Sunday, April 28, 2024

-->

सोमनाथदेखि सनातनमुनिसम्म : भारतमा नेपाली स्वामीको संघर्षको कथा

सोमनाथ वाग्ले उदासीन आश्रममा सरिक हुनु संयोग, आकस्मिकता र बाध्यता सबै थियो। सोमनाथको यही बाध्यता पछि ‘सनातनमुनि’ हुने अवसर बन्यो, जो अहिले बैंगलोरमा आश्रम चलाउँछन् र भारतभरि ख्याति कमाएका छन्।

सोमनाथदेखि सनातनमुनिसम्म  भारतमा नेपाली स्वामीको संघर्षको कथा

नेपालमा खासै चर्चा नभएका तर हिन्दुस्तानका मठमन्दिर र आश्रमहरूमा प्रतिष्ठित नेपाली स्वामी–साधु महाराज धेरै छन्। त्यस्ता नेपाली सन्तहरूमध्ये गुल्मीका सत्यदेव भट्ट, धनकुटाका वासुदेव तथा सनातनमुनि पनि पर्छन्। तीमध्ये सनातनमुनि धनकुटाको सदरमुकाम धनकुटा बजारसँगै जोडिएको गाउँ पात्लेका हुन्। उनको जन्म २००३ सालमा भएको हो। धनकुटाका उनै सोमनाथ वाग्ले हाल 'सनातनमुनि'को नामबाट हिन्दुस्थानमा स्थापित महाराजजी तथा योगी भएका छन्।

त्यसबेला धनकुटाको वाग्ले परिवार शिक्षादीक्षामा अगाडि नै थियो। पढ्नुपर्छ भन्ने चेतना त सबैमा थियो तर पढाइमा घरखर्च कटौती गरेर लगाउने धेरै थिएनन्। आर्थिक रूपमा विपन्न भए पनि वाग्ले परिवारको शैक्षिक प्रेमको कथा विशेष छ। उनीहरूले आफ्ना सन्ततिलाई नजिकैको हाइस्कुलमा भर्ना गरेनन्। बरु, संस्कृत पढाउन धरान तथा हिन्दुस्तानका बनारस, हरिद्वार र ऋषिकेशजस्ता स्थानमा पठाए। ती ठाउँमा वटुक (संस्कृत पाठशालाका विद्यार्थी)लाई खान बस्नका लागि संघसंस्थाले आर्थिक सहायता उपलब्ध गराउँथे। पढ्न कुनै शुल्क तिर्नु पर्दैनथ्यो। धनकुटाका कचिडे, आध्मारा, फलाँटे, कुरुले तथा मुगाका ब्राह्मणहरू संस्कृत पढेर पण्डित भएका थिए।

सोमनाथ वाग्लेका समवयी वासुदेव वाग्ले, दामोदर वाग्ले, अच्युत वाग्ले, गोपाल भण्डारीहरू अध्ययनका लागि हरिद्वार तथा ऋषिकेश पुगेका थिए। तर सोमनाथले भने पढ्ने बेलामा गोठालापात र घाँसदाउरा गर्नु बाध्यता थियो। आफू १ वर्षको हुँदा नै आमा गुमाएका र दाजुहरूले पनि पढ्ने अनुकूलता नमिलाइदिएको हुनाले पढाइको मौका नै पाएनन्। पिताजीबाट पनि पढ्ने प्रोत्सान पाएनन्। बरु घरव्यवहारमा व्यस्त गराइए। 

सोमनाथलाई पढ्ने चाहना भने उत्कट थियो। घरबाट अनुमति नमिल्दा भागेर हिँड्ने विचार गरे। एकपटक भाग्ने प्रयास गरे पनि परिवारले पत्तो पाइहाल्यो। धरान पुग्ने बेला लेउती खोलामा समातिए। तथापि, उनको भाग्ने मन बिथोलिएन। २०२० सालतिर आमाको नौगेडी र पिताजीले पात्रोमा राखेको २० रूपैयाँ लिएर हरिद्वार जान चम्पट कसे। यसपटक भने उनलाई कसैले भेटेन। 

दुई दिन लगातार हिँडेर जोगबनी (विराटनगर समीपमा रहेको भारतीय रेलवे स्टेसन) पुगे। साथमा लगेको नौगेडी बेच्न एक पसलमा गए। त्यसको मूल्य त्यतिबेला कम्तीमा ३० रुपैयाँ जति हुन्थ्यो। तर व्यापारीले चोरीको माल सम्झिएर ३ रूपैयाँ मात्र दियो। पुगेन भन्दा उल्टो थर्कायो। त्यही ३ रूपैयाँ लिएर उनी रेलवे स्टेसन पुगे। 

उनले हरिद्वार जानेबाहेक अरू केही पनि भन्न जानेकै थिएनन्। तर जोगबनीबाट हरिद्वार कसरी जाने भन्ने जानकारी थिएन। रेलमा चढेपछि जोगबनीबाट हरिद्वार नै पुगिन्छ भन्ने लागेको थियो, रेलमा टिकट काट्नुपर्छ भन्ने ज्ञान थिएन। उनी जोगबनीबाट रेल त चढे तर त्यसले उनलाई हरिद्वार पुर्‍याएन, कटिहार पुर्‍यायो। अनि सोध्दै खोज्दै गोरखपुर हुँदै बिनाटिकट नै लखनउसम्म पुगे। त्यहाँको रेलवे स्टेसनबाट रेलको लिकैलिक हरिद्वार पुग्न तम्सिए। बिचरा, उनलाई के थाहा लखनउबाट हरिद्वार हिँडेर पुगिँदैन भनेर। 

लखनउ रेल स्टेसनबाट रेलहरू छुट्दै गए, हरिद्वार जाने रेल भेटिएन। दिनभरि र आधारातसम्म लखनउ जक्सनमा अडिएपछि बल्ल हरिद्वारको रेल आयो। त्यसैमा चढेका थिए, प्रथम श्रेणीको डब्बा पो परेछ। ओर्लिएर अर्कोमा बसे। धन्य त्यहाँ टिकट चेक गर्ने टिटी आएन। हरिद्वार रेलवे स्टेसनमा सकुशल ओर्लिए। नौलो ठाउँ, सोध्दै खोज्दै ऋषिकेशस्थित वाग्ले बन्धुकहाँ पुगे। उनको हरिद्वार पुग्ने रहर पुग्यो।

ऋषिकेश पुगेर मात्र पनि त भएन। बस्ने, खाने तथा पढ्ने बन्दोबस्त बाँकी नै थियो। सोचेजस्तो सजिलो कहाँ भयो र? गाँस र बासकै समस्या भयो। सबैको आआफ्नो बस्नेखाने ठेगान त थियो तर सबै परतन्त्र, उनलाई साथमा राख्ने कसैको सामर्थ्य भएन। काम र मामको खोजीमा उनी निकै समय भौतारिए। खान र बस्न पाएपछि मात्र पढ्ने कुरा आउँथ्यो। काम खोज्दै विभिन्न जोगीका कुटी तथा आश्रमको चक्कर काटे। यसैक्रममा एक नेत्रविहीन जोगीको सेवा गर्ने काम पाए। तिनै जोगी पछि उनका गुरु भए। त्यसपछि उदासीन सम्प्रदायसँग जोडिन पुगे।

सोमनाथ वाग्ले उदासीन आश्रममा सरिक हुनु संयोग, आकस्मिकता र बाध्यता सबै थियो। सोमनाथको यही बाध्यता अवसरमा परिणत भई ‘सनातनमुनि’ हुन पुगे। यो समुदाय हिन्दू धर्मकै एक महत्वपूर्ण शाखाको रूपमा विकसित समुदाय हो। उदासीन वा उदासी सम्प्रदाय शिख साधुहरूबाट प्रारम्भ भएको थियो। यसका संस्थापक गुरु नानकका पुत्र श्रीचन्द्र (सन् १४९४–१६४३) हुन्। यो सम्प्रदायले जल, अग्नि, पृथ्वी, वायु, आकाश जस्ता पञ्चप्रकृति पूजा गर्छन्। घरव्यवहार तथा विवाह जस्ता संस्कारप्रति असहिष्णु हुँदैनन्।

उदासीन अखाडा अखण्ड धुनीसँग सम्बन्ध राख्छन्। काबुलस्थित एक कुटीमा श्रीचन्द्रले जगाएको धुनी अहिलेसम्म बलिरहेको छ। उदासीनहरूकै एक आश्रम सुनसरीको चतरानजिकको रामधुनी पनि हो जुन सेन राजाको पालादेखि अर्थात्, अठारौँ शताब्दीको प्रारम्भदेखि नै अनवरत बल्दै आएको छ। विशेषगरी हिन्दुस्तान र नेपालमा यो सम्प्रदाय मान्ने, जान्ने र सो पन्थका भक्त धेरै छन्।

सनातनमुनि र हरिओम माताका साथ लेखकको परिवार।

तिनै महाराजको हेरचाह गर्ने दायित्व पाएका सोमनाथले औपचारिक शिक्षालयमा भर्ना भई पढ्ने मौका नै पाएनन्। गुरुजीसँग हरिद्वार तथा हिन्दुस्तानका अनेकौँ तीर्थस्थल एवम् धामको यात्रामा गुरुजीका विश्वासी बने, भक्त बने, योजनाकार बने र कार्यान्वयनकर्ता बने। गुरुजीको मानमर्यादा सर्वत्र थियो। स्रोतको कुनै कमी थिएन। जे चाहना गर्‍यो भक्तहरूले सोही पुर्‍याउँथे। कालान्तरमा गुरुजीकै चाहनाअनुसार हरिद्वारमा उदासीन आश्रम बन्यो, जहाँ साधुसन्तका अलावा विद्यार्थीहरूलाई पनि बस्ने खाने र पढ्ने सुविधा प्राप्त भयो। त्यही आश्रममा बसेर धेरै नेपालीसमेत उच्च शिक्षा हासिल गरी आ–आफ्नो क्षेत्रमा स्थापित भए।

गुरुजीकै एक भक्तले कर्नाटकको बेंगलौरस्थित ज्वल क्रस रोडमा एक भव्य भवन आश्रमलाई दान गरे। त्यस भवनमा उदासीन आश्रम बनाउन सोमनाथजीले अथक मिहिनेत गरे। भव्य आश्रम तयार भयो। अब हरिद्वार र बेंगलौर दुवैतिरको रेखदेख गर्ने दायित्व उनैमाथि पर्न गयो। यस बेलासम्म उनले सन्यास ग्रहण गरेका थिएनन्। सबैतिरबाट गुरुजीपश्चात् गद्दी सम्हाल्नु पर्ने जोड हुन थाल्यो। सन्यास नलिएको अवस्थामा मठाधीश हुन सम्भव थिएन। सन्यास लिन अनुरोध आउन थाल्यो। उनले अन्नतः सन्यास ग्रहण गरी सनातनमुनि भए, पूर्णतः जोगी हुन पुगे। सोमनाथ अब सोमनाथ रहेनन्, एउटै जुनीमा दोस्रो जन्म लिन पुगे।

२०४५ सालमा गुरुजी समाधिस्थ भएपछि हरिद्वार र बेंगलौर दुवैतिरको आश्रमको सम्पूर्ण दायित्व सनातनमुनिकै काँधमा आयो। केही समय दुवैतिर आउनेजाने गर्दै गरेका उनी हाल बेंगलौरमा मात्र केन्द्रित छन्। हरिद्वारबाट पलायन हुनुपर्ने कारणका विषयमा भने उनी खुल्न चाहँदैनन्।

बेंगलौरको उदासीन आश्रम भ्रमणमा धेरै जना पुग्छन्। विशेषगरी भक्तहरूको आकर्षणको केन्द्र भएको छ। भक्तहरूकै दानदातव्यबाट आश्रम सञ्चालन हुन्छ। आश्रममा शिवपार्वती, रामसीतासहितको भव्य मन्दिर, गौशाला, साधुसन्तका लागि आवासगृह, अतिथि कक्ष आदि छन्। अतिथि गृहमा बस्नसमेत अनुमति पाइन्छ भने, अतिथिका लागि खानपिनको समुचित प्रबन्ध छ। सनातनमुनिको अध्यक्षतामा गठित ट्रस्टद्वारा आश्रम सञ्चालित छ। आश्रमको व्यवस्थापन पक्षको जिम्मा सनातनमुनिकै चेली हरिओम माताले लिएकी छन्। हालसालै मात्र सनातनमुनिको मुटुको ठूलो शल्यक्रिया भएको र कानको क्षमता पनि कम भएकाले आश्रमको रेखदेख माताजीकै व्यवस्थापनमा हुने गरेको छ।

२०५१ सालमा सोमनाथ वाग्लेसँग र २०५८ तथा २०७९ दुवैपटक गुरु सनातनमुनिसँग मेरो उठबस र भलाकुसारी गर्ने अवसर प्राप्त भएको थियो। २०७९ सालमा भने करिब एक हप्ता सँगै बस्दा गुरुजीको बहुआयामिक व्यक्तित्वबारे परिचित हुने अवसर पाएको हुँ। धेरै साधुसन्त, महन्तसँग संसर्ग, सत्संग तथा भलाकुसारी गरेको अनुभवबाट तुलना गर्दा सनातनमुनि घमण्डहीन सरल स्वभावका मिलनसार आग्रहपूर्वाग्रहरहित आफ्ना स्वजन तथा इष्टमित्र र घरपरिवार सबैका प्रिय देखिए। बाल्यकालका साथी इष्टमित्र र घटनाहरू सबै ताजै रहेछन्। सबैको एकएक गरी सोधखोज गरी हालखबर लिने जिज्ञासु बानी रहेछ। बाल्यकालको दैनिकी, गाउँघरको रीतिथिति, चाडपर्व दैनिक जीवनको रामकहानी सबै सुन्ने अवसर प्राप्त भयो। भीमशंकर वाग्ले, कृष्ठाकुमारी भण्डारी जस्ता व्यक्तिको गुन कहिल्यै नबिर्सने बताइरहे। गोठालो जाँदा गरेको बदमासी, घरमा दुध र दही चोरेर खाएको जस्ता घटना पनि ताजै रहेछन्।

कुनै औपचारिक विद्यालयमा भर्ना भई अध्ययन गर्ने अवसर नपाएका तथा कुनै शैक्षिक उपाधि नलिए पनि ज्ञान, क्षमता र कौशल धेरै छ। राजनीति, अर्थशास्त्र तथा धर्मशास्त्रप्रति गहिरो अनुराग, चिन्तन र विश्लेषण गर्ने क्षमता छ। 

आश्रमबाट धेरै नेपालीहरूले शिक्षादीक्षा पाई बेंगलौरमा प्रतिष्ठित भई प्रशस्त धनसम्पत्ति जोड्न सफल भएका उदाहरण रहेछन्। नेपाल र नेपालीप्रति सदाशयता राख्ने सनातनमुनिले आफ्नो सबै पैतृक सम्पत्ति दाजुको छोरालाई दिएका रहेछन्। पितृप्रसाद बिक्रीवितरण गर्न उपयुक्त नहुने उनको मान्यता छ। 

सनातनमुनि दैनिक बिहान ४ बजेबाट शुरू हुन्छ। बिहान गोमुत्र पानबाहेक अरू केही खाने बानी छैन। दिउँसो १२ बजेसम्म पूजापाठ चल्छ, त्यसपछि भोजन। भान्सामा गोठाला, पुजारी, विद्यार्थी, सन्त, महन्त सबैलाई एउटै प्रकारको भोजन तयार हुन्छ। हालसम्म कहिल्यै कुनै भोजनप्रति गुरुले गुनासो गरेको थाहा नभएको माताजीको भनाइ छ। दिउँसो अनुकूल भएमा केही नास्ता गर्ने र बेलुका ८ बजे हल्का खाना लिने बानी छ। घिउ र खिचडी उनका प्रिय खाद्यवस्तु हुन्। 

बिहानदेखि नै भक्तजनहरूको घुइँचो हुन्छ। आश्रमलाई चाहिने सबै कुरा दाताबाट प्राप्त हुन्छ। हिन्दुस्तानका प्रायः सबैजसो स्थानमा सनातनमुनिका भक्तहरू छन्। वर्षको दुईचार महिना घुमफिरमा बिताउँछन्। ‘आश्रम सञ्चालनमा कत्तिको चिन्ता हुन्छ?’ भन्ने प्रश्नमा उनले रामको मूर्तिलाई देखाउँदै भनेका थिए, “मैले चिन्ता किन लिने? ऊः त्यहाँ हुनुहुन्छ नि, उहाँले लिनुभएको छ।”

एक हप्ता उहाँसँग हाम्रो उठबस हुँदा धेरै पुराना कुरा, धर्म र धार्मिक सम्प्रदायका कुरा, महन्त–महन्तबीच हुने शीतयुद्ध र षड्यन्त्रका तानाबाना राम्ररी बुझ्यौँ। बेंगलोरमा धर्मप्रति आस्था राख्ने व्यक्तिहरूसँग संगत गरी एक नेपालीले हासिल गरेको सम्मान थाहा पायौँ। 

नेपाली पुत्र सनातनमुनिलाई हार्दिक नमन।


सम्बन्धित सामग्री