Sunday, May 12, 2024

-->

‘ब्रेन ड्रेन’को समस्या एकतिर, बहस अर्कैतिर

हामी जति नै रोइकराइ गरौं, नेपालको ‘ब्रेन–ड्रेन’ रोकिनेवाला छैन। जुन दिन तपाईंहामी सबै मिलेर यो देशलाई भौतिक रूपमा नभए पनि अध्यात्मिक रूपमा समृद्ध पार्न सक्छौँ, त्यही दिन समाजको पुनर्जागरण शुरू हुनेछ।

‘ब्रेन ड्रेन’को समस्या एकतिर बहस अर्कैतिर

यसपल्टको अन्तर्राष्ट्रिय युवा दिवसका दिन म एउटा छलफलमा सहभागी भएको थिएँ। शीर्षक थियो- ‘ब्रेन ड्रेन’लाई कसरी ‘ब्रेन गेन’मा बदल्ने?

शुरूमै मेरो मुखबाट फुस्किहाल्योः हामी छलफल गर्दैछौँ युवाहरूलाई कसरी देशमै रोक्ने भनेर। तर त्यसभन्दा पनि आधारभूत प्रश्नमा त हामी चुकिसकेका छौँ। त्यसैले यस विषयको हाम्रो बहस सतही छ, परिणाममुखी छैन। अहिले हामीले गर्नुपर्ने बहस अर्कै छ।

मैले विस्तारमा बताएँ, "हाम्रा बच्चाहरू जब जन्मेर हुर्कंदै गए, तिनलाई किन बाँच्ने भन्ने प्रश्न सोध्नै हामीले सिकाएनौँ। कतिले त त्यस्तो प्रश्न हुन्छ भन्नेसमेत भेउ पाएनन्।"

किन बाँच्ने भन्नेमा विषय प्रवेश नै नभएपछि उनीहरूले कसरी बाँच्ने भन्ने विषयमा मन्थन गर्ने कुरै भएन।

जीवनको यो आधारभूत प्रश्नबाट तर्केपछि उनीहरूलाई आफू वरपरको परिवेशले जता डोर्‍यायो, उतै डोरिए। वरिपरि उनीहरूले देखे- तामझाम र तडकभडक छ। रंगीचंगी लुगा र चिल्ला गाडीहरू छन्। आलिसान भवन छन्, तिनमा अटेसमटेस उपभोग्य सामग्री छन्।

त्यहाँ महँगा मोबाइल फोनहरू छन्। तिनमा विभिन्न एपहरू छन्, मजेदार भिडियोहरू छन्। भिडियोमा मजेदार उपभोग्य सामग्रीहरू छन्।

यी सब जोड्न पैसा चाहिन्छ। त्यो पैसा नेपालमा फल्दैन। त्यसैले जीवनको अर्थ नै जहाँ त्यति पैसा फल्छ, उहीँ पुग्नु हो।

हामीले अहिलेसम्म उनीहरूलाई दिन सकेको जीवनशिक्षा यही हो। अब भन्नुस्, देश छाडेर जाने युवाहरूले के गल्ती गरे?

उल्लिखित कार्यक्रममा सहभागी हुनुअगाडि मैले ‘ब्रेन ड्रेन’को यो पाटोटिर खासै ध्यान दिएको थिइनँ। तर त्यसपछिका दिनमा भने म यसमा खुब घोत्लिँदै आएको छु- खास आजको नेपालमा बालबालिका र किशोरकिशोरीहरूले जीवन र जगतलाई कसरी बुझिरहेका छन् त?

हालै एक मित्र भन्दै थिए- छोरी पाँच वर्षकी छन्। स्कुलमा गृहकार्य दिनेबाहेक के गर्छन् मलाई थाहा छैन किनकि उमेरअनुसार पनि सिकाइ साह्रै कम छ। बिहान हुन्छ- ‘होमवर्क गरेको छैन, स्कुल जान्नँ’ भनेर छोरी रुन्छिन्। आफूलाई अफिस जान हतार हुन्छ। अनि म हतार-हतार देब्रे हातले उनको गृहकार्य गरिदिन्छु, छोरी खुशी हुँदै स्कुल जान्छिन्।

आजको ‘उन्नत’ नेपाली समाजको मध्यमवर्गीय जीवनको उत्कृष्ट नमूना मैले भेटेँ उनको परिवारमा।

भोलि उनले छोरीलाई पढाउनुपर्नेछ- परीक्षामा चिट चोर्नु, झुट बोल्नु वा कसैलाई झुकाउनु गलत हो, कसैको केही चोर्नु गलत हो।

तर नपक्रिने गरी चिट चोर्नु, कसैलाई ढाँट्नु वा कसैबाट केही चोर्नु सही कि गलत? यो प्रश्नको जवाफ दिन भने उनलाई हम्मे हुनेछ। सम्भवतः एकाध वर्षभित्र उनले बताउनै नपरीकन छोरीले सिकिसकेकी हुनेछिन्- कुनै सामान वा चिट चोर्नु गलत तर कुनै प्रमाण नछाडी कुशलतापूर्वक चोरी गर्नु सही। सबैले देख्ने गरी बेइमानी गर्नु गलत तर इमानदार देखिने गरी बेइमानी गर्नु सही।

यसरी विकास भइरहेको छ हाम्रा बालबालिकाहरूको नैतिक ब्रह्माण्ड। जीवनका जटिल दार्शनिक प्रश्नहरूको कति सजिलो तर कति भद्दा र गलत जवाफ सिकाइरहेका छौँ हामीले बालबच्चालाई।

जुँगा चल्यो, कुरा बुझ्यो भनेझैँ उनको घरमा किन पाँच वर्षको बच्चाले गृहकार्यमै चिट चोर्नुपर्ने अवस्था छ भन्ने मैले अनुमान लगाइहालेँ र सोधेँ- दिनमा छोरीलाई कति घण्टा मोबाइल हेर्न दिन्छौ?

उनको जवाफ थियो- हामी बुढाबुढी अफिसबाट फर्केपछि सुत्ने बेलासम्म अनि बिहान उठेपछि होमवर्कका लागि रुने बेलासम्म।

मेरो मुख अब बन्द हुनुपर्ने थियो। नेपाली समाजका लागि कुनै अनौठो कुरा गरेका थिएनन् उनले। वरिपरि सबैले जे गर्थे, उनले त्यही गर्थे। एकाध वर्षमा सायद छोरीलाई फोन दिँदादिँदै बाबुआमा आजित हुनेछन् र छोरीलाई अलग्गै स्मार्टफोनको व्यवस्था गर्नेछन्।

किशोरकाल हुँदानहुँदै छोरीले आफूलाई ‘क्रिएटर’ मान्नेछिन् र अनेक भंगिमासहित तस्वीर र भिडियोहरू सञ्जालहरूमा राख्नेछिन्। बाबुआमालाई लाग्नेछ- समयअनुसारका सबै सुविधा छोरीलाई दिएकै त छौँ।

तर पनि हितैषी हुनुको नाताले त्यो दिन मैले उनलाई भनेँ- तिमीले छोरीका लागि गर्न सक्ने सबैभन्दा खराब कुरा नै त्यही हो। उनले आधा कुरा बुझ्दै मलाई सुनिरहे र टाउको हल्लाइरहे।

म भन्न खोज्दै थिएँ- सिंगो जीवनका लागि मूल्यप्रणाली विकास गर्ने बेला हो यो छोरीको। अनेकथरी प्रश्न सोध्दै तिनका जवाफ खोज्ने बेला। अनेक गल्ती गरेर पाठ सिक्ने बेला। पट्यार र दिक्दारीजस्ता भाव भोग्न र पचाउन शुरू गर्ने बेला। तीसित जुधेर रचना र सिर्जनाहरू गर्ने बेला।

अनि असल–खराब, नैतिक–अनैतिक खुट्याउन सिक्ने बेला।

यस्तो बेला कुनै लम्पट खर्बपतिले बनाएको वयस्कलाई समेत लठ्याउने मनोरञ्जनको साधनमा घण्टौँ भुल्न दिएपछि छोरीले यही सिक्ने निश्चित छ- जीवनको एकसूत्रीय लक्ष्य मनोरञ्जन हो। त्यसका लागि गृहकार्य नगर्नु पनि ठीक। उस्तै परे बिरामी भएको नाटक गरेर घर बस्नु पनि ठीक। झगडा र जिद्दी गर्नु पनि ठीक। जीवनको एउटै र शाश्वत सत्य भनेकै मनोरञ्जन हो।

बिस्तारै उनलाई लाग्नेछ- बाबुआमा भनेकै सन्तानका लागि भोगविलासका साधन जुटाइदिने माध्यम मात्रै हुन्। न त्यसभन्दा बढी न घटी।

अनि सिंगो जीवन र पारिवारिक सम्बन्ध बन्नेछ जोडघटाउ।

मैले यसो भन्नुको अर्थ अस्वाभाविक उच्च संख्यामा युवाहरूले देश छाड्नुको पछाडि अभिभावक र स्मार्टफोन संस्कृति मात्रै कारण हुन् वा नेपालको शैक्षिक र आर्थिकलगायत यावत् क्षेत्रका समस्याहरू गौण हुन् भन्ने हैन। समस्या समाजको हरेक तहमा छन्। देशको नेतृत्व तीप्रति अनभिज्ञ छ।

तर मेरो जिकिर के हो भने हाम्रो युगका सामाजिक समस्या विद्यार्थीहरूको विदेश पलायनमा सीमित छैनन्। यो देश र समाजबाट युवाहरूको विश्वास उड्नु भनेको त हाम्रो समाजलाई गाँजेको असाध्य जटिल दीर्घरोगको एउटा लक्षण मात्रै हो। त्यसैले यसको समाधान खोज्दा पनि लक्षणको मात्र नभई रोगकै खोज्नुपर्छ।

त्यो रोगको कारण- हाम्रो समाज दर्शन र अध्यात्म दुवैबाट टाढिँदै छ। जीवन र जगतका जटिल प्रश्न सोध्न हामी प्रौढहरूले नै बिर्सेका छौँ। जीवन किन र कसरी बाँच्ने भन्ने जायज प्रश्न हुन सक्छ भन्ने बोधसमेत हामी आफैँलाई छैन। हामीले बाँचेको जीवन र हामीले अँगालेका मूल्यमान्यताहरूको परख गर्ने धैर्य हामी आफैँमा छैन।

परिणाम- खाली समयमा मनमा आउन सक्ने अप्ठेरा प्रश्नसित हामी आफैँ भयभीत छौँ। त्यसैले हामी आफैँ स्मार्टफोनमा आउने सामाजिक सञ्जालको भद्दा तमासाका दुर्व्यसनी बनिसकेका छौँ। कमाइ, उपभोग र मनोरञ्जनबाहेक हाम्रो आफ्नै कुनै गन्तव्य छैन।

यी तीनमध्ये कुनै मानकमा पनि संसारका अरू पचासौँ देशहरूको दाँजोमा आउँदैन हाम्रो देश। त्यसैले हामी अहिले जति नै रोइकराई गरौँ, नेपालको ‘ब्रेन–ड्रेन’ रोकिनेवाला छैन। जुन दिन तपाईं–हामी वयस्क सबै मिलेर यो देशलाई भौतिक रूपमा नभए पनि आध्यात्मिक रूपमा समृद्ध पार्न सक्छौँ, त्यही दिन समाजको पुनर्जागरण शुरू हुनेछ।

कस्तो हुनेछ त त्यस्तो आध्यात्मिक समृद्धि?
त्यस्तो समृद्ध समाजमा शुरूमा त हामी वयस्कहरूले जीवन किन र कसरी बाँच्ने भन्ने प्रष्ट जवाफ खोज्नेछौँ र पाउनेछौँ। हाम्रा बालबालिकाले आफूलाई सदाकालीन मनोरञ्जनको अविच्छिन्न अधिकारसहित पृथ्वीमा आएको उपभोक्ता सोच्न छाड्नेछन्। गरिब देशका अभावग्रस्त बालबालिका हौँ भन्ने हीनभाव उनीहरूबाट अलप हुनेछ। प्रत्येक १४ सेकेन्डमा एक जनाको दरले कुपोषणका कारण ज्यान गुमाउने संसारका करोडौँ बालबालिकाभन्दा त हामी भाग्यमानी र शक्तिशाली छौँ भन्ने बोध गर्नेछन्।

समाजसित लिने कुरामा भन्दा बढी समाजमा योगदान कसरी गर्ने भन्नेमा उनीहरूको चिन्तन केन्द्रित हुनेछ।

त्यसपछि उनीहरूले नेपालजस्तो विपन्न समाजमा योगदान र कर्तव्यपालनका अवसरै अवसर देख्नेछन्। यहाँको आलस्य, गतिहीनता, गरिबी र पछौटेपन उनीहरूका निशाना बन्नेछन्। जलवायु संकटजस्ता विपत्तिहरूसित जुध्दै आफूभन्दा कमजोर अवस्थामा हुनेहरूको आवाज उठाउनेछन्। कुनै पनि खालको अन्यायविरुद्ध लड्नेछन्।

त्यस दिन हामीले रोइकराई गर्नै नपरी नेपालजस्ता देशमा ‘ब्रेन गेन’ हुनेछ।

 


जीवन क्षेत्रीको पुस्तक ‘नुन–तेलः विगततिर पदयात्रा’ हालै प्रकाशित छ जुन नेपालबाहिरका ११ देशमासमेत उपलब्ध छ। उनले पाठकहरूका लागि नियमित रूपमा सिफारिस गर्ने सामग्रीहरूका लागि हेर्नुहोस्ः द हिमालयन गेज


सम्बन्धित सामग्री