहरूले सम्झना गर्छन्। त्यसैले उनले हिन्दू सन्तसँग छलफल गरे, सतसंगमा जानेदेखि मुस्लिमको मक्का पनि पुगे।

गुरु नानकको बाटो पछ्याउने शिख अनुयायीहरूलाई संसारमा एक कर्मशील समुदायको रूपमा प्रतिष्ठा प्राप्त छ। प्रायः टाउकोमा पगरी लगाउने शिखहरूलाई ‘सरदार’ भनेर पनि सम्बोधन गरिन्छ। विश्वभरि छरिएर रहेका शिख धर्मका अनुयायी नेपालमा पनि छन्। नेपालमा धेरैजसो यातायात तथा पारवहन व्यवसायसँग सम्बन्धित काममा रहेका शिखहरू पछि अरु सेवामूलक व्यवसाय र उद्यममा पनि लागे। 

शिखहरू नेपालमा कहिलेदेखि आए भन्ने प्रश्नको जवाफ खोज्न उक्त धर्मका संस्थापक गुरु नानकसम्मै पुग्नुपर्छ। त्यही बेलादेखि नेपालसँग शिख धर्मको सम्बन्ध जोडिन पुग्छ।

गुरु नानकको नेपाल सम्बन्ध
गुरु नानकले अध्यात्मिक ज्ञानको बोध गरेपछि आफ्नो जीवनकालको २२ वर्ष पैदल यात्रा गरेर बिताए। उनी पैदलै पश्चिम एशिया र युरोपसम्म पुगे। उनको यात्रा अहिले भारतकै अधीन रहेको पूर्वको मणिपुरदेखि पश्चिम कश्मीरसम्म भयो। त्यसपछि, मुस्लिम धर्मावलम्बीहरूको सबभन्दा महत्त्वपूर्ण धार्मिकस्थल मानिने मक्का गए। पैदलै रोम (हालको इटली) पनि पुगे। उनी तिब्बत जाने क्रममा काठमाडौँ आइपुगेका थिए।

गुरु नानक काठमाडौँ आएको बखत बसेको ठाउँलाई अहिले पनि गुठी संस्थानले संरक्षण गरेको छ। सोह्रखुट्टे नयाँ बजार नजिकै विष्णुमति नदीको छेउमा उनी बसेको डाँडामा प्राचीन उदासीन श्री गुरु नानक मठ रहेको छ। सिद्ध सम्प्रदायको गद्दी परम्पराअन्तर्गतको यो मठ शिख सम्प्रदायको पनि महत्त्वपूर्ण स्थल हो।

उक्त मठमा नानक जयन्तीको अवसरमा विशेष प्रार्थना गर्दैगर्दा भेटिएका काठमाडौँका शिखहरूका धर्म गुरु ज्ञानी गुरुबखस सिंहले गुरु नानक तिब्बतको मानसारोवर जाने क्रममा काठमाडौँ आइपुगेको बताए। काठमाडौँ उपत्यका भित्रिन विकट र जंगलको बाटो पार गरेर आउनुपर्थ्यो।

“नेपाल सन्तहरूको भूमि थियो। यहाँ अनेक तपस्वी सन्त थिए। गोरखनाथका अनुयायीहरू पनि धेरै थिए,” सिंहले उकालोसँग भने, “खासगरी धर्मका विभिन्न पक्षमाथि परस्पर छलफल गर्ने उहाँको उद्देश्य थियो। आउँदाखेरी गुरुले जोगी र सन्तहरूसँग भेटेर सतसंग गर्नुभयो। जगतजय मल्ल यहाँ राजा थिए। उनले १६ सय रोपनी जग्गा गुरुका लागि दान गरेका थिए। सोही ठाउँमा यो मठ छ।”

उति बेला धार्मिक व्यक्तित्वहरूको समाजमा निकै महत्त्व थियो। सिंहका अनुसार गुरु नानक पशुपतिनाथ मन्दिर र अरु महत्त्वपूर्ण स्थानहरूमा पनि पुगेका थिए। राजा र समाजका महत्त्वपूर्ण व्यक्तिहरूलाई भेटेका थिए। जगतजय मल्लपछि शासन सम्हालेका उनका पुत्र जयप्रकाश मल्लले नानककै नाममा उक्त १६ सय रोपनी जग्गाको लिखत बनाइदिएको सिंहले बताए। “हामीसँग त्यो लिखतका कागज प्रमाणहरू छन्। प्रमाण भए पनि अहिले यहाँ थोरै जग्गा मात्र बचेको छ। बाटो खुलेपछि शहर बस्दै गयो, मानिसहरूले जग्गा प्रयोग गर्न थाले,” उनले भने, “काठमाडौँबाट नै गुरु नानकज्यू तिब्बततिर लाग्नुभएको थियो।” 

नेपालमा शिख समुदाय
काठमाडौँमा बसेर ट्रान्सपोर्ट संचालन गर्ने हरपाल सिंह यहीँ जन्मेहुर्केका हुन्। उनले सन् १९९० को दशकमा नेपालमा शिखहरूको संख्या धेरै रहेको बताए। उनका अनुसार त्यतिबेला काठामाडौँमा करिब ३०० शिख परिवार थिए। अहिले भने यो संख्या घटेर ३०/४० परिवारमा झरेको छ र १५० देखि २०० हाराहारीमा शिख छन्। “नेपालमा भएको शसस्त्र द्वन्दका कारण व्यापार व्यवसायमा कठिनाइ हुँदा जीविकोपार्जनका लागि शिख कोही अन्य देशतिर लागे, कोही भारत नै फर्किए,” उनले भने, “नेपालमा प्रायः महत्त्वपूर्ण काममा नागरिकता चाहिने हुँदा त्यही समस्याका कारण पनि शिखहरू पलायन हुन बाध्य भएका छन्।”

काठमाडौँको कुपण्डोलमा शिखहरूको प्रार्थनास्थल ‘गुरुद्वारा’ छ। यहाँका अध्यक्ष ट्रान्सपोर्ट व्यवसायी प्रितम सिंह हुन्। उनी ट्रान्सपोर्ट व्यवसाय नेपाल भित्र्याउने व्यक्ति हुन्। उनकै अगुवाईमा नेपालमा रहेका गुरुद्वाराहरू संचालित छन्। प्रितम सिंहको लगानीमा जग्गा नै किनेर वीरगन्ज, बुटवल, नेपालगन्ज र धनगढीमा गुरुद्वाराहरू स्थापित भइसकेको कुपन्डोलस्थित गुरुवदरामा प्रार्थना संचालन गर्ने अमरजित सिंहले बताए। जुनसुकै बेला मान्छे आउँदा बस्ने र खाने सुविधासहित गुरुद्वाराहरू संचालित भइरहेको उनी बताउँछन्। आफुहरूले कुपन्डोलको उक्त गुरुवदरामा २०७२ सालको भूकम्पमा दैनिक २५ देखि ३० हजार मानिसलाई खाना खुवाएको उनको भनाइ छ।

उक्त गुरुद्वारामा शिखभन्दा बढी नेपालीहरू आउने गर्छन्। प्रत्येक शनिबार हुने विशेष प्रार्थनामा १०/१५ जना शिख हुन्छन् भने १०० भन्दा बढी नेपाली हुन्छन्। नेपालीहरू शिख समुदायको प्रमुख धार्मिकस्थल अमृतसरस्थित स्वर्ण मन्दिर जाँदा आफूहरूले चिठी बनाइदिने गरेकोले अमरजित बताउँछन्। भारत जाँदा पाइने सुविधाका कारण पनि नेपालीहरू गुरुद्वारासँग नजिक छन्। 

सोमबार गुरु नानक जयन्तीको अवसरमा आफ्ना साथीहरूसँगै इमाडोलबाट आइपुगेकी कविता नकर्मी समय मिल्यो भने अरु बेला पनि पुग्ने गरेको बताउँछिन्। “विशेष अवसरहरूमा हामी यहाँ आउछौँ,” उनले भनिन्, “आज गुरु नानक जयन्ती भएकोले आएका हौँ।” 

काठमाडौँका शिखहरूका गुरु गुरुबखस सिंहले नेपालमा सरकारी आँकडामा कम देखिए पनि करिब १० हजारको संख्यामा शिखहरू रहेको दाबी गरे। सबभन्दा बढी बाँकेमा छन्। नेपालगन्जबाहिर पनि यस समुदायको सघन बसोवास भएको शिखपुरा गाउँ पनि छ।


सम्बन्धित सामग्री