Monday, April 29, 2024

-->

सपनाको 'रिपिटेड भर्सन'

खसी काटेर भाग लगाएको मासु बेच्दै हुनुहुन्थ्यो कुमार नगरकोटी। बोलाएँ। नगरकोटीले सुन्नु भएन। मासु लिने लाइनमा थिए लेखक सुविन भट्टराई, बुद्धिसागर, अमर न्यौपाने, घिमिरे युवराज।

सपनाको रिपिटेड भर्सन

सपना दुई किसिमका त होलान् नि। जागेपछि देख्ने सपना र निदाएपछि आउने सपना। यी दुवै किसिमका सपनाले सुत्न नदिने रहेछन्! 

निदाएपछि आउने सपनाको कुरा गर्दैछु। बिहानपख देखेको एउटा सपनाले सुत्न दिएन। बिहानपख सुत्ने त हैन खासमा। तर आँखा चिम्लेर लोलाउने अधिकारसमेत खोसियो। जगाइदियो।

मानिसलाई जगाउनु सपनाको मुख्य विषेशता हो। रित्तो भएँ। निराश बनाइदियो। पीडा भयो। मन बेस्सरी दुख्यो। थक्थकी लागिरह्यो। जागै रहँदा बुनिने सपनाले यति थक्थकी लगाउँदैन बरु। त्यो प्राप्त गर्ने सम्भावना जीवितै हुन्छ। कोशिश गरेपछि सपनाको पकवान कुनै न कुनै रुपमा चाख्न पाइन्छ। त्यसकारण निराश भइहाल्नु पर्दैन। हासिल गर्नकै लागि बुनिने हुन् ती सपना। होस हवासमै बुनिने हुन्। 

निन्द्रामा आएको सपनाबाट जब ब्युझिन्छ, अनि के हुन्छ भन्नुस् त? राख्नुभएको होला नि कुनैकुनै सपनाको हिसाबकिताब! झस्काउँछन् होला नि कुनैकुनै सपनाले। दिक्क भइन्छ होला नि कुनैकुनै सपनालाई बिट मारेर आँखा उघारेपछि। आशावादी हुनुहुन्छ होला नि कुनै सपनाका दृश्य अकस्मात हराएपछि। कति समयसम्म रहन्छ सपनाको असर तपाईंमा? 

कुनैकुनै सपना बिर्सिन समय लाग्दैन। देख्यो बिर्सियो। जस्तो कि, हेरेका धेरै नाटकको सम्झना नै छैन। पढेका धेरै पुस्तक बिर्सिसकियो। फेरि नाटक हिउँभन्दा चिसोको प्रभाव किन यति गहिरो भएर रह्यो मनमा? त्यसपछि पनि अनेक पुस्तक पढियो तर बुद्धिसागरको एक्लोको प्रभावले किन छोडेन? हो, कुनैकुनै सपना यस्तै हुन्छन्। निन्द्रामा आएको सपना ठानेर निच मार्न सकिँदैन। के गरौँ के गरौँ हुन्छ। ठूलै कुरा गुमाएजस्तो। प्राप्त गर्नै नसकिने विषयमा प्रवेश गरेजस्तो। देख्नुभएको होला नि तपाईंले पनि, कहिलेकाहीँ सपनामा सोचेको भन्दा धेरै पैसा भेटिन्छ। मनोहारी स्थानहरूमा पुगिन्छ। ठूलै सफलता हात पर्छ, बिउँझेपछि कस्तो रिस उठ्छ। रित्तो महसुस गरिन्छ। 

भगवान शिवलाई भेटेँ एकपटक। अर्कैअर्कै बाटोबाट अमेरिका पुगेँ। उडीउडी सुन्दर ठाउँहरू घुमेँ। अहिलेका भुराभुरीहरूले खेल्ने अनेकअनेक खेलमा जस्तो भागीभागी कति वटा गुफा पार गरेँ। असम्भव लडाइँहरू जितेँ। बिउँझेपछि सुनसान। अनि तनाव हुँदैन? रिस उठ्दैन? 

ए बाबा कहिलेकाहीँ त स्वर्ग जस्तो ठाउँमा पनि पुगेको छु, कहाँ हो कहाँ हो! यस्तो ठाउँमा आएपछि त नफर्किन पाए हुन्थ्यो जस्तो पनि लाग्छ। ‘अब त म घर फर्किन्नँ!’ सपनाभित्रै आफैंलाई भनेको पनि छु। भनेर हुन्छ? बिउँझिन्छ नै। चेतन मन उतै आशावादी दृश्यहरूमा अल्झिरहे, नबिउँझिएको शरीरमाथि अर्काे दुर्दशा शुरू भइहाल्छ यता। 

राक्षसले लखेटेर कहाँ कहाँ पुर्‍याएपछि मृत्युको संघारमा टेकेर पनि बिउँझिएको छु। त्यो अवस्थामा दखेको सपनाबाट बिउँझिदा भने आनन्द हुन्छ। निन्द्रामा आउने यस्ता सपनाहरू मानिसलाई आनन्द र निराश पार्ने विषय हुन् त? 

यस्तो सपनाबारे कुरा गर्नु उचित हो कि हैन थाहा छैन, तर सपनाले सताइरह्यो। ‘सपना किन सम्झनु’ भन्नुहोला। बिर्सन पनि सकिँदैन नि त!

भूमिका अलि बढी भयो। दुई वटा विषय छन् सपनाका। जुन् बारम्बार आइरहन्छन् विभिन्न स्वरूपमा, अपडेटेट भर्सनमा। सपनाले विषय छनौट गर्न कसरी जानेको होला? सपनाले बारम्बार समाइरहने यी दुई विषय मेरो जीवनका प्रमुख पक्ष हुन्। मलाई मन पर्ने विषय हुन्। बारम्बार आइरहने सपनाको कुरा गर्दा कक्षा ११ को अंग्रेजीमा पढेको दोहोरिरहने सपनाको याद आउँछ। याद मात्र छ, कथावस्तु लगभग बिर्सिसकियो। 

सपना किन देखिन्छ? कसरी देखिन्छ? सपनाको कथा लेख्ने लेखकको बासस्थान मानव शरीरभित्र कहाँ छ? सपनालाई कसले निर्देशन गर्ने हो? दृश्यहरू कैद गर्ने क्यामेरा म्यान को हो? अँ, साँची कहिले त सपनाभित्र 'फ्ल्यासब्याक' हुन्छ नि, सम्झिनुभएको छ? सुतेदेखि उज्यालो नहुन्जेलसम्म धाराबाहिक सपना देख्नुभएको छ?

मैले देखेको छु! 

सधैँ दोहोरिइरहने सपनाको विषय उठान यसरी गर्न चाहेँ। मेरो सपनामा दोहोरिइरहने पहिलो विषय हो बासस्थान। दोस्रो विषय हो पढाइ। अरू झिनामसिना सपना त कति देखियो कति, तिनको के हिसाब! कुन रात कुन सपना देखियो भनेर हिसाबकिताब पनि राखिनँ। 

सपनाको पहिलो विषय प्रवेश गरौँ। मेरो जन्मथलो काभ्रेपलाञ्चोकको पोखरी चौरी हो। गहिरो खोँचमा घिस्रिरहेको चौँरी खोलाले रामेछाप र काभ्रे छुट्टयाएको ठाउँ हो यो। २०४९ सालमा नै बुबाले बसाइँसराइ गरेर काँडाघारी ल्याउनुभयो। पारि अग्ला डाँडा देखिन्छन्। ती डाँडामा नागपञ्चमीमा दैलामा टाँस्ने नागको फोटोमा भएका नागहरूजस्तो मसिना धर्सा देखिन्छन्। ती धर्सा बनेका, अहिले बन्दै गरेका बाटोहरू हुन्। कतै सेता अग्ला टावर पनि छन्। उत्तरतिर आँखा पुर्‍याउँदा दोलखा, सिन्धुपाल्चोकको तहतह मिलेका डाँडा देखिन्छन्। ती डाँडामा पनि त्यही नागको फोटोको कुरा अनुमान गर्नुस्। तुवाँलो लागेन भने सैलुङअगाडि नै देखिन्छ। अहिले म जहाँ बसेर यो ‘न्यारेसन’ गर्दैछु त्यो थलोबाट मोटुपत्लुले जसरी आफनो हात तन्काउन सक्ने हो भने सैलुङको टुप्पोमा सिधै पुग्थ्यो। दुर्भाग्य, तुवाँलो लागेको छ र हात लामो पारेर तन्काउने सम्भावना सपनामा मात्रै सम्भव हुन्छ। यो सपना होइन, सपनाले झक्झक्याएर यहाँ ल्याइपुर्‍याइदियो। छोडेर गएपछि दुईपटक आइपुगेँ जन्मथलोमा। 

१० वर्षको उमेरमा जन्मथलो छोड्दा घरैघरहरू, बारीका ठूला पाटाहरू, हिँड्ने मूलबाटाहरू थिए। बस्ती, बारी, कुवा, बाटो जंगल, खेत मिलाएर राखेको जस्तो लाग्थ्यो। माथि घरबारी, तल खेत। सपनामा यी सबै कुरा मिलेरै आउँथे। सुन्दर भएर आउँथे। कति वर्षसम्म आफनो घरको आँगन, आफनो घरको आँगनपछि आउने माइला बाको घर, अलि तल गोठ, घर र गोठको बीचमा केराको थान। झ्यालबाट उडीउडी कतिपटक गाउँ घुमेँ। आँगनमा परालको दाइँ गर्दा झ्यालबाट फरालेको, परालभित्रभित्रै सुरुङ बनाएर निस्सासिएको सपना धेरैपटक देखेँ। हजुरबुबाको ढुकुटी खाट अग्लो थियो। त्यो खाटभित्र कटहरको बास्ना आउँथ्यो। कटहरूको बबाल अग्लो रूख थियो। कतिपटक त्यही कटहरको रूखबाट उडेर चौरी खोलातिर गएँ।

सपनाकै कुरा गरौँ। पहिलापहिला अहिले म बसेको ठाउँबाट (म बसेको ठाउँ मात्रै भन्दा न्यायपूर्ण हुँदैन, माइलो बाको माइलो छोराले शुरू गर्नुभएको चौरीपोखरी अर्गानिक फार्म हो) उड्दै पारि रामेछापका सिम्पानी, धारापानीका पाखाहरूमा पुगिन्थ्यो। कन्फ्युज हुनुभो? यो सपनाको कुरा। सपनाको नक्सा र वास्तविकताको नक्सा फेरिइसकेको रहेछ! वास्तविकतामा धेरै कुरा 'मर्ज' भइसकेछन्।

बासस्थानको बारेमा मैले देखेको यो सपनालाई ‘अपडेटेट भर्सन’ मान्छुु! गाउँमै छु। घरभन्दा माथि सुलिकोट डाँडो छ। त्यहीँ छन् केही घरहरू। एकजना विकको घरमा पुगेँ। उहाँको घरको सिमानामा हामो एउटा बारी पर्थ्यो, जहाँ काँडाघारीबाट सिधै पुगेर ऐँसेलु खाएको छु कैयौँपटक। उहाँहरू हाम्रा आफन्त हुन्। उहाँसँग भएको कुराकानीको विषय स्पष्ट भएन। उहाँको घरबाट अझै मास्तिर डाँडातिर हेर्छु। त्यो डाँडो अझै विकट मानिथ्यो पहिला। उब्जनी कम हुने त्यो ठाउँमा पहिलादेखि नै दलित बस्ती थियो। हाम्रो बारी पनि थियो। अहिले त्यो डाँडो चिल्लो हरियो भएछ, राजधानीको फुटसलजस्तो!

उत्साह बोकेर त्यसपछि म तल घरतिर लागेँ। साथमा रंगकर्मीहरू सुरज तमु, सुरेन्द्र क्षेत्री, मन्जु गिरी पनि छन्। मानिसहरूको भिडभाडले मेला लागेजस्तो! एउटा चौतारो देख्छु, चौतारोमा परिचित, तर भेट निकै कम भएका व्यक्ति देखेँ। उहाँसँग कुरा गरेपछि मात्रै परिचय खुल्यो। उहाँ लेखक रवीन्द्र समीर हुनुहुँदोरहेछ। उहाँसँगको कुराकानीबाट थाहा पाएँ, केही दिनअगाडि लेखक नयनराज पाण्डे पनि यो गाउँ आउनुभएको कुरा। किन भटाभट मेरो जन्मथलोमा साहित्यकारहरूको आगमन हुन थाल्यो? किन यस्तो मेला लागिरहेको छ? आश्चर्य। 

केही भलाकुसारी गरेर हामी तल घरतिर लाग्यौँ। शनिबार परेछ। खसी काटेर भाग लगाएको मासु बेच्दै हुनुहुन्थ्यो कुमार नगरकोटी। आश्चर्यमा आश्चर्य थपिँदै गयो। बोलाएँ। नगरकोटीले सुन्नु भएन। मासु लिने लाइनमा थिए लेखक सुविन भट्टराई, बुद्धिसागर, अमर न्यौपाने, घिमिरे युवराज। भव्य मेला रहेछ। कुराकानी गर्दै आरालो बाटो अगाडि बढेँ। मानिसहरूको भिड। बाटोको देब्रेतर्फ जस्ताको छाप्रोमा मासु उद्योग रहेछ। मोटो सेतो पाइपबाट मासु र रगतको लेदो कतै जम्मा भइरहेको थियो जमिनभित्र। शायद काठमाडौँको शानदार ममले किमा यहीँबाट आयात गर्छ। त्यो रातो लेदो मन परेन। मन नपरेपछि बिउँझिएँ।

सपनाबाट बिउँझिन पनि यस्तै केही घटनाहरू आवश्यक पर्छ। ‘लजिकल एन्डिङ’ भनौँ न। कुनै कुरा अचाक्ली मन पर्नु वा मन नपर्नु, निसास्सिनु, हराउनु, भाग्नु, पाउने उत्कट चाहाना हुनु, थाक्नु, डुब्नु, बिलाउँदै जानु सपनाबाट बिउँझिने संकेत हुन्। फरकफरक मानिसका फरकफरक संकेत होलान्। 

अँ, अनि म बिउँझिएँ। बिउँझिदा ५ बज्नलाई १५ मिनेट बाँकी थियो। नियमित समयमै बिउँझिएको हुँ। 

मन एकतमासको भयो। बुबालाई बोलाएँ। केही जानकारीहरू भेला पारेर हिँड्ने तरखरमा लागें। 

‘एक्लै हराउँछ, कहिल्यै नगएको बाटो। आफू पनि जानू।’ आमाको आदेश पाएपछि बुबा पनि तयार हुनुभयो। बाउछोरा पहिलोपटक मोटरसाइकल चढेर लाग्यौँ जन्मथलोतिर। 

सपनामा देखेका दृश्यहरूभन्दा सबै कुरा विपरीत थिए। पानीको मूल सुकेको, मूलबाटाहरू नासिएका, बारीका ठूला पाटाहरू सानासाना सुर्का भएछन्। जंगल त सत्यानास, सानासाना पोथ्रापोथ्रीहरूको समूहलाई जंगल मान्न थालेछन्। ठूल्ठूला घरहरू गोठ भएछन्। राति घरघरमा बत्ति बल्छ, तर मान्छे छैनन्। 

मानौँ, सपना एउटा ‘एप्लिकेसन’ हो। कैद नभएका दृश्यहरूको ग्यालरी हो सपना। कहिले सपना एकांकी मात्रै हुन्छ। कहिले सपना एकै रातमा पूर्णाङ्की भइदिन्छ। कहिले पूर्णाङ्की हुन केही महिना वा वर्ष लाग्न सक्छ। जुन दृष्यबाट पहिलो अंक टुंगिएको हो वर्षांैपछि पनि त्यही अन्त्यबाट अर्काे दृष्य शुरू भइदिइन्छ। यो समय र परिस्थितिअनुसार अपडेट भइरहन्छ। अपडेट द्रष्टाको हो कि उसले देख्ने दृष्यहरूको? शायद सपना देखाउने विज्ञको अवचेतन मन यो विषयमा विज्ञ होला परिस्थितिअनुसार अपडेट भएन भने दृष्यहरू निरस हुन्छन्। 

पाठकहरू यो सपना हैन है!
सपनाको पहिलो विषयलाई बिट मार्नुअघि यसको कारण खुल्यो भने पाठक अलि सन्तुष्ट होलान् कि!

माइलाबाको घरमा आइपुग्नुअघि चौरीदेउराली गाउँपालिकाकी मेयर रेणुका चौलागाईंलाई भेटेँ र आफनो सपना सुनाएँ, जुन सपना अघिल्ला मेयर दिनानाथ गौतमलाई पनि सुनाएको थिएँ। उनले कुरै बुझेनन्। रेणुले पनि कुरा बुझिन् जस्तो लागेनँ।

भनाइको सार, यताका सामुदायिक विद्यालयहरूमा नाटकको शुरूआत गर्नु, जसरी काठमाडौँका विद्यालयमा क्लबहरू छन्। ‘गाउँपालिका भवन आसपास १०० जना क्षमता भएको एउटा सानो पे्रक्षालय बनाउनू। अहिले नाटक सिक्ने विद्यार्थीले, तपाईं ६० वर्ष हुँदा माओ फर्किए वा शेक्सपियरको वा अरु कुनै कथालाई मञ्चन गरिरहेको हुनेछ। तपाईं आनन्द लिएर आफ्नै थलोमा नाटक हेर्नुस्। युवाहरूलाई गाउँमै रोक्ने यो एउटा माध्यम बन्नसक्छ।’

त्यही बेला नेपाल फिल्म क्याम्पसमा पढ्ने विद्यार्थी मेयरलाई एउटा पत्रमा साइन गराउन आए। मैले ती विद्यार्थीलाई पनि उदाहरणमा अटाउन भ्याएँ, ‘दोलालघाट वारि नै उनले फिल्म पढ्न पाए काठमाडौँ जाँदैनथे कि शायद!’ 

रेणुले स्कुलका प्रअहरूको भेला भएको बेला बोलाउने वचन चाहिँ दिनुभयो।
ooo
मैले बारम्बार देख्ने सपनाको दोस्रो विषय हो पढाइ। विभिन्न शिक्षालयमा पढे पनि सपनामा आइरहने शिक्षालयहरू हुन् काँडाघारीको गान्धी स्कुल र घन्टाघरको त्रिचन्द्र कलेज। 

कक्षा ४ देखि गान्धी स्कुलमा पढ्दा नयाँ बस्तीको हुनुले विभिन्न घट््नाहरू भोगेको छु। जुन घटना काठमान्डु गीत उपन्यासमा आए। त्यही उपन्यासमा उतारेका घटनाहरू बेलाबेला सपनामा आइरहन्छन्। दुई विषय लागेर पास हुँदा पनि गाउँमा उदाहरणको पात्र बन्थेँ। ट्युसन नै नपढी दोस्रो डिभिजनमा एलएलसी पास गर्‍यो भनेर बुढाहरूले प्रसंशा गर्थे। ठूलो भएर पनि सानो कक्षामा पढेको, किताब नलिइ स्कुल गएको, कहिले आफू पढ्ने कक्षा नभेटेरै अलमलमा परेको, कक्षाकोठाहरू कता हो कता! सपनामा देखिने जस्तै गान्धी स्कुल अहिले छैन। दुईतिरबाट बाटोले मिचेर साँघुरो भएको छ। 

त्रिचन्द्रमा पटकपटक पढ्न पुग्छु। कक्षाकोठा, साथीभाइ भेट्दिनँ। लेख्न खोज्यो, अक्षर बन्दैनन्। 

त्रिचन्द्रमा एमए समाजशास्त्र पढेर आधामै छोडेँ। पास गर्न सकिनँ। मेरा अक्षरहरू साह्रै फोहोर हुन्छन्। मैले लेख्ने शैली सिक्नै सकिनँ। लेख्न थाल्दा कुहिनो आफैँ माथि उचालिन्छ। गाह्रो हुन्छ। पढाइ छुट्नुको मेरो मुख्य कारण यहि हो। पढाइ विषयको सपना पनि समयअनुसार अपडेट भइरहन्छ। अहिले पढाइ विषयको सपनाले केही समयलाई विश्राम पाएको छ। यो पक्कै कुनै रात फर्किनेछ भन्ने कुरामा विश्वस्त छु।

अरूले सपनाको अर्थ कसरी लगाउँछन् थाहा छैन। यसमा मेरो आफ्नै धारणा छ। मैले तीनपटक अमेरिका गएको सपना देखेँ। एकपटक देख्दा डीभी भरेको थिएँ। यसको अर्थ हुन्थ्यो मलाई डीभी पर्दैन र परेनँ पनि। अर्काेपटक देख्दा प्र्रmान्सको भिसा ‘अप्लाई’ गरेको थिएँ, यसको अर्थ हुन्थ्यो हामी समूहलाई भिसा लाग्छ र लाग्यो पनि। फरक संकेतका रूपमा देखेका सपनाहरूको अर्थ जीवनमा मिलेको पाउँछु। प्रत्यक्ष अर्थ दिनेगरी देखेका सपना जीवनसँग ‘अपोजिट’ भइदिन्छन्। 

सपनाको एप्स कसले कहाँबाट अपडेट गरिबस्दो हो! सपना कुन साधनमा यात्रा गर्दाे हो! यसको गति रकेटभन्दा छिटो छ। जेट प्लेनभन्दा छिटो हुन्छ। तुरुन्तै नयाँ भूगोलमा पुग्न सक्छ। सपनालाई अन्तरिक्षमा पुग्न पनि रकेट चाहिँदैन।


सम्बन्धित सामग्री