Saturday, April 27, 2024

-->

ती आशाराम, यी सन्दीप

संघर्ष निकै सकसपूर्ण थियो– पीडितका लागि मात्र होइन, अनुसन्धानकर्मीका लागि पनि। तीन जना गवाहको त हत्या नै भएको थियो, एक जना बेपत्ता। रियल घटनाक्रम रिलभन्दा फरक सुनिँदैनथ्यो।

ती आशाराम यी सन्दीप

न्यायका लागि झन्डै पाँच वर्ष सकसपूर्ण संघर्ष गरेका बलात्कार पीडितका अभिभावक २५ अप्रिल २०१८ मा भारतीय पुलिस अधिकारी (आईपीएस) अजय लाम्बालाई फोन गरेर भन्छन्, ‘हामीलाई न्याय दिलाएकोमा तपाईंप्रति अभारी छौँ।’ पीडिता भन्छिन्, ‘आई क्यान नाउ लिभ माई लाइफ विद कन्फिडेन्स।’ संघर्ष निकै सकसपूर्ण थियो– पीडितका लागि मात्र होइन, अनुसन्धानकर्मीका लागि पनि। तीन जना गवाहको त हत्या नै भएको थियो, एक जना बेपत्ता। रियल घटनाक्रम रिलभन्दा फरक सुनिँदैनथ्यो।   

घटना ठीक दशकअघिको हो। ७ अगष्ट २०१३ मा पीडितका बावुलाई फोन आउँछ- छोरीको तबियत बिग्रिएको छ, तपाईं झट्ट आइपुग्नुस्। उनी श्रीमतीसहित भोलिपल्टै छोरी पढिरहेको मध्यप्रदेशको छिन्दवाडास्थित आश्रमको स्कुल पुग्छन्। 

उत्तर प्रदेशको शाहजहाँपुरमा ढुवानी व्यवसायी उनका १० वटा ट्रक थिए। आशाराम थाउमल हर्पलानी उर्फ आशाराम बापूका भक्त थिए नै, जिल्लाकै पुराना र प्रतिबद्ध अनुयायीमा गनिन्थे। आफ्नो थातथलोमा आशारामको नाममा आश्रम बनाउन बढचढके हिस्सा लिएका थिए, ऋण गरेर आश्रममा योगदान गरी सबैभन्दा ठूलो दातामा दरिएका थिए। आशारामको गुरुकुलमा अच्छा शिक्षा–दीक्षा प्राप्त हुने आसमा छोरी र छोरालाई ९०० किलोमिटर पर छिन्दवाडा पुर्‍याएर आश्रमको गुरुकुलमा भर्ना गरेका थिए।  

आश्रमकी वार्डेन शिल्पी ‘तिम्री छोरीलाई प्रेत लागेको छ’ भन्दै आशारामको हातबाटै मन्छाउन सुझाउँछिन्। छोरीसहित त्यो दम्पती आशारामलाई खोज्दै पहिला त दिल्ली पुग्छन्। उनी त्यहाँबाट निस्किसकेको जानकारी पाएपछि पिछा गर्दै राजस्थानको जोधपुरनेर मनाईको आश्रम पुग्छन्। 

आशारामसँग भेट हुन्छ। उनले एकछिन केही मन्त्रोच्चारण गर्छन्। ‘तपाईंहरू बाहिर भजन–कीर्तन गर्दै गर्नुस्, अब बच्ची र म मात्रै पूजा गर्छौं’ भनेर बच्चीलाई लिएर खोपीभित्र पस्छन्। तर त्यहाँ कुनै पूजा हुँदैन। बलात्कारपश्चात् ‘कसैलाई भने बाउ–आमालाई मारिदिन्छु’ भनेर धम्क्याउँछन्। बिचरा डराएकी बच्ची आफूमाथि भएको जुलुम सुनाउन सक्तिनन्– अभिभावकलाई ‘घर जाऔँ’ मात्र भनिरहन्छिन्। फेरि नभनीरहन पनि सक्तिनन्, घर पुगेको भोलिपल्ट आमालाई सुनाउँछिन्। 

आमाले श्रीमान‍्लाई छोरीको आपबिती सुनाएपछि एउटा परिवारको न्यायको लागि सकसपूर्ण संघर्ष शुरू हुन्छ। पहिला त आशारामका भक्त दम्पती पीडित छोरीसहित उनै ‘भगवान्’ भेट्न दिल्ली आश्रम पुग्छन्। जोधपुरबाट रामलिला मैदानमा शिविरका लागि आशाराम दिल्ली आइसकेका थिए। उनले भेट्न इन्कार गरेपछि नजिकै कमलानगर थाना पुग्छन्, राति ११ बजे। 

कमलानगर थानाकै प्रहरीमार्फत् मिडियालाई खबर 'लिक' भएकाले आशारामविरुद्ध परेको नाबालिग बलात्कारको जाहेरीबारे तत्कालै मिडियाहरूमा 'ब्रेकिङ न्युज' बनिसकेको हुन्छ। थानामा पत्रकारको भीड भेला भइसक्छ। बिहानीपख ३ बजे मामिला दर्ज हुन्छ। त्यही दिन मजिस्ट्रेटसमक्ष प्रारम्भिक बयानपछि पीडितालाई जोधपुर लगिन्छ। घटना जहाँ भए पनि संवेदनशील अपराधमा पायक पर्ने पुलिस चौकीमा जाहेरी (एफआईआर) दर्ता गराउन पाइने (जिरो एफआईआर) सुविधाअन्तर्गत दिल्लीको कमलानगर थानामा दर्ता भएको थियो। अनुसन्धान/अभियोजनका लागि उनलाई जोधपुर नै पठाउनुपर्ने हुन्थ्यो।

दिल्लीबाट पत्रकारले आशारामविरुद्ध नाबालिग बलात्कारको एफआईआर दर्ता भएको हो भनेर सोध्दा जोधपुरका आईपीएस (त्यतिबेला डीसीपी) अजय लाम्बाको दिमाग खल्बलिएको थियो। किनकि त्यसअघि नामचीन साधु/महात्माविरुद्ध त्यस्तो जघन्य अपराधको उजुरी परेकै उनले 'नोटिस' गरेका थिएनन्। बुझ्दा दिल्लीमा केस दर्ज भई अनुसन्धानका लागि आफैँकहाँ जोधपुर ल्याइँदै गरेको उनले थाहा पाए। 

राष्ट्रिय/अन्तर्राष्ट्रिय चासो रहने केसको अनुसन्धान आफ्नै काँधमा आउन थालेपछि लाम्बाले तत्कालै लिनुपर्ने पीडिताको बयानका लागि स्थानीय पुलिस अधिकृत एसएचओ (स्टेशन हाउस अफिसर) मुक्ता पारिखलाई तयार राखे भने अनुसन्धानको जिम्मा चञ्चल मिश्रालाई लगाउने योजना बनाए।

दिल्लीको पुलिस टिम पीडितालाई हस्तान्तरण गरेर हिँडेपछि एसएचओ पारिखले पीडितासँग एकान्तमा घटनाको विस्तृत विवरण लिन थालिन्। भित्रपट्टिबाट फर्किंदा पुलिस सेवामा दुई दशक बिताइसकेकी पारिखका आँखा आँशुले भरिएका थिए। एकदम जटिल केसहरू सुल्झाइसकेकी एसएचओका आँखामा आँशु टिलपिल देखेपछि अजय पनि एकछिन त चकित खान्छन्। एसएचओले ओठ कमाउँदै यति मात्र भन्छिन् ‘सर, रेप त भएको छ।’ 

एउटा अनुभवी पुलिस प्रारम्भिक बयानबाटै घटनाबारे बहुतकुछ जानिहाल्छन्, एसएचको भनाइबाट बलात्कार भएकै रहेछ भन्ने निष्कर्षमा पुग्न डीसीपी अजयले विल्कूल समय लगाएनन्। तर दोषीलाई कारबाही गराउन भावना र विश्वास मात्र पर्याप्त हुँदैन, पुख्ता सबुत नै चाहिन्छ। घटना १५ अगष्टको थियो, एफआईआर पाँच दिनपछि २० अगष्टमा दर्ता भएको थियो। पाँच दिनको समयमा फरेन्सिक जाँचबाट प्राप्त गरिने कतिपय प्रमाण नष्ट भइसकेको हुनसक्छ। यसैले घटनास्थल, घटनादृश्यबाटै पुख्ता सबुत संकलन गर्नसक्ने र पीडित परिवारसँग समन्वय कायम गरी मुद्दालाई मजबुत बनाउनसक्ने टिमको खाँचो थियो। 

पीडित परिवारको निकट सम्पर्कका नातेदार, साथीसंगी आदिसित पनि सूचना संकलन गरी पीडित र तिनको परिवारको विस्तृत विवरण प्राप्त गर्नु थियो भने आशारामको देशैभरि फैलिएका आश्रमहरूबाट सूचना संकलन गरी ठूलो फ्रेममा उनको चरित्र उतार्नु पनि थियो। यो यस्तो केस थियो जसमा अनुसन्धानकर्मीलाई ललचाउनेदेखि धम्क्याउनेसम्मका अनेक दबाब पर्ने निश्चित थियो। यसैले टिममा कतैबाट प्रभावित नहुनेखाले अनुसन्धानकर्मीहरूको उपस्थिति अनिवार्य हुन्थ्यो। त्यसबाहेक आशारामको आवतजावतमाथि पनि लगातार निगरानी गर्नु थियो, किनभने उनी जुनसुकै बेला विदेश टाप दिनसक्थे।

अजयका अनुसार पीडिता र उनको परिवारको हिम्मत त अदम्य नै थियो। ती पाँच वर्षमा पीडित परिवारले धम्की त कति सहनु पर्‍यो–पर्‍यो। आर्थिक रूपमा तबाह गर्न साजिस रचियो। पीडिताका बावुका व्यापारिक साझेदारले साझेदारी तोडे। उनले कुनै बिजनेश नपाउन् भनेर बहिष्कार अभियान चलाइयो। ‘त्यो परिवारबाट मेरो टिमले साहस र ऊर्जा प्राप्त गर्थ्यो,’ अजयले भनेका छन्, ‘कुनैबेला थाकेर खुइयय गर्दा पनि न्याय दिलाइदिन गुहारिरहेकी ती बच्चीको चेहरा आँखासामु नाच्न थाल्थ्यो, त्यो परिवारको अदम्य साहस सम्झिनेबित्तिकै अनुसन्धानकर्मीहरूको थकान मर्थ्यो, स्फूर्ति पलाउँथ्यो।’ 

फेरि पिडित परिवारको हौसला पस्त नहोस् भनेर महिला पुलिस अधिकृतद्वय मुक्ता पारिख र चञ्चल मिश्राले काफी काम गरेका थिए। वकिलद्वय पिसी सोलंकी र वर्माले पनि त्यसैगरी आफ्नै परिवारसरह व्यवहार गरे पीडित परिवारसँग, त्यो पनि कुनै शुल्क नलिई। वकिल सोलंकीले एउटा अन्तरवार्तामा बताएअनुसार पीडित परिवारसँग पहिलो भेटमै उनले मुद्दा लड्न कुनै शुल्क नलिने प्रतिबद्धता गरेका थिए। ‘मुद्दा जितेपछि (आशारामलाई आजीवन कारावासको सजाय भएको थियो) घरमा आएर मेरी ८० वर्ष पुग्न आँटेकी आमाको चरण स्पर्श गरेर तपाईंको छोराकै कारण आज हामी जिउँदो छौँ भने,’ सोलंकी भन्छन्, ‘मेरा लागि योभन्दा चर्को शुल्क के नै हुनसक्थ्यो र!’  

जाहेरी दर्ता भए पनि आधार तयार नपारी आशारामलाई पक्राउ गरी खोरमा जाकिहाल्ने अवस्था थिएन। विभिन्न देशमा गरी ४/५ करोडको संख्यामा त उनका भक्तजन रहेको ठानिन्थ्यो। जाहेरी दर्तापछि बलात्कार आरोपीको रूपमा मिडियामा हेडलाइन बनिरहे पनि गुजरातको सुरतमा पचासौँ हजार उपस्थित कार्यक्रममा उनी प्रवचन दिइरहेका थिए। सम्भावित गिरफ्तारीको डरले उनी यो आश्रमबाट त्यो आश्रम गर्दै चाहारिरहेका थिए। पीडिताका परिवारलाई पैसाको लालच देखाएर मिलाउने प्रयत्न पनि जारी थियो। 

आखिरमा उनी इन्दौरको आश्रममा रहेको पक्का भएपछि जोधपुरबाट ३१ अगष्टको दिन अनुभवी र जोशिला पुलिसकर्मी सम्मिलित टिम पक्राउ गर्न पठाइएको थियो, कमान्डो टिमसहित। चञ्चल मिश्राको नेतृत्वमा पुलिस टिम आश्रम पुग्दा आशाराम सिंहासनमा विराजमान थिए। पुलिसलाई देख्नासाथ उनी बर्बराउन थाल्छन्– ‘एउटी केटीको लहलहैमा लागेर यिनीहरू मलाई फसाउन खोज्दैछन्।’ बाहिर हजारौँका संख्यामा भक्तजन मौजुद थिए। पक्राउ पर्ने बेलामा उनी पुलिसलाई घरि धम्क्याउँथे र घरि ललचाउँथे पनि। उनले ‘तिमीहरू जति कल्पना गर्न सक्छौ त्योभन्दा बेसी धन दिन्छु’सम्म भनेका थिए।

पुलिसले उठाइछाड्ने देखेपछि अब आशाराम आफ्नो बुढापाको हवाला दिँदै कहिले आफ्नै मर्सिडिजमा त कहिले फ्लाइटमा लैजानुपर्ने अड्डी कस्न थाल्छन्। पुलिस टोलीले पनि उनका माग पूरा हुने, एसीवाला गेष्ट हाउसमा राख्ने र भोलिपल्टै जमानतमा निस्कन पाइने सम्भावना विद्यमान रहेको आश्वासन दिएर फकाउँछ। त्यसरी मनाएर राति साढे १२ बजे बल्ल उनलाई जोधपुरतिर रवाना गरिएको थियो। सोफामा राखेर सोधपूछ गर्न थालेपछि आशारामले दोहोर्‍याई–तेहर्‍याइरहे, ‘मैले पाप गरेको  छैन, मविरुद्ध साजिस रचिएको छ।’ जब उनलाई भूईंमा बसाएर पक्का परम्परागत पुलिसिया अन्दाजमा केरकार गर्न थालेपछि आशारामको हौसला पस्त हुन्छ र भन्न थाल्छन्, ‘मबाट पाप भयो।’

अनुसन्धानकर्मीलाई टेलिफोन गरेर, चिठी लेखेर धम्की दिनेदेखि घर–अफिस आवतजावत गर्दा पिछा गर्ने, रेकी गर्ने यावत् हर्कत भए। गवाहमाथि शृंखलावद्ध आक्रमण शुरू भयो। तीनजना गवाहको हत्या भयो। ९ जुन २०१४ को गुजरातको राजकोटमा क्लिनिकमै रहेका आयुर्वेदिक चिकित्सक अमृत प्रजापतीको हत्या भयो। चिकित्सकको रूपमा आशारामको आश्रममा १५ वर्ष बिताएका अमृत आशाराम पक्राउ परेपछि सुरतमा छोरासहित आशारामविरुद्ध परेको यौन उत्पीडन मुद्दाको गवाह थिए। आशारामका छोरा नारायण साईसमेत अहिले पनि जेलमै छन्।

हत्या हुनुभन्दा अगाडि आश्रममा हुने यौन अपराधबारे सार्वजनिक मञ्चमै बोलिरहेका थिए, अमृत। आश्रममा औषधिको नाममा यौन उत्तेजना बढाउने औषधिकै बढी माग हुने गरेको र यौन क्रियाकलाप, बलात्कार अचाक्ली हुनेगर्छ भनिरहेका थिए। मनाईको कुटी (नाबालिग बलात्कृत भएको ठाउँ) त महिला भक्तलाई ‘चंगा’ गरिनकै लागि निर्माण  गरिएको आरोप लगाइरहेका थिए।

११ जनवरी २०१५ मा उत्तर प्रदेशको मुजफ्फरनगरमा अखिल गुप्ताको हत्या भयो। स्कुटरमा सवार उनलाई बाइकमा आएका पेस्तोलधारीले गोली हाने। आशाराम थुनिएपछि ६ अक्टुबर २०१३ मा सुरतका दुई युवतीले पनि आशाराम बाउछोराविरुद्ध दिएको यौन उत्पीडन मुद्दामा आशारामको इच्छाविपरीत आश्रमकै युवतीसँग विहे गरी आफ्नै  व्यवसाय गरिबसेका अखिलसँग पुलिसले पुछताछ गरेपछि अखिल सरकारी गवाह बन्न तयार भएका थिए। १० जुलाई २०१५ मा शाहजहाँपुरमा कृपाल सिंहको पनि यही ‘मोडस अपरेन्डी’मा हत्या भयो, बाइकमा सवार कृपाललाई बाइकमा आएका हमलावरले गोली हाने। उनी जोधपुर केसकै गवाह थिए। तीन वटै हत्या आश्रमकै राजु दुलालचन हल्दर उर्फ कार्तिक हल्दरले गरेका थिए। पक्राउ परेपछि उनले चञ्चल मिश्राको हत्या गर्न योजना बनाएको खुल्यो। त्यसपछि मिश्रालाई कमान्डो दस्ताको सुरक्षामा राखियो। 

जोधपुरमा गवाही दिएर निस्किँदै गर्दा अदालतबाहिर राहुल सचानमाथि छुरा प्रहार भयो। छुरा हान्ने सत्यनारायण ग्वाला घटनास्थलमै पक्राउ परे। तर केही दिनपछि घाइते सचान बेपत्ता भए। उनी लामो समय आशारामको पीए (निजी सहायक) रहिसकेका थिए। कुल नौ जना गवाहमाथि घातक हमला भएको थियो। छोरा नारायण साईको पीए रहिसकेका महेन्द्र चावलामाथि २३ मे २०१५ मा गोली प्रहार भएको थियो। उनका अनुसार तत्कालीन सोभियत संघको कुनै कम्युनिष्ट नेता कलिला नानीहरूसँग यौन सम्बन्धका कारण लामो आयु बाँचेको भन्दै आफू पनि १५० वर्ष बाँच्न चाहेकाले कलिला नानीसँग यौन सम्बन्ध अपरिहार्य रहेको आशाराम बताउँथे। यो कुरा उनले सार्वजनिक मञ्चबाटै बोलेका थिए।  

जन्मदर्ता प्रमाण छ भने त्यही आधिकारिक हुन्छ। पीडिताको जन्मदर्ता प्रमाणपत्रले उनलाई नाबालिग प्रमाणित गर्थ्यो। त्यति प्रमाणले नै मामिला खत्तम हुनुपर्थ्यो, तर भएन। आशारामका वकिलले कहिले आश्रमको स्कुलमा भर्ना हुँदाको जन्ममिति त कहिले के पेश गरेर उनलाई बालिग स्थापित गर्न भरमग्दुर प्रयत्न गरेका थिए। अनुसन्धान अधिकारी चञ्चल मिश्रालाई १० महिनासम्म बारम्बार ‘क्रस इक्जामिन’ को लागि कठघरामा उभ्याइयो। अभियुक्त पक्षले नै सरकारी पक्षले मुद्दा लम्ब्याएको लम्ब्यायै गरेको भन्दै हाईकोर्टमा जमानतको अर्जी दियो। चञ्चललाई बारम्बार कठघरामा उभिन बाध्य पारिएको खुलेपछि उनले माथिल्लो अदालतबाट राहत पाएकी थिइन। सर्वोच्च र उच्च अदालतबाट तीन-तीन चोटि र तल्लो तहको अदालतबाट ६ चोटि आशारामको लागि दिइएको जमानतको अर्जी खारेज भएको थियो।  

आशारामको वकिलको रूपमा भारतकै त्यतिबेलाका चर्चित वकिल राम जेठमलानी सेशन कोर्ट (जिल्ला अदालत) मा बहस गर्न पुगेका थिए। यस्तै, हार्वर्ड विश्वविद्यालयमा प्राध्यापन गरिसकेका नेता, पूर्वमन्त्री, सांसद तथा वकिल डा. सुब्रमण्यम स्वामीले चर्चहरूको धर्मान्तरणमा अवरोध उत्पन्न गरेको हुँदा आशारामलाई फसाउन खोजिएको बयानबाजी गरे नै, बहस गर्नसमेत उनी अदालतसम्मै पुगे। भारतीय राष्ट्रिय कांग्रेस पार्टीले पीडितको पक्षमा उभिएर आशारामलाई कारबाहीको माग गरिरहेका बेला कांग्रेस नेता सलमान खुर्शीद चाहिँ आशारामको वकालत गर्न अदालत पुगेका थिए–पार्टी र पेशा अलग कुरा हुन् भन्दै। 

वरिष्ठ अधिवक्ता तथा राज्यसभा सांसद केटीएस तुलसीले पनि जिल्ला अदालतमा आशारामको पक्ष लिएर बहस गर्न अप्ठ्यारो मानेनन्। वरिष्ठ अधिवक्ता उदय उमेश ललितको त आशारामको पक्षमा वकालत गरेको अलि दिनपछि भारतको सर्वोच्च अदालतमा न्यायाधीश भई वकालत जीवन नै टुंगिएको थियो। अर्का घाघडान वरिष्ठ अधिवक्ता सिद्धार्थ लुथरा पनि जोधपुर जिल्ला अदालत पुगेका थिए। पीडिताका वकिल सोलंकी अन्तर्वार्तामा भन्छन्, ‘राम जेठमलानीजस्ता वकिल कुन माटोले बनेका होलान‍्जस्तो लाग्थ्यो, यही केसको कारण देशका प्रख्यात वकिलहरूसँग बहसमार्फत् तर्कवितर्क गर्न पाएँ।’    

नाबलिग बलात्कारसँग 'लोकप्रिय' व्यक्तित्व जोडिएको मिल्दोजुल्दो घटनाका उदाहरण पछिल्ला केही वर्षमा नेपालमा पनि देखिए। सन्दीप लामिछाने आरोपित नाबालिग बलात्कारको केससँग सबैभन्दा मिल्दोजुल्दो पाटो चाहिँ दुवैमा पीडिता बालिग थिइन् भन्ने पुष्टि गर्न वकिलहरूले खर्चिएको ऊर्जा हो। आशारामका वकिल राम जेठमलानीले पनि पीडिता आश्रम स्कुलमा भर्ना हुँदा उल्लेख गरिएको उमेर भन्दै बच्ची बालिग भइसकेको दलील पेश गरेका थिए। यता, सन्दीपले जन्मदर्ता भएको वडाबाट प्राप्त भन्दै १८ जेठ २०६१ मा नाबालिग सर्भाइभर जन्मिएको जन्मदर्ता प्रमाणपत्र पेश गरेका थिए। अदालतले प्रमाणित गरिल्याउनु भनेपछि अहिले उनी 'कुनै फ्यानले दिएको, पहिचान थाहा नभएको' भन्दै उम्किने उपाय खोजिरहेका छन्।

बसाइँसराइको कागजमा उल्लिखित उमेर, जन्मिएको अस्पताल, कक्षा ८ मा भर्ना हुँदाको दर्ता रसिदको फोटोकपी भन्दै पीडिता २०६१ जेठ १८ मा जन्मिएको दाबी उनले गरे। तर, सक्कल प्रमाण झिकाउँदा कुनैको अभिलेख नै नभएको पाइयो भने कुनै कागजात मेल खाएको देखिएन। 'गौशाला–२६' जन्मिएको दिन अस्पतालमा शिशु जन्माउने एक जनाको नाम उनको आमाको नामसँग मेल खान्छ, तर न थर मिल्छ न त उमेर नै। अझै सन्दीपले नै पेश गरेको बसाइँसराइको कागजको उमेरसँग पनि त्यो मिल्दैन। सन्दीपले पेश गरेको गौशाला–२६ को बसाइँसराइको कागजअनुसार उनकी आमा २०३५ सालमा जन्मिएकी हुन्। उनैले पेश गरेको अस्पतालको भनिएको कागजअनुसार २०३३ हुनपुग्छ। जिल्ला सरकारी वकिलले पेश गरेको जन्मदर्ता प्रमाण, नागरिकताको प्रमाणपत्र र शैक्षिक प्रमाणपत्रमा उनको उमेर १८ जेठ २०६२ नै छ।

आशारामविरुद्धको केसमा फैसला आउनै पाँच वर्ष लाग्यो। यहाँ त्यस्तै त भइसकेको छैन, तैपनि प्रमाण संकलन भई अन्तिम सुनुवाइका लागि नै इजलाशमा २६ चोटि पेश भइसकेको छ। तर न्यायाधीशहरूकै अरुचिका कारण कि हटाउन लगाइएको छ, कि हेर्न नभ्याइने भनिएको छ। कि त हेर्न नमिल्ने भनिएको छ अथवा जन्म मितिबारे एकपछि अर्को कागज झिकाउने/भिडाउने आदेश गरिएको छ। यस्तै, जिल्ला अदालतमा बकपत्र गराउँदा अभियुक्त र पीडिता दुवैलाई एउटै कक्षमा उपस्थित गराइएको थियो, सरकारी वकिलले छुट्टै कक्षमा राख्न माग गर्दागर्दै पनि।    

छिन्दवाडा आश्रमको स्कुलमा ४०० छात्रछात्रा पढ्थे, जसमा ९० जनाजति १०–११ कक्षामा पढ्ने किशोरी थिए। उनीहरूलाई सन् २०१२ मा हरिद्वार आश्रममा पुर्‍याइँदा आशारामको कुटिल आँखा ती किशोरीमाथि परेको थियो। उनी हरिद्वार आश्रमकै सेविका शिल्पीलाई किशोरीबारे सोधीखोजी गर्न भन्छन्। छिन्दवाडाको आश्रममा पढ्ने थाहा पाएपछि आशारामले शिल्पीलाई हरिद्वारबाट छिन्दवाडा होस्टेलको वार्डेन बनाएर पठाएका थिए। शिल्पीले फकाउने अनेकन प्रयत्न गरी नमानेपछि चाहिँ भूत–प्रेतवाला फण्डा अपनाएकी थिइन्। आशाराम–शिल्पी–शिवाको बीच घनिभूत कुराकानी कलडिटेलमा देखियो। अदालतले नबालिग बलात्कारमा शिल्पीलाई पनि मतियार ठहर्‍याई सजाय गरेको थियो। सन्दीपलाई गौशाला–२६ सँग सम्पर्क गराइदिने काम क्रिकेट टिमकै खेलाडी देव खनालले गरेको जाहेरी दर्खास्तमा उल्लेख छ।

सन् २०२२ को मार्च–अप्रिलमा नेपालमा आयोजना भएको मलेशिया, नेपाल र पपुआ न्यु गिनीबीच ‘ट्राई नेशन सिरिज’मा  खनालले ७२ रन स्कोर गरेपछि खेलकुद समर्थकको हिसाबले फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाउँदा अक्सेप्ट गरी ‘स्न्याप च्याट’ मा फ्रेन्ड रिक्वेस्ट पठाएका थिए। स्न्याप च्याटमै खनाल र पीडिताबीच सन्देश आदान–प्रदान हुने गरेको थियो। सोही क्रममा केन्यामा हुन लागेको क्रिकेट शृंखलाको लागि ‘हायात प्लेस’ होटलमा नेपाली राष्ट्रिय टोलीको क्लोज क्याम्प चलिरहेका बेला खनालले नै उनलाई सन्दीपसँग सम्पर्क गराइदिएका थिए।

सन्दीपविरुद्ध यो उजुरी पहिलो थियो। उनको 'यस्तो' बानीब्यहोराबारे उनको टिमका साथीमात्रै होइन, धेरै खेल पत्रकारहरू पनि जानकार थिए। तर सबैले यसलाई सन्दीपको 'अतिरिक्त ट्यालेन्ट'को रूपमा लिए। काउन्सिलिङबारे सोच्ने कुरै भएन। गौशाला–२६ ले जाहेरी दर्ता गर्ने हिम्मत जुटाएपछि अरू एकाध युवती पनि सम्पर्कमा आएको र पीडितालाई उनीहरूले हौसला दिइरहेका बताउँथे। तर उनीहरू पछि जाहेरी दर्ता गराउन तयार भएनन्। आशारामको आश्रममा १५ अगष्टमा बच्चीमथि भएको बलात्कारको अनुसन्धानको क्रममा अघिल्लो दिन १४ अगष्टमा मेरठबाट परिवारसहित आएकी उस्तै उमेरकी एक बच्चीमाथि पनि बलात्कार भएको पुलिसले भेउ पायो। परिवारसित सम्पर्क पनि गर्‍यो, तर उनको परिवार उजुरी गर्न तयार भएन।

आशाराम पक्राउ गरी जेलमा जाकिएपछि उनका भक्तजन जेलबाहिर सुते। जेलकै भित्तामा पनि ‘पूज्यबापू निर्दोष है’ पोतियो। भक्तजनका लागि अहिले पनि आशाराम थाउमल हर्पलानी सजाय पाएका अपराधी हैनन्, प्रातःस्मरणीय पूज्य श्री आशाराम बापू नै हुन्। युट्युबमा सर्च गर्दा आशारामलाई चर्चहरूले फसाएको भनिएका भिडियोहरू भरमार भेटिन्छन्। हिन्दूत्वका प्रचारक आशाराम धर्मान्तरणमा अवरोधक भएपछि क्रिश्चियन मिशनरीहरूले केटीमार्फत् षडयन्त्र गरेको कथा उनीहरूले बुनिरहेकै छन्। 

भारतीय सत्ताको प्रचारक र भारतीय जनता पार्टीको हिन्दूत्वको प्रसारक भएका कारण भारतमा सत्ताप्रति आलोचकहरूले त्यहाँको मिडियालाई गोदी मिडिया भनेर न्वारान गरेका छन्। पीडितहरूको पक्षमा उभिएको र आशारामका कर्तुतहरू सामुन्ने ल्याएको कारण आशारामका भक्तजनाले चाहिँ भारतीय मिडियालाई 'चर्चको लगानीमा खुलेका मिडिया' भन्ने गर्छन्। चार-पाँच करोड त भक्तजन नै भएको आशाराम जत्तिकै नभए पनि नाबालिग बलात्कारको मुद्दामा सन्दीप लामिछानेले पनि काफी भक्तजन (फ्यान भनेका भक्तजनसरह नै हुने गर्छन्) बटुलेका छन्।

उदेकलाग्दो कुरा त अदालत पनि अहिलेसम्म उनीमाथि मेहरबान भएकै सुनिन्छ। जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालतले लामिछानेलाई २० लाख धरौटीमा छाडिदियो, सर्वोच्चले त विदेश जानसमेत छुट दियो। जिल्ला अदालतले पनि उनलाई खेल खेल्ने चाँजो ठ्याक्कै मिल्ने गरी सुनुवाइ नगरी, तदनुरूप नै पेशी तारेखहरू दिएर सन्दीपलाई भक्तजनले झैँ ‘राष्ट्रको गहना’ कै मान्यता दिएको भान हुन्छ।

स्पेनको फुटबल फ्रेडरेसनका अध्यक्षले हालै महिला विश्वकप विजेता भएपछि टिम कप्तानलाई बिनास्वीकृति चुम्बन गरेकोमा राष्ट्रव्यापी आलोचना त भयो नै, फिफाले उनीमाथि तीन महिनाका लागि प्रतिबन्ध नै लगाइदियो। 

अर्कोतर्फ, हाम्रा राष्ट्रिय खेलकुद परिषद‍्का सदस्य-सचिवले ‘राष्ट्रका गहनाका लागि बलात्कार जस्तो प्राविधिक विषयमा अल्झिन नहुने’ स्टेटमेन्ट दिइसकेकै छन्। सामाजिक सञ्जालमा उनलाई काँधमा उचाल्नेहरू मनग्गे छँदैछन्। केही मिडिया नै खुलेआम सन्दीपको बचाव गर्दै पीडितको मुद्दा कमजोर पार्ने अभिप्रायले विचार संप्रेषण गरिरहेका छन्। परिस्थिति यतिसम्म निराशलाग्दो छ कि केही दिनअघि गौशाला-२६ को स्वास्थ बिग्रिएको खबर मिडियामा आउँदा उनका समर्थकले साधारण मान्छेले सिधा हिसाबले सोच्न नसक्ने 'सन्देश' दिँदै कसैको जीवनभन्दा आ-आफ्नो अहं-तुष्टी गर्ने निर्क्यौल नै नभई 'जीत'लाई बढी महत्व दिए। 

सुनुवाइ नगरेर पाकिस्तान जान सहज हुने सुविधा अदालतबाट पाएका लामिछानेलाई यस्तै प्रकृतिको मुद्दा खेपेर जेल चलान भएका (हाल 'सफाइ' पाएका) कलाकार पल शाहले 'सफल यात्राको शुभकामना' दिएका छन्। त्यो कमेन्टमा अहिले हजारौँ लाइक बर्सिइरहेका छन्। काठमाडौँको कुनै कुनामा परितापले युक्त एउटा मनमा त्रास छ, झिनो भए पनि न्यायको आस छ। तर 'राष्ट्रका गहना' अनवरत, अविरल चम्किरहेका छन्, सबको साथ पाएका उनको खेल रोकिएको छैन, यात्रा छेकिएको छैन।      

यी प्रतिकूलताका बाबजुद, फेरि पनि न्यायालयले सबुतप्रमाणकै आधारमा फैसला गर्ने छ र अन्ततः पीडिता गौशाला–२६ ले पनि न्यायको संघर्षमा उनलाई सक्रियतापूर्वक सघाउनेहरूलाई ‘आई क्यान नाउ लिभ माई लाइफ विद कन्फिडेन्स’ (म अब मेरो जीवन आत्मविश्वासपूर्वक जिउन सक्नेछु) भन्ने दिन आउने छ, त्यही आशा गरौँ।


सम्बन्धित सामग्री