Tuesday, May 07, 2024

-->

चाडबाडमा बढ्ने सवारी दुर्घटना: कारण, समाधान र सुझाव

तपाईं चढेको गाडी चालकले मादक पदार्थ सेवन गरेका छन् या तीव्र गतिमा चलाएका छन् भने १०० नम्बरमा फोन गर्दा तुरुन्तै ती चालकमाथि कारबाही हुन्छ।

चाडबाडमा बढ्ने सवारी दुर्घटना कारण समाधान र सुझाव

सवारी दुर्घटनाका लागि अनेकन् कारण जिम्मेवार हुन्छन्। सडक र सवारी साधनको अवस्था, यात्रु तथा चालकको  मनोदशा तथा अवस्था सवारी दुर्घटनाको लागि मुख्य कारक बन्छन्। चाडबाडमा यात्रुलाई जसरी पनि गन्तव्यमा पुग्ने हुटहुटी हुने हुँदा सिट नहुँदासमेत गन्तव्यमा पुग्न हतारिन्छन्। सवारी धनी र चालकलाई पनि आम्दानीबाहेक अरू कुरा खासै मतलब हुँदैन। यात्रु त सवारीमा चढेकै हुन्छन्, खास गरी चाडबाडमा आफूभन्दा बढी तौलका सामान यात्रुले गाडीमा हाल्ने गर्छन्। त्यसले सवारीलाई झनै भार थप्छ। यसरी यात्रु र सामानका कारण धेरैजसो गाडी 'ओभरलोड' हुनपुग्छ। 

ड्राइभर आफैँ सचेत भए मात्र हो, नत्र गाडीको अवस्था के कस्तो छ भनेर जाँच्ने कुनै व्यवस्था र संयन्त्र हाम्रोमा छैन। त्यसमाथि, चाडपर्वकै छेकोमा जस्तासुकै सवारीसाधन सडकमा निकालेर प्रयोग गर्ने गरिन्छ। दशैँका बेला अरु बेला भन्दा धेरै मात्रामा सवारीसाधन आवतजावत गर्छन्। पुराना र बिग्रेका सवारीसाधनको प्रयोगले पनि दुर्घटना बढ्ने भयो। त्यसमाथि वर्षा यामपछिका बिग्रेर मर्मत गर्न नभ्याइएका बाटामा सवारी कुदाउँदा त्यसले पनि दुर्घटनाको दरलाई बढाउने नै भयो। अर्को कुरा, चाडबाडमा लामो समय सवारी चलाउनु पर्दा सवारी चालक र सहयोगीसमेत थकित र अनिदो हुन्छन्। यी यावत कुराले चाडपर्वमा दुर्घटना बढी हुन पुगेको देखिन्छ। 

तर अरु बेलाको सवारीसाधनको संख्या र त्यतिखेर हुने दुर्घटनाको दर तथा चाडपर्वमा गुड्ने सवारी साधन र त्यसबाट हुने दुर्घटनाको दरलाई तुलना गर्ने हो भने दुईबीच खासै ठूलो अन्तर देखिँदैन। एकैचोटी धेरै सवारी चलेका कारण सोही दरमा दुर्घटनामा पनि वृद्धि भएको मान्न सकिन्छ।  

बढी जिम्मेवारी कसको?
आँधी र भूकम्पजस्ता प्राकृतिक विपत्तिको अनुमान गर्न सकिँदैन, तर कहिले कुन चाडपर्व तथा मौसम पर्छ भन्नेबारे त सबैलाई अनुमान हुन्छ। यी यस्ता समय चाडबाड  र सवारी चाप हुन्छ भन्ने कुरा सरकारलाई थाहा हुन्छ। सरकारसँग अनेक विषयको पहिलेको रेकर्ड पनि हुन्छ। यी सबै कुरा ख्याल राख्दै सडक सुरक्षालाई व्यवस्थित गर्नेगरी सरकारले पहिले नै योजना नबनाएका कारण पनि चाडबाडमा बढी दुर्घटना हुने गरेको हो। 

सडक सुरक्षा यसमा संलग्न सबैको जिम्मेवारी हो, साझा जिम्मेवारी हो। नेपालमा सार्वजनिक सवारी सत‍्प्रतिशतजस्तै निजी क्षेत्रको जिम्मामा छ। आफ्ना सवारी चलाउन अनेकन् निजी संस्था लागेका छन्। तीसँगै सरकार, सवारी चालक र यात्रु (सडक प्रयोगकर्ता) र सडक सुरक्षाका नियम परिपालन गराउने ट्राफिक प्रहरी सडक सुरक्षाका लागि जिम्मेवार हुन्। त्यससँगै समयमै सडक निर्माण गर्नुपर्ने जिम्मेवारी बोकेको सडक विभाग पनि यसका लागि जिम्मेवार हुन्। 

जसरी सडक सुरक्षा हामी सबैको साझा जिम्मेवारी हो, सवारी दुर्घटनाको जिम्मेवारी पनि हामी सबै हौँ। प्रयोगकर्ता मात्रै सचेत भएर नि सडक सुरक्षित हुने कुरा भएन। ड्राइभर सचेत होलान्, तर सवारी धनीले धेरै यात्रु राखेर धेरै कमाउन दबाब दिएका हुनसक्छ, जसले गर्दा सवारीमा भार बढेर दुर्घटनाको कारक बन्न सक्छ। अतः फुटबल खेल जित्न प्रत्येक खेलाडीको भूमिका भएझैं सडक सुरक्षा सम्बन्धित सबैको साझा जिम्मेवारी हो। 

'मलाई त के हुन्छ र?' 
सवारी दुर्घटनामा जो पर्‍यो, ती र तिनको अभिभावकको मात्रै समस्याझैं हुने गरेको छ। यसको चरित्र नै यस्तो हुन्छ। जो अहिलेसम्म सवारी दुर्घटनामा परेका छैनन्, तिनले आफू कहिल्यै दुर्घटनामा नपर्नेझैं ठान्छन्। 'म त दुर्घटनामा पर्दिनँ, मलाई त के हुन्छ र?' भन्ने मानसिकता धेरै मान्छेमा हुने गरेको छ। सवारी दुर्घटनालाई हाम्रो साझा समस्या हो भनेर हामीले मनन गरेकै छैनौं। पर्नेलाई परिहाल्यो, अरूले पनि केबल श्रद्धाञ्जली दिएर औपचारिकता निर्वाह गर्ने बानी परेको छ। तर सत्य के हो भने जति नै खेर हामी र हाम्रा प्रियजन सवारी दुर्घटनामा पर्ने सम्भावना छ। जसरी हो, यो बिदामा फलानो गन्तव्य नपुगी हुँदैन भन्ने ढिपी र रहरले पनि हामीलाई दुर्घटनामा पुर्‍याउँछ। आफूलाई चोट र शोक नपरुन्जेलसम्म जसरी भए पनि गन्तव्य पुग्ने मात्रै ध्याउन्नमा मान्छे पीडित हुने गरेका छन्। 

अतः सवारी साधनको अवस्था, चालक र सहयोगीको शारीरिक/मानसिक अवस्था, सवारीको भार, बाटोको अवस्थाको सही मूल्यांकन गरेर यात्रा गरियो भने सुरक्षित रूपमा गन्तव्यमा पुग्ने सम्भावना बढ्छ। 

निजी सवारी र नयाँ ठाउँको यात्रा
सवारी चलाउँदा चालकलाई त्यस सडकको बनोट, अवस्था र चरित्रबारे थाहा थाहा पाउन आवश्यक छ। त्यस सडकमा चल्ने अन्य सवारी साधनको गति, हुनसक्ने अवरोधबारे ज्ञान हुनु आवश्यक छ। त्यस सडकमा गाईवस्तु या ठूला ढुंगा तथा काठ अवरोधका रूपमा हुन सक्छन्। बालुवा पोखिएको हुनसक्छ, हिलो हुनसक्छ। 

कतिपय समुदायका बालबालिका त्यही सडकमा खेलिरहेका पनि हुन सक्छन्। सडकको अवस्थाबारे पूर्व ज्ञान वा जानकारी नहुँदा दुर्घटना हुने सम्भावना बढ्ने भएकाले चालकले सवारी चलाउनु पूर्व नै त्यस सडकबारे जाने बुझेको हुनुपर्छ। 

अर्को तथ्य के हो भने नेपालको सडकहरू डिजाइन चरणमै पूर्ण सुरक्षित बनाइएका सडक छैनन्। नेपालका राजमार्गका कतिपय ठाउँलाई 'ब्ल्याक स्पट'का रूपमा पहिचान गरिएको छ। फलानो ठाउँमा दुर्घटना हुने सम्भावना छ र त्यसमा स्तरोन्नति नगर्ने हो भने कुनै पनि बेला दुर्घटना हुनसक्छ भनेर उल्लेख गरिएका प्रशस्त प्रतिवेदन छन्। तर दुःखको कुरा, दुर्घटना जोखिम भनेर पहिचान गरिएका क्षेत्रमा पनि सुधार गरिएका छैनन्। चालक र सहयोगी सवारी लिएर त्यस्ता सडक हुँदै जाँदा तिनीहरू दुर्घटनामा पर्न जान्छन्। 

अर्को तथ्य उल्लेख गरौं, चाडपर्वमा हुने दुर्घटनामा प्रायजसो नयाँ चालकले चलाएका सवारी नै पर्ने गरेका छन्। उपत्यकाका स्कुलहरूमा धेरै बसहरू भएकाले यस पटक सवारीको चाप पर्ने बेला तिनै बसहरू चलाउने कुरा उठेको थियो किनकि पोहोर स्कुले बसहरू चाडबाडका बेला सार्वजनिक यात्रु बोक्न चलाइएको थियो, तर हामीजस्ता सवारी सुरक्षामा चासो राख्ने मान्छेहरूले त्यस्ता बस अन्यत्र नचलाउन सुझाव दियौँ र अहिले त्यसो गरिएको छैन।  

'टाइम कार्ड' 
अघिल्ला वर्ष चालकले बस द्रुत गतिमा चलाए भन्दै नियन्त्रणका लागि भनेर 'टाइम कार्ड' लागू गरिएको थियो। एक ठाउँबाट अर्को ठाउँसम्म खास समय पूरा गरेर मात्रै पुग्नुपर्ने मापदण्डलाई टाइम कार्ड भनिएको हो।  तर टाइम कार्डको मापदण्ड सही ढंगले उपयोग गरिएन। सिन्धुलीको बाटोमा अहिले पनि टाइम कार्ड लगाइएको छ, तर बीचबीचमा सोको अनुगमन गर्ने प्रहरी वा ट्राफिक प्रहरी  पर्याप्त संख्यामा छैनन्। त्यस कारण, खास गरी माइक्रो बसहरू पहिले द्रुत गतिमा चलाउने र बीचतिर होटेलमा उत्रेर खाजा तथा र कहिलेकाहीँ त मादक पदार्थ नै सेवन गरेर समय बिताइ फेरि तीव्र गतिमा गाडी चलाएर गन्तव्यमा पुग्ने गरेको देखिन्छ। 

यो टाइम कार्डको विकृति हो। यसलाई रोक्न कि त बाटोमा नै 'स्पिड डिटेक्टर' राख्नुपर्‍यो र चालकले खास दुरी पार गरेको समयको समेत 'मनिटरिङ' गर्नुपर्‍यो। यी कुराहरू नहुँदा उल्टै टाइम कार्डको दुरुपयोग भएको हो।  

सुझाव
पहिलो सुझाव, सवारी चालक र सहयोगीहरूलाई। असहज, अनिद्रा र थकित अवस्थामा सवारी नचलाउनुहोला। अहिले बाँच्न पाइयो भने अर्को वर्ष पनि दशैँ तिहार आउनेछ। धेरै वर्ष चाड मनाउन पाइनेछ। यदि खास बाटोमा उक्त सवारी चलाउने आत्मविश्वास छैन भने नचलाउनुहोला। सानो सवारी चलाउनेहरूले पनि कहिलेकाहीँ ठूलो सवारी चलाउने गरेको पाइन्छ। त्यसो कहिल्यै नगर्नुहोला। मादक पदार्थ सेवन गरेर सवारी नचलाउनुहोला। बढी गतिमा नचलाउनुहोला। बालबच्चा र आफन्तलाई तपाईं र तपाईंले लिएर हिँड्नुभएका यात्रुको धेरै प्रतीक्षा हुन्छ। 

दोस्रो सुझाव, यात्रुहरूलाई। गाडीको अवस्था बुझ्ने प्रयास गरेर मात्र सवारी चढ्नुहोला। खास कुनै दिन गन्तव्यमा नपुगेर केही फरक पर्दैन। जीवनको मूल्यको तुलना कुनै पनि चाडबाडसँग हुन सक्दैन। त्यसो हुँदा भिडभाडयुक्त सवारी नचढ्नुहोला। तपाईं चढेको गाडी चालकले मादक पदार्थ सेवन गरेका छन् या तीव्र गतिमा चलाएका छन् भने  १०० नम्बरमा फोन गर्दा तुरुन्तै ती चालकमाथि कारबाही हुन्छ।    

तेस्रो सुझाव, ट्राफिक प्रहरीलाई। आफ्ना अप्ठ्यारा सहजै व्यक्त गर्न नसक्ने यात्रुहरूको विशेष ख्याल गर्दै तिनको र सबै यात्रुको सुरक्षाको लागि सोच्नुहोला। 

नियमले दिएका सबै अधिकार प्रयोग गर्दै यात्रुको सुरक्षामा लाग्नुहोला। 

चौथो र अन्तिम सुझाव, सडक निर्माण र मर्मतसँग सम्बद्ध सबै निकायलाई। सडककै कारण पनि दुर्घटनाको जोखिम बढ्ने भएकाले समयमै सडकहरू निर्माण गरिदिनुहोला। दुर्घटना जोखिम भएका ठाउँमा संकेत चिन्ह राख्ने र राख्न लगाउने विषयमा पनि ख्याल गर्नुहोला। 


पद्मकन्या क्याम्पसमा जनसंख्या विषय अध्यापनरत सेढाईं सडकसुरक्षा विज्ञ हुन्। 


सम्बन्धित सामग्री