Sunday, April 28, 2024

-->

‘विज्ञानलाई गाली गर्न विज्ञानकै प्रयोग हुने गरेको छ'

कुनै चीजलाई मान्नुअघि त्यसमा प्रमाण खोजिन्छ। त्यसको मतलब म सम्भवतः १८ वर्षको उमेरमा तर्कवादी भएँ। मैले जुनसुकै विषयमा प्रमाण खोज्न थालेँ। २५ वर्षको उमेरमा त म तर्कवादी आन्दोलन र अभियानमा जोडिएँ।

‘विज्ञानलाई गाली गर्न विज्ञानकै प्रयोग हुने गरेको छ

दक्षिण भारतको म्याङलोरमा जन्मिएका ७३ वर्षीय नरेन्द्र नायक चार दशकभन्दा बढी समयदेखि भारत र अन्यत्रसमेत वैज्ञानिकता, तर्कवाद र मानववाद फैलाउन लागेका छन्। लेखक बालकृष्ण श्रेष्ठ 'नेभा' ले आफ्नो बाआमाको नाममा प्रदान गरेको 'मानववादी पुरस्कार' लिन र थप अन्य बौद्धिक विमर्शमा सामेल हुन काठमाडौँ आइपुगेका बखत तर्कशीलता र अन्धविश्वासजस्ता विषयमा केन्द्रित रहेर नायकसँग उकालोका लागि प्रकाश अजात र ऋचा थापाले गरेको कुराकानी: 

कुन प्रेरणाका कारण तपाईं तर्कवादी हुनुभयो? भारतीय समाजमा नास्तिक भएर बाँच्न कति सजिलो छ?
कुनै प्रेरणाले म नास्तिक भएको होइन। ११ वर्षको उमेरमै म नास्तिक भएँ। नास्तिक हुनुको अर्थ यत्ति हो कि भगवान् हुँदैनन् र  कुनै अलौकिक शक्ति हुँदैन भन्ने ठहर। तर्कवाद नास्तिकताभन्दा एक कदम अघि हुन्छ। कुनै चीजलाई मान्नुअघि त्यसमा प्रमाण खोजिन्छ। त्यसको मतलब म सम्भवतः १८ वर्षको उमेरमा तर्कवादी भएँ। मैले जुनसुकै विषयमा प्रमाण खोज्न थालेँ। २५ वर्षको उमेरमा त म तर्कवादी आन्दोलन र अभियानमा जोडिएँ। 

तर्कवादी हुनु एउटा कुरा हो, आन्दोलनमा जोडिनु अर्को कुरा। समाजमा तर्कशीलहरू हुने गर्छन्, आफ्नो मनमा त्यस्ता भावना र विचार राख्छन्, तर आफ्नो जीवनमा सो कुरा अपनाउन सक्दैनन्। तिनका अनेकौँ बाध्यता हुन्छन्। तर मेरो जीवनमा कहिल्यै त्यस्ता बाध्यता आएनन्। मलाई गर्व छ कि मैले जानेदेखि मेरो जीवनमा एउटा पनि धार्मिक कर्मकाण्ड गरिनँ। 

तपाईंबारे पढ्दा तपाईं संशयवादी पनि हो भन्ने थाहा भयो। तर्कवादी हुनका लागि संशयवाद अनिवार्य तत्त्व हो? 
कुनै पनि कुरालाई मान्नुपूर्व तर्कको कसीमा त्यसलाई राख्नुपर्छ। तपाईंसँग म कुरा गरिरहेकाे छु। म चस्मा लगाएर बसेको छु। हेर्नुस्, (फ्रेममात्र भएको चस्मा फुकाल्दै) यो चस्मा। तपाईंले यो चस्मामा सिसा छैन होला भनेर कुनै पनि क्षण सोच्नु नै भएको थिएन। तर मैले लगाएको चस्मामा सिसा नै थिएन। 

तस्वीरहरू: मनिष पाैडेल/उकालाे

हामी कतिपय कुरालाई 'यस्तै त हो नि' भनेर लिन्छौँ। प्रश्न गर्दैनौँ। यदि तपाईं कुनै खास धर्म मान्ने परिवारमा जन्मनुभएको छ भने त्यही धर्मसम्बन्धी पोसाक लगाउने या मानपदवी भएको मान्छेले जेसुकै भने पनि स्वतः सत्य मान्छौँ। तिनले भनेका कुरामा प्रश्न नै गर्नुहुँदैन भन्ठान्छौँ। संशयवादी हुनुको अर्थ यस्तो भ्रमबाट मुक्त हुनुपर्छ भन्ने हो। संशयवादी भएका कारण म कुनै त्यस्ता विषय मान्दिनँ। हर चीजलाई प्रश्न र संशयको दृष्टिकोणबाट हेर्छु।

समाजमा बाबाजी र माताजी (गडमेन/उमन) च्याउझैँ उम्रिरहेका छन्। उनीहरू अवैज्ञानिक काम गरिरहेका छन्। तर अवैज्ञानिक कामको प्रवर्द्धनमा यिनीहरूलाई कहाँबाट मद्दत मिलिरहेको छ? विज्ञानबाटै उनीहरू मद्दत पाइरहेका छन्। यो नै विज्ञानको 'ट्रेजेडी' हो। विज्ञानकै हुर्मत लिन विज्ञानको प्रयोग हुनसक्छ, किनकि आफ्नो प्रयोग क–कसले गर्न सक्छन् भनेर विज्ञानले कुनै सीमा तोक्दैन। विज्ञान कुनै धर्म होइन। जो कसैले यसको प्रयोग गर्न सक्छ। धार्मिक मान्छे विज्ञानकै सहारा लिएर विज्ञानकै अपमान गरिरहेका छन्, अवैज्ञानिक कुरा फैलाइरहेका छन्। थोरै मेहनत गर्ने हो भने गडमेनहरूले गरेका तल्ला स्तरका चमत्कार, साना बच्चाले समेत नक्कल गर्न सक्छन्। 

हेर्नुस् है, म तपाईंको सामु बसिरहेको छु। हात हल्लाएर तपाईंकै सामु यो सिक्री देखाउन सफल भएको छु। लौ हेर्नुस्, कति सजिलै मान्छे फसाउन सकिन्छ। यदि यही काम खास धर्मका मान्छेले आफ्नो पोसाक लगाएर गरेका हुन्थे भने त्यसो गर्ने व्यक्तिलाई धेरैले चमत्कारी बाबाको उपमा दिने थिए। म त वैज्ञानिक हुँ। 

संसारका धेरैजसो मान्छेले मस्तिष्कमा केही 'ग्याप' राख्छन्। सोही ग्यापका माध्यमबाट तथाकथित चमत्कारीहरू घुस्छन्। कमजोरीमा घुसेर उनीहरू मान्छेलाई मूर्ख बनाइरहेका हुन्छन्। कतिपय मान्छे भिडको कुरा मान्नुपर्छ या पत्याउनुपर्छ भन्ठान्छन्। हजारौँ मान्छेले त्यसलाई पत्याइरहेका छन्, हामी पनि पत्याऊँ भन्ठान्छन्।

छद्म विज्ञानको सिकार धेरै बनेका छन्। तपाईंजस्ता तर्कजीवीहरू त्यस्तो अन्धविश्वासबाट समाजलाई निकाल्ने प्रयत्न गर्नुहुन्छ। यसबीच अत्यन्त ठूलो जनसंख्या छद्म विज्ञानको सिकार बनिरहेको छ। कुनै समय अन्धविश्वासविरुद्धको लडाइँमा तपाईं र तपाईंजस्ता मान्छेहरू विजय हुनुहोला? 
हामी जित्नेछौँ एक दिन, हृदयदेखि विश्वास गर्छौं (अंग्रेजी गीत 'वि स्याल ओभरकम'को अनुवाद), किनभने यस्ता कुरा नमान्नेको संख्या अहिले विश्वमै तेस्रो ठूलो जनसंख्या भइसकेको छ। सबैभन्दा धेरै क्रिश्चियन, दोस्रो मुसलमान र तेस्रोमा हामी अर्थात् ईश्वरमा विश्वास नगर्नेहरू। ईश्वरमा विश्वास नगर्नेहरू जहाँ धेरै छन्, त्यहाँको जीवनको गुणस्तरसमेत बदलिएको देखिन्छ। अपराधको दर घटेको देखिन्छ। उनीहरू जेलहरू बन्द गर्दैछन्। 

स्क्यान्डिनेभियन देशहरू खुशीको तालिकामा पहिलो नम्बरमा पर्छन्। ती देशमा धेरै संख्यामा नास्तिकसँगै मानववादी छन्। मानववाद नास्तिकताभन्दा अझै अर्को एक तह माथि हो। अमेरिकाको २७ प्रतिशतजति नास्तिक छन्, त्यसो हुँदा जेलमा पनि २७ प्रतिशतजति नास्तिक हुनुपर्ने हो, तर कैदीमध्ये एक प्रतिशतमात्रै नास्तिक छन्। त्यसको मतलब नास्तिकहरू अझै नैतिकवान्, सुझबुझपूर्ण र मिलनसार हुन्छन्।

भावनाजस्ता विषयलाई वैज्ञानिक रूपमा परिभाषित गर्न सकिन्छ? म किन पनि यो सोध्दै छु भने कमजोरहरूलाई नियन्त्रण/हेरफेर गर्नका लागि गडमेनहरूले भावनालाई नै माध्यम बनाएका छन्? 
इन्डोपिन, प्रोल्याक्टिन, 'लभ हर्मोन' आदि निस्कने कुरा विज्ञानले प्रमाणित गरेको कुरा हो। शारीरिक अभ्यास गर्दा पनि त्यस्तै हुन्छ। उस्तै आनन्दको  अनुभूति हुन्छ व्यायाम गर्दा। मांसपेशीहरू चलायमान बनाउँदा त्यसले हर्मोनहरूलाई उत्तेजित बनाउँछ। मेरा कुरा कसैले चाखपूर्ण सुने भने मलाई त्यसले भावनात्मक रूपमा उत्साही बनाउँछ। त्यसका लागि कुनै भगवान् र योग आवश्यक पर्छ भन्ने छैन, अथवा त्यसका लागि कुनै विशेष धर्म सेवक तपाईंलाई आवश्यक पर्दैन। हामी आफैँ आफ्नो मूल्यांकन गर्न सक्षम छौँ। 

सन् २०१४ मा नरेन्द्र मोदीको उदय भएयता भारतीय समाज केही कदम पछाडि फर्केको हो?
एकदमै हो, किनभने तिनीहरूले एमएमबीबीएस कोर्सको सिलेबससमेत परिवर्तन गराए। धेरै गलत कुरालाई कानूनी बनाए। छद्म उपचार/औषधि अभ्यास गरेकाहरूलाई समेत सिधै एमबीबीएसका 'लाइट कोर्स' अध्ययनमा सिधै छिर्न पाउने बनाए। यो प्रतिगामी कदम हो। स्वयं प्रधानमन्त्री गणपति (गणेश) आफैँमा टाउकोको प्राचीन प्रत्यारोपण हो भन्छन्। पुष्पक विमान हामीसँग पहिल्यै थियो भनेर डिङ हाँक्छन्। तिनका पछि लाग्नेहरू 'वाह कति राम्रो कुरा' भन्दै तारिफ गरिरहेका छन्।

तर वास्तविकता अलग छ। नरेन्द्र मोदी स्वयं पुष्पक विमानमा यात्रा गर्दैनन्, उनले अत्याधुनिक प्रविधियुक्त बोइङको विमान किनेका छन्। कोरोनाकालमा यी मान्छेहरू च्यवनप्रास र प्राणायामको कुरा गरिरहेका थिए, तर यी सबैले कोरोनाबाट बच्न मास्क र भ्याक्सिन लगाए।  

अध्यात्म र ईश्वरको बारेमा तर्क हुँदा केही मान्छे 'तिमीहरूलाई थाहा छैन, किनभने तिमीहरूले अनुभव र प्रयोग गरेकै छैनौ' भन्ने गर्छन्। यस्तो तर्कमा तपाईंको प्रत्युत्तर के हुन्छ? 
त्यसो भए उनीहरूले परीक्षण गरेर प्रमाणित गरिदिए भइहाल्यो त। साइबाबा म आम मान्छेभन्दा बिलकुल फरक हुँ भन्दै अनेक चटक देखाउँथे। तर उनले गरेजस्तो चटक हामीले पनि गरेर देखायौं। उनीहरूले परीक्षण गर्न नदिएसम्म हामी उनीहरूले गरेको चटक केबल छल हो भनेर बुझ्छौं। अहिले 'मिडब्रेन एक्टिभेसन' भन्दै इन्टरनेटतिर नक्कली धन्दा शुरू भएको छ। आँखामा पट्टी बाँधेरसमेत बच्चाहरूले पढ्न सक्छन् भन्दै झूट फैलाइएको छ। 

अमिताभ बच्चनको कौन बनेगा करोडपति कार्यक्रममा समेत उक्त कुरा देखाइयो। तर पछि सोनी इन्टरटेनमेन्ट टीभीले त्याे दृश्य हटायो। मैले ब्रोडकास्टिङ काउन्सिलमा उजुरी दर्ज गराएँ। आँखामा पट्टी लगाएर पढ्न सकिन्छ भन्नेहरूलाई मैले भनेकै पट्टी लगाएर किताब पढ्ने चुनौती दिएँ। उनीहरूले सकेनन्। अब मिडब्रेन एक्टिभिजम झूट हो भन्ने थाहा भएपछि अहिले 'गान्धारी विद्या' तथा अन्य नाममा इन्टरनेट र अन्यत्र सो झूट चलिरहेको छ। 

सामाजिक न्यायलाई तर्कशीलताले कसरी लिन्छ?
सामाजिक न्याय तर्कशील र आलोचनात्मक सोचकै एक भाग हो। यदि विश्व होमोसेपियन्सकै सम्पत्ति हो भने यो सबैका लागि उत्तिकै वितरित हुनुपर्छ, भाग लाग्नुपर्छ। त्यो पनि नभए न्यूनतम मापदण्डसहितको बस्ने व्यवस्था सबैका लागि हुनुपर्छ। कसैसँग खर्बाैँ सम्पत्ति हुने र अन्य लाखौँ मान्छे गरिब हुनुहुँदैन। त्यसलाई तपाईं समाजवाद पनि भन्न सक्नुहुन्छ, तर खुला बजारका लागि पनि केही स्थान हुनुपर्छ। त्यसमा रहेर नयाँ कुरा आविष्कार गर्ने र बनाउने बाटो व्यक्तिलाई चाहिन्छ, तर कमसेकम न्यूनतम् गुणस्तरीय जीवन सबैलाई चाहिन्छ।

तर कतिपय मान्छे बाँच्न पनि नसकिरहँदा कतिपय मान्छेहरू स्रोतहरूको दोहन गरिरहेका छन्। वातावरणमाथि यति धेरै दोहन गरिएको छ, जसका कारण दोहन नगर्नेहरूलाई समस्या परिरहेको छ। जलवायु परिवर्तनको खास कारण विकसित देश हुन्, तर त्यसबाट सिर्जित समस्याको मर्कामा ज्यादा पर्ने चाहिँ विकासोन्मुख देश हुन्। तर्कशील मान्छेहरूले यस्ता कुरालाई स्वतः अन्यायपूर्ण देख्छ। 

कतिपय मान्छे 'तर्कशीलता'लाई नै पुरुषकेन्द्रित अवधारणा भन्छन् र यसमा समेत पुरुषहरूकै हालीमुहाली भएको तर्कसमेत गर्छन्। के भन्नुहुन्छ?
तर्कशीलता कुनै हठधर्मिता होइन। दिमागको यो त्यस्तो अवस्था हो जहाँ हरेक कुरालाई तर्कको दृष्टिबाट हेरिन्छ। लैंगिक समता तर्कशीलताको एक भाग हो। तर्कको कसीमा हेर्दा कुनै पनि दृष्टिबाट पुरुष महिलाभन्दा कम ठहर्दैनन्। पुनरुत्पादनका कुरा प्राकृतिक हुन्। दुवैका फरक भूमिका छन्। त्यो प्रकृतिले दिएको भूमिका हो। त्यसो हुँदा कुनै पनि कोणबाट महिला पुरुषबीच भेद आवश्यक छैन। 

तर्कशीलतालाई लेफ्ट, सेन्टर र राइटमध्ये कहाँ राख्नु उचित हुन्छ?
तर्कशीलता आधारभूत मानव अधिकारका पक्षमा उभिन्छ। मानवअधिकारको विश्वव्यापी घोषणापत्रका पक्षमा उभिन्छ। धर्म निरपेक्षताका पक्षमा उभिन्छ। त्यस्तो समाजको पक्षमा उभिन्छ जहाँ लिंग, राष्ट्रियता, भाषा, लैंगिक पहिचान तथा जातीय आधारमा विभेद हुँदैन। त्यसको मतलब हामीहरू स्वतः लेफ्ट (वामपन्थ) तर्फ रुझान राख्छौँ। 

तपाईं आफैँ चाहिँ कति तर्कशील हुनुहुन्छ? आफूले दिने उपदेशकै स्तरमा आफ्नो जीवनमा तर्कशीलता अभ्यास गर्नुहुन्छ?
म कुनै उपदेश दिन्न। केबल अभ्यास गर्छु। हाम्रो समाजका मान्छेहरूमा बाध्यता छ, उनीहरू एक थोक उपदेश दिन्छन् र अर्कै अभ्यास गर्छन्। कतिपय मान्छे म त कुनै धार्मिक अभ्यास गर्न चाहन्न, तर मेरो हजुरआमाका लागि यसो गर्दैछु भन्छन्। मलाई बिहे गर्नुअघि चिना देखाउन मन थिएन, तर आमा मान्नुहुन्न भन्छन्। 

मेरो जीवनमा एउटा मात्रै कर्मकाण्ड भयो, जतिखेर म एक महिनाभन्दा सानो थिएँ। आमाले मलाई रामकृष्ण स्वामीको आश्रममा लगेर मलाई आश्रमका गुरुअघि राख्नुभएछ र भन्नुभएछ, "यो बच्चालाई एउटा नाम दिनुहोला।" तिनले भनेछन्, "यसलाई नरेन्द्र भन्नू, जब यो हुर्किनेछ, विवेकानन्दजस्तै हुनेछ।" म ७३ पुगिसकेँ, अहिलेसम्म (हाँस्दै) विवेक नै आएन। आनन्द कहिले आउँछ, कहिले जान्छ। 

तर त्यसपछि मलाई कहिल्यै स्वामीकहाँ जानु परेन। ब्राह्मण परिवारमा जन्मेको मैले कहिले पनि कुनै पनि धार्मिक गतिविधिमा सक्रिय सहभागिता जनाइनँ। ११ सालमै आफू नास्तिक भएको परिवारलाई बताएँ। मलाई परिवारले उपनयन (व्रतबन्ध) गराउन खोजे, मैले त्यसप्रति भरोसा नभएको बताएँ। 

मेरो पोस्ट ग्र्याजुएट परीक्षामा ७९ प्रतिशत नम्बर ल्याएँ। धेरैले भने, "तिमी भगवान‍्लाई मान्दैनौ, तिम्रो नै प्राप्तांक यति धेरै कसरी आयो?" मैले भनें, "मेरो परीक्षा भगवान‍्ले लिएको थिएन।" मेरा आसपास र परिवारकाले त्यतिखेर पनि भने, "तेरो बिहेचाहिँ कसरी हुन्छ, हेरौँला।"

मेरो एक जना साथी मेरो विवाह आफ्नै कुनै आफन्तसँग गराउन चाहन्थे र उनले भने, "बिहेमा एकै दिनका लागि भए पनि कर्मकाण्ड मानिदेऊ न यार।" मैले भनेँ, "म चिना मिलाउने र अन्य धार्मिक कर्मकाण्ड मेरो जीवनमा हुन दिन्न।" भयो पनि त्यस्तै। 

कानूनी रूपमा गरिएको मेरो बिहेको भोजमा १७ जना व्यक्ति मात्र बोलाइएका थिए। बिहे दर्ताका बेला रजिस्ट्रारले फलाक्न लगाए, "म फलानोलाई भगवान‍्का नाममा श्रीमती मान्छु।" मैले भनेँ, "म उनलाई भगवान‍्का नाममा श्रीमती मान्दिनँ किनभने म नास्तिक हुँ।" मेरी श्रीमती पनि नास्तिक थिइन्। रजिस्ट्रारले 'भैगोन्त, श्रीमतीको मात्र नाम लिनुहोस्' भने।  

बाआमा बित्दा समाज र परिवारले धार्मिक कर्मकाण्डका लागि धेरै प्रेसर दिन्छ। सबैको त्यही हो। मेरी आमा सन् १९९५ मा बित्नुभयो। बाले मलाई सम्झाउन खोज्नुभयो, "श्रीमतीले सबै कुरा धार्मिक विधिले होस् भन्ने चाहेकी थिइन्।" दश वर्षको मेरो भतिजले भन्यो, "झूट कुरा नगर्नुस्। मैले जीवनभर आमाले कुनै देवता पुकारेको देखिनँ।" मेरो आमा पनि नास्तिक नै हुनुहुन्थ्यो, तर आफ्नो भावना व्यक्त गर्न सक्नुहुन्थेन। ब्राह्मण समाजमा त्यो पनि महिलालाई म नास्तिक हुँ भन्न कसरी सम्भव हुन्थ्यो? 

मेरी आमाले मलाई भन्नुभएको थियो, "म मरेपछि कुनै कर्मकाण्ड नगराउनू, तर मेरो शव मेडिकल कलेजलाई पनि नदिनू, जलाइदिनू मात्र।" मेरो बा बित्दा म उत्तराखण्डमा विद्यार्थीहरूलाई भौतिक जागरण सिकाउने अभियानमै थिएँ। तीन महिनाअघि तय भएको कार्यक्रम थियो त्यो। त्यहाँ जानूअघि नै मलाई आफू घर नफर्कंदै बा बित्नुहुन्छ भन्ने लागेको थियो। विद्यार्थीहरूले मलाई सोधे, "बा बित्नुभयो। तपाईं त घर जानुहुन्छ होला!"

मैले भने, "म घर गएर बा फर्कनुहुन्थ्यो भने म पक्कै जाने थिएँ।" 

मेरा आफन्तहरूले मेरो आमाको मृत्युमा म कर्मकाण्डमा सहभागी नभएको विषयलाई लिएर सोधे, "किन त्यसो गरेको? बाआमाको कर्मकाण्ड गर्नुपर्दैन?" मैले भने, "कर्मकाण्ड नगरे के हुन्छ?" उनीहरूले भने, "प्रेतात्मा फर्किएर आउँछ।" 

मैले उत्तर दिएँ, "त्यसो भए त उहाँहरूलाई आउन दिऊँ। त्यसो हुँदा मृत्युपछि के हुने रहेछ भनेर सोध्न पाइन्छ। उहाँहरूको अनुभव सुन्न पाइन्छ।" मैले मेरो जीवन आफ्नो आदर्शमा बिताएँ। आफूलाई जे सत्य लाग्यो, त्यसमै जीवन गुजारेँ। अब ७३ वर्षको उमेरमा डर पनि छैन। 

तपाईंलाई धेरै पटक आक्रमण पनि गर्न खोजियो। कुनै घटना बताउनुहुन्छ?
लगभग २० वर्षदेखि पत्रकारहरू 'हिटिलिस्ट' निकालिरहेका छन्। मेरो नाम कहिले तेस्रो त कहिले चौंथोमा समेत पर्‍यो। तर नरेन्द्र दाबोल्करको हत्या भयो। पनसारे र कलबुर्गीको पनि हत्या भयो। सन् २०१६ मा पुलिस कमिस्नरले फोन गरे र मलाई प्रहरी सुरक्षा लिन भने। गत अप्रिलसम्म मलाई दुई जना सुरक्षाकर्मीले सुरक्षा दिएका थिए, बीचमा हटाइयो। फेरि सुरक्षा दिने भन्ने कुरा सुनेको छु। 

गौरी लंकेशले सन् २००० ताक मलाई फोन गरेर आफ्नो सुरक्षामा ख्याल गर्न भनेकी थिइन्, तर मैले तिमी आफ्नोबारे चाहिँ के गर्छौ नि भनेर सोधेँ। गौरी मेरो नजिकको साथी थिइन्। उनले सुरक्षाकर्मी राख्ने बित्तिकै पत्रकारिता असहज हुने बताएकी थिइन्।  ५ सेप्टेम्बर २०१७ मा उनको हत्या भयो। पछि मेरो पनि हत्या गर्ने योजना रहेको थाहा भयो, जसले गौरीलाई मारेको थियो, उसैले मलाई समेत मार्ने योजना बनाएको तथ्य खुल्यो। तर सुरक्षा चुनौतीका बीचमा पनि हामी आफूले चाहेको गर्छौं नै। जेसुकै भए पनि हामी तयार छौँ। किनभने चुप लाग्नु भौतिक मृत्युभन्दा ठूलो हो।

तपाईंले ईश्वरमा विश्वास नगर्नुका कारण समाजमा रहेको असमानता र संरचनात्मक विभेद पनि हो? जातीय विभेद पनि हो? 
सानै उमेरमा म धेरै कुरा मान्छेहरूलाई सोध्थें। शक्तिशाली भगवान् होलान् र तिनले सुन्लान् भन्दै म धेरै प्रार्थना गर्थें। तर मेरो पुकारा सुनिएन। तर कसैले मेरो पुकार सुनेन। त्यसबाट मलाई सबै बेकार हो भन्ने लाग्यो। 

जतिखेर म ८ वर्षको थिएँ, त्यतिखेर परिवारले एक दलित महिलालाई हाम्रो घरमा बोलाए। ती महिलाका टाउकोमा तेल खन्याउन भने। पण्डितहरूले ममा भएको दुर्भाग्य ती महिलालाई सार्ने भन्दै उक्त कर्मकाण्ड गराउन लगाएका रहेछन्। मैले त्यतिखेर उक्त कर्म गर्न मानिनँ। मैले भने, "म मरेँ भने त म एक्लै छु। तर मेरो दुर्भाग्य उनमा सरेर उनी मरिन् भने त उनका ३ बच्चा छन्। यिनको के हालत हुन्छ?"

मेरो हजुरबा/हजुरआमाले पनि आफ्ना बच्चालाई दलितको कोखमा थोरै समय मात्र भए पनि बच्चा रहन दिएका थिए। बच्चाहरूलाई रोग लाग्दा या तिनको मृत्यु भइरहेपछि त्यसबाट छुटकारा पाइन्छ भन्ने अन्धविश्वासमा यो सबै गरिन्थ्यो। दलितलाई केही समय बच्चा दिएर फिर्ता लिँदा दुर्भाग्यहरू सबै दलितमा सर्छ भन्ने विश्वास थियो। यस्ता कुराले गर्दा नै सानै उमेरमा भगवान‍्को अस्तित्वमाथि भरोसा टुट्यो।

मेरो जिल्लामा दलित संघर्ष समितिको संस्थापक सदस्य थिएँ म। त्यतिखेर त्यस समितिमा कोही पनि दलित थिएनन्। सबै दलितहरू दलित भजना मण्डलीमा थिए, जसलाई हरिजन भजना मण्डली भनिन्थ्यो। उनीहरू भगवान‍्को भजन गाउँथे। सायद उनीहरू यस जन्ममा अछुत बनाए पनि अर्को जन्ममा छुत बनाइदिनुहोस् भगवान् भन्दै भजन गाउँथे होलान्। अहिले त दलित संघर्ष समिति दलितहरूकै नेतृत्वमा बनेको छ। 

केही पहिले बागेश्वर धाम बाबा नामका विवादास्पद व्यक्ति नेपाल आए। उनीबारे तपाईंको बुझाइ के हो?
बागेश्वर धामजस्ता व्यक्तिले गर्ने 'चटक'का कुरा पहिल्यै तय हुन्छ। त्यो सोझै 'फिक्सिङ' हो। केही व्यक्तिलाई छानेर उनीहरू मञ्चमा राख्छन्। ज्योतिषीहरूको पनि अहिले चलेको आम तरिका त्यही हो। पहिले नै कुनै व्यक्तिको पृष्ठभूमि पत्ता लगाउने। 

तपाईं ज्योतिषीकहाँ कसरी जानुहुन्छ? पहिल्यै त्यहाँ गएको कुनै व्यक्तिले तपाईंलाई लिएर जान्छ। त्यस व्यक्तिसँग ज्योतिषीको पहिल्यै कुरा भएपछि त्यसबाट ज्योतिषीले तपाईंबारे कुरा बुझेको हुन्छ र कतिपय कुरा मिलाउँछ। 

मैले बारम्बार ज्योतिषीहरूलाई 'चुनौती सूची' (च्यालेन्ज लिस्ट) दिएको छु। एउटा नोट दिन्छु, यसको नोट नम्बर पत्तामात्रै लगाए पूरै सम्पत्ति तिनलाई दिन्छु भनेको छु। म आफैँ १८ जनाको कुण्डली तिनलाई दिन्छु, तीमध्ये पुरुष को हो, महिला को हो र को जिउँदा र को मरेका छन् भन्ने ठहर गर। पूरै सम्पत्ति म तिमीलाई दिउँला भनेको छु। 

अन्त्यमा केही भन्नुहुन्छ?
मेरो उमेर पनि वृद्ध भइसकेको छ। नयाँ पुस्ताले अवैज्ञानिकताविरुद्धको अभियान अघि बढाउनुहोस्। बल तपाईंहरूकै 'कोर्ट'मा छ। ४० वर्षभन्दा लामो समयका मेरा अनुभव म जोकसैलाई र जहाँसुकै नि:शुल्क सुनाउन हरदम तयार छु। 


सम्बन्धित सामग्री