Sunday, November 10, 2024

-->

गुरु गोविन्द सिंह जयन्तीमा नेपाल–सिख सम्बन्ध चर्चा

नेपाली संस्कृतिको मूल प्रवाहमा समाहित भई सिख समुदायले आफ्नो पहिचान कायम राख्न सकेका छन्। नेपाललाई यथार्थमा नै सबै जातको फूलबारी बनाउनमा सिखहरूले योगदान गरी नै रहेका छन्।

गुरु गोविन्द सिंह जयन्तीमा नेपाल–सिख सम्बन्ध चर्चा

नेपाललगायत विश्वभर नै बसोबास गर्ने सिख समुदायले उत्साह, सम्मान र भक्तिपूर्वक नानक जयन्ती र गोविन्द सिंह जयन्ती मनाउँछन्। गुरु गोविन्द सिंह जयन्ती यो साल पुस २० गते परेको छ।

नेपाल अनादि कालदेखि नै उत्तर र दक्षिणबाट भित्रिएका शरणार्थी, फिरन्ते र अवसर खोज्दै आएका व्यक्तिहरूको आश्रयस्थल हो। यिनै जनसमुदायले नेपालको संस्कृतिलाई सम्पन्न बनाएका हुन्। यस कोटीमा सिख पनि पर्छन्। नेपाली सिखहरूले आफ्नो रीति, परम्परा र 'दस्तुर'लाई अक्षुण राख्दै प्रत्येक वर्ष तिथिअनुसारको मितिमा गुरु गोविन्द सिंहको स्मृतिमा भजनकीर्तन गरी लङ्घर (भोजन)को समुचित व्यवस्था गरी हर्षोल्लाससाथ मनाउँदै आइरहेका छन्। यस अवसरमा सिख सम्प्रदायबाहेक अन्य धर्मावलम्बीसमेतको उत्साहजनक उपस्थिति हुने गरेको छ, किनकि आफैँमा सबै धर्म र सम्प्रदायप्रति समभाव राख्ने समुदाय हो सिख। 

गुरु गोविन्द सिंह
सन् १६६६ मा भारत, बिहारको पटनामा जन्मेका गुरु गोविन्द सिंहले सिख धर्म (सम्प्रदाय)का प्रवर्तक गुरु नानकद्वारा उठान भएको आदर्शलाई प्रभावकारी रूपमा संस्थागत गरी क्रान्तिकारी दिशा दिने काम गरे। उनी नौ वर्षकै उमेर (कहीँ १० उल्लेख छ) मा सिख सम्प्रदायका दशौँ तथा अन्तिम गुरु भए। पछि गएर फारसी, उर्दु, हिन्दी तथा संस्कृत भाषाका ज्ञाता बनेका गोविन्द सिंह कवि, योद्धा, आध्यात्मिक नेता र क्रान्तिकारी व्यक्ति थिए। 

उनले सन् १६९९ को वैशाखमा खाल्सा पन्थ स्थापना गरे। खाल्सा स्थापना गरेको दिनलाई सिख धर्मावलम्बी इतिहासमा सबैभन्दा महत्त्वपूर्ण र पवित्र दिन मानिन्छ। सिखहरूको पवित्र ग्रन्थ गुरुग्रन्थ साहिब, जसको रचनामा सिख सम्प्रदायका शुरूका पाँच गुरु र नवौँ गुरु तेजबहादुरको योगदान थियो, उक्त ग्रन्थ यिनैले पूरा गरे। खाल्सा पन्थको 'यज्ञ' पूरा भएपछि गोविन्द रायले आफ्नो नाममा सिंह लेख्न थाले र त्यहीँबाट सबै खाल्सा पन्थी पुरुषले आफ्नो नाममा 'सिंह' लेख्न थाले। महिलाहरूले कौर लेख्ने चलन उनैले चलाए। त्यो अभ्यास अहिलेसम्म पनि छ।

खासगरी सिख पुरुषको पहिचान गराउने कंकार अर्थात् कपाल, काइँयो, कडा (हातमा लगाउने बाला) कृपाण (तरबार) र कप्छा (अन्डरवेयर) पाँच प्रतीक उनैले चलाएका थिए। उद्देश्य प्राप्तिका लागि निर्भीक र निडर भई प्रतिबद्ध हुनुपर्छ भन्ने उनकै सिद्धान्तका कारण सिखहरू वीरमा दरिन पुगेका हुन् भन्ने गरिन्छ। यद्यपि, आफूबाहेकका धर्म सम्प्रदायप्रति आदर–सद्भाव राख्नुपर्छ भन्ने उनको मान्यता थियो।

उनले धूमपान गर्न, व्यभिचार गर्न, हलाल गरेर मारिएको पशुको मासु खान तथा आफ्नै उत्तराधिकारीप्रति प्रतिद्वन्द्वी सम्झनलाई निषेध गरेका थिए। उनले आफ्नो मृत्युपश्चात् अब कुनै गुरु नहुने र गुरुग्रन्थ साहिब नै सिखहरूको अमर गुरु हुने घोषणा गरे। उनले आफ्नो जीवनकालमा १४ वटा युद्ध लडे भने आनन्दगढ, कुशगढ, लोहगढ र फतेहगढ गरी चार किल्ला निर्माण गरे। 

वीरधाराको काव्य परम्परामा उनको योगदान स्तुत्य छ। उनका जय साबिह, अकाल स्तुति, विचित्र नाटक, चण्डी चरित्र, ज्ञानप्रबोधलगायक कृति चर्चित छन्। सिंहले गुरु नानकद्वारा स्थापित सिख सम्प्रदायलाई यसरी नयाँ दिशा दिई क्रान्तिकारी परिवर्तन गराउन सफल भए। 

नेपाल–सिख सम्बन्ध
सिख धर्मका प्रवर्तक गुरु नानकका छोराको समययता नेपाल–सिख सम्बन्धको थालनी भएको थियो। गुरु नानकले सन् १५१४–१५१८ का बीचमा नेपालका खासगरी तीर्थस्थलहरूको भ्रमण गरेका थिए। विष्णुमती किनार र पशुपति क्षेत्रमा नानक स्मारक हालसम्म पनि विद्यमान छन्। नेपालमा नानक गुरुलाई नानकमुनि या नानक ऋषिका रूपमा सम्मान दिइन्छ। 

गुरु नानकको ५५०औँ जन्मजयन्तीका उपलक्ष्यमा सन् २०१९ मा सिख हेरिटेज इन् नेपाल नामक कृति प्रकाशन गरिएको छ, जसमा नेपाल–सिख सम्बन्धको इतिहास उल्लेख छ। यसैगरी, सरदार प्रितम सिंहले नेपालमा सिखहरूको प्रवेश र योगदानबारे रोड्स टु द भ्याली, लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल पुस्तक लेखेको पाइन्छ। नानककै युगका श्री चन्द्रले उदासीन धार्मिक मत प्रतिपादन गरेका थिए। धुनीसँग सम्बन्धित उक्त सम्प्रदायको अस्तित्व नेपालमा छ। सुनसरीको प्रसिद्ध रामधुनी यसै सम्प्रदायको हो। सेन राजाहरूको राज्यकालमा प्रारम्भ भएको सो धुनी हालसम्म निभेको छैन।

नेपाल विजय अभियान गढुवाल पुगेपछि पन्जाबका 'सिंह शासक' रणजीत सिंहसँग द्वन्द्व सिर्जना भई नेपाली फौजको पश्चिमी विजय अभियान रोकिएको थियो। भीमसेन थापाले अंग्रेजविरुद्ध भारतीय उपमहाद्वीपमा रहेका शासकलाई एकजुट बनाउने क्रममा रणजीत सिंहसँग सम्पर्क गरेका पनि थिए, तर सो प्रयास फलदायी भएन।

नेपाल–अंग्रेज युद्धबाट नेपालको सीमा खुम्चन गयो। सो युद्धमा रणजीत सिंहले अंग्रेजविरुद्ध नेपाललाई सहयोग गर्ने चासो र आँट दुवै देखाएनन्। अंग्रेजसँगको नालापानीको युद्धमा बहादुरी देखाएर अंग्रेजबाट समेत प्रशंसित बलभद्र कुँवर सुगौलीको सन्धिपछि उतैबाट केही नेपाली सेनाका साथ रणजीत सिंहको फौजमा सामेल हुन पुगे। 

रणजीत सिंहले बलभद्रलाई आफ्नो सेनाको उच्च पद प्रदान गरे। यसै क्रममा अफगानी फौजको तोप लागेर उनको मृत्यु भयो। उनका साथमा गएका नेपाली फौजीहरूले पन्जाब राज्य अंग्रेज शासनमा विलय नहुन्जेल रणजीत सिंहकै सेनामा आफूलाई सेवारत राखे। बलभद्र कुँवर र नेपालीहरू सेनामा भर्ना हुन गएदेखि नै विदेशी सेनामा भर्ना हुनेलाई लाहुरे भन्ने चलन चलेको बताइन्छ। 

पन्जाबमा अंग्रेजको हैकम कायम भएपछि महाराज रणजीत सिंहकी विधवा महारानी जिन्दा सन् १४४९ मा आफ्ना अनुयायीका साथ शरणार्थीका रूपमा नेपाल प्रवेश गरिन्। नेपालका तत्कालीन शासक जंगबहादुरले महारानी जिन्दा र उनका सहयोगीका लागि कुरिया गाउँ (थापाथलीनजिक) बसोबासको व्यवस्था मिलाएका थिए। सन् १८६० सम्म नेपालमै रहेकी उनी पछि बेलायत गइन्, तर उनका साथमा आएका सिखहरू नेपालमा नै स्थायी बसोबास गर्न पुगे। यसैगरी, सन् १८५७ को विद्रोह असफल भएपछि पन्जाबकी रानी चाँद कौरलगायत धेरै सिखहरू नेपालमा प्रवेश गरे। 

भनिन्छ, ती शरणार्थीहरूबाट जंगबहादुरले बहुमूल्य हीरा जवाहरतलगायत अमूल्य रत्न फेला पारेका थिए। यसरी शरणार्थी भएर आएका सिखहरू काठमाडौँ र नेपालगन्ज, कृष्णनगरतिरका स्थायी बासिन्दा हुन पुगे। यी सिखले आफ्नो परम्पराअनुसार आचरण गरी गुरुद्वाराहरू स्थापना गर्दै गए। यी सिखहरू सबै धर्मप्रति सहिष्णु नै थिए। तर, पनि हिन्दु धर्मसँग कतिपय कुरामा समानता हुँदा हिन्दु धर्मावलम्बी नेपालीसँग उनीहरू निकट हुन पुगे। 

सन् १९४७ मा भारत स्वतन्त्र भएपछि सुरजीत सिंह गणतन्त्र भारतका प्रथम राजदूत भई नेपाल आए। उनले नेपाल–सिख सम्बन्धलाई सुदृढ बनाउन योगदान गरे। 

त्रिभुवन राजपथ निर्माण भएपछि सो मार्गमा ट्रक र बससेवा चलाउने श्रेय 'सिख सरदार'हरूलाई दिनुपर्छ। नेपालीलाई कठिन पहाडी बाटोमा गाडी चलाउन सिकाउने र मनोबल उठाउने कार्यमा पनि सिखहरूले सकारात्मक भूमिका निर्वाह गरे। 

सन् १९६० मा 'शेरे पन्जाब रेस्टुराँ' स्थापना गरी सिन्धी (पन्जाबी) परिकारहरू नेपालीलाई परिचित गराउने श्रेय पनि पन्जाबीहरूलाई दिनुपर्छ। कालान्तरमा नेपालका विभिन्न शहरमा सिन्धी भोजनालय खुल्दै गए। ढावा संस्कृतिको विकासमा सिखहरूको योगदान उल्लेख्य छ। सन् १९७६ मा गुरु नानक सत्संगद्वारा कुपण्डोलमा भव्य गुरुद्वाराको निर्माण भयो, जुन आजसम्म सबैका लागि आकर्षक गन्तव्यस्थल हुन पुगेको छ।

नेपाल सरकारले नेपाल–सिख सम्बन्धको सम्मान गर्दै सन् २०१९ सेप्टेम्बरमा गुरु नानकको ५५०औँ जन्मजयन्तीको उपलक्ष्यमा नेपाली रुपैयाँ १००, १,००० र २,५०० दरका प्रतीकात्मक सिक्काहरू निष्कासन गरेको थियो। नेपालको यातायात तथा पर्यटनको क्षेत्रमा विशेष योगदान गरेका सिखहरू हाल अनेकौँ क्षेत्रमा कार्यरत छन्।

यसरी नेपाली संस्कृतिको मूल प्रवाहमा समाहित भई सिख समुदायले आफ्नो पहिचान कायम राख्न सकेका छन्। नेपाललाई यथार्थमा नै सबै जातको फूलबारी बनाउनमा सिखहरूले योगदान गरी नै रहेका छन्।


सम्बन्धित सामग्री