Wednesday, May 08, 2024

-->

विकास र उन्नतिको परिभाषा बदल्ने समय आयो

के सामाजिक विकास र व्यक्तिगत उन्नतिको सीमा हुन्छ? हुँदो रहेछ। हाम्रा हिउँबिनाका नांगा हिमालले यही कुरा भनिरहेका छन्। खडेरीका कारण आगलागी भइरहेका जंगलले यही भनिरहेका छन्।

विकास र उन्नतिको परिभाषा बदल्ने समय आयो

मानवजाति जन्मदेखि नै विकास र उन्नतिको बाटोमा लागेको हुन्छ। शायद मानव सभ्यताको 'प्रथम पाइला'देखि नै यो यात्रा जारी थियो। यही विकास र उन्नतिको बाटो समाएर हामी 'वन मान्छे' र आगोको आविष्कार छिचोल्दै ग्यालिलियो, आइन्सटाइन र मेरी क्युरीजस्ता हजारौँ अध्येता र वैज्ञानिकको काँधमा उभिएर यहाँसम्म आइपुगेका छौँ। यी सबै महामहिमको योगदानका कारण हाम्रो जीवन सयौँ वर्ष पहिलेभन्दा हजारौँ गुणा सहज र स्वस्थ छ। 

यसो भन्दै गर्दा हाम्रो समाज अहिले ठिकठाक छ, सबै जनाको जीवन सहज र स्वस्थ छ भन्न खोजिएको पक्कै होइन। बजारमा नाना र खाना पाइएला, औषधि र 'अमृत'समेत पाइएला, तर विपन्न जनताको पहुँचमा अझै धेरै कुरा पुगेका छैनन्। नेपाली समाजको कुरा गर्ने हो भने, दुई छाक जोर्न दिनरात पसिना बगाउन पर्ने र बिरामी हुँदा 'ठिकै' आर्थिक स्रोत भएकाहरू पनि टाट पल्टिने अवस्था छ। 

विकास र उन्नतिको परिभाषा सैयौँ वर्षअघि र अहिले तुलना गर्नु जायज नहोला। त्यसो हुँदा आजको विकासका केही सामान्य सूचकहरू छन्, जस्तो कि; घरघरमा पानी, बिजुली, पक्की सडक र सहज यातायातले छोएको बजार। व्यक्तिगत उन्नतिको परिभाषामा पिर नलिईकन दुई छाक खान पाउने वातावरण पर्नेमा पनि दुई मत हुने कुरा भएन। 

समृद्धिको भ्रम
हामी र हाम्रो समाजलाई आधारभूत आवश्यकताभन्दा कति माथिको विकास र उन्नति चाहिन्छ? के विकास र उन्नतिको सीमा हुन्छ? यी प्रश्नहरू हामीले कहिल्यै पनि गरेनौँ र गर्न चाहेनौँ। विकास र उन्नतिको त्यस्तो कुनै सिमाना तोकिएको छैन। विकास भन्नु अमेरिका वा चीनजस्तै हुनु हो? हाम्रो प्राकृतिक स्रोतलाई पुँजीकरण गर्नु नै विकास हो? सिमेन्ट उत्पादनमा हामी आत्मनिर्भर हुनु विकास हो? उन्नति भनेको ठूला घर, जग्गा र गाडी हो? कि 'सेलिब्रेटी' वा 'भाइरल' भई धेरै जनाले 'वाहवाह' गर्नु उन्नतिको शिखर पुग्नु हो?  

आम रूपमा बेपरवाह खर्च गर्दै 'मस्तीपूर्ण' जीवन जिउने कुरालाई समृद्धि र उन्नति मान्ने चलन छ। कतिपय ठाडै भन्छन् पनि, 'आरामले मासु–भात खाएर, कहिलेकाहीँ साथीभाइसँग ह्विस्की, भोड्का पिएर अलिअलि नाचगान गरेर जीवन बिताउनु पो जिन्दगी। 'तातो न छारो, प्रकृति र पृथ्वीका लम्बेतान् र नचाहिँदा यी प्रश्नहरूमा किन टाउको दुखाउनु?' 

प्रचलित अर्थशास्त्रमा विकास र उन्नतिको सीमा निर्धारण गर्नु प्राकृतिक स्रोतको सीमा निर्धारण गर्नु हो। संसारभरका सबै प्राकृतिक स्रोतको सीमा निर्धारण गर्ने जमर्को कुनै संगठन वा अनुसन्धान गर्ने संस्था वा विश्वविद्यालय कसैले आजसम्म गरेको छैन। बरु प्रकृतिलाई 'सीमित स्रोत' भनेर परिभाषित गरिन्छ र अन्य स्रोतको दाँजोमा मूल्यांकन गरिन्छ। 

त्यस्तो मूल्यांकनमा प्राकृतिक स्रोतलाई खानिबाट निकालेर, प्रशोधन गरी, प्रयोगयुक्त बनाई, ढुवानी गरी बजारसम्म लाने सबै लागत जोडिन्छ। तर त्यस सीमित र अमूल्य स्रोतको सीमा भने तोकिँदैन। किनभने, पहिले त, प्रचलित अर्थशास्त्रमा लगानीकर्ताको नाफाको गणना गरिन्छ, स्रोतको न्यूनतम सीमा राखी। त्यही नाफा नै लगानीको मुख्य उद्देश्य हो। 

दोस्रो, लगानीको प्रारम्भमा स्रोतको वास्तविक सीमा राखिँदैन, अनुमान मात्र गरिन्छ। किनभने, वास्तविक सीमा निर्धारण गर्न लगानी धेरै चाहिन्छ र निर्धारण गरे पनि कुनै ठोस नाफा पाइँदैन। तेस्रो, नाफा कमाइसकेपछि सीमाको 'छु मतलब?' नाफा कमाइएन भने, अनिश्चित लगानीको दर्जा दिई अर्कै लगानीमा हात हाल्न गइन्छ।

यही परिवेशमा, हाम्रो समाजलाई विकासशीलबाट विकसितको सूचीमा राख्न देशका हरेक अंग लागिपरेका छन्। आधारभूत आवश्यकता नपुग्दै ठूल्ठूला विकास र उन्नतिको आकांक्षा राखिएको छ। आफ्नो घरअगाडिको बाटोमा पानी र ढलको व्यवस्था छैन, तर घर धितो राखेर 'मल्टिकम्प्लेक्स' बनाउनेलाई हामी विकासको दर्जा दिन्छौँ। यस्तो विकास र विकासको परिभाषाले समाजमा असमानता बढ्छ। धन, पुँजी र सहज जीवन पहुँचवालाहरूको हातमा हुन्छ। 

अहिले आएर हाम्रो विकास र उन्नतिको परिभाषामा परिवर्तन ल्याउन जरुरी छ किनभने, यो परिभाषा र त्यसलाई कार्यान्वयन गर्ने संयन्त्रले समाज र संसारलाई बाँच्न नसकिने मरुभूमिमा परिणत गर्दैछ। जन्माउने आमालाई नै अहिलेको विकराल आर्थिक प्रणालीले खाइरहेको छ। 

म जलवायु परिवर्तनको कुरा गरिरहेको छु। पृथ्वी, जसले मानव जातिलाई जन्मायो, त्यसलाई नै मान्छेले मारिरहेका छौँ। यदि यो पृथ्वीलाई हाम्रो सन्तान र दरसन्तानको जीवनकालसम्म जोगाएर राख्ने हो भने आजैबाट हाम्रो सोच, दृष्टिकोण, जीवन जिउनुको कारण नै बदलिन जरुरी छ। 

दिगो विकास र उन्नतिको परिभाषा
अक्सफोर्ड विश्वविद्यालयका वातावरण परिवर्तन संस्थानका वरिष्ठ प्राध्यापक केट रेवर्थले एउटा सिद्धान्त रचेका छन्, 'दोनट अर्थशास्त्र।' यसको मुख्य धारमा दुई वटा सीमा तोकिएको छ। एउटा 'सामाजिक जग'को भित्री सीमा, जसले आधारभूत आवश्यकता प्रदान गर्छ र अर्को, 'प्राकृतिक छाना'को बाहिरी सीमा जुन यो पृथ्वीले धान्न सक्ने सीमा हो। यी दुई सीमाबीचको 'दोनट'मा मानव जाति बाँच्ने आधार हुनु जरुरी छ। रेवर्थको किताब, 'दोनट इकोनोमिक्स: सेभेन वेज् टु थिंक लाइक ट्वन्टीफर्स्ट सेन्चुरी इकोनोमिस्ट' मा यो सिद्धान्तको बृहत् व्याख्या गरिएको छ। 

सामाजिक जगमा विकासका १२ आयाम छन्: पानी, खाना, स्वास्थ्य, शिक्षा, आय/श्रम, शान्ति/न्याय, राजनैतिक स्वतन्त्रता, सामाजिक समता, लैंगिक समानता, बसोबास, सामाजिक सञ्जाल र ऊर्जा। यी आधारभूत आवश्यकता पूरा गर्नु नै हाम्रो समाज र सरकारको पहिलो उद्देश्य हुनुपर्छ। यो कार्यमा चुकौँ भने, हामी र हाम्रो समाज असफल हुनेछ।  

प्राकृतिक सीमाका ९ वटा आयाम छन्: वातावरण परिवर्तन, समुद्रको एसिडिफिकेसन, रासायनिक प्रदूषण, नाइट्रोजन र फस्फोरसको भारी, स्वच्छ पानीको सीमितता, जमिनको सहरीकरण, जैविक विविधता, हावा प्रदूषण र ओजोन तहको कमी। अहिले यीमध्ये पाँच प्राकृतिक सीमा हामीले नाघिसकेका छौँ भने दुई वटाको त गणना नै गर्न सकेका छैनौँ। यस कारण हामी आज जलवायु संकटमा परिसकेको निष्कर्षमा पुगेका छौँ। त्यसैले, यही गतिमा र यही प्रणालीमा हामी हाम्रो जीवन चलाउने हो भने हाम्रो सन्तानको लागि यो पृथ्वी बस्न लायक रहन्न। यो कुरा निश्चित छ।

पृथ्वीको विनास हुने चिन्तामा कतिपयले अझै 'कट्टर' आवाज पनि अभिव्यक्त गर्ने गरेका छन्। अर्थ-मानवशास्त्री जेसन हिकल, जो ‘डिग्रोथ’ (अवृद्धि) को वकालत गर्छन् र किताबहरू लेखेका छन्। उनको अवृद्धिको सिद्धान्तअनुसार थोरै स्रोत परिचालन गरेर पनि मानव जीवनलाई धेरै फाइदा हुन्छ। यसबारे उनले ‘लेस इज् मोर: हाउ डिग्रोथ विल सेभ द वर्ल्ड’ नामक किताबमा धेरै कुरा राखेका छन्।

अबको बाटो
के सामाजिक विकास र व्यक्तिगत उन्नतिको सीमा हुन्छ? हुँदो रहेछ। हाम्रा हिउँबिनाको नांगो हिमालले यही कुरा भनिरहेका छन्। हिउँदमा खडेरीका कारण आगलागी भइरहेका जंगलले यही भनिरहेका छन्। हिमताल फुटेर बाढीले बगाएका खेत र घर जमिनले यही कुरा भनिरहेका छन्। जलवायुका कारण सिर्जित संकटका इन्डिकेटर हुन् यी। 

तर हामी त्यतिखेरसम्म संकटलाई संकट मान्ने छैनौँ, जबसम्म आफ्नै गाँस, बास या कपासमाथि क्षति पुग्नेछैन। तर आफूलाई प्रत्यक्ष क्षति पुग्ने बेलासम्म त धेरै ढिला भइसकेको हुनेछ। त्यस कारण, यो संकटलाई अनुमान र आन्तरिकीकरण गरेर तत्कालै यस विषयमा कदम चाल्न अत्यन्त जरुरी छ। यसको लागि पहिलो कदम त यो संकट संकट नै हो भनेर बुझ्न जरुरी छ।

दोस्रो कदम, विकास र उन्नतिको परिभाषा नै बदल्ने हो। सबै जनतालाई आधारभूत आवश्यकता पूर्ति गर्नु र न्यायिक/निष्पक्ष समाजको बिस्तार गर्नु सामाजिक विकास हो। योभन्दा बढी विकास हाम्रो समाजलाई चाहिँदैन र प्रकृतिले पनि थाम्दैन। यो परिभाषाअनुसार कार्यान्वयन गर्न हाम्रो समाजले प्रचलित अर्थतन्त्र र विकासको बाटोलाई परिमार्जन गर्न जरुरी छ। 

आधारभूत आवश्यकतालाई प्राथमिकता दिनु गगनचुम्बी अपार्टमेन्टको सट्टा, साँच्नै वास्तविक शरणार्थीहरूलाई किफायती बास बनाउनु हो। विकास पाँच तारे 'मिचलिन' स्टार रेस्टुरेन्ट होइन, सहुलियतमा पौष्टिक आहार उपलब्ध हुनु हो। बोतलको पानी र कोल्ड ड्रिंक्स होइन, स्वच्छ र २४सै घण्टा धाराको पानी सबै जनताको घरमा आउनु हो। त्यस्तै, जनता र जनताका सन्तानको दीर्घकालीन उन्नतिका आधार खडा गरिदिनु व्यक्तिगत उन्नति हो। सीप र ज्ञानमूलक शिक्षा र तालिम उपलब्ध गराउनु हो। व्यवसायीलाई जागिर सिर्जना गर्ने गरी बाटो खोल्नु उन्नतिको आधार हो।

पिछडिएका जनताको जीवनस्तर अघि बढाउन सहयोग र स्रोत उपलब्ध गराउने मात्र होइन, जात, वंश र क्षेत्रका आधारमा विशेषाधिकार प्राप्त वर्गले पाएका संस्थागत र नियमित सहयोगलाई सूचीकृत गरी त्यसलाई निरुत्साहित गर्नु पनि विकास हो। त्यसो नहुँदा वर्चस्वशालीकै शासन सत्तामा दबदबा भइरहन्छ। समतासहितको उन्नतिको विषय हो यो। 

विकास र उन्नतिबारे कुरा गर्दै गर्दा पूर्वाधारमा प्रयोग हुने सिमेन्ट र डन्डीले कसरी वातावरणलाई असर गरिरहेको छ? वातावरणमा काम गर्ने एनजीओ वा अन्तर्राष्ट्रिय संस्थाका कर्मचारीले कार्यालय, सम्मेलन र स्थलगत भ्रमणमा जाँदा कुन इन्धनको गाडी प्रयोग गरिरहेका छन्? कि उनीहरू पैदल, साइकल र सार्वजनिक यातायात प्रयोग गर्छन् अथवा विद्युतीय साधन चढ्छन्? 

स्वास्थ्यकर्मी-चिकित्सक, बैंकर, शिक्षक, विद्यार्थी, पत्रकार, सेलिब्रेटी जोसुकै पेशाकर्मी र सर्वसाधारणले व्यक्तिगत रूपमा लिएका कदमले कसरी जलवायुलाई प्रभाव परिरहेको छ भन्ने विषयमा गम्भीर भएर सोच्नु पर्ने समय आइसकेको छ। हाम्रो समाज अबको पचास वर्ष मात्रै बाँच्नु छ भने हामीले धन र धनी वर्गलाई शिरमा राखेर पूजा गर्नुको सट्टा समाजमा इमानदार प्रयत्न गरिरहेकाहरूलाई साझेदार बनाइ अघि बढ्नु आवश्यक छ। हाम्रो अगाडि यसबाहेक अरू कुनै विकल्प छैन।


सम्बन्धित सामग्री