Wednesday, May 15, 2024

-->

शोषणका आधुनिक कारखाना : डान्स बार, दोहोरी र मसाज पार्लर

सरकारी निकायकै जिम्मेवार अधिकारीलेसमेत 'केटीहरू आफ्नै रहरले आएका त हुन नि यहाँ नाच्न' भन्ने अभिव्यक्ति दिने गरेका छन्। यस्ता परम्परागत 'मिथ'हरूलाई समेत चिर्न आवश्यक छ।

शोषणका आधुनिक कारखाना  डान्स बार दोहोरी र मसाज पार्लर

ठमेलको नरसिंह चोकस्थित 'छोरी' गैरसरकारी संस्थाको कार्यालयको हलमा केही दिन पहिले जम्मा भएका डान्स बार, दोहोरी तथा मसाज पार्लरमा काम गर्दै आएका २५ जना महिला तथा किशोरीले रंगीचंगी चार्ट पेपरमा आफ्नो जीवनका 'खोला' बनाए, रङसँग थोरै समय भए पनि खेले। आफ्नो जीवनको खोला अर्थात् जन्मेदेखि वर्तमानसम्मका अनेकौँ सुखददेखि अति कष्टकर क्षणलाई रेखाहरूमा उतार्दै गर्दा उनीहरूले आफ्ना कथा सुनाए। उनीहरूले बताएका आफ्ना सुखदु:खका केही प्रतिनिधिमूलक अंश यस्ता छन्: 

बाआमाले बताएअनुसार आफू जन्मँदाको क्षण, जीवनको शुरूआती अवस्था, आफूपछिको सानी बहिनीलाई जन्माउने क्रममा आमाले आफ्नै आँखा अगाडि जीवन त्यागेको क्षण, 'म पनि पढ्न जान्छु स्कुल' भनेर आग्रह गर्दा 'फेरि भाइ चाहिँ कसले हेर्छ नि?' भनेर बाउआमाले भनेपछि हातका कापी किताब थन्क्याएर घरमै खुम्चनु परेको क्षण धेरैका जीवनका उल्लेख्य क्षण हुन्। 

स्कुल नगई घरमै बसेर भाइबहिनीको रेखदेख र मेलापात गएका क्षण, अलि हुर्केपछि कहिल्यै नचिनेको मान्छेसँग जबर्जस्ती बिहे गरिदिएको क्षण, श्रीमान‍्बाट पाएको यातना इत्यादि हुँदै 'मनोरञ्जन क्षेत्र'मा आइपुग्नुपरेको क्षण कतिपयका जीवनका सुखद/दु:खद क्षण हुन्। यस क्षेत्रमा आइपुगेपछि ग्राहक तथा साहुसँगको तिता, घिनलाग्दा र केहीका हकमा केही मिठा अनुभवसमेत रहे, जसलाई उनीहरूले 'ग्राफ'मा उतारे। 

अनौपचारिक मनोरञ्जन क्षेत्रमा कार्यरत किशोरी तथा महिलाले यस क्षेत्रको यात्रालाई आफैँ कसरी प्रस्तुत गर्छन् र ग्राहकहरूको व्यवहार र प्रवृत्तिलाई कसरी लिएका छन् भनेर झन्डै एक वर्ष लगाएर गरिएको अध्ययनको अन्त्यमा केही नै 'छोरी'का तर्फबाट केही प्रतिनिधि पात्रलाई सो कार्यशालामा डाकिएको थियो। मूल अध्ययनमा २०४ जना सहभागी थिए

सरकारी निकायकै जिम्मेवार अधिकारीहरूले समेत 'केटीहरू आफ्नै रहरले आएका त हुन् नि यहाँ नाच्न' अभिव्यक्ति दिने गरेका सन्दर्भमा ती परम्परागत 'मिथ'हरूलाई चिर्नसमेत आवश्यक थियो। के महिला/युवतीहरू चाहेरै यस क्षेत्रमा आएका हुन्? यस अध्ययनले त्यसबारे पनि केही बोलेको छ।  

अध्ययनमा सहभागी २०४ मध्ये १९६ जना काठमाडौँ उपत्यकाबाहिरका छन्। 'के तपाईँले आफ्नो जीवनमा कुनै किसिमको हिंसा भोग्नु भएको छ?' भन्ने प्रश्नमा एक सय ९५ सहभागीले आफूले हिंसा भोगेको बताए। उनीहरूमाथि हुने हिंसाका स्वरूप हेर्दा कुटपिट, गालीगलौज, यौन दुरुत्साहन, खराब छुवाई (ब्याट टच) आदि पाइए। 

एक सहभागीको कथा यस्तो थियो, 'मेरो आमा अर्को मान्छेसँग बिहे गरेर जाँदा म मात्रै नौ वर्षकी थिएँ। बाबाले दैनिक जसो रक्सी खाएर मलाई कुटपिट गर्नुहुन्थ्यो। पछि बाबाले अर्को आमा बिहे गर्नुभयो। त्यसपछि मेरो दुःखको दिन सुरु भयो। घरमा धेरै काम गर्नुपर्ने त छँदै थियो, सौतेनी आमाले सधैँ किचकिच र गाली गर्ने गर्नुहुन्थ्यो। छोरा पाएपछि त उहाँले मलाई स्कुल जान पनि दिनुभएन। आमाले मलाई र मतर्फको भाइलाई हेला गर्नुभयो। 

आफ्नो बच्चालाई त उहाँले माया गर्ने नै हुनुभयो। बाबाचाहिँ हामीमाथि हिंसा हुँदा चुप प्राय: रहनुहुन्थ्यो। हामीले पेट भरी खानसमेत पाउँदैनथ्यौँ, तर पनि कान्छी आमा कामचाहिँ लगाको लगाई गर्नुहुन्थ्यो। सौतेनी आमाको काखमा उहाँको छोराले खेलेको देख्दा आफ्नो आमा भएको भाइले पनि त्यसरी नै खेल्न पाउँथ्यो जस्तो लाग्थ्यो किनकि मेरो भाइ पनि आमासँग खेल्नुपर्ने उमेरको थियो। मलाई मेरो भाइको धेरै माया लाग्छ। तर पढ्नुपर्ने उमेरमा मैले घरकै काम गरेर बस्नुपर्‍यो। आफूले पढ्न नपाए पनि आफ्नो भाइलाई पढाउन पाए कति मजा हुन्थ्यो जस्तो लाग्थ्यो। अनि केही काम पाइन्छ कि भनेर एक दिन भागेर काठमाडौँ आएँ। अहिले मेरो हालत के छ भन्ने अनुमान त तपाईँले गर्न सक्नुहुन्छ।'  

यस क्षेत्रमा संलग्न महिला र युवतीको विगतको कुरा गर्ने हो भने पढाइलाई परिवारले कहिल्यै प्राथमिकता दिएको देखिँदैन। त्यसका आर्थिक, सामाजिक र सांस्कृतिक कारण पक्कै छन्। सहभागीमध्ये २४ जना लेखपढ गर्न नसक्ने, ८४ जना सामान्य लेखपढ गर्न सक्ने, ३१ जनाले आधारभूत तहको शिक्षा पाएको र २० जनाले एसइइसम्मको अध्ययन गरेको देखिन्छ। यी तथ्यले खास गरी ग्रामीण र विपन्न समाजमा छोरीको शिक्षा अझै परिवारको अत्यन्त कम प्राथमिकतामा परेको बुझिन्छ। 

अर्को कुरा, 'पढ्न पाउनु मेरो अधिकार हो' भनेर बुझ्नुको सट्टा महिलाहरू पढ्न नसक्नुमा आफ्नै कमजोरी देख्छन्। 'मैले नै नसकेको हो। मेरो दिमाग नै त्यस्तै हो' भन्ने उत्तरले हाम्रा शिक्षा प्रणालीप्रति पनि प्रशस्त संशय उठ्छ। आर्थिक, सामाजिक र सांस्कृतिक कारणहरूले महिलाको आत्मविश्वासलाई कति कमजोर बनाउँदो रहेछ भन्ने यसबाट बुझ्न सकिन्छ।   

अध्ययनमा सहभागी एक जना भन्छिन्, 'परिवारका आठ सन्तानमध्ये म तेस्रो छोरी हुँ। बुवा आमा निरक्षर हुनुहुन्थ्यो। घरबाट स्कुल १०-१५ मिनेटको दुरीमा थियो, तैपनि १३ वर्षको उमेरमा मात्र म स्कुल भर्ना हुन पाएँ। कक्षामा सबै जना मभन्दा सानो उमेरको थिएँ। अर्को कुरा, स्कुल भर्ना भए पनि म भाइबहिनी हर्नेलगायतका घरायसी कामले कहिलेकाहीँ मात्र स्कुल जान पाउँथे। मान्छेहरूचाहिँ 'अब पोइको घर जाने बेला स्कुल पो जान लागिस्' भन्दै मलाई अपमानित गर्थे। स्कुल छिरेकै साल आफ्नो कक्षाको अन्तिम जाँचमा म फेल भएँ। पढाई मेरो भाग्यमा नै छैन जस्तो लाग्यो, अनि कहिल्यै स्कुल गइनँ।' 

विखण्डित परिवार, अति गरिबी, लैगिंक तथा घरेलु हिंसा  

परिवारको सदस्यको रक्सी सेवन कुलत, सानै उमेरदेखि रोजगारी खोज्नुपर्ने बाध्यताका कारण पनि धेरै युवती/किशोरी काठमाडौँ शहर आइपुगेका छन्। अध्ययनमा संलग्नमध्ये ७५ प्रतिशतले कामको खोजीमा काठमाडौँ आएको र १५ प्रतिशतले घरमा बस्न निकै गाह्रो भएर शहर आएको बताए। यी तथ्यले प्रस्ट देखाउँछ कि रहरले भन्दा पनि हिंसा र तनावबाट मुक्त भई बाँच्ने विकल्पको खोजीमा कतिपय युवती र महिला काठमाडौँ उपत्यका आइपुगेका छन्। 

काठमाडौँ आउनुभन्दा उनीहरूले के गर्थे भनेर सोधिएको प्रश्नमा अधिकांश किशोरी तथा महिलाले न्यून तथा अनियमित खालको आम्दानीमा निर्भर भएको बताए। जस्तै: ६८ प्रतिशत किशोरी तथा महिलाले पहिले कुनै नियमित काम वा नोकरी नभएको तर घरायसी काम र खेतीपातीमा संलग्न रहेको र २७ प्रतिशतले दैनिक ज्यालादारीमा काम गर्ने बताए। 

काठमाडौँ आइसकेपछि उनीहरूले काम गर्ने ठाउँमा भोगेका र भोगिरहेका शोषण पनि कम भयावह छैनन्। गाउँबाट हिंसाबाट उन्मुक्ति पाउन शहर छिरेका महिला तथा किशोरीहरू त आफ्नो पहिचान लुकाएर उल्टै शोषणपूर्ण अवस्थामा काम गर्न बाध्य छन्। ग्राहकबाट भोग्ने दुर्व्यवहारको प्रश्नमा ९१ प्रतिशत सहभागीले कुनै न कुनै ग्राहकबाट कामको क्रममा दुर्व्यवहार भोगेको बताए। नौ प्रतिशतले त्यसबारे खुलाउन चाहेनन्। कसैबाट पनि त्यस्तो दुर्व्यवहार भोग्न नपरेको भन्नेचाहिँ जबाफै आएन। 

अन्तरवार्ताको क्रममा एउटी किशोरीले बताएको कथा यस्तो छ, 'चिनेको एक जना दिदीमार्फत दोहोरीमा काम गर्न आएँ। मलाई 'वेटर'का रूपमा खानेकुरा दिने काम गर्न भनिएको थियो। काम गर्ने क्रममा ग्राहकहरूले जिस्क्याउने कुरालाई मैले सामान्य रूपमा लिन्थेँ। तर एक दिन एउटा ग्राहकले मेरो स्तनमा समात्यो र आफूतिर तानेर चुम्बन गर्ने प्रयास गर्‍यो। यो मलाई सैह्य थिएन। मैले उसको गालामा थप्पड हानेँ र धकेलिदिएँ। त्यसपछि वरपरका सबै जना जम्मा भए। विवादले ठुलो रूप लियो। प्रहरीसमेत आयो। तर सबै जनाले ग्राहकको पक्ष लिए। मैले 'सिसिक्यामेरा' हेर्न भनेँ, तर उल्टो साहुले रिसाएर मलाई गाली गर्‍यो तँजस्तो मान्छे चाहिँदैन, निक्लेर गइहाल भन्दै कामबाट निकालिदियो। मैले त्यहाँबाट तलब लिनुपर्ने थियो। धेरै पटक धाउँदा पाउनु पर्ने तलबको आधा मात्र दियो।' 

उनले मनोरञ्जन क्षेत्रका कतिपय ठाउँमा युवती र महिलामाथि हुने यौन हिंसाबारे यसरी व्याख्या गरिन्, 'कति कामदार केटीहरू छोटा छोटा लुगा लगाएर आउने र ग्राहकसँग बस्ने गर्थे। साहुहरूले नै उनीहरूलाई त्यसो गर्न सिकाउँछन्। पुरुष ग्राहकले तानेर किशोरी र युवतीलाई काखमा मात्र राख्दैनन्, शरीरको जहाँसुकै छुने गर्छन्। नमान्दा ग्राहकले साहुलाई भनिदिन्छन्। त्यस्तो हुँदा त जागिरै जाने डर हुन्छ। आम्दानी रोकिने डरले यस्ता उत्पीडन सहेर बस्नुपर्ने हुन्छ। ग्राहकको अनुचित हरकत त छँदैछ, सरसफाइदेखि भाँडा माझ्ने र कपडा धुनेसम्म काम गर्नुपर्ने हुन्छ। तलब लिने बेलाचाहिँ पटकपटक माग्नुपर्छ र किस्ता किस्ता गरेर दिन्छ।' 

यी तथ्यबाट शहरमा अवसरको खोजीमा आउने महिला/युवतीहरूको जीवन-प्रवाहमा कति ढुंगा र गेग्र्यान रहेका छन् भन्ने बुझिन्छ। कुन हदसम्म यौन उत्पीडन भोग्न विवश छन् भन्ने बुझिन्छ। यसरी छताछुल्ल भएर बगेको तिनको जीवनको खोलामा कोही कसैलाई कहिलेकाहीँ भए पनि केही मात्रामा भए पनि सहयोगी बन्ने प्रयास भने ग्राहकहरूबाट भएको देखिन्छ। कालो बादलमा चाँदीको घेरा भएजस्तै कतिपय संवेदनशील ग्राहकले चाहिँ कुरा सुन्ने, अन्यत्र काम खोज्न सल्लाह दिने र सानोतिनो सहयोगसमेत गरेर मानवीय व्यवहार प्रदर्शन गर्दा रहेछन्। सबैतिर निराशाले भरिएको जीवनमा कोही मान्छेले 'म तिम्रो साथमा छु' भनेर दिने सानै मात्र आश्वासन र भरथेगले पनि महिला र किशोरीमा ठूलो भावनात्मक राहत मिल्ने गरेको देखिन्छ। तर त्यतिले त कति नै पुग्छ र? 

यी सबैको उत्थान र रूपान्तरणका लागि ठूलो सामाजिक र आर्थिक रूपान्तरणको खाँचो छ। 


दाहाल छोरी नामक गैरसरकारी संस्थाको संस्थापक अध्यक्ष र कार्यकारी निर्देशक हुन्।


सम्बन्धित सामग्री