Monday, April 29, 2024

-->

‘पञ्चायतकालमा बहालवाला मन्त्रीलाई पनि जेल हालिन्थ्यो, ठूला नेता चोख्याइँदैन थियो’

'नेत्रविक्रम थापा वनमन्त्री हुनुहुन्थ्यो। जनमत संग्रहको नाममा केही जंगल फाँडियो, तर हल्ला गरेजति हैन। त्यतिबेला तलदेखि माथिसम्मका कर्मचारीहरू मिलेर जंगल फँडानी गरे। त्यसमा मन्त्री पनि मिले कि!'

‘पञ्चायतकालमा बहालवाला मन्त्रीलाई पनि जेल हालिन्थ्यो ठूला नेता चोख्याइँदैन थियो’

पञ्चायतकालका सक्रिय नेता हुन् नवराज सुवेदी। उनी २०१९ सालमा नै जिल्ला पञ्चायतको अध्यक्ष भएका थिए। त्यसको केही वर्षपछि मन्त्री भएका उनी राष्ट्रिय पञ्चायतको सदस्य र पछि अध्यक्ष बने। मुलुकमा बहुदल आएपछि पूर्वपञ्चहरूले खोलेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा संलग्न भए पनि राजनीतिक दृष्यमा कमै मात्र देखिए। उनको राजनीतिक अनुभवबारे उकालोले गरेको कुराकानीः

पञ्चायतकालमा एकदमै सक्रिय हुनुहुन्थ्यो। हिजोआज कसरी दिन कटाइरहनु भएको छ?
अहिले पनि म राप्रपाको सदस्य हुँ, निर्देशन समितिमा छु। मेरो घरमा बेलाबेलामा मिटिङ हुन्छ। अरूको भन्दा मेरै घरमा बढी मिटिङ हुन्छ। तर २०४६ सालपछि म राजनीतिमा खासै सक्रिय छैन।

मैले राजा महेन्द्रसँग काम गरेँ। त्यो त मेरो भाग्य हो। त्यस्तो अपूर्व मान्छेसँग काम गर्ने अवसर पाएँ। वीरेन्द्र सरकार पनि विकासप्रेमी हुनुहुन्थ्यो। उहाँ बुवाजस्तो तीक्ष्ण हैन, तर मुलुकको हित गरौँ भन्ने हुटहुटी थियो। दलका नेताहरूको कुरा गर्ने हो भने बीपी र सूर्यप्रसाद (उपाध्याय) सँग मेरो अलिअलि सम्पर्क–सम्बन्ध थियो। यी दुईलाई छाड्दा त्यतिबेला अरू नेताहरूमा ‘क्वालिटी’ थिएन। अहिलेको गाइजात्रा त के हेर्नु!

अब ९० वर्ष पुग्न लागेँ। उमेरका कारण पनि राजनीतिमा सक्रिय हुने अवस्था छैन।

अहिले गाइजात्रा छ भन्नुभयो। तर समाज खुला पनि छ नि! तपाईंहरूले मलजल गरेको व्यवस्थामा त फरक विचार राख्न पाइँदैन थियो। त्यो व्यवस्थाभन्दा यो व्यवस्था ठीक होइन?
खुला समाज भएको कारणले यो गाइजात्रा भएको हो कि! खुला समाजमा जाने मनस्थितिमा नेपाली समाज छैन कि! त्यतातिर पनि ध्यान दिनुपर्छ। अहिले सुनकाण्डको घटना हेर्नु न! निर्णय गर्ने व्यक्ति चोखो भएर बसेका छन्, निर्णय कार्यान्वयन गर्ने जेलमा छन्। खुला समाज यसैका निम्ति बनाएको हो र?  

कसैलाई छुटाउने र कसैलाई चोख्याउने काम त पञ्चायतमा झन् धेरै हुन्थ्यो। अहिले बरू जेल गइरहेका छन्। तपाईंलाई त्यस्तो लाग्दैन?
पञ्चायतमा बहालवाला मन्त्रीलाई समेत जेल हालिएको थियो। उनी थिए– हेमबहादुर मल्ल। आईजीपीलाई जेल हालिएको थियो। अधिराजकुमारको एडीसी जेल पठाइयो। त्यतिबेला ठूला नेताहरूलाई चोख्याइँदैनथ्यो।

बहुदलमा पनि बहालवाला मन्त्री नै जेल पुगे। पूर्वगृहमन्त्रीहरूलाई छानबिनमा ल्याइएको छ। राम्रो पनि भइरहेको छैन र?
त्यतिले पुगेन। ललिता निवास प्रकरणमा ज–जसले निर्णय गरे, उहाँहरू जेल जानुभएन नि!

राजा महेन्द्रले सत्ता हातमा लिएको तीन वर्षसम्म पनि तपार्ईंंको समर्थन थिएन। तर हजुरबुवाको दबाबमा परेर जिल्ला पञ्चायत अध्यक्षमा उम्मेदवार बनेर विजयी हुनुभयो। भित्रै बसेर पनि विरोध गर्न सकिन्थ्यो, तर त्यहाँको सुख–सुविधाले पञ्चायत समर्थक हुनुभएको हो?
त्यस्तो हैन। राजा महेन्द्रको नेतृत्व देखेर प्रभावित भएको हुँ। उहाँसँग पञ्चायतमा बसेर झण्डै १० वर्ष काम गरेँ। त्यसमध्ये ६ वर्ष उहाँको मन्त्री भएँ। कपडा उद्योग, रबर टायर, भृकुटी कागज कारखानालगायत ३०० भन्दा बढी कारखाना मैले नै सहमति गरेर खुलाएको हो। खैर, त्यतिबेला विदेशी सहयोग लियौँ। सहयोग नलिए कहाँबाट पैसा आउँथ्यो र! ‘कोल्ड वार’को समय भए पनि त्यसबेला विकास भएको थियो। अमेरिका र रसियाको मारामार थियो। अमेरिकासँग पनि पञ्चायतले सहयोग लिएर काम गरेको थियो, रसियाले पनि मद्दत गरेको थियो। सम्बन्धलाई ‘ब्यालेन्स’मा राखेर काम गरेका थियौँ, अहिले ब्यालेन्स खुस्केको जस्तो लाग्छ। अहिले खुला समाज छ, पञ्चायतमा यस्तो थिएन। यसरी हिँड्न पाइँदैन थियो। त्यही मात्र दुर्गुण हो।

जनमत संग्रहपछि दरबारका मान्छेहरूमा पैसा कमाउने लोभ बढ्यो भनेर तपार्ईंंले आफ्नो किताब ‘इतिहासको एक कालखण्ड’मा लेख्नुभएको छ। दरबारका मान्छेले कसरी कमाउने रहेछन् भन्ने चाहिँ लेख्नुभएको छैन नि?
घुस खाएर कमाउँथे। त्यो त लेख्नै परेन, ‘ओपन’ कुरा हो।

जनमत संग्रहमा पञ्चायतलाई जिताउन चारकोसे झाडी फाँडेको भनेर सूर्यबहादुर थापामाथि आरोप लाग्छ। यो साँचो हो?
नेत्रविक्रम थापा वनमन्त्री हुनुहुन्थ्यो। जनमत संग्रहको नाममा केही जंगल फाँडियो, तर हल्ला गरेजति हैन। त्यतिबेला तलदेखि माथिसम्मका कर्मचारीहरू मिलेर जंगल फँडानी गरे। त्यसमा मन्त्री पनि मिले कि! हामीले जनमत संग्रहको अन्तिमतिर त्यो थाहा पायौँ। जनमत संग्रह सकिएपछि १०औँ कर्मचारीहरूको जागिर खोसियो। जनमत संग्रह र पञ्चायतले जंगल सखाप गर्यो भनेर अहिले पनि भन्छन्, त्यस्तो हैन।

महेन्द्रले तपार्ईंंलाई अत्यधिक प्रेम गर्ने रहेछन्। तर वीरेन्द्रले पाँच वर्षसम्म भेट पनि दिएनन्। वीरेन्द्रसँग व्यक्तिगत सम्बन्ध राम्रो थिएन? 
व्यक्तिगत कारण केही पनि थिएन। भेट नहुने कारण चाहीँ उहाँको प्रमुख सचिव कल्याणविक्रम हुन्। दरबार जाने प्रमुख सचिव मार्फत हो। उनले ‘म जाहेर गरिदिन्छु’ भन्थे, तर गर्दैनथे।

ज्ञानेन्द्र शाहले ‘टेकओभर’ गरिसकेपछि डा. तुलसी गिरीले तपार्ईंंसँग ‘केही बोलवालाहरूले दरबारलाई कब्जा गरे’ भनेर रमेशनाथ पाण्डेको नाम लिनुभएको रहेछ। रमेशनाथ पाण्डेलगायत अरू बोलवालाहरू को–को थिए?
त्यतिबेला म, डा. गिरी र उहाँका भाइ हिरा गिरी बसेका थियौँ। म उहाँकै घरमा गएको थिएँ। मैले भनेँ– दाइ! कि तपार्ईंं अहिलेको अवस्था सुधार्नुस्, हैन भने राजीनामा दिनुस्।

उहाँको जवाफ थियो– राजीनामा दिन सक्दिनँ, किनभने मलाई प्रधानमन्त्री बनाउने बेलामा महाराजधिराजले राजीनामा नदिने कसम खुवाएका छन्। सुधारौँ भन्देखिन् राजा कुरै सुन्दैनन्। त्यही रमेशनाथ पाण्डेको कुरा सुनेर हिँडिबक्सेको छ, यसले कहाँ लगेर भड्खालोमा हाल्छ।

हामीबिच भएको कुरा यही हो। 

अरू पनि थिए राजालाई सल्लाह दिने?
थाहा भएन। 

अहिले पूर्वराजा ज्ञानेन्द्रसँग तपार्ईंंको कस्तो सम्बन्ध छ?
अहिले त खासै भेटघाट छैन। एक/डेढ वर्षमा एकपटक भेट हुन्छ। केही समय पहिला मलाई, प्रकाशचन्द्र लोहनी, हरिबहादुर बस्नेत, पशुपतिशमशेर जबरालाई ‘लञ्च’मा बोलाइबक्सेको थियो।

तपार्ईंं उद्योगमन्त्री हुँदा राजपरिवारका सदस्यहरू– हिमालय, बसुन्धरालगायतको दबाब आउँथ्यो भनेर तपार्ईंंले आफ्नो किताबमा लेख्नुभएको छ। पछि त्यसमा ज्ञानेन्द्र पनि थपिए भन्नुभएको छ। ज्ञानेन्द्रको व्यापारिक स्वार्थ के रहेछ?
एक दिन मेरो अफिसमा ओमेगा घडी कम्पनीको ‘भाइस चेयरम्यान’ आयो। उसले भन्यो, हामी ओमेगाको कम्पनी नेपालमा राख्न चाहन्छौँ, तपार्ईंंले हामीलाई स्वीकृति दिनुपर्‍यो। ‘पछि खबर गरौँला’ भन्ने जवाफ दिएँ। यो कुरा मैले राजा महेन्द्रलाई सुनाएँ। उहाँले पनि कम्पनी राख्ने इच्छा देखाउनुभयो। २०२६ सालमा वर्ल्ड बैंकको मिटिङमा जाँदा म, भेषबहादुर थापा र पुस्करनाथ (उप्रेती)लाई राजाबाट हुकुम भयो, ‘तिमीहरू जेनेभा पुगेर ओमेगा कम्पनीमा डिल गर्नु।’ हामी र उनीहरूबीच विभिन्न शर्तहरूमा छलफल भयो। त्यसमध्ये उनीहरूको एउटा शर्त थियो, ‘हामी हाम्रो कम्पनीमा कोही पनि पार्टनर राख्दैनौँ, राख्ने हो भने हामी आउँदैनौँ।’

कोही पनि पार्टनर नराख्ने कुरा भयो। हामी फर्कियौँ। नेपाल आउनेबित्तिकै ज्ञानेन्द्र सरकारका मान्छेहरू आएर ‘ज्ञानेन्द्र सरकारलाई पनि केही सेयर दिलाउनु पर्‍यो’ भने। त्यसपछि ओमेगा आएन।

ज्ञानेन्द्र राजा भएपछि तपाईंलाई दरबार बोलाएर ‘मलाई सहयोग गर्नुस्’ भने। तर, तपाईं किन इच्छुक देखिनुभएन?
ज्ञानेन्द्र सरकारले मलाई भेटिबक्सेको हो। मसँग सहयोग माग्नुभएको हो। उहाँले ‘म प्रत्यक्ष शासन लिन्छु, तिमीले मलाई साथ दिनुपर्छ’ भन्ने कुरा गर्नुभएको थियो। म राजसंस्थाको हिमायती भएको हुनाले त्यस्तो कदमको पक्षमा थिइनँ। मैले सरकारलाई भनेँ, ‘हुँदैन। एक त दाजुको वंशनाश गर्‍यो भनेर सरकारलाई कम्युनिष्टहरूले चार्ज लगाएका छन्। त्यसमाथि आफ्नो हातमा शासन लिइबक्स्यो भने राजसंस्था नै जान्छ।’

मेरो कुरा उहाँलाई चित्त बुझेनजस्तो लाग्यो। म फर्किएँ। पछि पनि एकपटक सिंहदरबारमा भेट भयो। ‘तिमीले मलाइ सहयोग गर्नुपर्छ’ भन्नुभएको थियो।

ज्ञानेन्द्रलाई प्रत्यक्ष शासन हातमा लिने चाहना राजा हुने बित्तिकैदेखि थियो?
सत्तामा आउनुभन्दा अलिक समयपछि हो।


सम्बन्धित सामग्री